घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन सडक निर्माण सुरु भएको वर्ष दिन नाघेको छ । तर यसबीचमा अपेक्षा अनुसारको निर्माण कार्य सन्तोषजनक रुपमा हुनसकेको छैन । सडक निर्माणमा ढिलासुस्ती हुँदा सडकमा यातायात सेवामा समेत समस्या देखिन थालेको छ । धुलाम्मे सडक, खाडलैखाडल, कतै निर्माण सामाग्रीहरु थुपारीएका छन्, कतै विद्युत पोल ढल्ने अवस्थामा रहेका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा भारतको मुम्बईको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा इन्स्ट्रकटर प्रालि सडक चारलेनको ठेक्का लिएको छ । निर्माण कार्य सुरु हुनासाथै विश्वभरि कोरोनाको भाइरसको संक्रमणका कारण लकडाउन भएसँगै सडक निर्माणको काम पनि धेरै महिना अवरोध हुन पुग्यो । तर पछिल्लो एक महिनादेखि फेरि सडक स्तरोन्नतिको काम सुरु भएको छ । सडक चौडा गर्ने काम सुरु भए पनि विद्युत पोलको व्यवस्थापन, खानेपानीका पाइपलाइनको व्यवस्थापनलगायतका धेरै समस्यामा सहजीकरण अझै हुन सकिरहेको छैन । यदि सबै निकायले यी समस्यामा सहजीकरण तत्काल गर्न सके सडक चारलेनको काम नेपाल सरकारसँग सम्झौता भएअनुसार जनवरी २०२२ मै काम सकिने निर्माण कम्पनीले दाबी गरेको छ । सडक निर्माणमा हुन गएको ढिलासुस्तीलगायत विभिन्न समस्याका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले निर्माण कम्पनीका कन्ट्रयाक्ट मेनेजर तथा चिफ इञ्जिनियर दिवाकर कुमार राजसँग गरेको कुराकानीको सार संक्षेप ।
काम सुरु भएको करिब डेढ वर्ष हुन थाल्यो, तर सडक चारलेनको गति अपेक्षित रुपमा सन्तोषजनक भएन भन्ने सर्वत्र गुनासो छ नि ?
सबैभन्दा पहिले म तपाईंलाई जानकारी गराउन चाहन्छु कि चारलेन सडक निर्माण सम्झौता २८ जनवरी, २०१९ मा भएको हो । काम सुरु भएको ११ फेबु्रअरी, २०१९ मा हो । सुरुको सम्झौतमा ११ अगस्त २०२१ मा काम सक्नुपर्ने हो । तर पछि कोरोना भाइरसको विश्वव्याधीका कारण विश्वभरि नै भएको लकडाउनसँगै यहाँ पनि काम गर्ने वातावरण रहेन ।
त्यसपछि वर्षातले पनि काम गर्न दिएन । त्यसपछि हामीले नेपाल सरकारसँग यी विविध कारण देखाई फेरि आयोजनाको म्याद थपका लागि आग्रह गरेअनुरुप ३ जनवरी २०२२ मा काम सक्ने गरी सम्झौता गरेका छौँ । अहिले हामी तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी साइटमा खटिइसकेका छौँ । हाल कम्तिमा डेढ सय मज्दुरहरुले दैनिक साइटमा काम गरिरहेको अवस्था छ । तोकिएको सडकखण्डका १० स्थानमा एकसाथ काम भइरहेको छ ।
मलाई लाग्छ केही दिनमै फेरि मज्दुरको संख्या थप हुने छ । हो हामीले अघिल्लो साल लक्ष्य अनुसारको कार्य प्रगति गर्न नसकेकै हो । हाम्रो इभ्यालुयशनमा फाइनान्सियल प्रगति ५ प्रतिशत मात्र हो । भौतिक प्रगतिको मूल्याङ्कन गरिरहेका छौँ । सायद भौतिक प्रगति फाइनान्सियल प्रगतिभन्दा माथि रहेको छ ।
सडकको स्वारुप र बजेटको विषयमा केही बताइदिनुस् न ?
यो परियोजना अन्तर्गत कम्तिमा २८ किलोमिटर सडक हामीले चौडा गर्नुपर्ने छ । यद्यपि कुइरेपानीदेखि लगातार तुलसीपुरको हात्तीखौवासम्म भने होइन । हामीसँग पहिलो चरणमा सम्झौता भएअनुसार कुइरेपानीदेखि कटुवाखोलासम्म, डिकेपम्पदेखि सर्रासम्म, गुर्जेखोलादेखि खैराचौकसम्म, दुधरासदेखि हात्तीखौवासम्म मात्र सडक चारलेन हुने छ । बाँकी रहेको सडक २ लेनमै रहने छ ।
अनि सडकको चौडाइ २१ मिटर हुने छ । यही चौडाइको बीचमा २ मिटर मेडियन रहने छ, अर्थात डिभाइडरका रुपमा पनि लिन सकिन्छ, यसलाई । पछि ग्रिनबेल्ट पनि बनाउन सकिन्छ । अर्को कुरा बजेट भन्नुभयो । अनि यसैमा अर्को कुरा पनि तपाईंको पत्रिकामार्फत आम नागरिकलाई जानकारी गराउन चाहन्छु । त्यो के भने– सडक स्तरोन्नति गर्ने क्रममा हाल साविकको कालोपत्रेलाई हाम्रो मापदण्डमा निर्माण गरिने छैन । हामीलाई नेपाल सरकार परियोजना कार्यालयले साविकको कालोपत्रे सडकमा पिच मात्रै उप्काएर अक्सफाल प्रविधिबाट कालोपत्रे गर्ने भनेको छ ।
दायाँ र वायाँको बाँकी भाग मात्रै हाम्रो मापदण्ड अनुसारको कालोपत्रे हुने छ । मलाई लाग्छ, दुवै किनारापट्टिको भाग बीचको भन्दा थप मजबुत बन्ने छ । अनि बजेटको कुरा सोध्नुभो, हाल २८ किलोमिटर सडक चारलेनका लागि जम्मा बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकि डलर रहेको छ । यही बजेटमा हामीले यो सडकमा काम गरिरहेका छौँ ।
काम धमाधम थालिएको बताउनुभयो, यसबीचमा केही भौतिक एवं प्राविधिक समस्या पनि छन् कि ?
सबैभन्दा बढी समस्या भनेको विद्युत पोल स्थानान्तरणको हो । विद्युतका पोल सार्ने बजेट परियोजनामै रहेको भए पनि विद्युत पोल स्थानान्तरण गर्दा थुपै्र प्राविधिक कुराहरु हुन्छन् । हो, विद्युतका पोल सार्नका लागि पैसा हामी थ्रो जाने हो, त्यसमा विमती भएन तर लागतकै विषयमा विद्युत कार्यालयले अनुमान नै गरेको अवस्था छैन ।
विद्युत कार्यालयले सुपरभिजनको सेवा समेत उपलब्ध गराउन सकिरहेको छैन । यो विषयमा केन्द्रीय विद्युत प्राधीकरण र सडक विभागले नै सहजीकरण गर्ने हो । यो विषयमा निक्र्यौल भयो भने मात्रै कामले गति लिन सक्छ । अन्यथा हाम्रो तहबाट मात्रै समाधन हुने कुरा होइन । तर यसलाई सबै तहले सहजीकरण गर्न आवश्यक छ । कतिपय स्थानमा सडक कटिङका क्रममा पोलनै धरापमा परिसकेका छन् ।
कतिपय स्थानमा सडक फिलिङ तथा ग्याविन वाल लगाउनै समस्या भएको छ । कतिपय स्थानमा सडककै राइट अफ वेमा दूरसञ्चारका अप्टिकल फाइवरहरु अलपत्र अवस्थामा रहेका छन् । दूरसञ्चारका क्याविनेट र तार पनि हालसम्म सम्बन्धित कार्यालयले व्यवस्थापनमै ढिलासुस्ती गरिरहेको छ । खानेपानीका पाइपहरु पनि सडककै राइट अप वेमा असरल्ल छन् ।
सम्बन्धित खानेपानी उपोक्ता समितिले समयमै यी पाइपहरु उचित व्यवस्थापन गर्न नसक्दा अर्को समस्या रहेको छ । त्यस्तै कतिपय स्थानमा व्यक्तिका घर पनि सडककै क्षेत्रमा रहेका छन् । यी सबै समस्याको सहजीकरणका लागि मैले यसै पत्रिकामार्फत स्थानीय सरकार र सम्बन्धित कार्यालयको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।
यति ठूलो परियोजनामा काम गर्दै हुनुहुन्छ, पर्याप्त स्रोतसाधन र उपकरणहरु नभएको गुनासो पनि सर्वसाधारणले गर्दै आएका छन्, के छ अवस्था ?
हामीसँग चाहिनेजति उपकरण र स्रोतसाधन छन् । अहिले १० स्थानमा काम सुरु भइसकेको छ । दशै स्थानमा भिन्नाभिन्नै उपकरणहरुको व्यवस्थापन गरेका छौँ । डोजर, लोडर, मिक्सचर, टिप्परलगायतका सबै स्रोतसाधन निर्माण कम्पनीकै स्वामित्वका छन् । सडकको राइट अप वे क्लियर हुनासाथ स्रोत साधन र जनशक्ति पनि तत्काल थप गर्ने सोच बनाएका छौँ ।
तपाईंको निर्माण कम्पनीले किस्तामै पेनाल्टी तिर्नुपरेको बताइन्छ, कामको प्रगति सन्तोषजनक नभएर हो ?
हो, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबीच काम गर्दागर्दै सरकारले हामीलाई पेनाल्टी तिराएको हो । यस्तो अवस्थामा मोटिभेट गर्नुपर्नेमा काम सन्तोषजनक भएन भनेर पेनाल्टी तिराउनुलाई हामीले दुर्भाग्यका रुपमा लिएका छौँ ।
हामीले पहिलो किस्तावापत लिएको १० करोड रुपैयाँ मध्ये ३ करोड परियोजनाले पेनाल्टीका रुपमा बैंक ग्यारेन्टीको रकमबाट खिचेको यथार्थ हो । यो महामारीमा आम नागरिक नै घरभित्र थुनिनुपर्ने अवस्था थियो भने हामीले आवश्यक मजदुर पाउने अवस्था पनि रहेन र सरकारी नीति नै कुनै पनि क्षेत्रमा भीडभाड नगर्नु भन्ने थियो ।
कच्चा पदार्थका ढुवानी कसरी गर्ने भन्ने चरम समस्या थियो, तर पनि राज्यले गरेको निर्णयलाई हामीले नमान्ने कुरै भएन । तर अब अवस्था सहज हुँदै गएको अवस्था र हामीलाई काम गर्ने सहज वातावरण सबै क्षेत्रबाट निर्माण भएको अवस्तामा मलाई लाग्छ, परीयोजनाले तोकेको समयावधिमा चारलेन सडक निर्माणको काम सम्पन्न गर्ने छ । हरेक कामको रुटिङ बनाएर अघि बढिरहेका छौँ । सबै काम स्याडुलअनुसार भइरहेका छन् ।
एक दिन पनि खेर नफालेर आयोजनालाई तोकिएको समयमै सम्पन्न गराउन हामी कटिबद्ध छौँ । यति लामो सडक एकैपटक स्तरोन्नति गर्ने क्रममा कतै माटो थुपारिएको हुनसक्छ, कतै सिंचाइ कुलाका ह्यामपाइप सडकबीचबाटै वाइपास गर्नुपर्दा डाइभर्सनको प्रयोग गर्नुपर्ने हुन्छ, कतै कल्भर्ट निर्माणका क्रममा कठिनाइ हुनसक्छ ।
तर ती समस्या केही समयका लागि मात्र हुन् । यसबाट यातायात तथा यात्रुहरुमा पुग्ने असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ । काम गर्दा जहाँतहीँ यस्ता समस्या आउँछन् । तर हामीले यो अवस्था धेरै लामो समय रहन दिने छैनौँ भन्नेमा पनि म आम नागरिकलाई विश्वस्त गराउँदछु ।