नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको सिनेटसभा आउँदो २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै छ । उपकुलपति तथा रजिष्ट्रार समेतको आधिकारिक नियुक्ति भइसकेपछि विश्वविद्यालयका लागि आगामी शैक्षिक–सत्रका लागि आवश्यक बजेट, विश्वविद्यालयको उन्नयनका सवालमा केही प्रस्तावलगायत परिमार्जित नयाँ शैक्षिक कार्यक्रम र संशोधित नयाँ पाठ्यक्रमलाई पारित गराउन पनि सिनेटसभा केन्द्रित हुने बताइएको छ । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थान मातहतमा रहेको विएएमएस शिक्षण अस्पतालमा अहिले प्रदेश सरकारले कोरोना विशेष अस्पताल समेत सञ्चालनमा ल्याउँदा विएएमएस अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पस कक्षाकोठा समेत पाइरहेका छैनन् । यिनै विविध विषय र विश्वविद्यालयको सिनेटसभामा लैजान थालिएका मुख्य–मुख्य एजेण्डाहरुमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार माधव अधिकारीसँग गरेको कुराकानीको सार संक्षेप ।
यो पटकको सिनेटसभा पनि फेरि काठमाडौंमै बस्नुपर्ने कारण के हो ?
विश्वविद्यालयको सिनेटसभा कुलपतिको अध्यक्षतामा बस्ने कुरा यहाँहरुलाई विदितै होला । कुलपति प्रधानमन्त्री हुने परम्परा पनि यहाँहरुमार्फत् सबैलाई फेरि पनि जानकारी गराउन चाहन्छु । अहिले मुलुक विश्वव्याधीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिबाट गुज्रिरहेको विश्व समुदायले स्वीकार गरेको अवस्था हो ।
अहिले धेरै भीडभाड गरी पहिलेको जस्तो उत्सवका रुपमा विश्वविद्यालयसभा आयोजना केन्द्रीय कार्यालय रहेकै स्थान बेलझुण्डीमा आयोजना गर्न सम्भव पनि भएन । अर्को कुरा प्रधानमन्त्री केपी ओली समेत स्वास्थ्य समस्यामा रहेको अवस्थामा दाङमा विश्वविद्यालयको सिनेटसभा सम्भव भएन । त्यसैल हालका पदाधिकारी तथा सिनेट सदस्यहरु काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमै गएर सिनेटसभा गर्ने अन्तिम तयारी भइरहेको मैले जानकारी गराउन चाहन्छु ।
धेरै लामो समयपछि बल्ल विश्वविद्यालयले उपकुलपति तथा रजिष्ट्रारलगायतका पदाधिकारी पाएको छ । तर अझै पनि सिनेट सदस्य नियुक्त हुन नसकेको अवस्थामा सिनेटसभाको गणपुरक संख्या पुग्छ होला छ ?
हो, अझै पनि केही सिनेट सदस्यहरु नियुक्त हुन बाँकी रहेका छन् । पूर्व प्रध्यापकहरुको तर्फबाट, पूर्व उपकुलपतिहरुको तर्फबाट, जग्गादाता तथा चन्दादाताका तर्फबाटलगायत धेरै सिनेट सदस्यहरुको नियुक्ति हुन बाँकी छ । तर विश्वविद्यालय ऐनले भनेअनुरुप गणपुरक संख्या पुग्छ । विश्वविद्यालय सिनेटसभामा २७ जना सभापद हुनुपर्ने हो । अहिले हामी १५ जना सदस्य छौँ ।
त्यसैले पनि गणपुरक समस्या नपुग्ने भन्ने होइन । पदस्थापन हुन बाँकी १२ जना सिनेट सदस्यका विषयमा पनि हामीले सिनेटसभामा प्रस्ताव लैजाँदै छौँ । मलाई लाग्छ, चाँडै बाँकी सिनेट सदस्यहरुको पनि चाँडै पद पूर्ति हुनेमा हामी आशावादी छौँ, सबैभन्दा महत्वपूर्ण कुरा त कार्यकारी परिषद् बनेपछि सबै सिनेट सदस्य पदमा नियुक्ति हुने प्रक्रिया हो । प्राचार्य स्थायी भएपछि कार्यकारी परिषद् पनि पूरा हुन्छ, त्यसपछि विश्वविद्यालयका थाँती रहेका सबै विषयहरु क्रमिक रुपमा सम्बोधन गर्दै जाने छौँ ।
अनि अर्को चर्चामा आएको कोरोना विशेष अस्पताल विएएमएस कलेजमा किन निरन्तरता दिइँदै छ भन्ने पनि हो । यो विषयमा विश्वविद्यालय एकदमै गम्भीर भएको अवस्था हो । मुलुक विश्वव्याधी महामारी कोभिड—१९ को चपेटोबाट गुज्रिरहेको अवस्थामा विश्वविद्यालयको खालि भवनमा अस्थायी कोरोना विशेष अस्पताल निर्माणका लागि राज्यलाई सहयोग गर्नु विश्वविद्यालयको पनि दायित्व थियो । अब विस्तारै कोरोना भाइरसको असर कम भएको अवस्थासँगै विद्यार्थीहरुका लागि पनि उपयुक्त कक्षाकोठामा पठनपाठनको व्यवस्थापनका सवालमा पनि सिनेटसभाले एउटा निर्णय गर्ने छ ।
बेलझुण्डीको आयुर्वेद शिक्षण अस्पताललाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
खासमा हामीले प्रस्ताव गर्ने मात्र हो, अहिले मुलुकसमेत विषम परिस्थितिमा रहेको अवस्थामा विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा आम नागरिकलाई चाहिएको अवस्था पनि हो । नेपाल संस्कृत विश्वविद्यालयसँग प्रशस्त खेर गइरहेको जग्गा समेत उपलब्ध भइरहेको अवस्थामा हामीले बेलझुण्डीमा एउटा एकीकृत अस्पताल निर्माणको प्रस्ताव श्रीमान् कुलपति समक्ष सिनेटसभामार्फत् लैजाँदै पनि छौं ।
प्रस्तावमा आयुर्वेद चिकित्साका साथै युनानी उपचार पद्धति (होमियोप्याथिक), योगा, प्राकृतिक उपचार पद्धति, एलोप्याथिक उपचार सेवालगायतलाई जोडेर एकीकृत अस्पताल निर्माणको सम्भावनाका बारेमा अथ्र्याउने छौँ । अनि यो पनि मैले जानकारी गराउन चाहन्छु कि प्रदेश सरकारले एकीकृत अस्पतालको डिपिआर तयार गर्नका लागि विश्वविद्यालयलाई १० लाख रुपैयाँ समेत बजेट विनियोजन समेत गरिसकेको छ ।
डिपिआर निर्माणको काम समेत सुरु भइसकेको छ । राष्ट्रिय योजना आयोगका अधिकारीहरुसँग पनि यसका विषयमा निरन्तर सम्वाद भइरहेको छ । आयुर्वेद विषय अध्यापनका लागि पनि सरकारले थप १५ दरबन्दी पनि स्वीकृत गरिसकेको अवस्थाले हामी आयुर्वेद अध्ययन संस्थानलाई थप परिमार्जन सहित अध्ययन अध्यापनलाई चुस्तदुरुस्त बनाउनेमा पनि आशावादी छौँ । यदि हालको कोभिड अस्थायी अस्पतालमै एकीकृत अस्पताल व्यवस्थापन हुने निर्णय पारित भयो भने विएएमएसमा अध्ययनरत विद्यार्थीहरुलाई बिजौरी क्याम्पसलगायत अन्य स्थानमा प्रिफेव भवन निर्माण गरेरै पनि भौतिक उपस्थितिबीच अध्यापनको व्यवस्थापन गर्ने छौँ ।
मलाई लाग्छ सायद पुस अन्तिम सातापछि आयुर्वेद अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पस भवन पाउने छन् । एकीकृत अस्पताल निर्माणको कुरा थाति रहेको अवस्थामा कोरोना विशेष अस्थायी अस्पताललाई अन्यत्रै व्यवस्थापनको प्रक्रिया सुरु हुने आम पाठक एवं नागरिकलाई जानकारी गराउन चाहन्छु ।
खासमा यो सिनेटसभालाई बजेट अधिवेशनका रुपमा पनि लिइन्छ, के–कति बजेटका अपेक्षा गर्नुभएको छ ?
हामीले अहिले वार्षिक १ अर्ब ६ करोड बजेट प्रस्ताव गरेका छौँ । त्यससँगै मास्टरप्लानका लागि पनि थप बजेट प्रस्ताव गरेका छौँ । बिजौरी र बेलझुण्डीमा एक÷एक वटा आधुनिक सभाहल निर्माण समेत हुन थालेका छन् । त्यसका लागि पनि सिनेटसभाले बजेट अनुमोदन गर्ने छ । अर्को कुरा बोटानिकल गार्डेन निर्माणको पनि कुरा छ । त्यसका लागि पौने ५ करोड बजेट आइसकेको छ । त्यसमा ११ करोडको डिपिआर प्रस्ताव गरेका छौँ । अनि ५ वटा थप शैक्षिक कार्यक्रम पनि अनुमोदन गराउँदै छौँ ।
थप शैक्षिक कार्यक्रमको कुरा गर्नुभो ? के–के छन् शैक्षिक कार्यक्रम ?
वैदिक कृषि पाठ्यक्रम हामीले यसै शैक्षिकसत्रदेखि चलाउने तयारीमा छौँ । आधुनिक कृषि प्रणाली र वैदिक कृषि प्रणालीलाई जोडेर नयाँ पाठ्यक्रम बनाउने काम भइरहेको छ । त्यसका लागि वैदिक कृषि अध्ययन संस्थान स्थापनाका लागि पनि हाम्रो गृहकार्य भइरहेको छ । जुन आयुर्वेद अध्ययन संस्थान जस्तै हो ।
त्यसपछि आयुर्वेद चिकित्सा पद्धतिमा आधारित बि–फार्मेशी कक्षा समेत सञ्चालनका लागि अभ्यास भइरहेको छ । योग र दैनिक जीवन व्यवस्थापनका लागि नयाँ पाठ्यक्रम समेत बन्न थालेको छ । हामी यी सबै कार्यक्रमलाई लागू गराउन सिनेटसभाबाट अनुमोदन गराउनेमा आशावादी छौँ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार गरी तीनै तहका सरकारसँग सहकार्यका लागि हात फैलाइरहेका छौँ ।
विश्वविद्यालय जग्गाको धनी छ तर धेरैजसो जग्गा अतिक्रमण भइरहेको छ नि ?
हामी यो विषयमा अत्यन्तै गम्भीर पनि छौँ । विश्वविद्यालयको जग्गा अतिmक्रमण भइरहेको अवस्थामा यसलाई आफ्नो स्वामित्वमा ल्याउनका लागि एउटा विशेष अधिकार सम्पन्न समिति निर्माण गर्ने तयारी समेत भइरहेको छ ।
त्यससँगै विश्वविद्यालयको स्वामित्वमा रहेका खेर गइरहेका जग्गालाई आय आर्जनका रुपमा प्रयोग गर्नका लागि निश्चित समयका लागि लिजमा दिने समेत अभ्यास सुरु भइरहेको मैले जानकारी गराउन चाहन्छु । जग्गा खेर गइरहनु भन्दा त्यसको संरक्षणको कानुनी दायित्व पनि अन्य व्यावसायिक फर्मलाई दिनु उपयुक्त नै हुने मनसायले केही जग्गा आयआर्जनका लागि भाडामा समेत दिएको अवस्था छ ।
तर विश्वविद्यालयलाई आवश्यक परेको अवस्थामा ती लिज सम्झौता जुनसुकैबेला पनि खारेज गर्नसक्ने अधिकार विश्वविद्यालयमा निहित छ ।
अन्त्यमा, विश्वविद्यालयका पदाधिकारीहरु जहिल्यै पनि काठमाडौंमुखी भइरहेका देखिन्छन्, सांस्कृतिक अध्ययन केन्द्रलगायतका सम्पर्क कार्यालयहरु काठमाडौंमा भाडामा लिनुपर्ने अवस्थालाई कसरी व्यवस्थापन गर्ने सोचमा हुनुहुन्छ ?
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्र दाङको बेलझुण्डी नै हो । उपकुलपतिलगायतका पदाधिकारीहरु केन्द्रीय कार्यालयमै बस्ने हाम्रो प्रतिबद्धता हो । केही विषयगत समस्याका लागि राजधानीमा एउटा मात्रै सम्पर्क कार्यालय राख्नुपर्ने हाम्रो प्रशासकीय वाध्यता हो ।
तर नेपाल संंस्कृत विश्वविद्यालय संस्कृत वाङ्मयको केन्द्र पनि भएकाले जे–जस्ता अध्ययन अनुसन्धान केन्द्र हुन्छन्, सबै बेलझुण्डीमै रहने छन् । काठमाडौंमा महँगो फ्ल्याट भाडामा लिएर कर्मचारी र पदाधिकारी राख्नुपर्ने अवस्था अब रहने छैन ।