सन्तोषी परमसुखी

नारायणप्रसाद श्रेष्ठ

अहिले क्षणिक सुखको लालचमा मानिसको भागदौड र लुछाचुँडी प्रशस्त मात्रामा बढिरहेको छ । एकले अर्कालाई कसरी उछिन्ने होडबाजीमा मानिसको तन, मन र धन आकर्षित भइरहेको छ ।

एकअर्काको अस्तित्व मूल्यांकन नगरी मै खाउँ, मै लाउँ मै मोज मजा गरुँ भन्ने असीमित आकांक्षाले झनपछि झन प्रश्रय पाइरहेको छ । यही बढ्दो चाहनाले वर्तमान निकै उकुसमुकुस भएर गुज्रिरहेको छ । समयले एउटा भन्छ मानिसको इच्छाले अर्कै किसिमको विचार प्रतिपादन गर्दछ ।

आफूसँग भएको सीमित स्रोत र साधनले प्राप्त हुने सन्तोषको वास्ता नगरी तथा बाँच्नको लागि खाना हो खानाको लागि बाँच्ने होइन भन्ने मान्यता बुझ्दाबुझ्दै पनि मानिसले आफूले आफैलाई आफूभित्र असन्तोषको विजारोपण गरिरहेका छन्÷ छौँ । सन्तोष कहाँ छ भन्ने खोज र होडबाजीमा आफूले आफैलाई सम्हार गर्ने यान्त्रिक आविष्कार गरिरहेका छौँ । यति मात्र होइन, मानिसले मानिस स्वयम्लाई नष्ट गर्नेतर्फ मानिस स्वयम् उद्यत भइरहेको अवस्था छ ।

वाह्य आवरणमा शान्तिको चाहना देखाए पनि भित्रि आकांक्षा प्राप्ति र उपलब्धितिर नै मानवीय सोच बृद्धि भएको छ । यसरी वर्तमान समय मानिस आफूभित्रको धैर्र्य र सहनशीलता भेटाउन भौँतारिरहेको छ । सुखको लालच तथा लोभ र प्राप्तिको विषयभित्रको अहंकारले मानिस स्वयम् पतीततर्फ अग्रसर भइरहेको छ । हुन नहुने कार्यतर्फ मानवीय चिन्तन विकसित भएको देखिन्छ । यस अवस्थामा यदि मानवीय चिन्तन यसरी नै प्राप्तिभित्र नै दौडिरहने हो भने उसको गन्तव्य कहाँ अन्त्य हुने हो ? यो भन्न नसकिने अवस्था छ ।

सन्तोष लिन नसक्नुको कारण मानिस आफै दुःखी बनिरहेको छ । अरुको डाहा गर्ने जुन प्रवृत्ति विकसित भएको छ, यसले मानव आचरणलाई धमिलो बनाएको छ । फलानाले त यति प्रगति गरिसक्यो मैले किन नगर्ने ? भनी हाँडी काटी ढुङ्ग्रो, ढुङ्ग्रो काटी मुङ्ग्रो भन्ने उखान चरितार्थ हुने गरी वर्तमान अगाडि बढिरहेको स्थिति छ । आफूसँग भएको सन्तोषलाई पराईको घर पु¥याई आफू असन्तोष बनिरहेको छ ।

दुःख निवारणका लागि आवश्यक पर्ने गुण आफैभित्र रहेको सत्य उजागर नगरी अन्यत्र भौतारिरहेको छ । तसर्थ, सन्तोष गर्ने बानीको विकास गर्नु सबैको लागि अपरिहार्य आवश्यकता मानिएको छ । सन्तोषी परम सुखी असन्तोषी परम दुःखी यो भनाई हिजो जति सार्थक थियो, त्यसको परिणाम हिजो जेजस्तो आचरण र व्यवहार मानवीय जीवनमा अनुकरणीय थियो त्यो भन्दा बढी वर्तमानमा यो सत्य अनिवार्य आवश्यकताभित्र पर्न गएको छ ।

जहाँ सन्तोष छ त्यहाँ अवसर र प्राप्ति पनि स्वतः हुने कुरा सबैले बुझन जरुरी छ । यो उखान त्यसै चरितार्थ भएको होइन । यसभित्र अनगणित सत्य लुकेको छ । यो सत्य सबैले बुझ्न जरुरी छ ।

समयको परिवर्तनसँगै बढेको विकासको कारणले सभ्यताले जसरी आधुनिक मोड लिएको छ, मानवीय आचरण र सोचमा जुन किसिमले परिवर्तन भएको छ, यसले नयाँ परिवेशको उद्घाटन भएको प्रष्ट देखिन्छ । त्यसलाई दृष्टिगत गर्ने हो भने आकांंक्षा परिपूर्ति गर्न र प्राप्तिको विषयभित्र आफ्ना हरेक कर्मलाई परिस्कृत गर्दै लैजानु एवं विचारलाई प्राप्तितिर आकर्षित गर्नु यो स्वाभाविक विषय पनि मानिन्छ ।

‘मौरी काट्नेले हात चाट्न पाउनुपर्छ’ यो ध्रुवसत्य कहावट पनि हो । जसले जस्तो कर्म गर्छ उसले त्यस्तै उपलब्धि प्राप्त गर्छ । यो नौलो विषय पनि होइन । मिहिनेत र पसिनाभित्र सन्तोषको अनुभूति हुनु यो स्वभाविक प्रक्रिया पनि हो । यसरी सुखको अनुभूति गर्नु राम्रो आचरण पनि हो । तर मानिस आफूलाई जुन किसिमले घमण्ड र अहंकारले परिपोषित गरी अरुलाई तीर्ण बराबर ठानी म नै सबै हुँ भन्ने किसिमले जुन दम्भ राखेर आफूलाई प्रस्तुत गरिरहेको छ वास्तवमा यो नै असन्तुष्टिको कारण हो ।

आँखाले देखेको वस्तु मात्र सत्य हो भनी स्वीकार्ने प्रवृत्ति आफैमा कति सही छ ? के आँखाले देखेको सुन्दरता मात्रै सबै हो र ? गुलावको फूल देख्दा सुन्दर देखिन्छ तर त्यसलाई प्राप्त गर्न प¥यो भने त्यसभित्र लुकेको काँडाले घोच्न सक्छ र मानिस दुःख बन्न सक्छ । यो सत्य यथार्थ होइन र ? के प्राप्ति मात्र सबै हो र ? यसभित्र लुकेको सत्य ग्रहण गर्न नसक्नु र त्यसमा लुकेको रहस्य पत्ता लगाउन नसक्नु यो पनि दुःख होइन र ? सुन्दरता प्रदर्शनका लागि देखाउने सत्य हो ।

सुन्दरताभित्र पनि काँडा हुनसक्छ । यो सत्य कदापि भुल्नु हुँदैन । तर वर्तमान समय मानिसले क्षणिक प्राप्तिभित्रको सुख मात्रै खोज्ने जुन प्रवृत्ति बढेको छ, त्यसैको फलस्वरुप मानिस दुःखी र असन्तोषी बनेको छ । प्राप्तिपछिको प्राप्तिले दिने सुख नै आनन्द हो भन्ने जुन मानसिकता मानवीय आचरण र व्यवहारमा देखिएको छ वास्तवमा यो नै असन्तोषको कारण हो । असन्तुष्टि अरुले होइन आफूले आफैलाई आफैभित्रको सत्यलाई पहिचान गर्न नसक्नुको कारणले हो ।

सामान्य व्यवहारलाई पनि ठूलो बनाउने र आफूले मात्र हत्याउने जुन प्रवृत्ति वर्तमानमा देखिएको छ, त्यो नै असन्तुष्टिको कारण हो । हात काटे रगत आउँछ, चाहे त्यो गरिब होस् या धनी होस् । बिरामी पर्दा शरीरमा रगतको आवश्यकता प¥यो भने त्यसले जात, धर्म, धनी, गरिब हेर्दैन । केवल ग्रुप मिले पुग्यो । त्यसले मानिसलाई बाँच्ने आधार तयार गर्दछ । यो कुरा सायद वर्तमानमा सबैले बुझेको विषय पनि हो ।

तर पनि ठूलाले सानालाई तुच्छ मान्ने, म धनी र सुखी छु भनी अहंकार गर्ने यो प्रवृत्ति साच्चैमा असन्तोषको हुरी ल्याउने आधार हुन् । खानामा सबैले दाल, भात खान्छन् । कसैले पनि हिरा, मोती, सुन चाँचदी रुपैयाँ खाँदैनन् । फरक यत्ति हो कि कसैले मोटो चामलको भात खान्छन् त कसैले मसिनो चामल । तर पनि मसिनो चामलले गर्ने काम र मोटो चामलले गर्ने काम एउटै हो, जीवन रक्षा ।

यति थाहा हुँदाहुँदै पनि मानिसमा डम्भ छ । म धनी, ऊ गरिब भनी एकले अर्कोलाई होच्याउने प्रवृत्तिको विकास भएको छ । यही मानसिकता नै असन्तोषको कारण हो । अर्को कुरा अहिले परिवारको बीचमा देखिएको खरखिचौला असन्तोष पनि प्राप्तिको विषयभित्र मुखरित भइरहेको देखिन्छ । एउटै बाबुआमाबाट जन्मिएका सन्तान आफू स्वयम् भाइ–भाइ भएर पनि थोरै सम्पत्तिको लागि लुछाचुँडी छ । तैँले धेरै मैले थोरै भनी एकबित्ता आँठाको लागि अड्डाअदालत धाउँदै आफ्नै सम्पत्ति पोलिरहेको देखिन्छ ।

यो के मानवीय सन्तोष हो ? के एकबित्ता जग्गा बढी लिँदैमा सबै भइहाल्ने हो र ? मानिस किन बढी महत्वाकांक्षी भएको होलान् ? फेरि धेरै रकम खर्च भइसकेपछि अदालतको न्यायाधीशले गरेको फैसलामा चित्त बुझाउनैपर्ने हुँदैन र ? यो के मानिसको आचरण र स्वभावले दखाउने चरित्र हो र ? न्याय त अन्यायको लागि सजाय दिन मानिस स्वयम्ले बनाएको नियम हो । यसमा बाँधिएपछि गलत कार्य हुँदैन, मानिसको व्यवहार र आचरण राम्रो र परिस्कृत हुन्छ भनेर पने नियम प्रतिपादन गरेको हो ।

दुई भाइ झगडा गरेर सम्पत्ति नोक्सान गर भनेर बनेको न्याय त पक्कै होइन । एक बित्ता जग्गा दाइ वा भाइले बढी खाए त के भो ? हामी एउटै रगतको वंशले बनेका बालापनमा एउटै झोलुङ्गोमा सुतेका भाइ–भाइ हौँ भनेर चित्त बुझाए त सम्पत्ति नोक्सान हुनुबाट पनि बच्ने भाइ–भाइबीचको सम्बन्धमा पनि चीसोपन नहुने र आपसी तुष पनि देखानपर्ने होइन र । अहिले भाइ–भाइबीच यसैको कारण बोलचाल बन्द भएको देखिन्छ । के यी सबै असन्तोषको कारणले होइन र ? दूध बढी उम्लियो भने पोखिन्छ ।

यो सत्य सबैलाई विदितै पनि छ । त्यसैगरी मानवीय आचरण र व्यवहारमा पनि देखिने गलत चिन्तन र प्राप्ति नै मानिसको असन्तोष भएको कुरा सबैले बुझ्न जरुरी छ । दुःखपछि सुख र सुखपछि दुःख यो पनि सत्य हो । तर पनि अहंकार र घमण्ड गर्न हामी छोड्दैनौँ । असन्तोष आफै सिर्जना गर्दछौँ । त्यसैले आफू र आफ्नो परिवेशलाई सुखी र आनन्दित बनाउन आफूले आफैलाई सन्तोषको भकारी निर्माण गर्न सक्नुपरेको छ ।

खान, लाउनु, घुम्नु, मोजमजा गर्नु अरुलाई पछाडि परी आफूलाई अब्बल बनाउनु मात्र जीवनको उद्देश्य होइन । समयले मानिसलाई अवसर जुटाउँदै अघि बढेको हुन्छ । सन्तोष लिँदै आफू र आफ्नो परिवेशले इतिहासको पानामा अंकित हुने आदर्श चरित्र निर्माण गर्न समयले सुझाइरहेको छ । त्यस कुरालाई बुझौँ । सन्तोषबाट प्राप्त हुने आनन्द र उपलब्धिलाई जीवनको उद्देश्यभित्र परिपोषित हुने वातावरण बनाऔँ ।

जहाँ आनन्द र सन्तोष हुन्छ त्यहाँ अवसरको ढोका स्वतः उघ्रँदै जान्छ । नयाँ संरचना रचिँदै जान्छ, मनमा हौसला र आनन्द प्राप्त हुँदै जान्छ । यो कुरा सबैले स्वीकार्नु जरुरी छ । तब मात्र जीवनले खोजको चीज, वस्तु प्राप्त हुन सक्छ । यो आजको आवश्यकता हो ।यसैमा हामी सबैको कल्याण छ ।