मेरो खुशी : वडाध्यक्षमा टिकट पाउँदा …

‘मेरो पहिले नै सपना र कल्पना थियो । मलाई नचिन्ने ठाउँमा म बस्न पाउँ, जहाँ मैले नचिने पनि मेरो कामले मान्छेले मलाई चिनून् । त्यो सपना र कल्पना अहिले आएर पूरा भएको जस्तो मलाई लागेको छ’–उनले भने–‘त्यहीमा खुशी भेट्ने गरेको छु ।’ यो खुशी हो गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीको ।

उनी जिल्लाका कान्छा जनप्रतिनिधि समेत हुन् । मिलनसार, कर्मशील दाङको नारायणपुरमा २०५१ सालमा उनको जन्म भएको हो । उनले सानैमा आफ्ना खुशीहरु र देखेका सपनाहरु पूरा हुँदै गएको र त्यसमा आफू खुशी हुँदै गएको सुनाए । तर उनले आफ्नो पहिलो खुशी २०७३ साल बैशाख १ गतेलाई सम्झिए । मेरो पहिलो खुशी बैशाख १ गते हो, त्यसै दिन मैले स्थानीय निकायको चुनावमा वडाध्यक्षको टिकट पाएको थिएँ ।

‘मेरो पहिलो खुशी बैशाख १ हो, जुन दिन मलाई तत्कालीन नेकपा माओवादीले वडाध्यक्षको टिकट दिएको थियो । त्यो नै मेरो पहिलो खुशी लेखिदिनुहोला’–उनले भने । उनले तत्कालीन नेकपा माओवादीबाट गढवा गाउँपालिका वडा नं. ८ कोइलाबासको वडाध्यक्षमा टिकट पाएको सुनाए । त्यस दिन टिकट पाउँदा मैले चुनाव जितेको अनुभव गरेको थिएँ । त्यस्तै उनले चुनावमा लडेर २०७३ मै जितेको सम्झँदै अर्को खुशी थपिएको सुनाए ।

मेरो सपना त्यतिबेला पुरा भयो जब चुनाव जितेँ र अब नयाँ ठाउँको नयाँ विकासमा लाग्छु भन्ने मलाई लाग्यो’–उनले भने । उनले कसैले नचिनेको ठाउँमा चुनाव जितेको बताए । सिद्दिकीले पहिले कोइलाबास र नाकाको समस्या सुन्दै आएको र त्यो समस्या समाधान गर्छु भन्ने लाग्ने गरेको सुनाए । चुनाव जितेसँगै कोइलाबासको मुहार परिवर्तन गर्छु र नाकाका पीडामा मल्हम लगाउँछु भन्ने आँट, विश्वासका साथ आफू अगाडि बढेको र त्यो पुरा हुदै जाँदा खुशी लागेको समेत सुनाए ।

उनले भारत नेपालका विभिन्न नाकामा बाटो पु¥याउँदा अर्को खुशी लागेको सुनाए । नेपाली पनि भारतको बाटो हुँदै आफ्नो भूमिमा जानुपर्ने वाध्यताको अन्त्य गर्न पाउँदा खुशी लागेको सुनाए । ‘नेपाली भएर पनि भारतको भूमि हुँदै आफ्नो गाउँ जानुपर्ने अवस्था थियो, अहिले त्यो अन्त्य भएको छ’–उनले भने–‘यो देख्दा खुशीको सीमा नै छैन ।’

त्यस्तै खबरी, मुसी नाकामा विद्युत विस्तार गर्न पाउँदा अर्को खुशी मिलेको सुनाए । केही नाकामा विद्युत बालिसकिएको छ, अब एक ठाउँमा बत्ती बल्ने तयारी छ, नाकामा उज्यालो पु¥याउँदाको अर्को खुशी छ’–उनले भने । सिद्दिकीले अर्को खुशी त्यहाँका गरिब विपन्नहरुको घरमा टिनको छाना टल्काउन पाउँदा लागेको सुनाए । ‘वर्षौंदेखि खरको छानामा बस्न नाकाबासीहरुले टिन लगाउन पाएका छन्, त्यसमा पनि मलाई खुशी लागेको छ’–उनले भने ।

त्यस्तै उनले आफू निर्वाचित भएसँगै हुलाकीमार्ग अन्तर्गत् कोइलाबाससम्म जाने कालोपत्रे भएकोमा पनि खुशी व्यक्त गरे । अहिले विस्तारै कोइलाबास नाकाको मुहार फेरिँदा खुशी लागेको सुनाए । त्यस्तै वडाध्यक्ष सिद्दिकीले आफू निर्वाचित भएपछि पानीको अभावमा काकाकुल भएको कोइलाबासमा डिपबोरिङ खनेर पानी आएको दिन पनि खुशी भएको सुनाए ।

पहिले पनि धेरै बोरिङ खनिएका थिए तर पानी आएन, मैले डिपबोरिङ खन्ने योजना पूरा भयो, पानी पनि आयो । पानी आउँदाको दिन पनि म रमाएको थिएँ’–उनले भने–‘अहिले यहाँका नागरिकले पानी खान पाएका छन् ।’ नेपालमा बसेर भारतको भूमिबाट पानी खानुपर्ने वाध्यता अन्त्य भएको भन्दै उनले अर्को खुशी कोइलाबासको पानी पनि आफनो भएको सुनाए ।

त्यस्तै राजनीति र वडाध्यक्षसँगै समाजसेवामा पनि लाग्ने सिद्दिकीले एक जना एकल महिला आमाको घर बनाउन सहयोग गर्न पाएकोमा पनि खुशी व्यक्त गरे । प्रदेशकै कान्छो वडाध्यक्षको रुपमा निर्वाचित सिद्दिकीले जनताको हरेक सुख–दुःखमा साथ दिन पाउँदा आफूलाई खुशी लाग्ने गरेको सुनाए । गरिब–दुःखीलाई खुशी गराउन पाउँदा म खुशी हुन्छु, उहाँहरुको खुशी नै मेरो खुशी हो’–उनले भने । उनले विभिन्न विपन्न गरिब–दुःखीलाई सहयोग गरेको बताए ।

२०६७ सालमा नारायणपुरको स्वर्गद्वारी बोर्डिङबाट एसएलसी प्रथम डिभिजनमा पास गर्दा पनि अर्को खुशी मिलेको उनले सुनाए । वडाध्यक्ष सिद्दिकीले अर्को खुशी कोइलाबासमा आँखा उपचार केन्द्रका लागि भवन निर्माण गरी आँखा स्वास्थ्य सेवा दिने तयारी गर्न पाउँदा पनि खुशी लागेको बताए । उनले अब त्यहाँका जनताले गाउँमै आँखा उपचार सेवा पाउने भएको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै आफूलाई साथीभाइ, घरपरिवारले पनि सहयोग गरेके भन्दै सबैको सहयोग पाउँदा पनि खुशी मिल्ने गरेको सुनाए । उनले बुबा, भाइ, श्रीमती, घरपरिवारले सहयोग गरेको भन्दै पारिवारिक खुशीले पनि आफू लक्ष्यमा पुगेको सुनाए । त्यस्तै २०७६ सालमा लमहीबाट विवाह गरेका सिद्दिकीले विवाह गरी जिम्मेवारी थपिएपछि पनि खुशी भएको सुनाए । उनले घरमा लक्ष्मीको रुपमा छोरी जन्मँदा पनि खुशी लागेको सुनाए ।

एसएलसी पासपछि यातायात व्यवसायीको रुपमा लागेको र पछि समाजसेवाका लागि वडाध्यक्षमा आफू लडेको भन्दै चुनावमा गरेका वाचाहरु पुरा गर्दा आफूलाई निकै खुशी लागेको सुनाए । उनले आफ्नो विकासको बाटोमा सबैले साथ र सहयोग पाएको भन्दै खुशी व्यक्त गरे । उनले आफू पहिले जस्तो कोइलाबास गराउन लागेको भन्दै यसमा सबैको साथ र सहयोग पाएको बताए । जनताको सुख–दुःखका सँगै काम गर्न पाउँदा निकै खुशी लाग्ने गरेको सुनाए ।

उनले आप्mनो खुशी नै गरिव विपन्नको खुशी भएको बताए । जन्म थलो नारायणपुर भए पनि कर्मथलो कोइलाबास गराएका गढवा गाउँपालिका वडा नं. ८ कोइलाबासका वडाध्यक्ष सद्दाम सिद्दिकी सानै उमेरमा वडाध्यक्षमा चुनाव लडेर जितेका व्यक्ति हुन् ।

प्रस्तुती : बालाराम खड्का