विषय होइन विवेक साध्य हुनुपर्छ

नारायणप्रसाद श्रेष्ठ
अहिले नेपालको राजनीतिक परिदृश्य गतिहीन र छाडा प्रवृत्तितिर उन्मुख भएको जस्तो देखिँदैछ । विचारमा शुद्धता र विचारमा दूरदर्शीता कमजोर भएको स्थिति प्रष्टिँदै छ । नातावाद, कृपावाद र वफादारवादको चक्रव्यूहमा निर्णयकर्ताले आफूलाई अब्बल बनाउने अवस्था सिर्जित भएको देखिन्छ ।

चाकडी, चाप्लुसी र रिमोर्टको भरमा शासन सत्ता सञ्चालन हुनुपर्छ भन्ने दिशातर्फ नेपालको राजनीतिक गोरेटो निर्माण हुँदै गरेको आभाष पाइन्छ । राष्ट्र र राष्ट्रियभन्दा व्यक्तिवादी चरित्र हाबी भइरहेको स्थिति छ । राष्ट्रवादी चरित्र प्रदर्शन फितलो छ । पक्ष वा प्रतिपक्ष होस्, कसैको पनि राष्ट्रियताप्रति खासै चासो नरहेको अवस्था देखिँदैछ । कुरा र भाषणले भोकाएका जनताको पेट भर्ने चाल चालिँदै छ ।

राजनीतिक दूरदर्शीता र राष्ट्रियता कमजोर हुने अवस्था सिर्जना हुने डर पैदा भएको छ । जनअभिमतअनुकूल प्रजातान्त्रिक शासन पद्धति देखाउनुपर्नेमा नेतृत्व तहहरु आफै विचलित रहेको स्थिति छ । जनताको अभिलाषा अनुसार शासन सञ्चालन हुनुपर्ने कानुनी राज्यमा व्यक्ति स्वयम् कानुनको व्याख्याता बन्दै मुढेबल प्रदर्शन भएको देखिन्छ । लोकतन्त्रभन्दा व्यक्तिवादीतन्त्र हाबी भएको पाइन्छ । निहित स्वार्थमा डुबुल्की मार्न चाहने चरित्र राजनीतिक क्षेत्रमा बलियो भएर देखापरेको छ ।

दूरदर्शी र विवेकशील नेतृत्व नेपाली राजनीतिक वृत्तचित्रमा नभएको हो कि जस्तो गरी कोही सत्ता छिनाझप्टीमा, कोही साँढेको जुधाई बाच्छाको मिचाइँ गरी शक्ति हत्याउने दाउँमा आफूलाई प्रदर्शन गरिरहेका छन् । तसर्थ, यस्तो जटिल अवस्थामा जनताको चाहना के हुने हो ? राष्ट्रको राष्ट्रियता कता मोडिने हो ? संघीय शासन प्रणालीले आफूलाई कसरी सफलोन्मुख बनाउने हो ? यस्तो गम्भीर चुनौतीपूर्ण अवस्था वर्तमान राजनीतिक परिदृश्यमा देखापर्दै छ ।

गणितको जोड–घटाउमा नै अल्मलिने राजनीतिक चरित्रले आम नेपाली जनमानसमा गरेका वाचा के पूरा होलान् ? यो प्रश्न तल्लो निकायमा समेत सल्बलाउन थालेको छ । परम्परागत मूल्य र मान्यता विपरित नेतृत्व तह आफै अल्झिनु यो कुन शासन प्रणालीको रहेछ ? आम नेपालीको चासोको विषय बनेको छ । बदला र प्रतिशोधको भावनाले परिपोषित विचार राजनीतिक धरातलमा सल्बलाउनु कति उचित होला ? नैतिक मूल्य र मान्यता विपरित राजनीतिक धरातल निर्माण हुने हो भने राष्ट्रियतामा चुनौती नथपिएला भन्ने आधार देखिँदैन ।

नैतिकतासँग गाँसिएको यस्तो प्रश्न किन र केको लागि प्रयोजन भएको हो ? यस कुराको निक्र्योल वर्तमानले दिनुपर्ने अवस्था छ । तसर्थ, सबै सचेत नागरिक र राजनीतिक क्षेत्रमा आफूलाई समर्पित नेतृत्वकर्ताले गम्भीर रुपले बुझ्न जरुरी छ । थोरै मात्र राजनीतिक विचलनले ल्याउने परिणामको समयमै ख्याल राख्नु सबै नेतृत्वकर्ताको जिम्मेवारी हो ।

भूसतहमा देखापरेको ढुङ्गा निकै बलियो र मजबुत हुन्छ । तर पनि चट्टानभन्दा बलियो पानी हुन्छ । पानी जति शक्तिशाली हुन्छ त्योभन्दा पनि शक्तिशाली वायु हुन्छ । तर वायुभन्दा बलियो मानिसको हृदयभित्र लुकेको विचार हुन्छ । यदि विचारमा विवेकशीलता भएर कर्म र व्यवहारमा परिणत गर्न जानिएन भने यसले आफू स्वयम् र अरुलाई पनि नराम्रो गरी समस्यामा उल्झाउन सक्छ ।

विचार मानिसको सबैभन्दा बलियो र ताकतवर रहेको कुरा नेतृत्वले राम्रोसँग बुझ्न जरुरी हुन्छ । यही विचार मानिसको सबैभन्दा शक्तिशाली र प्रेरणादायी हुन्छ । यदि विचार शक्ति नकारत्मकतर्फ आकर्षित हुन पुग्यो भने यसले ल्याउने परिणाम निकै दुःखदायी हुनपुग्छ । खुशी र दुःखी बनाउने भनेकै मानिसको विचाशक्ति हो । यही विचार मानिसको मित्र पनि हो र यही विचार शत्रु पनि हो । तसर्थ विचारलाई अहंकार, घमण्ड र दम्भबाट कहिल्यै पनि प्रभावित हुन दिनु हुँदैन ।

यदि विचारलाई अविवेकीपनले परिपोषित गरियो भने परिणाम नराम्रो हुनसक्छ । अर्को कुरा विचारलाई आफूनुकूल बनाई शक्तिशाली बनाउँछु भनी अहंकार प्रदर्शन गर्ने हो भने पनि त्यसले दूरगति निम्त्याउन सक्छ । राजनीतिक क्षेत्रमा यी निकै महत्वपूर्ण मानिन्छ । विचारशक्ति कमजोर हुनु भनेको नैतिकतामा प्रश्न खडा हुनु हो । यदि विचारशक्ति स्वच्छ बन्न सकेन भने आफूले आफैलाई असक्षमताको पगरी गुथ्नुपर्ने स्थिति आउनसक्छ । तसर्थ, अहिले सावधान हुन जरुरी छ । अति गरे खति व्यहोर्नुपर्छ भन्ने कुरा सबैले ख्याल गर्नु पर्छ ।

विषय आफैमा साध्य होइन । विषयलाई साध्य बनाउने भनेको विवेक हो । यो सत्यलाई कदापि भुल्नु हुँदैन । निर्णय प्रक्रियामा उच, नीच, तेरो, मेरो भन्ने मानसिकता दिगो रहन सक्दैन । यो समय परिस्थिति अनुकूल बदलिरहन्छ । राजनीति पनि त्यस्तै हो । यो कहिले तल कहिले माथि भइरहन्छ । त्यसैले राजनीतिक सफलता उसको विवेकमा निर्भर रहेको हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ । आचरण र समय सुहाउँदो वातावरण अनुकूल विचार प्रवाह गर्दा शुद्ध र निष्कलंकित भावबाट गर्नु गराउनु पर्छ ।

कोठामा बसेर कार्तिकमा लाहलह पाकेका धान हत्याउने जवाना अब छैन । यस्तो नियत सधैँ दिगो पनि रहन सक्दैन । अर्को कुरा परिस्थितिको मूल्यांकन नगरी विचार प्रदर्शन नगरे स्वयम् आफैलाई असर पु¥याउन सक्छ । तसर्थ, विषय होइन विवेक साध्य हो भन्ने कुरा सबै दल र नेतृत्वले स्वीकार्नु पर्दछ । राजनीतिक धरातलमा उतारचढाव आउनु यो ठूलो कुरा होइन । यस्तो अवस्था आउँछ, जान्छ । चुनावमा हार–जित यो स्वाभाविक राजनीतिक प्रक्रिया हो । जिते भनेर मत्ताउनु र हारे भनेर निराश हुनु राजनीतिज्ञलाई सुहाउने विषय पनि होइन । हिम्मत हार्नु हुँदैन, हरेस खानु हुँदैन । यसको लागि आफ्नो विचार र व्यवहारलाई परिस्कृत गर्न सक्नु पर्छ । हिड्दा ठेस लाग्न सक्छ ।

ठेस लाग्यो भने के हिड्नै छोडिदिने हो ? यदि यस्तो हुने हो भने मानिस कुजो र अपाहिच पनि बन्न बेर लाग्दैन । तसर्थ, विवेकशील भएर नेतृत्वले आफूलाई प्रदर्शन गर्नु पर्छ । खेतमा लहलह पाकेको धान मेरै हो भनी नवाबी चाल चल्ने हो भने धान भिœयाउन नपाइने अवस्था रहनसक्छ । धान पाउन खेत जोत्नु पर्छ, वीउ राख्नुपर्छ, त्यसलाई मलजल गरी त्यसको संरक्षण गर्न जरुरी हुन्छ । तब मात्र खेतीको उब्जनी पाइन्छ । त्यसैगरी जनताको म्याण्डेट लिएका नेताले जनआवाजको कदर गर्न पनि जान्नु पर्छ । दिउँसै सपना देख्ने चाल राजनीतिज्ञलाई सुहाउँदैन । बोली, वचन र कर्ममा शुद्धता र निष्पक्षता राजनीतिक सफलता हो ।

परिस्थतिको मूल्यांकन गर्न सक्नु नेतृत्वको पहिचान हो । त्यसैले वर्तमान समय भनेको राष्ट्रियतालाई साक्षी राखी उत्तर दक्षिण होइन आफ्नै माटो सुहाउँदो विवेक प्रयोग गरेर राष्ट्रिय स्वाभिमान कायम गर्ने समय हो । कुर्सीको छिनाझप्टीमा होइन नेपाली माटो समाई जनताको भावना समाई उनको इच्छा मुताविक अवसर दिलाउने समय हो । सोच र चिन्तनमा सकारात्मकता बढाई जिम्मेवारी वहन गर्ने समय हो ।

कोही काखा, कोही पाखा यो राजनीतिक दाउँपेच गर्ने समय होइन । अहिले त एकअर्काबीच हातेमालो गर्दै कार्य र व्यवहारमा देखिएका कमीकमजोरीलाई पहिचान गरी त्यसको निराकरण गर्दै अघि बढ्ने समय हो । किनकि अवसर सधैँ एकनास हुँदैन । अवसर गुमाउनु भनेको आफैलाई पछि पार्नु हो । पद र प्रतिष्ठामा अल्झिनु मात्र पनि राजनीतिक सोच होइन । राजनीति भनेको त्याग र समर्पणमा आधारित विचार र कर्म हो ।

स्वर्गीय गणेशमान सिंहले आफूलाई प्राप्त पद त्यागेको भर्खरको इतिहास सबैको लागि मार्गनिर्देशन भएको कुरा स्मरण गर्न जरुरी छ । राज्यलाई भ्रष्टाचारमुक्त समाज निर्माणको परिकल्पनामा देखिएका असामाजिध र अमर्यादित गतिविधिको निमिट्यान्न गरी बोलीमा होइन व्यवहारमा परिणत गर्ने समय हो । समाजवाद किताब र भाषणमा होइन व्यवहारबाट देखिनु पर्छ ।

तसर्थ, वर्तमान समयमा देखिएको उचारचढावलाई सम्यमित र धैर्यवान् भई कोही कसैको इसारामा राष्ट्रियता कमजोर पार्ने खालका कार्य राजनीतिज्ञबाट गर्नु गराउनु हुँदैन । त्याग र समर्पणमा आधारित विचार प्रवाह गरी राष्ट्रिय राजनीतिमा देखिएको घटनालाई सफलताउन्मुख बनाउनु सबैको साझा दायित्व हो । यसैमा नेपाल र नेपालीको भविष्य उज्ज्वल रहने छ ।