एपिएफ समूह विजेता र लुम्विनी उपविजेता बन्दै सेमिफाइनमा

  •   
  •  

दाङ,१३ पुस । दाङको लमहीमा भैरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगेको छ । समूहको अन्तिम खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गर्दै एपिएफ समूह विजेता बनेको हो । पराजित लुम्बिनी समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अन्तिम खेलमा एपिएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन पुगेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाएका थिए । अन्य खेलाडीहरु नचल्दा लुम्विनी समूह विजेता बन्नबाट चुकेको थियो ।

बलिङतर्फ एपिएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १–१ विकेत लिएका थिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । एपिएफले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय ज्योती पाण्डे र राजमती एरीले ठोस सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ४४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

१७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन् । त्यसपछि ज्योती ४९ रन बनाएर आउट हुन् पुगिन् । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेकी ज्योतीले उक्त रन बनाउने क्रममा ५४ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । त्यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगर र सोनु खड्काले अविजित रहदै क्रमशः १० र २ रन बनाए ।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । भने कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट हात पार्न सफल भईन् । अव एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता र लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग खेल्नुपर्नेछ ।

अब प्रतियोगितामा मंगलबारदेखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछ । जस अन्तर्गत दिनको पहिलो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशको सामना गर्दा दिनको दोस्रो खेलमा बागमतीले प्रदेश १ को सामना गर्नेछ ।

प्रदेश २ लाई सान्त्वना जित

यसैविच समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।

सोमबार दिनको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित हुन् पुग्यो । कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहदै ४ रन जोडिन ।

बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३–३ विकेट लिदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १–१ विकेट लिएका थिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन् । उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् ।

टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आलेले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए । यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् । बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन् ।