गुरुप्रसाद शर्मा रेग्मी
मानव जीवन पाउनु दुर्लभ कुरा हो । देवताहरु पनि मानव जीवन पाउन लालायित हुने गर्दछन् । त्यसैले पाएको यो मानव जीवनलाई नक्कली सन्त, महन्त, गुरुहरु, आचार्यहरु तथा पन्थीहरुको पछि लगाएर जीवनलाई निरर्थक बनाउने काम गर्न हुँदैन ।
पाप, नाश र जीवन मुक्तिको नाममा पूजापाठ गराएर, तीर्थब्रत गराएर समय र द्रव्यको विनाश गराउँदछन् । त्यसबाट न उनीहरुको गरेको पाप नाश हुन्छ न मुक्ति नै हुन्छ । गीता चारवेदको सार भएको कुरामा कसैको विभक्ति छैन । सबै धर्महरुको माउ बौद्धिक सनातन धर्म भएकाले नै उनीहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा परब्रह्म परमात्माको पूजाअर्चना गर्ने गरेको देखिन्छ ।
सबै धर्मावलम्बीहरु आर्यकै सन्तान भएकाले सनातन धर्मको बाटो त्याग्न नसकेको कुरा बिर्सन हुँदैन । कुरुक्षेत्रमा अर्जुनलाई गीताको उपदेश दिने यदुवंशी कृष्ण नभएर उनमा प्रवेश गरेका परंब्रह्म परमात्मा भएकाले त्यहाँ भनिएको छ यदि पूजा गर्ने नै हो भने मेरो गर तिम्रो मुक्ति र कल्याण हुने छ, यदि म वाहेक अरु कसैको पूजाअर्थना गर्दछौ भने न तिम्रो मुक्ति हुन सक्दछ न तिम्रो कल्याण नै हुने छ । यस्तो कुरा अवतारी कृष्णले भन्नसक्ने कुरै भएन ।
यस कुरालाई गीतामा त भनिएकै छ– स्वयम् कृष्णले महाभारतको अन्त्यमा पाण्डवहरुको सामु स्वीकारेका छन् तर हामीलाई पाप, पुण्य, स्वर्ग, नरक, सुखद्, भावी जीवनको भ्रममा भ्रमित पारेर जो गर्ने र गराउने गरिएको छ । त्यो प्रवृत्ति नै मानव जीवनको दुःख कष्ट र अशान्तिको कारण बन्न गएको छ ।
राजनीतिकर्मीहरुले आफ्नो सिद्धान्तको आस्था र निष्ठालाई तपसिलमा राखी मनमानी ढङ्गबाट सिद्धान्तलाई विकृत बनाएझैँ सन्तमहन्त गुरु आचार्य पंथीहरुले धर्मको मूल्य, मान्यता र सिद्धान्तलाई तपसिलमा राखि मनमानी ढङ्गबाट धार्मिक क्रियाकलाप गर्ने र गराउने भएकाले विकृतिहरु थपिँदै गएको हुनु पर्दछ ।
कर्मकाण्डहरुको वैज्ञानिकता छ तर त्यसको गराउने विधि र विधानमा एकरुपता नभएकाले यो पनि नेपालको गणतन्त्र जस्तो हुन गएको हो ।
कामना क्रोध वा लोभ तीन यि आत्म नासक
नरक द्वार हुन् पार्थ यिनको त्यागै छ लायक ।।२१।।
तीन यि तमका ढोका देखि जब विभुक्त भो
अनि आफ्नो गरि श्रेय त्यो परंपर निष्ट भो ।।२२।।
शास्त्रको विधि छाडेर चल्छ जो मन मोजले
सिद्धि सौख्य परंधाम कुनै पाउन्न त्यसले ।।२३।।
शास्त्रै प्रमाण छन् सारा कार्याकार्य बुझाउन
तत्मात् शास्त्र विधानैका कार्यमा चल अर्जुन ।।२४।।
गीताको १६ अध्यायमा उल्लेख छ भने गीताको ज्ञान दिने को हो भन्ने सम्बन्धमा
११औँ अध्यायमा उल्लेख छ ।
सर्वश्रेष्ठ देवताको रुपमा हामीले पूजा अर्चना गर्ने ब्रह्मा, विष्णु, महेश पनि अजर, अमर अविनाशी नभएर जन्म, मृत्युको चक्करमा परेका हुन्छन् भन्ने कुरा पनि गीताले भन्दछ ।
यी देवताका बाबुआमा कालरुपी ब्रह्मसाता दुर्गादेवी भएको कुरा पनि गीतामै उल्लेख छ । तर यो कलियुगका सन्त, महन्त गुरुहरु आचार्यहरु, मठमन्दिरका सञ्चालकहरुलाई थाहा नै नभएर हो । यी देवताहरुलाई अविनाशी अजर अमर जन्म मृत्यु नहुने भनेर भन्ने गर्दछन् ।
यसरी शास्त्र विरुद्ध भक्ति साधना गराएर परमात्माको लाभबाट वञ्चित राखेर सबैको जन्म नष्ट गराइदिएको अवस्था छ । विगतमा मानिसहरुमा शिक्षाको विकास थिएन । त्यसैले स्वर्ग, नरक, पाप, पुण्यबाट आक्रान्त भएका मानिसले जसले जे भन्छ त्यही गर्ने गर्दा यस्ता विकृतिहरु थपिँदै गएका हुन् । पूर्वयुगहरुमा नभएका कुराहरुले यो कलियुगमा प्रश्रय पाउनुको कारण के होला भनेर सबैले सहज रुपमा बुझ्न र बुझाउन सक्दछ जस्तो लाग्छ ।
शास्त्रहरुमा वेद र गीता विशेष मानिन्छन् । यस अतिरिक्त अठार पुराण, रामायण, महाभारत पनि विशेष प्रमाणित शास्त्रमा मानिन्छन् । वेद गीता पुराणादि शास्त्रहरु केवल हिन्दू धर्मका मात्र नभएर सबै धर्महरुका शास्त्र हुन् । जुनबेला महर्षि वेद व्यासले गीता पुराणहरु लेखेका थिए त्यसबेला व्श्विमा सनातन धर्मभन्दा अरु कुनै धर्म नै थिएन ।
गीता र पुराणहरु जो छन् ती सबै मानव कल्याण्को लागि रचना गरिएका शास्त्रहरु हुन् । तीनलाई कसैले तेरो र मेरो भन्नु नै धार्मिक विवादको जड हो । यतिबेला विश्वको परिवेशलाई विवेचना गर्ने हो भने एउटा के सिद्ध हुन गएको छ भने मानिसको जीवन भन्नु नै भौतिक र आध्यात्मिकताको समिश्रणले बनेको हुन्छ । शरीर भौतिक हो आत्मा आध्यात्मिक हो । यी दुईको बीचमा समन्वय भएन भने जीवन क्रियाशील हुन सक्दैन ।
त्यसैगरी जीवनको हरेक क्षेत्रमा भौतिकता र आध्यात्मिकताको समन्वयन हुन सकेन भने जीवन दुःख, कष्ट र अशान्तिको भुमरीमा फसेको हुन्छ । आज पाश्चात्य विकसित देशहरुमा मानिसहरुमा सुख, सुविधा र आनन्द र विलाशिताका सब वस्तुहरु प्राप्त छन् तर मनमा शान्ति र आनन्दित जीवन हुन नसकेको अवस्था छ । त्यसैले आज विदेशमा ठूलाठूला विश्वविद्यालयहरुमा वेद गीताहरुको पढाइ हुन्छ ।
सनातन धर्मले सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भनेर विदेशीहरुले हिन्दू धर्मलाई आफ्नो मूल धर्म बनाएर पूजापाठ भजन, कीर्तन, योग ज्ञान, ध्यानतर्फ लाग्नेहरुको संख्या बाक्लिँदै गएको देखिन्छ । तर हिन्दू धर्म मान्नेहरुले आफ्नो धर्म र संस्कृति त्यागेर विदेशी संस्कृति र संस्कारको धर्म अवलम्बन गरेर गौरवान्वित भएको देखिन्छन् ।
उनीहरुलाई आफ्नो चिन्हा हराएको मानिसजस्तो भएर बस्नु परेको छ भन्ने अनुभूति नहुनु नै दुर्भाग्य बन्न जाने कुरालाई अहिलेसम्म आत्मसात गर्न सकेका छैनन् । धन, पैसाले सबै सुख शान्ति र आनन्द पाउने भएर आज विकसित देशका धनाढ्यहरु किन दुःखी, अशान्त भएर बस्नुपरेको छ ? भन्ने कुरा सबैले आत्मसात गर्ने पर्छ ।