संकटमा स्वास्थ्य सेवा, चलेका शववाहन अनि चिता

खेमराज रिजाल
तुलसीपुर, २४ मंसिर । तुलसीपुर उपमहानगरपालिकाको १८ नं. वडाका नागरिकहरु दुई महिनाका बीचमा कम्तीमा ४ जनाले मृत्युवरण गरिरहेका छन् । केहीले काठमाडौको शिक्षण अस्पताल, केहीले पाटन अस्पताल त केहीले नेपालगञ्जको अस्पतालमा उपचारका क्रममा मृत्युवरण गरिरहेका छन् ।

खासमा दीर्घरोगीहरुको अस्पतालमा उपचार असम्भवजस्तै भएपछि अस्पताल पुगेका नागरिकहरु पनि मृत्युवरण गरिरहेका छन् । तर चिताको पनि ठेगान छैन, उपचार नागरिकको च्वाइसमा हुन्छ, तर चिता भने सरकारको च्वाइसमा । धेरै स्थानको बस्तुगत विवरण दिन सरकार मानिरहेको छैन । मृत्यु हुने संक्रमितको नाम समेत सरकारले अझै गोप्य राखिरहेको छ । तर एकाएक फेसबुकमा आएका समाचारले घरमा अन्य रोगले उपचारको प्रतिक्षामा रहेका बिरामीहरु पनि अस्पताल पुगेपछि कोरोनाको ट्यागमा विशिष्टकृत उपचार हुन सकिरहेको छैन ।

तर सरकार आफ्नै आन्तरिक समीकरणमा तल्लीन भइरहेको अवस्थामा कम्तीमा शववाहनको व्यवस्थापन गर्न भने सरकार सफल भएको छ । पहुँचवाला संक्रमितलाई पछिल्लो समयमा जलाउन पनि दिइने गरिएको छ भने पहुँचविहीन बिरामीहरुलाई भने सेनाको एउटा शववाहनमा लगेर सरकारले डिस्पोज, अर्थात दाहसंस्कार गर्नसम्म भ्याएको छ । यद्यपि बिरामीलाई अस्पताल लग्न र उपचार गर्नका लागि सरकारी तथा गैरसरकारी निकायका एम्बुलेन्स भने शंकास्पद बिरामीलाई बोक्नै छाडेका छन् । सम्भावित संक्रमितहरु अहिले निजी गाडी र सार्वजनिक भनिएको अटोमा अस्पताल पुग्ने गरेका छन् ।

प्र्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा एउटा तस्वीर पोस्ट गरेका थिए, जुन तस्वीरमा सडकमा बामदेव गौतमले डोरी नाघिरहेको दृश्य देखिएको थियो । अस्पतालमा बिरामी छटपटाइरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई सायद जानकारी छैन, आप्mनै खेमाका राननीतिमा दख्खल दिने बामदेवलाई उनले पलायन गर्न चाहन्थे, उनको बचाउ केपी ओली मात्रै थिए । केपी ओली बाहेकले सरकार चलाउने अवस्था छैन ।

बिरामीले अस्पताल नपाएको छटपटी प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई जानकारी छैन, तर उनी आफ्नै पार्टीका बामदेवले डोरी नाघेको तस्वीर फेसबुकमा शेयर गरिरहेका छन्, को नेता कस्तो भन्ने शीर्षकमा । मानौं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा पनि कुनै पनि राजनीतिक रोडम्याम छैन, त्यसैले त कहिले माधव नेपालको भक्तजन त कहिले केपी ओलीको भक्त र भद्र व्यक्तित्व । तर सूर्य थापा समग्रमा राजनीतिक सन्तुलका लागि राजनीतिक पात्र होइनन्, उनीभन्दा अन्य राजनीतिक सल्लाहकारहरुले नै सरकारको बचाउ र टिकाउको बाटो पछ्याइरहेका छन् ।

सरकारलाई नागरिकहरुले एकपछि अर्को कोरोनाका कारण मृत्युवरण गरेकोमा कुनै चासो छैन । अनि विदेशी मुलुकहरुमा आइरहेको कोरोना भाइरसको भ्याक्सिनको आयात र स्टोरमा पनि खासै तयारी छैन । यिनै सरकारका मतियारहरुले स्वास्थ्य मन्त्रालयलाई नै हरेक साता फरक–फरक विज्ञप्ति जारी गर्न लगाउँछन् । तर सरकार बिरामीको स्वास्थ्य उपचारका लागि बेखवर छ, तर मृत्युवरण गरेकाहरुका लागि भने शववाहन हाजिर छ । एकपछि अर्को मृत्यु दीर्घरोगीहरुको भइरहेको छ । कसैलाई सुगरको समस्या, कसैलाई दमको समस्या त कसैलाई कोल्डस्टोर र थाइराइडको समस्या ।

तर जब कोरोनाको ट्याग लाग्छ, सबै बिरामीलाई अक्सिजन थेरापी, सक्नेहरुलाई आफै किनेर रेमडिसिविर र थप पहुँच भएका बिरामीहरुका लागि केही–केही स्थानमा प्लाज्मा थेरामी । तर यसबाहेक समस्या भएका बिरामीलाई स्पेसिफिक उपचार नै हुन छाडेको छ । जब कुनै बिरामीलाई कोरोनाको संक्रमण देखियो, अन्य दीर्घरोगको विषयमा कुनै उपचार प्रविधि र पद्धति दाङलगायतका कुनै पनि कोरोना विशेष अस्पताल र आइसोलेसनमा देखिएको छैन ।

सरकारले तयार गरेको छ, अक्सिजन थेरापी, सुविधा सम्पन्न अस्पतालमा प्लाज्मा थेरामी, अनि बाँकी शववाहन मात्रै । स्वास्थ्य मन्त्रालयले पनि दीर्घरोगीहरुका लागि विशेष अस्पतालमा उपचारको व्यवस्थापन गर्न सकेको छैन । हरेक समुदायसम्म फैलिएको कोरोना भाइरसको संक्रमणले दीर्घरोगीका लागि पनि समस्या ल्याएको अवस्थामा नेपाल सरकार भने होम आइसोलेसनमा बस्न आग्रह गरिरहेको छ ।

होम आइसोलेसनमै बिरामीको मृत्युवरण हुने अवस्था पनि देखिँदै आएको छ । किनकि हरेक अस्पतालमा विशिष्टकृत रोगको उपचार हुन नसकेको बिरामीका अभिभावकले बताइरहेका छन् । विशेषज्ञ चिकित्सकको भरमा भन्दा पनि नर्स र अहेवका भरमा नेपालभरीका कोरोना विशेष अस्पताल चल्दै आएका छन् । कोभिड संक्रमित बिरामीलाई सान्त्वना दिनेगरी उपचार गर्ने र छुन कुनै विशेषज्ञ चिकित्सक नेपालका कुनै पनि अस्पतालमा देखिएका छैनन् ।

‘मेरा बालाई कुनै पनि विशेषज्ञ चिकित्सकले हेर्नै आएका थिएनन्, मृत्यु भैसकेपछि कोरोनाको पुष्टि गर्न नेपालगञ्ज मेडिकल कलेजले निरन्तर दबाव दिइरहेको थियो’, प्यूठानको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले भने– ‘सरकारले कोरोनाको संक्रमण देखाएर विशिष्टकृत उपचार गर्न सकिरहेको छैन, मलाई लाग्छ सरकार शववाहन खरिद गर्न र व्यवस्थापन गर्न तल्लीन भएको छ । एकपछि अर्को मृत्युवरण भइरहेको अवस्थामा पनि स्थानीय सरकार बेखवर छ ।

शंकास्पद संक्रमितहरुलाई परीक्षण गरिनु महंगो भएको भन्दै स्वाव परीक्षण गरेर संक्रमित पहिचान गर्नुभन्दा पनि उनीहरुको मृत्युपछि कम्तीमा शववाहन उपलव्ध गराउन तल्लिन छ । त्यसैले अब दाङ जिल्लामै पनि केही पालिकाहरुले एम्बुलेन्स नभएको अवस्थामा पनि शववाहन खरिदको प्रक्रियामा रहेको जनाइएको छ । कति सिकिस्त संक्रमितहरु कहाँ–कहाँ मृत्युशैयामा छन् भन्ने सन्दर्भमा पनि स्थानीय पालिकाहरु बेखवर छन् । किनकि अब सरकारको विश्वास बिरामीको सहज उपचारका लागि भन्दा पनि शव व्यवस्थापनमा नै केन्द्रित देखिएको छ ।

केन्द्रदेखि जिल्ला तहसम्मै राजनीतिक ध्रुवीकरण भइरहेको अवस्थामा कोरोनाको महामारीमा संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारसमेत कतै पनि गम्भीर भएको देखिएको छैन । आम नागरिकहरुले पनि पछिल्लो समयमा दीर्घरोगको उपचार नपाएको गुनासो गरिरहेका छन् । विशिष्ट रोग लागेका संक्रमितहरुलाई कुनै पनि अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध हुन सकेको छैन । त्यसैले पनि दीर्घरोगीहरु हताहत भइरहेका छन् । यसमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने अपेक्षा पनि सर्वत्र व्यक्त भइरहेको छ । कोरोना संक्रणको बहानामा अन्य रोगीहरुको उपचारलाई नरोकौं ।