यम रेग्मी
मंसिरको छोटो दिन । पुरै विवाहमा दिन बित्यो । राती फर्कियो जन्ती । रातीमा विवाहका अरु कुनै काम हुन सकेन ।
खाना तयार थियो । खानलाई दुलाहा–दुलहीलाई सँगै बसाले । अरु केही केटी पनि एउटै टेबलमा बसे । सबैले गमागम खान थाले । रक्षा खान सकिन । चम्चाले खेलाइरही ।
नजिकैको अर्को टेबमा दुलाहाका साथी खाँदै थिए । एउटाले आँखाले इसारा ग¥यो । विजय जुरुक्क उठ्यो । विवाहको माला घाँटीमै थियो, झिक्यो । खाँदै गरेकी केटीको हातमा माला राखिदिँदै बोल्यो, ‘भाउजुलाई ख्याल गर्नु । म अहिले आउँछु ।’ त्यो केटी अंकलकी छोरी जया रहिछे । ऊ बोल्न नपाउँदै विजय हिडिगयो ।
विजयको व्यवहारले चसक्क घोच्यो रक्षाको मन । माया हो वा सहाराले हो ? सम्बन्धले हो वा संस्कारले हो ? खै केले हो कुन्नि ? रक्षा प्रदेश हिडेको मायालु प्रदेशीलाई प्रियसीले हेरेझैँ लुकेर देखिञ्जेल हेरिरही ।
जया रक्षालाई सरासर कोठामा लगी । जिस्किँदै बोली, ‘हनिमुनको रुम यही हो हजुरको । ह्याप्पी म्यारिज नाइट भाउजु । सी.यु. टुमारो, ओ.के. बाई ।’ हात हल्लाई र कोठाबाट निस्किई । रक्षा औपचारिकता पुरा गर्न भित्रैबाट बोली– ‘बाई नानी ! ’
ढोकाको चुकुल लगाई । कोठामा चारैतिर नजर पु¥याई । आफैमा सुन्दर थियो, कोठा । त्यसमाथि कल्लात्मक सजावट । सूनमा सुगन्ध भएझै लाग्यो, उसलाई ।
ठूलो पलङमा थचक्क बसी । घुम्टो हटाई शिरबाट । शिरविन्दुले शिर दिउँदैदेखि साह्रै दुखिरहेको थियो, झिकी । कपालभरि चन्द्रमाचन्द्रमै थिए, झिकी । झुम्काले कानका लोती चुडिने गरी दुखेका थिए ।
त्यो पनि झिकी ।बाला हातबाट झिकी । जादुगरले जन्तर झिकेझैँ घाँटीबाट भयभरका गहना झिकी । खुट्टा र पाउजु अलग बनाई । सबै गहना पोको पारी । झोलामा राखी । कैदीको शरीरबाट नेल झिकेझैँ हल्का भयो तन । सुखको लामो सास फेरी ।
दिनभर शारीरिक थकान र दुखाई होला । बेहुली हुँ भन्ने हेक्का समेत थिएन ।
अटेजकोठा रहेछ । बाथरुममा छिरी । निधारभरिको टीका पखाली । रातै भयो बेसिङ । केही शीतलता दियो पानीले । कोठामा आई । टावेलले सपक्क मुख पुछी । पलङमा थचक्क बसी । शरीरले आनन्दको अनुभव ग¥यो ।
झल्यास आँखा भित्तामा लोग्नेको झुण्डिएको फोटोमाथि प¥यो । मन खङ्ग्रिङ्ग ग¥यो । फोटोले बल्ल बेहुलीको भान गरायो । विवाहको पहिलो रातको बारेमा साथीहरूले गरेका कुरा सम्झिई । मन झनै अत्तालियो । शरीरबाट खलखल पसिना आयो । औडाहा भयो । भगवान्सँग प्रार्थना गरी–‘ हे भगवान् ! मेरो पति आउनुभन्दा पहिले नै बिहान बनाइदेऊ ।’ बिहानीको प्रतीक्षा गर्न थाली ।
कतिखेर हो कुन्नि । झपक्क आँखा लोलाएछन् । बाहिरबाट ढोकामा ढ्याक ! ढ्याक ! ढ्याक ! आवाज आयो । झल्यास ब्युँझिई, खराब सपनाबाट व्युँउझिएझैँ । साहै्र डर लाग्यो । हातको घडी हेरी । ११ः३० भएको थियो ।कता लुकौँ र कहाँ भागौँ भयो । लुक्ने ठाउँ खोजी । भाग्ने बाटो खोजी । तर कतै देखिन ।
ढ्याक ! ढ्याक ! ढ्याक ! फेरि तीन पटक आवाज आयो । खोल्न बाध्य भई । डराई–डराई घ¥याक ढोका खोली । पतिदेव रहेछन् । ऊभन्दा पहिले चुरोट र रक्सीको घिनलाग्दो गन्ध कोठामा ह्वास छि¥यो । ऊ अप्रेशनपछिको बिरामीझैँ हल्लिँदै कोठामा छि¥यो । भित्रबाट चुकुल लगायो ।
रक्षा झनै आत्तिई, लोग्नेको यस्तो अवस्थाले । होस हरायो । बोल्न खोजी । जिब्रो चलेन । भाग्न खोजी खुट्टा लागेनन् । उभिएको ठाउँमै उभिएको उभिई भई । एकटकले हरेको हे¥यै भई । च्याप्प रक्षाको हात समाएर पलङमा बसाल्यो । रक्षा घोप्टो परेर रोइरही ।
भ्याप्प कोठाको बत्ती मा¥यो । अँध्यारो भयो कोठा । फेरि नाइट बल्ल बाल्यो । बाघले मृगलाई देखेर झम्टिएझैँ रक्षामाथि झम्टियो ।
व्याधाको अगाडि चरी कापेझैँ लुगलुग काप्न थाली रक्षा । कुखुरालाई काटेर उसका रौंहरू झिकेझैँ रक्षाको शरीरबाट पहिले बाहिरी वस्त्र हटायो । भित्री वस्त्र हटायो । कपडा अलग भए, रक्षा अलग भई । निर्वस्त्र भई, एउटा पुरुषको अगाडि । मधुर बत्तीको प्रकाशमा शरीरका संवेदनशील अंगहरू स्पष्ट देखिन्थे ।
गिद्धले सिनोलाई लुछेझैँ काँचो मासु लुछ्न थाल्यो । अत्यन्त हतारमा । अथाहा पीडा भयो रक्षालाई । पीडाका आवाजले कोठा गुञ्जायमान भयो । पतिदेवलाई कुनै वास्ता थिएन । उनी नसा र यौनको मातमा मस्त थिए ।
आवाज बाहिर नजाओस् भनेर रुमालले मुखमा बुजो लगाई । केही रोकियो आवाज । कोठा बाहिर जान पाइन । रातभरि लुछिरह्यो कुकुरले हड्डी लुछेझैँ । लुछ्दा–लुछ्दै भुसुक्क निदायो । रक्षा रुँदै आफ्नो शरीरबाट उसको शरीर हटाई ।
बल गरेर उठी विस्तराबाट । कल्लबल्ल बसी । शरीर धामी कापेझैँ कापेको थियो डर र पीडाले । फलामको डल्लो थिचेझैँ दुखेको थियो जीऊ । झ्यालबाट फर्सी खसेझैँ फलङबाट भूइँमा थ्याच्च बसी ।
केही पर हेङ्गरमा कपडा थियो । उठ्न खोजी, सकिन । आगोले पोलेझैँ पोलेको थियो पेटमुनिको भाग । मुख सुकेर गम परेझैँ च्याप–च्याप भएको थियो । बाम सरेरै हेङ्गर छेउ पुगी । बसेरै कपडा लगाई ।
झल्यास आमालाई सम्झी । गोपाललाई सम्झी । आफ्नो भाग्य सम्झी । भित्रैबाट हिक्का फुटेर आयो । डोपट्टाले मुख छोपी । आवाज रोकी ।
मोबाइल खोली । आमाको फोटो स्क्रिनमा नै थियो । धेरैबेर फोटो हेरेर टोलाई । सुँक्क–सुँक्क रुँदै आमाको फोटो हेर्दै मनमनै प्रश्न गरी–‘मेरी आमा ! कुनै दिन तिमी पनि, मैलेजस्तै पीडा सहे हौली ।
यातना भोगिहौली ? म जस्तै परपुरुषसामू नाङ्गिए हौली ? जीवनका हरेक घटना बतायो । हरेक दुःख बाँड्यो । हरेक सुख बाड्यो । तर यति ठूलो घटनाबारे तिमीले किन कहिल्यै बताएनौ ? किन मौन बस्यौ मेरी प्यारी आमा ?’
फेरि घोप्टो परेर केही बेर रोई । मोवाइलको घडी हेरी । दुई बजेको रहेछ । सोफामा पल्टिई । आँखा चिम्म गरी । निद्रा आएन । धेरै बेरसम्म पङ्ख काटेको चरीझैँ फत्रे–फत्रे गरिरही ।
बाहिर कसैले गेटको ढोका घो¥याक्क पारेको आवाज आयो । बाहिरको बत्ती झल्ल बाल्यो कसैले ।
लुगा टिपी र बाथरुम छिरी । आफ्नो शरीर देखेर आफैलाई घृणा लाग्यो । धेरैबेर मिचिमिची नुहाई, घृणा पखाल्न तर गएन । जति नुहाए पनि सिकसिक गरिरह्यो, शरीर ।
बाथरुमबाट निस्किई । थला परेको बिरामी निस्किएझैँ । हल्का मेकअप गरी । पतिदेव निस्फिक्री सुतिरहेका थिए । नजिक आई र बसी । ढोका ढ्वाक–ढ्याक्क ! पारेको आवाज आयो । जुरुक्क उठी र ढोका खोली । मुसुक्क हाँसी । रक्षा हाँसोको जवाफ हाँसोले दिई । ऊ सरासर भित्र छिरी । सोफामा थचक्क बसी । कर्केनजरले पलङको तन्नामाथि नजर पुग्यो । उसको आँखा पछि–पछि रक्षाले पनि आँखा पु¥याई तन्नामाथि ।
रक्षाले ख्यालै गरेकी थिइन । सेतो तन्नामाथि । रातो रगतको दाग । टाढैबाट स्पष्ट देखिँदोरहेछ । उसले देखी । रक्षातिर पुलुक्क हेरी । मुसुक्क हाँसी । लजाउँदै जिस्केर बोली, ह्याप्पी हनिमुन डे ? आफै घरको हनिमुन त राम्रो भयो होला नि भाउजु ? कि कसो म गएँ है त ? ऊ बोल्दै कोठाबाट निस्किई ।
रक्षालाई फेरि एक पटक नाङ्गै भएझैँ भान भयो । साहै्र ग्लानी लाग्यो । भर्खर नुहाउँदाको चिसो टाबेल टाउकामै थियो । झिकी ।दागमाथि विछाई, चिसो टाबेल । लोग्ने मस्तसँग सुतिरहेको थियो । उसलाई देखेर अथाहा घृणा जाग्यो ।
फेरि केही बेरमै, ढोका ढ्वाक–ढ्वाक ! पारेको आवाज आयो । ढोका खोली । घरतिरका केटीहरू रहेछन् । एउटी बोली, ‘अब केही समयमै ढोग फुकाउनु पर्छ रे ? हिड्नुहोस् मेकअप गर्न ?’
रक्षा केही नबोली उनीहरूको पछि लागी ।
विवाहको दिनझैँ फेरि सजाय, शीरदेखि पाउसम्म । केही बेरमा दुलाहा पनि आइपुगे । दुबैलाई सँगै बसाले सोफामा । ढोग फुकाउने कार्यक्रम प्रारम्म भयो । टीका लगाइदिन्थे ।आशीष दिन्थे । गोडामा ढोगाउँथे ।
कहिले कसैको खुट्टा नछोएकी रक्षा । जसका खुट्टा छोपेर निधारमा पु¥याउँथी । जिउँदै मरेझैँ लाग्थ्यो । कसैका खुट्टा खर्सी परेका काँक्राझैँ लाग्थे । कसैका काँडालेझैँ हातका औँलामा कोतर्थे । कसैका चुच्चा परेका ढुङ्गाझैँ बिझ्थे । सबैले पालो गरी–गरी ढोगाए दासीलाईझैँ ।
सबै रमाइरहेका थिए, आ–आफ्नै धुन र तालमा । सबैका आँखा दुलाहाभन्दा दुलहीमाथि नै थिए ।
रक्षालाई कतिबेला सकिएलाझैँ भएको थियो । सबै आफन्तीहरूले घेरेका थिए चारैतिरबाट । ठूलो आवाजमा स्पिकर बजिरहेको थियो ।
‘दुलनी त घिनामर्नु रहिछे ? के हेरेर ब्या ग¥यो विजयले यस्तीलाई ? आज त यस्ती देखिएकी छे । अघिपछि झन कस्तो देखिएली ?’ आइमाई ठम्माउन सकिन । बोली रक्षाको कानमा तड्कारो रूपमा प¥यो ।
रक्षा एक्कासी चिसी भई, उसको शब्दले । शरीरबाट खल्लबली चिसा पसिना आए । के गरुँ ? कसो गरुँ भयो । बल गरेर आफूलाई सम्हाली ।
मुख हेर्ने कार्यक्रम सकियो । एउटा नचिनेको मान्छेले खान बोलायो । उसलाई खान मन थिएन । पिसाबले साह्रै सताएको थियो । शौचालय छिरी । भित्रबाट चुकुल लगाई । लामो सास फेरी ।
विवाह शौचालय । हेर्नमान थिएन । अरु दिन भएको भए । एक पल अड्न सक्दैनथी । अरुका आँखाबाट बच्नलाई । कोलाहलबाट बच्नलाई । भित्तमा शरीर अडेस लागी । उभिई, केही बेर । केही सहज भयो । निधारका पसिना पुच्दै थिई ।
‘कङ्गाली छोरी रै छे । विवाहमा एउटा मोटरसाइकल पनि दिएन उसको बाउले । कस्तासँग सम्बन्ध गाँस्यो, कस्तासँग ?’ स्पष्ट रूपले कानमा आवाज प¥यो । सासूको आवाज थियो, त्यो । झनै मर्माहत भई, त्यो आवाजले । घोप्टो परी फेरि रुन थाली ।
ढोका ढ्वाक ! ढ्वाक !! ढ्वाक !!! पारेको आवाज आयो बाहिरबाट, आवाजले झसङ्ग भई । जुरुक्क उठी । केही सहज भई । घ¥याक्क ढोका खोली ।
ढोका हान्ने सानो बच्चा रहेछ । अनुहारमा पुलुक्क हेरी । मुसुक्क हाँसी । बाहिर निस्की शौचालयबाट ।