विनोद पोख्रेल
२०७७ जेठ ३ गते
यताका केही दिनहरुमा समय बिताउन त्यति धेरै छटपटी गर्नुपर्दैन । केही त अलि–अलि साथीहरु पनि जुट्ने गर्छन् तर नियमित होइन । केही सायद अभ्यस्त पनि बन्दै गएको छु कि ? केही नाति केटाहरुसँगको कचकच जो प्रायः जानी–जानी नै हुन्छ ।
उनीहरुले कति बुझ्छन् थाहा छैन तर समय बिताउन पनि तिनीहरुसँग कराउनमा पनि एक प्रकारको आनन्द आउँछ । हिजो एउटा रमाइलो भयो । रमाइलोकै रुपमा लिए मैले । हामी दुईजनालाई सुलोचनालाई समेत केही थाहै नदिएर विपुल खानेवित्तिकै हिँड्यो । केटाहरुलाई थाहा रहेछ । उनीहरुले पनि गोप्य राखे । एकाएक लमहीका सबैलाई लिएर आयो ।
देउखुरीका केहीमा भाइरसको संक्रमण भएको थाहा पाएर तुरुन्त लिन गएछ । सबै काम अलि चाँडो नै भयो । एकाएक सबैलाई घरमा जुटायो । रमाइलो त्यसैले भनेको हुँ । काठमाडौंको टोलीलाई भने सम्भव देखेको छैन । के–कस्तो हुने हो । पर्सी ५ गतेसम्म अहिलेलाई घोषित छ । आजभोलिमा अर्को निर्णय होला । कस्तो निर्णय हुन्छ, त्यसमा धेरै भर पर्छ । उनीहरुमात्रै जुट्न नसकेकाले अलि आत्तिन्छन् कि भन्ने चिन्ता छ । तर बाध्यता पनि त छ । अब घरमा तीनजना अरुथपिएपछि समय बिताउन अझ धेरै सजिलो होला ।
विपुलले शंकार गरेअनुसार हिजो साँझ नै दाङमा अपुष्ट समाचार अनुसार पाँचजना संक्रमित देखिए । यो समाचारले अलि बढी त्रास जगाउँथ्यो होला । किनभने यो प्रभाव देउखुरी क्षेत्रमै भएको छ । मैले पहिलेदेखि नै शंका त गरेकै थिएँ । कपिलवस्तुले अलि आत्तिने बनाएको हो । लमहीबाट सबै आएपछि केही राहत त भयो । त्यसैले मैले रमाइलो अनुभव गरेको छु । म वा हामी त घरभित्रै बसेर बाँचौंला तर समस्या सुस्त–सुस्त बढ्दै छ ।
अहिले जसरी व्याख्या गरिएको छ त्यो सबै मान्ने हो भने अब देउखुरीमा उत्पादन भएका तरकारीहरुमा शंका गर्नुपर्ने हुन्छ । त्यस्तो भयो भने तरकारीको समस्या ह्वात्तै बढ्छ । त्यस्तै धेरै कुराले सुस्त–सुस्त समस्या थप्दै जाने हो । केही पैसा भएका किनेर खानेहरु पनि कति महिना वा वर्ष टिक्ने होलान् ? यस्तोमा त भकारीको धान नै काम लाग्ने हो । तर शहरीकरणको आकर्षणमा परे, आफूले खेतीपाती गर्न नसकेर, जनशक्ति विदेशिएकोमा गर्व गरेर वा अन्य कारणले उत्पादन अनपेक्षितरुपमा घटाउने हामी आफै त हौं नि ?
तर सबै परिवार आफ्नो घरमा माटो वा स्तरहीन तर अग्र्यानिक, कुपोषणरहित खानाजस्तो कि ढिडो, आटो, पिठो आदि भए पनि सँगै बसेर खाएजस्तो सजिलो जीवन उपभोगवादको शिकार भएर जीवन सजिलो बनाउने कल्पनामा अन्यत्र गएर एक्लोपनको, तनावको, धेरै प्रकारका खतराको बीचमा काम गर्दा पनि हुने रैनछ भन्ने प्रष्ट भएको छ ।
अझ जति विकसित मुलुक त्यति धेरै असुरक्षाजस्तो पो देखिएको छ । एउटा शूक्ष्म भाइरस जसको कुनै नीति, उद्देश्य वा कार्यक्रम छैन, जो शक्तिशाली पनि छैन, जो सामान्यतया देख्न पनि सजिलो छैन त्यस्तोले संसारलाई कति धेरै पीडाग्रस्त बनाउन सक्छ भने अलिकति शक्तिशाली अरु कुनै ताकतले त विश्व नै संहार गर्न सक्छ र मै हुँ भन्ने मानिस हेरेको हे¥यै हुन्छ, केही गर्न नसकेर ।
२०७७ जेठ ४ गते
सायद मानिसको स्वभाव यस्तै हुन्छ । अथवा मेरो मात्रै यस्तो स्वभाव पनि हुनसक्छ । यो मलाई थाहा छैन । केही दिन भनौं अथवा दुई दिनमात्रै पनि आफू वा आफ्नो परिवारबारे लेखेँ या त्यत्तिमै सीमित भए भने यो लेख श्रृंखला नभएर दैनिकी भएजस्तो लाग्छ ।
नयाँ–नयाँ भावना र नयाँ–नयाँ विषयबारे लेख्न मन लाग्छ । तर उता फेरि राजनीतिमा कचिङ्गल, विचारहीनता आदि आदि विकृति देख्दा त्यस क्षेत्रतर्फ फर्किन पनि मन हुँदैन । सामाजिक क्षेत्रको कुरा गर्दा पनि सामाजिक एकताको लागि आवश्यक प्रयास वर्तमानमा अपेक्षितरुपमा नभएकोजस्तो लाग्छ बरु यो एकतालाई भाषा, धर्म, क्षेत्र आदिको नाममा टुक्राउनुलाई नै सफलता मान्ने चरित्र प्रभावकारी भएजस्तो लाग्छ ।
त्यसकारण पनि एक प्रकारको पीडा अनुभव गर्छु । सबै क्षेत्रमा यस्तै हो । साहित्य क्षेत्रमा पनि लेख्न त लेखेको छु । डायरीमै पनि कविता पनि प्रशस्त छन् । सबैको स्तर एउटै नहोला तर कविता छन् । त्यसबाहेक साहित्यलाई परिभाषित गर्ने प्रयाससमेत भएको छ । तर पनि धेरै बाँकी भएकोजस्तो लाग्छ । सामयिक विषयहरु अथवा राजनीतिक, सामाजिक घटना, दुर्घटनाबारे पनि लेखेको छु ।
अझ भन्ने नै हो भने मेरो चाख तत्कालका घटनाहरुको मूल्यांकन गर्नमै बढी हुन्छजस्तो लाग्छ । यो सबैभन्दा म निराशावादी जस्तो देखिनु अथवा बुझिन्छ कि भन्ने डर पनि लाग्छ । म निराशावादी भने पटक्कै छैन । समयले, सोचले, सामाजिक गतिविधिले कहिलेकाहीँ परिवेशलाई नियन्त्रणभन्दा बाहिर समेत पु¥याईदिन्छु जुन सामान्य मानिसले नियन्त्रण गर्न सक्दैन ।
म पनि एउटा सामान्य मानिस हुँ । फेरि मैले जो कल्पना गर्छु त्यो नै सही हो बाँकी सबै गलत हो भने पनि म अव्यावहारिक हुन्छु । अर्को कुरा परिकल्पना गर्नु र त्यसलाई व्यवहारमा ल्याउनुमा धेरै फरक हुन्छ । एकजना अंग्रेजी कवि टेनिसनले लेखेको जस्तो लाग्छ, नयाँलाई ठाउँ दिन पुरानो व्यवस्था परिवर्तित हुन्छ । कुन्नि किन हो म यो भनाइसँग धेरै सहमत भएजस्तो लाग्छ । समाज गतिशील छ, परिवर्तनशील छ भन्ने मान्यता राख्ने अनि हिजो यस्तो थियो भनेर सम्झना गरेर रुने वा समय खेर फाल्ने गतिविधिको मैले समर्थन गर्न सक्दैन ।
तर समाजलाई परिवर्तन हुन सको गतिमा कुनै प्रकारको बाधा नपार्ने हो भने यो परिवर्तन उचित र सकारात्मक मात्रै हुने थियो जस्तो लाग्छ । यो मेरो विचार हो ।अहिले परिवर्तनहरु स्वाभाविकरुपमा भइरहेका छैनन् । प्रष्ट भन्दा स्वाभाविकरुपमा हुन पाएकै छैनन् । मैले मेरा महत्वकांक्षा अनुसार, मेरो लहडअनुसार परिवर्तन गर्न चाहिरहेको छु भने तपाई वा अरुले पनि यसैगरी परिवर्तन चाहनुभएको छ ।
एउटै समाजको परिवर्तन धेरैका अलग–अलग स्वार्थअनुसार गराउन खोज्नुले नै मैले माथि उल्लेख गरेका विकृति जन्मिएका हुनजस्तो लाग्छ । मलाई मेरो स्वतन्त्रता प्यारो भएजस्तै समाजलाई पनि उसको स्वतन्त्रता प्यारो हुनु स्वाभाविकै हो । तर यहीबाट शुरु हुने द्वन्द्व र आफूले जित्नुपर्ने महत्वाकांक्षी सोचहरु नै विकृति निर्माणका कारण हुन् ।