घरदेखि दक्षिणतिर बग्ने कटुवाखोलामा पानी धेरै बगिसकेको छ । तर, उनको जीवन त्यही भूगोलमा छ । उनका साथी, सहकर्मी धेरै सुगम खोजेर बजार झरे । तर उनले न त सुगम खोजे न त अरु नै । भाग्य र कर्मले जे दियो, जे पाए त्यसैमा रमाए र आफूलाई उभ्याए ।
समय सुस्त कि मान्छे सुस्त ? उनले गम्दै भने–‘मान्छे नै सुस्त, समय त आफनै तारमा छ ।’ चिन्नेहरु भन्छन्– ‘देवी सर नै सुस्त …।’ भनेको ठाउँ र वचन दिएको ठाउँमा जसरी भए पनि पुग्छन । तर अधिकांश समय ढिलो नै … । भन्छन् ‘यो समय छिटो नै छ, म अलि ढिलो छु ।’ सोमवार जीवनका रँगहरु खोल्दै गर्दा ४९ वर्षको जीवनबाट पुरै व्याक भएर बाल्यकालमा झरे । त्यही बाल्यकालमा उनले जीवनको पहिलो खुशी भेटे र भने ‘कक्षा २ को वार्षिक परीक्षामा थर्ड पोजिशन ।’ घर नजिकै स्कूल सुस्त हिड्दै जाँदा १५÷२० मिनेटको दूरी ।
त्यही स्कूल अर्थात् राष्ट्रिय प्रावि लिथान सैघाका विद्यार्थी थिए, देविबहादुर घर्ती । कक्षा एकमा त्यस्तो केही पोजिशन भएनन् । पढाई ठिकै थियो । तर कक्षा २ मा जाँदा भने रिजल्ट सुधार भयो । रिजल्ट आउँदा तेस्रो पोजिशन भएको थिए । ‘त्यो जीवनको सबैभन्दा धेरै खुशी भएको समय थियो’–उनले भने–‘त्यसपछिका अधिकांश कक्षामा प्रथम, दोस्रो भएँ ।’ कक्षामा प्रथम, दोस्रो र तेस्रो हुँदाको समय बेग्लै थियो । पुरस्कार स्वरुप कापी, कलम, मसी र निधारमा रातो टीकाको उपहार र गाउँघरसँगै विद्यालयमा बेग्लै पहिचान हुने गरेको उनले सम्झना गरे ।
‘त्यो बेलाको खुशीको कुनै साँध, सीमा नै थिएन’–उनले भने–‘त्यसको मापन गर्ने औजार नै छैन । खालि अनुभूति मात्र खुशी… खुशी छ ।’ गाउँकै स्कूलबाट औपचारिक शिक्षा थालेका घर्ती कहिले भगवती मावि होडवाङ, कहिले महेन्द्र मावि स्यूजा गरेर बिताए । २०४८ सालमा उनले मावि रझेनाबाट एसएलसी पास गरे । गाउँमा एसएलसी पास गर्ने त्यो बेला औँलामा गन्न समेत पुग्दैन थिए । तर त्यो समयमा उनले एसएलसी पास गरे । ‘एसएलसी पास गर्दा घरदेखि गाउँसम्म बेग्लै खुशियाली थियो । त्यसको सम्झना गरेर साध्य छैन’–उनले भने–‘त्यो पनि जीवनको अर्को खुशीको क्षण हो ।’
२०३७÷०३८ सालदेखि औपचारिक शिक्षा सुरु गरेका उनको औपचारिक शिक्षा अझै रोकिएको छैन । महेन्द्र वहुमुखी क्याम्पस घोराहीमा स्नाकोत्तरमा अध्ययनरत घर्ती राजनीतिक शास्त्रका विद्यार्थी हुन् । स्नातकसम्म अंग्रेजीका विद्यार्थी थिए । तर स्नातकोत्तर भने राजनीतिक शास्त्र विषय रोजे र त्यही अध्ययन गरिरहेका छन् । अबको केही समयमा त्यो पढाइ पूरा हुने बताए । जीवनको सिङ्गो पहाडभित्र धेरै खुशी छन् । पहाड फोडेर खुशी खोज्न समय लाग्छ । छोटो सम्वादमा धेरै खुशी छुट्न सक्छन् । उनले सोचेर भने–‘दोस्रो खुशी शिक्षक बनेर जोडिँदा ।’ पहाडको बसाई, गरिखाने परिवार । पढ्नको लागि क्याम्पस झरेको ।
क्याम्पस पढ्दै गरेको अवस्थामा पहिलो पटक सदरमुकाम घोराहीको विद्यानीलकण्ठ बोर्डिङमा शिक्षक बनेर जोडिएँ । त्यो पनि जीवनको अर्को खुशीको क्षण भएको बताए । २०५३ भदौदेखि उनले त्यो विद्यालयमा २०५५ सालसम्म अध्यापन गरे । त्यसपछि गाउँकै भुगोलमा पसे । २०५८ सालमा अंग्रेजी विषयको निजी शिक्षको भूमिकामा भगवती मावि विद्यालय सैघामा जोडिए । निजी शिक्षको भूमिकामा जोडिएका घर्ती २०६० अस्थायी दरबन्दीमा बसे ।
‘आफूले पढेको विद्यालयमा अध्यापन गर्दा त्यो पनि बेग्लै खुशीको क्षण छ’–उनले भने–‘आप्mनो भूगोलको माया त्यो बेला भएको थियो ।’ २०५८ सालमा त्यो विद्यालय छिरेका घर्ती अहिले त्यही विद्यालयको प्राध्यानाध्यापक छन् । १२ वर्षमा खोला पनि फर्कन्छ भनेझैँ उनलाई पनि विद्यालय प्रवेश गरेको ठिक १२ वर्ष अर्थात् २०७० बैशाख १२ गते त्यो विद्यालयको नेतृत्व सम्हाल्न पुगे । नेतृत्व सम्हालेपछि विद्यालयमा भौतिकदेखि अन्य परिवर्तन भएको छ ।
‘चुनौती र अवसरको रुपमा मैले त्यो जिम्मेवारी लिएको थिएँ, जिम्मेवारी लिएपछि सबै क्षेत्रको सहयोग र समन्वयबाट विद्यालयका पूर्वाधार र शैक्षिक क्षेत्रमा सुधार भएको छ’ उनले भने–‘त्यो पनि जीवनको अर्को खुशी हो ।’ त्यसैगरेर अस्थायी जागिरलाई उनले २०७५ सालमा स्थायीमा परिणत गरे । २०७५ मा उनले शिक्षा आयोग पास गरे । त्यो पनि जीवनको अर्को खुशीको क्षण भएको बताए । ‘जीवन अस्थायी भए पनि जागिर भने स्थायी नै हुनुपर्छ, त्यो सोचमा थिए, उनी । भाग्यले साथ दियो । निमाविमा स्थायीमा नाम निकाले र अध्यापन गर्दै आएको विद्यालयमा नै नियुक्त भए ।
त्यो जीवनको अर्को खुशीको क्षण भएको उनले सुनाउन भ्याए । उनको जीवन पनि आम मानिसको जस्तै सरल र वक्ररेखा दुवैमा हिडेको छ । बाल्यकालसम्म वक्ररेखामा नै बित्यो । तर त्यसपछि जीवन सहज र सरल दुवै भएर आएको छ । सूचना तथा सञ्चार प्रविधिको पहुँच थिएन । गाउँकै केटी भएकाले भेटघाटको माध्यम भने निरन्तर नै थियो । मनमा प्रेम पलाएको लामो समय भइसकेको थियो ।
मनमा प्रेम पलाएको बेला उनले प्रस्ताव राखे । उताबाट पनि ग्रिन सिग्नल प्राप्त भयो । पछि घरकाले नै उनै अर्थात गाउँकै निर्मलादेवि घर्तीसँग २०४६ साल बैशाख २२ गते नै पञ्चेबाजा नै बजाएर भित्राए । त्यो पनि मेरो जीवनको अर्को खुशीको क्षण भएको बताए । २०२८ साल माघ १७ गते बुबा मित्रबहादुर घर्ती र आमा गोमा घर्तीको कोखबाट साविक सैघा गाविस हाल घोराही उपमहानगरपालिका १९ लिथानमा जन्मेका उनका २ छोरा र १ छोरी छन् ।