नारायणप्रसाद श्रेष्ठ
समय परिवर्तनशील छ । हिजो भएको अवस्था आज हुँदैन र आज भएको अवस्था भोलि हुँदैन । यो सर्वमान्य सिद्धान्त हो र यसैमा नै वर्तमान पनि गुज्रिरहेको छ । अवसर पटक–पटक आउँछ तर त्यसलाई सदुपयोग गर्न सकिएन भने त्यो आफैमा प्रतित्पादक भएर देखापर्न सक्ने सम्भावना रहन्छ ।
मानिस आफूलाई हिजो जसरी बितायो वर्तमान र भविष्य पनि त्यसरी नै बितोस् भन्न चाहन्छ । सुख, सुविधा र सम्पन्नता मानिसको चाहना पनि हो र यो हुनु अस्वाभाविक पनि होइन । मान, प्रतिष्ठा र इज्जतका साथ जिउनु सबैको उद्देश्य पनि रहेकोृ हुन्छ । यसै अनुसार आफूलाई परिचालन गर्न मानिस पछि नपरेको देखिन्छ ।
तर परिस्थिति त्यस्तो नरहन सक्छ । कर्म र चाहनाले ल्याउने परिणामले मानिसको इच्छाविपरित अर्को कर्मतिर मोडिएको पनि हुनसक्छ । मन ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो भनेझैँ मनले एउटा सोच्छ र समयले अर्को नतिजा देखाउँछ । मानिसले चाहँदा नचाहँदै पनि परिस्थितिले अर्कै मोड लिएको पाइन्छ । समयले साथ नदिएको कारण मानिस विचार साध्य गराउनेतर्फ उद्यत हुँदाहुँदै पनि ऊ असफल भएको इतिहास प्रशस्त पाइन्छ ।
त्यसैले समय बलवान हुन्छ भनिएको हो । समयमा जुन कर्म र व्यवहार गर्नुपर्ने हो यदि त्यसलाई सदुपयोग गर्न जानिएन भने प्राप्त उपलब्धि पनि गुम्न जाने अवस्था रहन्छ । यसको मूल जड मानिसको स्वार्थपरक चिन्तन र व्यवहार पनि हो । जहाँ स्वार्थ हुन्छ त्यहाँ विचारमा पनि स्वार्थ प्रतिबिम्बित भइरहेको हुन्छ । स्वार्थीले आफूलाई जतिसुकै इमानदार देखाउन खोजे पनि यो कहीँ न कतैबाट चुहिएकै हुन्छ ।
स्वार्थीलाई त लाग्छ मैले राम्रो गरेको छु । किनकि उसमा भएको स्वार्थले उसलाई अन्धो बनाएको हुन्छ । सोच र चिन्तनमा गलत मानसिकता जगाएको हुन्छ । साधन त ऊसँग प्रशस्त रहेको हुन्छ तर उसले साधना गर्न जानेको हुँदैन । फलस्वरुप गलत कार्यतर्फ आफूलाई प्रस्तुत गर्न लालायित भएको पाइन्छ । समय जब आफूअनुकूल रहँदैन त्यसबेला यदि मानव आफूलाई सम्हाल्न नसक्ने स्थितिमा पुग्छ त्यसबेला उसको मन बुद्धि र विवेक पनि विपरित दिशातर्फ आकर्षित हुन पुग्छ । भनिन्छ पनि – विनाशकाले विपरित बुद्धि ।
जब नाश हुने अवस्था रहन्छ तब मानिसको सोच र चिन्तनमा नहुने कार्यतर्फ बढी झुकाव हुन थाल्छ । जसको फलस्वरुप ऊ नैतिक पतनतर्फ उन्मुख हुन पुग्छ । एकपटक नैतिकहीन र पतनतर्फ आकर्षित भएको मानिसको स्वभाव कहिल्यै पनि राम्रो कार्यतर्फ आकर्षित हुन सक्दैन । यसको लागि उसले निकै संघर्ष गर्नु पर्छ । सधैँ एकनास खोज्नु पनि मूर्खता हो ।
समय आफै अनुकूल छैन भनेर पनि यदि मानिसले आफूलाई सर्वोच्च ठान्दछ अहंकार र घमण्डले परिपोषित गरी उच्च दर्जा पाउने अभिलाषामा समयलाई प्रवाह गर्दैन भने उसले कहिल्यै सफलता प्राप्त गर्न सक्दैन । एकपटक रुखबाट खसेको व्यक्तिले पुनः रुख चढ्न खोजेर सावधानी अपनाउन सकेन भने र पुनः रुखबाट खस्दछ भने उसको शरीरमात्र अंगभंग हुँदैन ऊ कहिल्यै पनि उठ्न नसक्ने गरी कुजो र अपाहिच पनि बन्न पुग्छ ।
यो सत्य यथार्थ हो । तसर्थ, समय र परिस्थितिलाई आफ्नो दास बनाउने जुन चेष्टा मानव स्वभावमा देखिन्छ त्यसले विनाश नै गर्ने हो । यो कुरा सबैले ग्रहण गर्नु पर्छ । त्यसैले पुर्खाले सिकाएको समयले दिएको चुनौतीलाई बुझेर प्राप्त अवसर र उपलब्धिलाई विवेकशील भएर प्रस्तुत हुन सक्नु पर्छ । विनाश हुने समयमा बुद्धिले विपरित दिशातर्फ अकर्षित गर्न सक्छ भन्ने मान्यतलाई मनको तराजुमा तौलिरहनु पर्छ ।
मनलाई पवित्र कर्म र विचारले परिपोषित गर्नेतर्फ सधैँ सकारात्मक भइरहनु पर्छ । विनाशकाले विपरित बुद्धि भन्ने उखानलाई चरितार्थ हुन नदिनेतर्फ सधैँ सतर्क र संकल्परत रहनु पर्छ । अन्यथा आफू र आफ्ना समर्थक समेत डुब्ने सम्भावना बलियो भएर देखापर्न सक्छ ।
आध्यात्मिक र भौतिकवादी चिन्तनभित्र गुज्रिएको समयको चक्रलाई यदि मानवीय आचरणले बुझ्न सकेन भने आध्यात्म केही होइन भौतिकता नै सबै हो भन्ने मानसिकता राख्ने हो भने यसले दूरगति निम्त्याउन सक्छ । यो कुरा बसैले बुझ्न जरुरी छ । सबैले स्वीकारेको पौराणिक शास्त्र र ग्रन्थलाई हेर्ने हो भने सत्ययुग, तेत्रायुग, द्वापर युग र कलियुग यसरी युग चार भाग भएर समयले आफूलाई परिवर्तन गरेको पाइन्छ ।
इतिहास र शास्त्रलाई मान्यता दिने हो भने सत्ययुग सतोप्रधान भएर बितेको पाइन्छ । जन्ममरणको इतिहासभित्र गुज्रिए पनि सुख, दुःख, लाभ, हानी कुनै किसिमको प्रवाह नगरेर कर्म र व्यवहारमा सत्यता उजागर गर्दै यो समय बितेको देखिन्छ । त्यसपछि तेत्रायुगमा आएर श्रद्धा र विश्वास भएर पनि केही लोभानी, पापानी भएर क्षणिक स्वार्थ र अहंकारले प्रश्रय पाएको पाइन्छ ।
तत्पश्चात द्वापरयुगमा आएर तमोप्रधान भएर माया, मोह र लोभलालचले ओतप्रोत भई त्यसको मुक्तिको मार्ग पहिल्याउँदै मानिसको बुद्धि र विवेकलाई वर्गस्वार्थतर्फ उद्धत भएको देखिन्छ । त्यसपछि कलियुगमा आएर छलकपट, प्रपञ्च र स्वार्थ अहंकारले धपक्क ढाकिएको चरित्र प्रदर्शन भएको देखिन्छ । यसरी चार युग चार किसिमले विस्तारै गलत र स्वइच्छाचारी भएर गुज्रँदै गएको पाइन्छ । यसलाई सरसर्ती हेर्ने र मनन् गर्ने हो भने पनि समयले विस्तारै दिशा बदल्दै गएको देखिन्छ ।
अहिले कलियुग चरमविन्दुमा प्रवेश गरेको छ । यसबेला राम्रो सोच्ने शक्ति कमजोर भएको हुन्छ । यो हिसाबले अब पुनः सत्ययुगको आगमन हुने अवस्थाले चिहाउन थालेको देखिन्छ । मानिसले हुने नहुने कार्यमा दिउँसै रात पर्ने कर्म गरेको कारणले पनि यो स्थिति आउन लागेको हो कि भन्ने पनि आँकलन गर्न सकिन्छ । जब विनाशको समय आउँछ तब मानिसको सोच र चिन्तनमा सकारात्मकभन्दा नकारात्मकतर्फ आकर्षित भई आफूलाई विनाश गर्न तर्फ केन्द्रित हुने अवस्था हुन्छ ।
लोभ, मोह र अहंकाररुपी चरित्रको कारण आफैमा गलत मानसिकता उब्जने स्थिति रहन्छ । स्वार्थ र घमण्ड जबसम्म अन्त्य हुँदैन वा तमोप्रधानको जबसम्म अन्त्य हुँदैन तबसम्म सत्ययुग आउन नसक्ने हुँदा त्यसैको अन्त्य हुने संकेत आकर्षित हुन पुगेको त होइन । यो पनि सम्भावना देखिन्छ ।
अन्यथा एकपटक नैतिकता गिराइसकेको व्यक्ति पुनः पटकपटक त्यस्तै नैतिक पतन हुने कार्य गर्नु, म जस्तो सर्वेसर्वा कोही छैन भनी दम्भ गर्नु, यी मेरा हलिया हुन् म जे भन्छु त्यो मान्नुपर्छ भनी एकाधिकारवादी चिन्तन प्रदर्शन गर्नु, जो नीति निर्माता हो उसैको नैतिकतामा प्रश्न उठ्नु यो कहाँसम्मको उचित कार्य हुनसक्छ ? यो कतै समयले परिवर्तन खोजेको त होइन ? कतिपय भौतिकवादी चिन्तकले इतिहास दोहोरिँदैन भनिरहेको बेला यस्ता विचारले तालमेल नमिल्न सक्छ ।
तर सत्ययुगपछि तेत्रा र तेत्रापछि द्वापर हुँदै कलि आएको सत्य संसारले स्वीकार गरिरहेको छ भने कलिपछि सत्य युग पुनः नआउला भन्न सकिन्न । त्यसैगरी राजनीतिक क्षितिजलाई हेर्ने हो भने व्यवस्था साधन हो साध्य होइन । यसलाई साध्य बनाउने भनेको मानिसको नैतिक आचरण र काम, कर्तव्य र जिम्मेवारी हो । यदि यही आदर्शता कायम रहने स्थिति भएन भने हिजो जसरी व्यवस्था परिवर्तन हुँदै आएको पाइन्छ त्यसरी नै अबको समयले पनि नयाँ परिदृश्य नदेखाउला भन्न सकिँदैन ।
एकजना तलाउमा नुहाउँदै गर्दा पौडी खेल्न नसकी डुबिरहेको थियो । उसले कहिले पानीमाथि उफ्रँदै भनिरहन्थ्यो – संसार डुब्यो । डिलमा बसेर यो तमासा हेरिरहेको व्यक्तिले सोच्दै थिए संसार त जस्तो पहिले थियो त्यस्तै छ । यो कसरी डुबेको छ ? यस्तैमा एकजना सज्जन आएर ती व्यक्तिलाई भनिरहेको थिए – त्यो डुब्न लागेको व्यक्तिको लागि त संसार डुबेकै हो । ऊ मरेपछि त उसको लागि संसार त के सबै डुब्यो । त्यसैले ऊ यो शब्द भनिरहेको छ ।
डिलमा बसेकोले पवित्र विचार राखी उसलाई बचाउन तलाउमा हामफाली पौडँदै उसनजिक पुगी बचाउन खोजदा उसलाई समेत डुबाउने हर्कत देखिएपछि ऊ आफू तलाउबाट पौडँदै बाहिर निस्केको हुन्छ र डुब्ने व्यक्ति तलाउमै विसर्जन हुन्छ । त्यसैले भनिन्छ पौडन नजान्नेले तलाउमा हाम फाल्नुपूर्व धेरैपटक सोच्नुपर्छ । यो भनाई सायद सबैको मनमा जागृत भइसकेको छ ।
तसर्थ, साधनलाई साध्य बनाउने विवेकलाई समयअनुकूल परिचालन गर्नु र समयले दिएको अवसर र परिस्थितिले ल्याउने परिवर्तनलाई सबैले गम्भीर भएर बुभ्mनु र बुझाउने गर्नु पर्छ । साधनलाई साधनायुक्त भएर समयको सदुपयोग गर्नु पर्छ । तब जीवनले सार्थकता पाउँछ । अन्यथा समय त गतिशील भइरहन्छ स्वार्थी र अहंकार व्यक्ति स्वयम्् नष्ट हुँदै जान्छ । यो सत्यलाई कदापि भुल्नु हुँदैन । यो सबैले बुझिरहनुपर्ने सत्य हो ।