मान्नै पर्ने ट्राफिक नियम …

दाङ, ८ पुस । जिल्लामा सडक दुर्घटनासँगै लैङ्गिक हिंसा रोकथाम गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीलगायतको आयोजनामा लैङ्गिक हिंसासँगै ट्राफिक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सार्वजनिक स्थल र सार्वजनिक सवारी साधानमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान सुरु गरेको हो ।

अभियानका क्रममा सार्वजनिक गाडीहरुमा सादा पोशाकमा प्रहरी खटाइएको भन्दै महिलाहरुमाथि दुव्र्यवहार भएर कारवाही समेत गरिने बताइएको छ । अभियानले सार्वजनिक स्थानमा महिलाहरुमा हुने विभेदसँगै सडक दुर्घटना, बालविवाह, बहुविवाहलगायतका आपराधिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ । अभियानमा वरिष्ठ सारँगी बाधक हेमराज गन्धर्व, भरत गन्धर्व, राजेश गन्धर्वलगायतको गायक तथा बाद्यबादकहरुको सहभागिता रहेको छ ।

सांगीतिक अभियानका माध्यमबाट सवारी दुर्घटनासँगै लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीको भनाई रहेको छ । अभियानअन्तर्गत ट्राफिक दुर्घटनासँगै लैङ्गिक हिंसा रोक्नका लागि सचेतनामुलक संगीतिक अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले बताए । उनका अनुसार अभियानमा गीतका माध्यमबाट सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना, अपनाउनुपर्ने सावधानी, लैङ्गिक हिंसा, बालविवाह, बहुविवाहलगायतका बारेमा जनचेतना फैलाउने काम गरिएको बताए ।

‘गीतसंगीतले मनोरञ्जनसँगै सचेतना जगाउने भएकाले दाङमा लैङ्गिक हिंसासँगै ट्राफिक दुर्घटना विरुद्ध सचेतना फैलाउन अभियान सुरु गरेका छौँ’–प्रहरी निरीक्षक रिमालले भने–‘यो अभियानले मानिसहरुलाई मनोरञ्जनसँगै ट्राफिक नियम पालना नगर्दा हुने दुर्घटना, त्यसबाट हुने क्षति, लैङ्गिक हिंसा गर्दा हुने कानुनी कारवाहीलगायतका बारेमा नागरिकलाई जानकारी समेत दिनेछ ।’ साथै उनले दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिकलाई ट्राफिक नियमको पालना गर्न समेत आग्रह गरे ।

उनले पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि प्रहरीले सवारी चेकजाँचसँगै सचेतनाका लागि स्कूल तथा कलेजहरुमा समेत कार्यक्रमहरु गर्दै आएको बताएका थिए । सचेतनामुलक कार्यक्रमलाई जिल्लाका टोलटोलसम्म लगिने समेत बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ की वडा सदस्य कृष्णा रानाले सडक दुर्घटनाबाट बच्नका लागि हरेक नागरिक सचेत हुनुपर्ने बताइन् ।

सडक दुर्घटनाले आपूmसँगै घरपरिवारलाई समेत ठूलो क्षति पु¥याउने भएकाले हरेक नागरिकले ट्राफिक नियमको पालना गर्नुपर्ने बताइन् । ‘सडक दुर्घटनाले सम्बन्धित व्यक्तिलाई मात्र होइन, घरपरिवारलाई समेत असर पर्ने काम गर्दछ’–वडा सदस्य रानाले भनिन्–‘त्यसले सडक दुर्घटनासँगै लैङ्गिक दुव्र्यवहार रोक्न सबै सचेत हुनु पर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा कोषाध्यक्ष आरके शीतलले दाङमा सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको संगीतिक अभियान उपयुक्त भएको भन्दै अभियानलाई जिल्लाका हरेक ठाउँहरुमा सञ्चालन गर्नुपर्ने बताए । ट्राफिक नियमको पालना नहुँदा दुर्घटना हुने गरेके भन्दै उनले नियमको पालनामा कडाई गर्नुपर्ने बताएका थिए ।

त्यसका लागि ट्राफिक प्रहरीले समेत सचेतनामुलक कार्यक्रमसँगै सडकहरुमा ट्राफिक संकेत राख्नका लागि पहल गर्नुपर्ने बताए । ‘ट्राफिक सचेतना हरेक नागरिकका लागि आवश्यक रहेको छ, त्योसँगै सडकहरुमा ट्राफिक संकेतहरु राख्न ट्राफिक प्रहरीले ध्यान दिन आवश्यक छ’–उनले भने–‘तर अहिले जिल्लाका अधिकांश ठाउँका सडकमा ट्राफिक संकेतहरु छैनन्, यसमा ध्यान दिन आवश्यक छ ।’

उनले सचेतनाका लागि सांगीतिक अभियान ठिक भएको समेत बताए । जिल्ला प्रहरी कार्यालय दाङले यस अघि पनि लैङ्गिक हिंसा रोकथामका लागि जिल्लाका विभिन्न स्थानमा सांगीतिक अभियान सञ्चालन गरेको थियो ।