अनाथका लागि घोराहीमा सेवाघर

गोरक्ष समाचारदाता
दाङ, ५ पुस । दाङलाई मानवीय सुन्दरताको जिल्ला घोषणा गर्ने उद्देश्यले घोराहीमा मानव कल्याण समाज (सेवाघर) सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०७७÷०७८ को अन्त्यसम्म दाङ जिल्ला र २०७८÷०७९ सम्म लुम्बिनी प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गर्ने उद्देश्यले संस्था सञ्चालनमा आएको हो ।

अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं वेवारिसे व्यक्तिहरुको उद्धार गरी मानवीय सेवा गर्ने उद्देश्यले एक महिना अघि स्थापना भएको संस्थाले हालसम्म जिल्लामा १८ लाई उद्धार गरेको छ । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं बेवारिसे व्यक्तिहरुको उद्धार गरी संरक्षण गर्ने उद्देश्यले दाङमा सेवाघर सञ्चालन गरिएको मानव कल्याण समाजका सचिव विजय पोख्रेलले बताए ।

घोराही उपमहानगरपालिका–१५ मा सञ्चालन भएको सेवा घरमा मनोरोगी १३ जना, बोल्न नसक्ने ३ जना, अशक्त र बालबालिकाहरु १÷१ जना रहेको सचिव पोख्रेलले बताए । ‘दाङमा संस्था मंसिर ४ गते स्थापना भएको हो, संस्था स्थापना भएपछि हामीले घोराही र तुलसीपुर क्षेत्रबाट १८ जनाको उद्धार गरेका छौँ’–सचिव पोख्रेलले भने–‘मानवीय सेवाको हाम्रो कार्यमा देखिएको सबैको सहयोगले हामीलाई ऊर्जा थपिएको छ ।’

उनले सडकमा जीवन बिताउन वाध्य अशक्त, असहाय र मानसिक रोगीहरुलाई उद्धार गरी केही व्यक्तिहरुलाई घरपरिवारमा पुनःस्थापना समेत गरिएको बताए । उद्धार गरिएका व्यक्तिहरुलाई सेवाघरमा गास, बास, कपाससँगै औषधोपचारको व्यवस्था गरिएको छ । मानव सेवाका दृष्टिले दाङ जिल्लासँगै लुम्बिनी प्रदेशलाई मानवताको सुन्दर बनाउने आफ्नो संकल्प रहेको उनले बताए ।

‘सडकमा जीवनयापन गर्ने अशक्त, असहाय र मानसिक रोगीहरुलाई उद्धार गरी दाङ र प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य हो’–उनले भने–‘यसका लागि हामीले सडक मानव जीवन बिताएका व्यक्तिहरुलाई उद्धारसँगै यो कार्यमा सहयोगका लागि स्थानीय तह, संघसंस्थाहरुसँग छलफल गरिरहेका छौँ ।’ संस्थाको आफ्नै भवन नहुँदा सेवा घरमा आश्रय लिइरहेका व्यक्तिहरुलाई राख्न समस्या रहेको समेत उनले बताए ।

‘दाङमा भर्खर स्थापना भएकाले आफ्नो भवन छैन, त्यसैले मासिक ४० हजार रुपैयाँ भाडा तिरेर घर लिएका छौँ’–उनले भने–‘भाडामा लिएको घरमा सानो हुँदाँ सबै प्रकारका बिरामीहरुलाई सँगसँगै राख्नुपर्ने बाध्यता रहेको समेत उनले बताए । सेवाघरमा ल्याइएका व्यक्तिहरुलाई अवस्था सुधारपछि परिवारमा पुनःस्थापना समेत गर्दै आएको छ ।

सचिव पोख्रेलले मानवीय सेवाको कार्यमा सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेका छन् । यसैगरी घरपरिवारविहीनहरुलाई सीपमुलक तालिम दिई आत्मनिर्भर बनाइनेछ । सेवाघर सञ्चालनको मुख्य स्रोत मुठ्ठीदान, नगद, जिन्सी तथा श्रमदान रहेको सचिव पोख्रेलले बताए । सेवाघर सञ्चालनका लागि हामीले कुनै पनि विदेशीको सहयोग लिएका छैनौँ, संस्थाको आप्mनो स्रोतसँगै मुठ्ठीदान, नगद, जिन्सी तथा श्रमदानबाटै सेवाको काम गरेको उनले बताए ।

२०७५ सालमा भक्तपुर जिल्लामा स्थापना भएको संस्थाले भक्तपुर, काभ्रे र दाङलगायतका विभिन्न जिल्लाहरुमा काम गर्दै आएको छ । यो बीचमा भक्तपुरमा ७० जना, काभ्रेमा २५ जना र दाङमा १८ जना गरी ९५ जना अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं वेवारिसे व्यक्तिहरुले आश्रय लिइरहेको संस्थाका उपाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले अनाथ तथा अशक्त सडक मानव जीवन बिताउन वाध्य व्यक्तिहरुको उद्धार संरक्षण गर्ने महत्वपूर्ण कार्यमा लागेको संस्थालाई सहयोग गर्न आपूmहरु तयार रहेको बताएका थिए । साथै संस्थाको अभियानमा सञ्चारको क्षेत्रबाट आपूmहरुले सहयोग निरन्तर गरिरहने समेत बताए । कार्यक्रमको सहजीकरण अभियन्ता सुस्मिता श्रेष्ठले गरेकी थिइन् ।