तुलसीपुर मेट्रो कलेजमा टेक्निकल गु्रम …

खेमराज रिजाल
हरिपौरा (तुलसीपुर), ८ पुस । रौतहटका सुवास थारू अहिले तुलसीपुर मेट्रो कलेजमा आइएससी फरेष्ट्री अध्ययन गरिरहेका छन् । तीनवर्षे उक्त प्राविधिक कोर्ष सकाएपछि उनलाई वन कार्यालयमा रेञ्जर बन्ने चाहना छ । ‘सानैदेखि फरेष्ट्री पढ्ने चाहना थियो, गुणस्तरीय तथा शुलभ खर्चमा पढ्ने शिक्षालय खोज्दाखोज्दै एक जना आफन्त सरको माध्यमबाट म यहाँ आइपुगेँ’– थारूले भने । भर्ना भएका ती विद्यार्थीहरुले तुलसीपुर मेट्रो कलेजलाई टेक्निकल ग्रुम भनेका छन् ।

मानौँ मेट्रो कलेजमा अझै पनि धेरै प्राविधिक शिक्षाका शैक्षिक कार्यक्रमहरु आउनुपर्ने उनीहरुको अपेक्षा छ । आइएससी–एजी सरह अध्ययन गर्दै गरेका प्राविधिक तहका विद्यार्थीहरुले विएससी–एजी सरहको पढाइको अपेक्षा गरिरहेका छन् भने इन्जिनियरिङको पनि अपग्रेड भए विएससी इन्जिनियरिङ सरहको पनि पढाइ यहीँ होस् भन्ने विद्यार्थीहरुको चाहना थियो । भर्खरैदेखि पढाइ सुरु भएको बताउँदै कलेजमा शान्त वातावरणमा पढाइ चलिरहेको अभिव्यक्ति दिए । टाढाबाट आएका उनको एउटै मात्र गुनासो कलेजप्रति के थियो भने चाँडै होस्टेल पनि व्यवस्थापन भए अझै राम्रो हुने थियो ।

यसैगरी बर्दियाबाट वविता चौधरी पनि प्राविधिक शिक्षा रोज्दै तुलसीपुर वहुप्राविधिक शिक्षालय आइपुगेकी छिन् । त्यसो त उनले अर्घाखाँचीबाट फारम भरेकी थिइन्, जनजाति कोटामा छात्रवृत्ति पाएपछि उनलाई सिटिइभिटीले तुलसीपुर पठायो । ‘पढाइ ठिकै छ अनि वातावरण पनि राम्रै छ, आइएससी फरेष्ट्री पास गरेपछि या त विएससी फरेष्ट्री पढ्ने या जागिर खाने’ उनले बताइन् । उनको पनि एउटै गुनासो थियो– ‘होस्टेल भैदिएको भए हामी टाढाबाट आउने विद्यार्थीलाई डेरा खोज्नुपर्ने झन्झट हुने थिएन ।’

सुवास र वविता प्रतिनिधि विद्यार्थी मात्र हुन् । तुलसीपुरमा खुलेको वहुप्राविधिक शिक्षालयमा अध्ययन गर्न जुम्ला र बैतडी तथा बझाङसम्मका कम्तिमा २ सयभन्दा बढी विद्यार्थिहरु प्राविधिक शिक्षाका लागि तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत छन् । अहिले रुचि अनुसारको प्राविधिक शिक्षाको गन्तव्यका रुपमा चिनिन थालेको छ, स्थापनाको सुरुवातमै तुलसीपुर वहुप्राविधिक शिक्षालय ।

धेरै प्राविधिक विद्यालयहरु सहरकेन्द्रित छन् । सहरबाट गाउँ पुगेर स्कूल बसले विद्यार्थी ओसार्छन्, तर तुलसीपुरको हरिपौरा गाउँमा रहेको प्राविधिक विद्यालयले भने बजारबाट विद्यार्थी हरिपौरासम्म ल्याउँछ । बिजौरीदेखि तुलसीपुर हुँदै हरिपौरासम्म तुलसीपुर वहुप्राविधिक शिक्षालयको बस सेवा सञ्चालनमा छ, विद्यार्थीका लागि ।

गाउँमा भए पनि सूचना प्रविधिको एक्सेस सहज छ । सुरक्षाका लागि सिसी क्यामेरा, पारिलो र मनोरम भू–भाग तथा कोलाहलमुक्त कक्षाकोठाको व्यवस्थापन गरिएको छ । सम्बन्धित विषयका लागि आवश्यक उपयुक्त प्रयोगशाला निर्माण भइसकेको छ भने थप शैक्षिक भवन निर्माणका लागि टेण्डर प्रक्रिया समेत सुरु भइसकेको छ ।

‘संघीयतासँगै स्थानीय सरकारलाई आएको अधिकारको उपयोग गर्दै स्थानीय तहमै सर्वशुलभ एवं गुणस्तरीय प्राविधिक शिक्षा दिन यो अभ्यास सुरु गरेका हौँ’–तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे भन्छन्– ‘तुलसीपुर प्राविधिक शिक्षाको पनि हब बन्ने छ ।’ उनका अनुसार आगामी वर्ष थप शैक्षिक कार्यक्रम मेट्रो कलेजमा सुरु हुने छन् । उनको भनाइमा राजधानीका विद्यार्थीलाई पनि अध्ययन गर्न तुलसीपुर आउने चाहनाको वातावरण मेट्रोले बनाउने छ ।

शुल्क तिर्न नसक्ने नगरबासीलाई पनि लक्षित गरेर हरेक वडाका बढीमा ५ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने पनि नगरपालिकाको कार्यक्रम रहेको छ । हरेक वडाका त्यस्ता व्यक्तिको पढाइ शुल्क सम्बन्धित वडा कार्यालयको बजेटबाट भुक्तानी हुने छ । अहिले अधिकांश वडाले छात्रवृत्तिका लागि गरिब, जेहेन्दार विद्यार्थीहरु सिफारिस गरेर पठाइ पनि सकेका छन् ।

वि.सं. २०७६ सालदेखि तुलसीपुर उपमहानगरपालिकाले नै सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय सम्भवतः लुम्बिनी प्रदेशकै पहिलो हो, स्थानीय सरकारले कलेज सञ्चालन गरेका हिसाबले । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त सो वहुप्राविधिक शिक्षालयमा मेकानिकल इञ्जिनियरतर्फको ओभरसियरतर्फ ४९ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

त्यसमा ४४ जना शुल्क तिरेर अध्ययन गर्दै छन् भने सिटिइभिटीको छात्रवृत्तिमा ४ जना विद्यार्थी आउँदै छन् । वार्षिक एक सेमेस्टरका दरले तीन वर्षमा ओभरसियरको कोर्ष पूरा हुन्छ । त्यसका लागि वहुप्राविधिक शिक्षालयले ९६ हजार रुपैयाँ तोकेको छ । तर त्यसमा तुलसीपुरबासीलाई भने ४० प्रतिशत छुट छ । ‘यो शुल्क अन्य निजी शिक्षालयको भन्दा धेरै न्यून हो, किनकि तुलसीपुर मेट्रो कलेज मुनाफारहित संस्था हो’– शिक्षालयका प्राचार्य बसन्त आचार्य भन्छन् । मेकानिकल ओभरसियरलाई अहिले औद्योगिक क्षेत्र, कलकारखानालगायतका धेरै स्थानमा रोजगारीको प्रशस्त सम्भावना रहेको छ ।

यसैगरी इञ्जिनियरिङ संकायकै इलेक्ट्रिकल ओभरसियरको पनि पढाई पनि सोही कलेजमा सुरु भएको छ, त्यसमा पनि सिटिइभिटीका ४ जना छात्रवृत्तिका सहित ४४ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यो शैक्षिक कार्यक्रमको पनि समयावधि र शुल्क ३ वर्ष र ९६ हजार रुपैयाँ नै रहेको छ ।

आइएससी फरेष्ट्रीमा पनि ३७ जना विद्यार्थी सशुल्क भर्ना र ३ जना विद्यार्थी सिटिइभिटीको छात्रवृत्तिमा गरी ४० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । फरेष्ट्री पढ्ने विद्यार्थीहरुले पनि रेञ्जर, फरेष्टर तथा डिएफओको भूमिकामा काम पाउनसक्ने अपेक्षा गरिएको छ ।

आइएससीएजी अन्तर्गतकै प्लान्ट साइन्स पढ्नेहरुको रोजाई पनि तुलसीपुर मेट्रो कलेज परेको छ । बनस्पती विज्ञान क्षेत्रको यो प्राविधिक पढाइ पनि भर्खरै मात्र नेपालमा सुरु भएको हो । सम्भवतः लुम्बिनी प्रदेशमा यहाँ मात्र सरकारी क्षेत्रमा पढाइ हुने गरेको छ ।

अर्को नयाँ प्राविधिक शिक्षाको आवश्यकतालाई आत्मसात गर्दै तुलसीपुर मेट्रो कलेजले फुड एण्ड डेरी विषयमा पनि ३ वर्षे शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको सो प्राविधिक शिक्षालयले जनाएको छ । त्यसमा पनि पहिलो शैक्षिकसत्रका लागि ४४ जनाको कोटा स्वीकृत भएको हो ।

यद्यपि कलेजमा हालसम्म नयाँ विषय भएकाले ३४ जना मात्र भर्ना भएका छन् । यो शैक्षिक कार्यक्रमको पनि आफ्नै विशेषता छ । विभिन्न दुग्धजन्य उद्योग, खाद्य उद्योग, चिप्स उद्योग, चाउचाउ, चक्लेटलगायतका विभिन्न उद्योगमा प्राविधिकका रुपमा काम पाउन सहज हुने अपेक्षा तुलसीपुर वहुप्राविधिक शिक्षालयले गरेको छ ।

प्राचार्य आचार्य भन्छन्,–‘हामीकहाँ पढेका विद्यार्थी बेरोजगार बस्न नपरोस् भन्ने उद्देश्यले रोजगारमुलक प्राविधिक शिक्षा रोजीरोजी पढाउन थालेका छौं ।’ आगामी शैक्षिक कार्यक्रममा कानुन संकायमा स्वीकृति लिने अभ्यास भइरहेको छ । सम्भवतः लुम्बिनी विश्वविद्यालयको सम्बन्धनमा सो शैक्षिक कार्यक्रम पनि अर्को वर्षदेखि सुरु हुने उनको अभिव्यक्ति थियो ।

यसैगरी सामुदायिक विद्यालय पनि स्थानीय सरकारको मातहतमा आइसकेकाले हरिपौरा स्कूलको स्वामित्वमा रहेको जग्गामा प्राविधिक शिक्षालयको शैक्षिक भवन एवं छात्राबास भवन निर्माणका लागि पनि प्रक्रिया अघि बढिसकेको शिक्षालयले जनाएको छ । सो जग्गा भूमिहीनहरुबाट अतिक्रमित भएको भन्दै उनीहरुलाई नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा उपलब्ध गराएर खालि गराउने पनि तयारी भइरहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।