राप्ती गाउँपालिकामा कांग्रेसको पार्टी प्रवेश कार्यक्रम

शिवराज खनाल
देउखुरी, २४ मंसिर । राप्ती गाउँपालिका वडा नं. ४ मा विभिन्न पार्टी परित्याग गरी २ सय ५० जनाभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा तत्कालीन माओवादी, एमाले नेता तथा कार्यकर्ताहरु छन्

। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य योगेन्द्र चौधरी, संविधानसभा सदस्य सुशीला चौधरी र महासमिति सदस्य प्रदीपराज शर्माले उनीहरुलाई पार्टी प्रबेश गराएका थिए । पार्टी प्रबेश कार्यक्रममा बोल्दै संविधानसभा सदस्य चौधरीले देशको समृद्धि र हितका लागि युवा आवश्यक रहेको बताउँदै उनले जनताको हकहितका लागि युवाहरु नै अग्रसर बन्नुपर्ने बताए ।

उनले नेपाली हरुको हकहितसहित सिंगो नेपालकै विकासका लागि नेपाली कांग्रेस पार्टी मात्र भएको चर्चा गरेका थिए । संविधानसभा सदस्य सुशीला चौधरीले नेपाली कांग्रेसले ठग्न नजान्ने र कसैले लुटेको पनि देख्न नसक्ने बताइन् । वर्तमान सरकार भ्रष्टाचारतर्फ लिप्त भएको र नेकपाभित्र लुटपाटमा भागबण्डा नमिलेर अहिले पार्टीभित्र विवाद देखा परेको बताइन् । नेपाली कांग्रेसका महासमिति सदस्य शर्माले पहिले तपाइहरु जुन पार्टीमा भए पनि अब कांग्रेसको घरमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गरे ।

नेकपाभित्र धेरै युबाहरुलाई आश्वासन बाँडेर खाली प्रयोग गरेको र रोजगारीका लागि कुनै अवसर नै नदिएको र दिए पनि आफ्ना आसेपासेहरुलाई मात्र दिने गरिएकाले कांग्रेसमा प्रवेश गरेको नेकपाको सक्रिय सदस्य राप्ती गाउँपालिका–४ पिपरखुट्टी निवासी प्रकाश केसीले बताए । त्यसैगरेर अस्तुनि चौधरीले पनि विगतमा अन्य पार्टीले सपनामात्र देखाउने गरेको बताइन् । नेपाली कांग्रेस जनताका लागि केही गर्छ भन्ने लागेर हामी सिंगो बस्ती नै कांग्रेसमा प्रबेश गरेको भगतनारायण चौधरीले बताए ।

कार्यक्रममा प्रदेश सभापति ताराबहादुर डिसी, पूर्ब महासमिति सदस्य दोर्ण भुसाल, पूर्ब संगठन विभाग प्रमुख चन्द्रबहादुर जिसीलगायतको सहभागिता थियो । दुर्योधन पाण्डेको सभापतित्वमा कार्यक्रम भएको थियो । लल्लु चौधरी स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका जिल्ला सदस्य हरि भुसालले गरेका थिए ।