नमेटिदो दाग

यम रेग्मी

विवाहको पाँचौँ दिन । डोली फर्काउन आई रक्षा, माइतमा । गोधुली साँझ । घाम धारपानी पाण्डवेश्वर मन्दिरको माथि पुगेको थियो । घोराही काम गर्न गएका श्रमिकहरू, बाक्लै रूपमा घर फर्कंदै थिए ।

रातले साम्रराज्य जमाउँदै थियो । रातो कार एक्कासी आँगनमा आयो । टक्क रोकियो । नेताको स्वागतमाझैँ लाइनबद्ध उभिएका थिए, सीता, कृष्ण र गोपाल । दिनभर बाटो हेर्दाहेर्दै राता भएका थिए नयन । रातो कारले मनमा रङ्गीन किरण छ¥यो ।

रक्षा कारबाट झरी हतारमा । उसको झराई देख्दा यस्तो लाग्थ्यो । ऊ कारबाट होइन जेलबाट बाहिर निस्कँदैछे । त्यो पनि जन्मकैदको सजाय पाएकी महिलाको सजाय मिनाहा भएझैँ । हतारमा घर आउँदैछे र आफ्नो परिवारलाई भेट्दैछे ।

प्रेमको प्रतिमूर्ति गोपाल । ममताको खानी आमा । जिम्मेवारी आधार पिता । सबैलाई सँगै पाई । मन ढुक्क भयो । बाँच्नको लागि कसैको आधार चाहिन्छ, मान्छेलाई । न्यानो ममता पनि चाहिन्छ ।

उत्साहरूपी प्रेम पनि चाहिन्छ । यी सबै अतिआवश्यक छन्, मान्छेका जिन्दगीमा । तीनै चीज उसको अगाडि थिए । माया गर्ने मान्छे र आड भरोषा दिने मान्छे आँखा अगाडि देख्दा ऊ पूर्ण रूपले भरिई । खाली पोखिन मात्र बाँकी रही ।

अभावैअभावको खानी हो मान्छे । उसँग छ अभावको सगरमाथा । अभावको छ महासागर । कोही मान्छे पूर्ण छैन यो संसारमा । हरेक मान्छे अपुरो र अधुरोमा बाँचेको छ । तर पनि जे बढी खाचो हुन्छ, जसको धेरै आवश्यक छ त्यसैमा पहिलो नजर पुग्छ मान्छेको ।

त्यसैको पूर्ति गर्न लाग्छ मान्छे । रक्षा सबैभन्दा भोकी प्रेमको रहिछे क्यारे ? पहिलो नजर गोपालमा पु¥याई । निर्दोष आँखाहरू धेरै दिनपछि भेट भए, अचानक । गोपालका निर्दोष आँखामा धानको पातमा शीतको थोपा टल्किएझैँ आँसुका थोपा टल्किए । ती आँसु पोखिन तैनाथ अवस्थामा थिए । रक्षा धेरैबेर हेर्नै सकिन, उसको नजरमा ।

आमाको अनुहारमा नजर पु¥याई । रुन्चे हाँसो देखी । बाबाको अनुहार नजर पु¥याई । उही भाव भेटी । झल्यास सासूको क्रुर व्यवाहार सम्झी । पतिको यातना सम्झी । अहिलेसम्म बाँधिराखेको मन ।

फुट्यो वर्षामा थुनेर राखेको बाध फुटेझैँ । बाँसको झालमा बोडीको लहरो अडिएझैँ । आमाको काँधमा अडिई र झरी बन्दै बोली–‘जान्न आमा म अब त्यो घरामा । म यहीँ बस्छ । मार्छन्, मलाई राक्षसका सन्तानहरू त्यो घरमा ।’

छोरीको चित्कारले आमाको मन चिरियो । छोरीको कपाल र ढाडमा सुम्सुम्याउँदै सीता बोलिन–‘नरोऊ बा ! छोरी ! भो ! त्यो घरमा नजाउली । यहीँ बसौली । म मेरी छोरीलाई मर्न दिन्न । दुई भाइ थिए । तीन भाइ बनाएर राख्छु । भो नरोऊ ।’ सीताले रुँदै छोरीका आँखाभरिका आँसु पुछिन् ।

वियज केही पर गाडीमै थियो ड्राइभरसँग । ऊ गाडीबाट झरेको नै थिएन । आमा छोरीको दृष्य देखे पनि सम्वाद सुन्न सकेको थिएन ।

कारको ड्राइभर विजयकै साथी थियो । उसले विजयतिर हेर्दै बोल्यो

–‘ए हिरो ! झर्ने होइन ? झर छिटो । गाडीमा बसिरहने कि ससुसाली पनि जाने ?’

– विजय ड्राइभरतिर हेर्दै बोल्यो–‘गाडी ब्याक गर छिटो, हिड जाऔँ’

– काँ ? (अनौठो भावले)

– होटलमा नि ! (उत्साहित र हतारिँदै)

– तँ पागल त भैनस् ? काँ आछस् ? थाहा छ तँलाई ? यो ससुराली हो ? घर जस्तो सम्झिस क्या हो ? घर होइन यो ?

– ससुराली पनि त घर नै हो, केही भनेपछि म कुरा मिलाउँछु । गाडी छिटो ब्याक गर न ।

– भोलि गए हुन्न ? (अप्ठारो मान्दै)

– हुन्न यार । विहानैदेखि कल गरेको गरै छे ।

– गर्न दे न । तेरो श्रीमती भाउजू हो कि त्यो केटी ?

– यो त देखावटी स्वास्नी मात्र हो ? दिलको रानी त उही हो मेरो यार !

– चुप लाग ! ब्या गरेर यस्तो कुरा गर्ने सुहाउँछ ?

– के मैले खुशीले विवाह गरेको हँु र, नमिल्ने ? सुड्डाको करले म्यारिज ग¥या हुँ यार ! म बिगे्र रे । विवाह गरेपछि सुध्रिन्छु रे । धेरै डिस्कर्स नगर न । छिटो गाडी मोड न ।

ड्राइभरले विजयका कुरा सुनेर पनि नसुनेझैँ ग¥यो । उसले गाडी ब्याक गरेन ।
कृष्णले नजिक उभिरहेको गोपालतिर हेर्दै बोले– ‘जा गोपाल ! ज्वाईंलाई बोलाएर ल्या र आ गाडीबाट । ती आमाछोरीलाई रुन पाए पुग्छ । ज्वाईंसाप अघिदेखि गाडीको गाडी हुनुहुन्छ ?’

गोपाल झस्कियो, कृष्णको बोलीले । ऊ गाडीको नजिक पुग्यो र घरमा बोलायो ।
विजयले गोपाललाई एकछिन्पछि आउँछु भन्दै गाडी चलाउन पठायो । यसपालि ड्राइभरले गाडी स्टाट ग¥यो । स्टाटसँगै ब्याक ग¥यो । गाडीको आवाजले कृष्ण र सीता झसङ्ग भए । पछाडिबाट गाडी गएको हेरेको हेरै भए ।

–आउदै गरेको गोपाल हेर्दै सीता रिसाएर बोलिन्– ‘ज्वाईं किन फरक्क फर्केर जानु भैगो तो ?’

– ‘केही काम छ रे । एकछिनपछि आउनुहुन्छ रे’ गोपाल बोल्यो । सीता ढुक्क भई । कृष्ण नमीठो हाँसे ।

रातभरि कुरे । तर विजय आएन । राती १२ः०० बजे फोन आयो । फोनमा अर्कै मान्छे बोल्यो–‘हजुर नमस्कार ! म ग्यारेजबाट फोन गरेको हजुरलाई । म मिस्त्री हुँ । तपाईंको ज्वाईंको गाडी बिग्रिएछ । म अझैसम्म बनाउँदै छु । आज बन्दैन होला, नआत्तिनुहोला । भोलि आउनुहुन्छ तपाईंको ज्वाईं ।

कृष्ण फोनमा केही बोल्दै थिए । उसले फोन काट्यो । फेरि फोन लगाए, लागेन । ज्वाईंको लगाए, लागेन । झनै आतंकित बनायो, सीता र कृष्णलाई फोनले । दुवैलाई रातभरि निद्रा परेन । ज्वाईंमाथि मनमा अनेकै प्रश्नहरू उब्जिरहे ।

यता रक्षा ढुक्क भई । उसले शान्तिको सास फेरि, धेरै दिनपछि आज । मन आनन्दित भयो । शरीर चङ्ग भयो ।

विहान अबेलासम्म सुती रक्षा । हप्तौँ भएको थियो निद बसाईं सरेको । नेपालको राजनीतिझैँ अस्थिर मन शान्त भएको थियो । शारीरिक यातना, मानसिक यातना सहेको पनि हप्तौँ भएको थियो । आज सहनु परेन । अबेलासम्म शान्त मनले सुती । ९ः०० बजे मात्र उठी, चङ्गा मन बोकेर ।

उठेर पलङमा धेरैबेर बसी । कोठाको चारैतिर आँखा पु¥याई । बाल्यकाल बिताएको कोठा । आफूलाई नचिनेझैँ लाग्यो । आफूले प्रयोग गरेका सामान । आफूलाई भुलेझैँ लाग्यो । आफूले सुतेको पलङ । आफैलाई अर्गेलो ठानेझैँ लाग्यो । आफूले लगाएका कपडा । आफैलाई माया मारेझैँ लाग्यो । कोठाका सबै सामान नौला र पराया जस्ता लागे । कोठाका सामान देखेर मन नमीठो भएर आयो ।

जुरुक्क उठी पलङबाट । कोठामा ठूलो सीसा थियो । सीसाको अगाडि उभिई । आफ्नो स्वरुप देखी । आफै छक्क परी । हिजो पवित्र सिउँदो, जुठो पाई । आफ्नो सिउँदो अर्काको पाई । सफा सिउँदो फोहर पाई । धेरै बेरसम्म हातले घोटी सिउँदोको सिन्दुर । लामा नङले कोट्याई–कोट्याई फाल्न खोजी बन्धनको डोरी । जति कोट्याए पनि रगत निस्किएर बरु रातो थपियो तर सिउँदो सफा भएन ।

घाँटीमा आँखा पु¥याई । हिजोको विशाल घाँटी । आज साँघुरो पाई । चोखो घाँटी, दाग लागेको पाई । सुन्दर लोभलाग्दो घाँटी कुरुप पाई । पहिलेको जस्तो पाइन घाँटी । रातो पोतेले अपवित्रजस्तै लाग्यो घाँटी । आफ्नै घाँटी देखेर आफैलाई घृणा जाग्यो । छट्पटी भयो मन । घाँटी काटेर फालुँलाझैँ लाग्यो ।

फेरि हातको नाडीमा नजर पु¥याई । विवाह अघिका सफा नाडी । पवित्र नाडी । सुकोमल नाडी । आफ्ना नाडी । आज हातभरि चुरा पाई । पवित्रको ठाउँमा जुठो पाई । मन चिरा–चिरा प¥यो चिरा पारेको काँक्रोझैँ ।

अर्को दिन दिउँसो मात्र देखाप¥यो विजय । ज्वाईंको व्यवहार दुवै जनालाई मन परेन । कृष्ण केही बोलेनन् । सीताले मुसुक्क हाँसेर बोलिन्–‘साँझ के भयो र पाल्नुभएन त ज्वाईं साप ?’

विजय लजाएर बोल्यो–‘चिसोले होला आमा ! गाडी स्टाटै भएन । चाहेर पनि आउन सकेन ।’

सीता मुसुक्क हाँसिन् । हाँसोको जवाफ विजयले हाँसोले नै दियो । केही बेर कुरा भए ज्वाईं–सासूका ।

एक रातको माइतको बसाईपछि रक्षा घरमा आई । मान्छे समय र परिस्थतिको दास छ । नियतिको पछि लागेर हिड्न वाध्य छ, मान्छे । घरका नराम्रा कुरा आमासँग केही गरिन । आमाले जे–जे सोधिन् सबै राम्रो भनी । नराम्रो भनेर पनि उसले आमामा समस्याको समाधान हुने थिएन । मनमा रहेको पीडाको गाँठोलाई झन बेस्सरी कसी । तर फुकाइन ।

घरमा गएको अर्को दिन । विहानभरि लगाएर खाना पकाई । सबैलाई खुवाई । अलिकति आफूले पनि खाई । जुठो–भाँडो गरी र कोठामा छिरी । शृङ्गारका सामान खोज्न दराज खोल्न थाली । दराज खोल्नलाग्दा खुल्लै दराज पाई । झिसिङ्ग ग¥यो मन । हतारमा दराजको पल्ला खोली ।

गहना राखेको ब्याग खाली पाई । त्यस ब्यागमा घरका गहना राखेकी थिई । माइती सबै गहना पनि त्यसै ब्यागमा नै थिए । उसलाई भनभनी रिगँटा लाग्यो । सासु आफ्नै कोठामा थिइन् । उनले बुहारीको कुरा सुनेर बोलिन्–‘के रे ? गहना हरायो रे ? कसलाई दिइस् हाम्ले द्याका गहना ? कि तेरो बाउले छोरीका घरमा गहनाले ब्याको ऋण ति¥यो ?

सासुको राक्षसी व्यवहारले रक्षाको पुरै होस हरायो । ऊ मरेको मान्छेझैँ एक टकले सासूको अनुहारमा हेरेको हेरै भई ।

तल्लो जीवन उपन्यास अंश क्रमशः …