भूवन पोख्रेल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनमतको घोर अपमान भएको भन्दै गत सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गरेको छ । ओली सरकारले सरकार सञ्चालन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको छ । तसर्थ, प्रधानमन्त्री ओलीको राजनीतिमा माग गरेको छ प्रतिपक्षले ।
सरकारको गैरजिम्मेवारीका कारण जनतामा तीव्र वितृष्णा आएको छ । तसर्थ, नेपाली कांग्रेस जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सडकमा नारा लगाउने अवस्था आउँदासम्म चुप लागेर सरकारको नौटड्ढी हेरिरहन सक्दैन । वर्तमान अवस्थाकै कारण जनतालाई राजा आउ देश बचाऊ भन्ने नारा सडकमा लगाउने हिम्मत जुटेको हो । यसको कारण ओली सरकारको गैरजिम्मेवारी नै प्रमुख हो ।
आर्थिक समृद्धि र विकासको नाराले सत्तामा पुगेको सरकारले आर्थिक अनियमितता र भ्रष्टाचार मात्र बढाएको छ । वाइडबडी, न्यारोबडी जहाज खरिददेखि ललिता निवास, ओम्नीजस्ता काण्डैकाण्डमा सरकार डुबेको छ । महामारीबाट जनता जोगाउन खरिद गरिएको औषधी उपकरणमा समेत भ्रष्टाचारको आरोप सरकारले खेप्नुलाई अत्यन्त दुःखद् र विडम्बना मान्नु पर्छ । जब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ तब प्रधानमन्त्री स्वयम् अगाडि सरेर यी मन्त्री चोखै छन्, निर्दोष छन् भनेर अख्तियारतर्फ इसारा गर्छन् ।
सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ? यदि निष्पक्ष ढङ्गले काम गर्न सक्दैन भने । सरकारले राम्रो काम गरोस् भनी जनमतको सम्मान गर्दै नेपाली कांग्रेस ढुक्कै पाँच वर्ष रचनात्मक प्रतिपक्षमा बस्न तयार थियो । अहिले लोकतन्त्र र गणतन्त्रकै व्यवस्था विरुद्ध जनता विस्तृष्ण भई सडकमा उत्रेको परिवेशमा लोकतन्त्रको रक्षार्थ पनि नेपाली कांग्रेस सडकमा उत्रिनुपरेको हो ।
सरकारले जनताको सर्वोच्च थलो संसदलाई बन्धक बनाई पर्छीभित्रको अधिवेशन हठात अन्त्य गरेको थियो । यसले सरकारको तानाशाह र आफ्नो गल्ती ढाकछोप गर्ने प्रवृत्ति झल्केको छ । नेकपाभित्रको आन्तरिक कलह र ओलीको महत्वाकांक्षाले मुलुक बन्धक बन्नु दुर्भाग्यपूर्ण भएको छ । राष्ट्रियताको नारा बोकेर चुनाव जितेको कम्युनिष्ट सरकारका कारण मुलुकको राष्ट्रियता इतिहासमै कमजोर सावित भएको छ र लोकतन्त्र खतरामा परेको छ ।
पदको गरिमा बिर्सेर राष्ट्रपतिले नेकपाको गुट झगडा मिलाउने मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुलाई पनि आफ्नो सीमाभित्र सन्तुलित भूमिका निर्वाह गर्न नसकेको आरोप लागेको छ । पार्टीभित्रको पनि एउटा गुटको इसारामा राष्ट्रपति चल्नु र सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न कहिले अनावश्यक हतारो गर्ने र कहिले विडम्ब गर्नुलाई कसरी तटस्थ भूमिका भन्न सकिन्छ, राष्ट्रपतिको ? राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय संस्था र गणतन्त्रकै बदनाम गराएको आरोप प्रतिपक्षी कांग्रेसका नेताहरल्े लगाएका छन् ।
राष्ट्रपतिले कम्युनिष्टकै राजनीति गर्नु छ भने पहिले राजिनामा दिने र पार्टीको शीर्ष पदमा जिम्मेवारी सम्हाले हुन्छ । दुइतिहाईको दम्भका कारण मुलुक संकटमा भासिएको छ । कोभिडको महामारीका बीच पनि सरकारको गैरजिम्मेवारी र नालायकीपनबाट आजित भई नेपाली कांग्रेस सडक आन्दोलनमा उत्रिन वाध्य भएको हो । नेपाली कांग्रेसको प्रतिपक्षी भूमिकाबारे पार्टीभित्र र बाहिर सर्वत्र आलोचना हुँदै आएको थियो ।
प्रतिपक्षी दलका रुपमा कांग्रेस कमजोर ढङ्गबाट प्रस्तुत भयो भन्ने आरोप खेपेको प्रतिपक्ष अहिले सडकमा उत्रिएको छ, महामारीको प्रवाह नगरी । कांग्रेसको मंसिर २९ को देशव्यापी सरकार विरुद्ध प्रदर्शन वर्तमान सरकारका अहिलेसम्मका कमजोरी र विसंगति विरुद्ध लक्षित छ । दुइतिहाईको वहुमतको स्थिर सरकारबाट जनअपेक्षा अनुरुपका काम नभएका कारण मात्र प्रतिपक्षी सडक आन्दोलनमा उत्रन परेको होइन बरु दुइतिहाईको दम्भमा अरुलाई नसुन्ने र नटेर्ने प्रवृत्ति विरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रनुको विकल्प रहेन ।
कांग्रेसको आन्दोलन कसैलाई लाग्ला उसले शक्ति प्रदर्शन गरेको भन्ने त्यो होइन, बरु सरकारका गलत क्रियाकलाप विरुद्धको प्रतिकात्मक विरोध र केवल खबरदारी मात्र हो । कांग्रेसको यो आन्दोलन वहुमत पाएको सरकार र उसले गर्ने निर्णयविरुद्ध होइन वहुमतको नाममा विधि र पद्धति मिचेर देश र जनताको आकांक्षालाई कुल्चेर लोकतन्त्रको चिरहरण गर्ने प्रवृत्ति विरुद्ध हो ।
लोकतन्त्रमा जनमत पाउनुको अर्थ प्रतिपक्षलाई अस्वीकार र निषेध गरेर जान पाइँदैन भन्ने सन्देशका लागि हो यो आन्दोलन । लोकतन्त्रको वहुमतको अर्थ सरकारको सर्वसत्तावादी सोच, संस्कार र प्रवृत्ति होइन र यो आम नागरिकलाई स्वीकार्य हुँदैन भन्ने सन्देश दिनका लागि हो । सरकारको रामचन्द्र पौडेलमाथिको व्यवहारले नागरिक चाहना अनुसार विकासका काममा सहभागी हुन रामचन्द्र पौडेलले अपराध गरेसरी प्रहरी हिरासतमा बस्नु प¥यो, यसलाई सरकार र सत्तारुढ दलको सर्वसत्तावादी चरित्रको नग्नप्रदर्शनको उदाहरणको रुपमा लिन सकिन्छ ।
विकासको दायित्व सरकारको हो तर यसको अर्थ विकासका प्रक्रियामा अरु दल, नेता वा नागरिक सहभागी हुनबाट रोक्ने होइन भन्ने जवाफका लागि पनि नेपाली कांग्रेस सडकमा आउनु परेको हो । रामचन्द्र पौडेलप्रतिको सरकारको व्यवहार आलोचनाको विषय मात्र नरही यो त केवल सरकार र स्थानीय प्रशान उनीहरुकै मतियार हुन पुगेको परिणाम मुलुकको लोकतान्त्रिक आन्दोलनको स्थापित व्यक्तित्व हिरासतमा बस्नुद प¥यो । यसलाई दुःखद् र विडम्बनापूर्ण ठान्नु पर्दछ ।
कोरोना महामारीमा प्रतिपक्षले सरकारलाई सहयोग गर्ने तत्परता देखाउँदा वहुमतको सरकार आफै सक्षम भएको दम्भ प्रस्तुत ग¥यो । आज कोरोना संक्रमण अरु देशका तुलनामा भयावह भएको छ । कैयौले ज्यान गुमाइसके, कैयौँ भेन्ट्रिलेटर र आइसियुमा मृत्युसँग लडिरहेका छन् तर यो पीडामा सरकार मुकदर्शक बनेको छ । सरकारका राम्रा काममा प्रतिपक्षले पटक–पटक साथ दिएको छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रियताका पक्षमा आफूलाई उभ्याएको छ । संसदमा सरकारको प्रस्तावमा मत दिएको छ । सरकारका गलत कदममा नेपाली कांग्रेसले कदम कदममा चेतावनी दिइरहँदा आफ्नो पार्टीका नेताहरुको सुनुवाई नगर्ने सरकारले प्रतिपक्षको कुरा सुन्न आवश्यक नै ठानिन । प्रतिपक्षले आफ्नो सशक्त भूमिका खेल्न नसकेको आरोप खेपिरहनु प¥यो, नागरिक तहबाट ।
कांग्रेस पटक–पटक सरकारका अराजक गतिविधिका विरोधमा जुर्मुराएको छ । सरकारले गरेका गलत निर्णय विरुद्ध सरकारको निर्णयको मसी सुक्न नपाउँदै पार्टी सभापतिले वक्तव्य जारी गरेर असहमति र विरोध प्रकट गरेका छन् । हिजोका प्रतिपक्षीकोझैँ अराजक शैली, कुर्सी भाँच्ने, सडकका रेलिङ भाँच्ने, आगजनी र तोडफोड गर्ने कांग्रेसले गरेन भन्दैमा कांग्रेस निष्कृय भयो भन्ने आरोप निरर्थक हुन्छ ।
जिम्मेवार प्रतिपक्ष हुनुको अर्थ अराजगता प्रदर्शन गर्नु होइन भन्ने मान्यताबाट कांग्रेस निर्देशित छ । कांगे्रसले त्यो कूसंस्कार गर्न सक्दैन । कांग्रेसले नेपालमा संसदीय प्रतिपक्षले संसदबाटै प्रतिरोध गर्छ भन्ने सन्देश दिन्छ । यसपटक सरकारका आँखामा पट्टी, कानमा ठेटी कोचिएका कारण सरकारले प्रतिपक्षीको आवाज नसुनी वहुमतको दम्भले अन्धो भएका कारण सरकारका गैरजिम्मेवारपूर्ण प्रवृत्तिलार्य जनता माझ उदाङ्गो पार्न वाध्य भई कांग्रेस सडक आन्दोलनमा होमिनु परेको हो ।
सरकारले नागरिकको पीडामाथि नून–चूक दलेको र उसका विमृति र विसंगतिमाथि एकसाथ प्रहार गर्न आवश्यक ठानेर नै कांग्रैस सडक आन्दोलनमा उत्रनु परेको हो । यो आन्दोलन आम नागरिकका पक्षमा हो । लोकतन्त्रको रक्षाका खातिर हो । प्रदर्शन शालीन, भद्र र मर्यादित बन्न पुग्यो, हिजोका प्रतिपक्ष जस्तो अराजक ध्वंसात्मक र अमर्यादित भएन । हिजोका प्रतिपक्ष जस्तो कांग्रेसले नागरिकलाई भ्रम छर्न सक्दैन ।
अराजगता मच्चाउने कूसंस्कार कांग्रेसमा कदापि देखिएन बरु नागरिकका असन्तुष्टि र वितृष्णालाई सम्बोधन गर्ने प्रयास हो, यो आन्दोलन । दृष्टिविहीन र श्रवण विहीन बनेको सरकारलाई ब्यूझाउन र उसका आँखाका पट्टी र कानका ठेटी खोल्नका लागि गरिएको पहिलो प्रयास हो । प्रतिपक्षका आवाजलाई सुन्दै नसुनेपछि वाध्यात्मक परिस्थितिको अन्तिम विकल्पको सहारा प्रतिपक्षीले लिएर सडक आन्दोलनमा उत्रिएको हो ।
अहिले प्रतिपक्षी एक ढिक्का भएर आम नागरिकको उभिएको छ, सरकार वाध्य भएर आफ्ना गलत प्रवृत्तिलाई हटाउनु पर्छ । अहिले सर्वसाधारण जनता सत्ताधारी नेकपाप्रति असन्तुष्ट छन् । जनतासँग सशक्त विकल्प पनि देखिएको छैन । नेकपाको विकल्प निश्चय पनि नेपाली कांग्रेस हो तर कांग्रेसले आफ्नो व्यवहारबाट आम जनतालाई सन्तुष्ट पार्ने बेला यही हो, अब कांग्रेस एकढिक्का भएर जनतासँग सम्बन्धित मुद्दामा अघि सर्नु पर्छ । कांग्रेस धेरैपछि निद्राबाट व्यूँझिएको आरोप लागेको छ, यसलाई चिर्न कांग्रेस सक्रिय प्रतिपक्षको भूमिकामा उभिनु पर्छ ।