दुबैतर्फ युद्धका लागि आ–आफ्ना सल्लाह तथा सभाहरु गर्नु

राधेश्याम उपाध्याय

उद्योग पर्व
पाण्डुपुत्रहरुको गुप्तवास सकिएपछि श्रीकृष्णको सल्लाहमा एउटा श्रेष्ठसभाको आयोजना भयो । त्यस श्रेष्ठसभामा श्रृञ्जय, वृष्णि, मुख्य–मुख्य यादवहरु, पाञ्चाल नरेश, कृष्ण, बलराम, पाण्डवको भलो चाहने विभिन्न देशका राजाहरुको उपस्थिति थियो । मौका हेरी श्रीकृष्णले पाण्डवहरुको कल्याणका लागि हे राजाहरु ! हो यी पाण्डवपुत्रहरुको ध्रुत खेलमा सकुनीले छल गरेर कौरवहरुले सर्वस्व हरण गरे ।

कबुलअनुसार पाण्डवहरुले बाह्र वर्ष वनबास र एक वर्ष गुप्तवास पूरा गरे तर पनि कौरवहरुले पाण्डवहरुको सम्पत्ति फिर्ता दिनमा कुनै सुरुवात गरेको देखिँदैन । त्यसैले यी पाण्डवहरु अब के ग¥यौ भनि सबैको सल्लाह र सहमति माग्दछन् भने । यो सुनेर बलरामले जुवाको छल भेद नजानेर युधिष्ठिरले जुवा खेल्नु र श्रीसम्पत्ति हार्नु ठूलो भुल थियो । अहिले दुर्योधनको प्रताप ठूलो छ ।

त्यसैले उनीसँग विरोध गर्नुभन्दा सबैको कल्याणका खातिर एउटा दूत पाण्डवहरुले पाठउन भने । बलरामको यस्तो कौरव पक्षको हित हुने कुरा सुनेर क्रोधित हुँदै सात्यकिले भने– हे सभासदहरु ! हो जुवा खेल्न भनेर कौरवहरुले खुब जिद्दी गरेका थिए । क्षेत्रीय धर्मअनुसार कसैले दिएको युद्ध र जुवाको हाँकलाई स्वीकार्नु क्षेत्रीय धर्म भएकाले धर्मसुतले खेल्नैपर्ने भएको थियो ।

जुवामा छलकपट गरेर खलहरुले सर्वस्व खोसेका थिए । उनीहरुको पहिलेको प्रण सम्झेर राज्य खुशीले फिर्ता दिनु पर्दथ्यो । राज्य फिर्ता पाए दुवैको विवाद टर्ने थियो । यदि राज्य फिर्ता दिँदैनन् भने युद्ध गरेर भए पनि आफ्नो राज्य फिर्ता लिनु पर्दछ भनी आफ्नो सल्लाह राखे ।

राजा दु्रपदले पनि सात्यकीको कुरामा सहमति जनाउँदै आफ्नो राज्य फिर्ता नपाए युद्ध गरेर भए पनि फिर्ता लिनु पर्ने मत राखे । साथै अरु राजाहरुसँग पनि मद्दतका लागि कौरवहरुभन्दा अगाडि दूत पठाएर आफ्नो शक्ति सञ्चय गर्नुपर्ने समेत सल्लाह दिए । यो सुनेर सारा सभाले दु्रपदको कुरा ठिक हो भनी सहमति जनायो र सोही वमोजिम श्रीकृष्णले सबै जिम्मा दु्रपदलाई लगाएर दाजुसँग द्वारका फर्कनुभयो ।

दु्रपदले पनि दूतहरुलाई ज्ञानी धार्मिक युधिष्ठिरको कल्याणका खातिर हरण भएको राज्य फिर्ता दिलाऊन सबै हाम्रा हितचिन्तक राजाहरुलाई यहाँ आऊन भनी सन्देश पठाए । चारैतर्फका मित्रराज्यहरु पनि समाचार पाउनासाथ आफ्ना सैनिकहरु सहित मत्स्यदेशमा उपस्थित भए । यो कुरा दुर्योधनले पनि थाहा पाए र आफ्ना दूत पाठाई शक्ति सञ्चय गरे ।

यसरी दुवै तर्फकाले आ–आफ्ना मित्र राज्यहरुमा सन्देश पठाए र सम्भावित युद्धका लागि तयार रहन लागे । पाण्डवको निमन्त्रण पाएर मद्रनरेश शल्य शस्त्रास्त्र सेना लिई भानिजहरुको सहयोगका लागि विराट नगरी जानका लागि हिंडे । जति–जति ठाउँमा मद्र नरेशको बास पर्दथ्यो ती–ती सबै स्थानमा पापी कौरवहरुले आफूतर्फ मिलाउनका लागि आफ्ना मानिस पठाएर आदरपूर्वक सबै बस्ने व्यवस्था मिलाइदिए ।

सेवा, चाकडी गर्नका लागि समेत चाकरहरुको व्यवस्था मिलाइदिए । माद्र नरेश शल्य पनि यो सवै व्यवस्था पाण्डवको नै होला भनी तिनै तिनै स्थानहरुमा बास बस्दै हिंडे । एउटा बासमा अति राम्रो व्यवस्था देखेर खुशी भई जसले यो प्रत्येक बासमा यस्तो राम्रो स्वागत ग¥यो त्यसको म खुशी साथ इच्छापूर्ण गर्नेछु भनि प्रतिज्ञा गरे । कौरवहरु यो अवसरको प्रतीक्षामा थिए । यो खबर तुरुन्तै दुर्योधनले पाउनासाथ

उपस्थित भई यो सबै व्यवस्था मैले गरेको हूँ मामाश्री भनी विन्ति चढायो । राजा शल्य छक्क परे र मेरो यस्तो ठूलो स्वागत हजुरले किन गर्नुभयो भनी सोधे । हे मामाजी ! पाण्डव र हाम्राबीच युद्ध हुने प्रवल सम्भावना छ । त्यसमा हजुरले हाम्रो सहायता गर्नुपर्ने छ, साथै मेरो सेनाको सेनापति हजुर नै बनि आफ्नो वचनको पालना गर्नु पर्दछ भनी दुर्योधनले भने ।

शल्य राजा बहुत सकसमा परे । आफ्नो सत्यकबोल सम्झेर पाण्डव र तिमी मेरा लागि एकैनासे हौ म तिम्रो सहायता गर्ने छु यसमा शंका नमानी घर जाऊ भने । यसरी दुर्योधनलाई बिदा दिएर शल्यराजा केही खिन्न भए र युधिष्ठिर कहाँ गए । सन्चो विसन्चो कुरा भयो ।

आफूलाई दुर्योधनले छल गरेको सबै कुरा युधिष्ठिरलाई सुनाए । मामाको यस्तो कुरा सुनेर विस्मात मान्दै युद्धमा कर्णको सारथी भई अर्जुन कर्ण युद्धको समयमा अर्जुनको तारिफ गरी रिपुको तेजोबध गरिदिन युधिष्ठिरले अनुरोध गरे । युद्धमा म तिम्रो काम ठूलो युक्तिले गर्नेछु भनी शल्यराजा बिदा भई दुर्योधनतर्फ गए ।

दु्रपदको सन्देश वमोजिम पाण्डवतर्फका सात अक्षौहिणी सेना सहयोगका लागि जम्मा भए । ती सेनाले सारा मत्स्यपुरी र वरिपरि समेत ढाके । यो देखेर दु्रपदको प्रोहितलाई युधिष्ठिरले दूत बनाएर हस्तिनापुर शान्ति प्रस्तावका लागि पठाए । ब्राह्मण पनि हस्तिनापुर गएर धृतराष्ट्रलाई प्रणाम गरी पाण्डवहरु कुशलै रहेको समाचार विन्ति गरे र युधिष्ठिरको सन्देश सुनाए–‘ध्रुत खेलको प्रण अनुसार हामीले बाह्र वर्ष वनबास र एक वर्ष गुप्तबास पूरा गरेकाले हाम्रो राज्य खुशी साथ हामीलाई फिर्ता दिनु पर्दथ्यो ।

हामी हजुरका शरणमा नगएर कसका शरणमा जाऔँ ? हजुरले नै आफ्ना पुत्रहरुलाई हुकुम दिनुहोस् र प्रण अनुसार हाम्रो राज्य फिर्ता गरी हाम्रो उद्धार गर्नुहोस् । सम्भावित युद्ध टार्ने आदेश दिनुहोस्’ भनी अरु नीतिपूर्वक सम्झाए । यो सुनेर केहीबेर मनमा गुणी चिन्तित हुँदै पाण्डवहरु कुशल रहेकोमा खुशी भई साक्षात् भेट भए समान आनन्दित भए । हे ब्राह्मण ! हजुरले भनेको सबै सत्य हो, पाण्डवपुत्रको सारा राज्य प्रशन्न मनले फिर्ता दिनु पर्दथ्यो तर कसैले भनेको दुर्योधनले मान्दैन, मैले जुवामा जितेको धन किन फर्काउने भन्दछ ।

एक्लैले सबैलाई वशमा पारिसक्यो । तै पनि म प्रयत्न गर्दै छु । यिनीहरु मिलेमा सबैको कल्याण हुनेछ । त्यसैले दुर्योधनको चित्त बुझाएर आफ्नो राज्य फिर्ता लैजाऊन् । हामी कसैलाई पनि दोषी नठानून्’ भने । धृतराष्ट्रका यस्ता रुखा कुरा सुनेर ब्राह्मण हस्तिनापुरबाट फर्किए र सबै कुरा युधिष्ठिरलाई सुनाए । यो सुनेर युधिष्ठिर शोकले सन्तप्त भए र अर्जुनलाई द्वारावतिमा श्रीकृष्णलाई लिन पठाए । अर्जुन पनि श्रीकृष्णसँग सहयोगका लागि ल्याउन द्वारका लागे ।

त्यही समयमा श्रीकृष्णसँग पहिला नै मैले सहायता माग्छु भनी केही सैन्य लिएर दुर्योधन पनि द्वारावतीमा पुगे । श्रीकृष्ण खोपीमा सुत्नुभएको थियो, दुर्योधन सिरानीतर्फ गएर मेचमा बसे । केही समयपछि अर्जुन पुगे र विनयपूर्वक पाऊतर्फ उभिए । केहीवेर यसरी नै दुवै बोल्दै नबोली बसे । जब श्रीकृष्ण उठ्नुभयो पाऊतर्फ उभिएको अर्जुनलाई देख्नुभयो र दुवैमा क्षम कुशल वार्तालाप भयो ।

त्यसपछि दुर्योधनलाई देखेर कुशल मंगलका साथै के कामले पाल्नुभयो भनी सोध्नुभयो । यो सुनेर दुर्योधनले ‘अगाडि नै हे माधव पाण्डवहरुसँग युद्ध गर्नुपर्ने अवस्था भयो । त्यसैले हजुरसँग मद्दत माग्न भनेर पहिला म आएको हुँ’ भने । यो सुनेर अर्जुनले पनि म पनि त्यही युद्धका लागि सहायता माग्न आएको हुँ भनी विन्ति गरे । दुवैको यस्तो कुरा सुनेर श्रीकृष्णले दुर्योधनतर्फ हेरेर भन्नुभयो ‘मैले पहिला अर्जुनलाई उभिएको देखेँ ।

उमेरमा पनि हजुरभन्दा उनी कान्छा छन् । दुवैलाई मैले सकेजति सहयोग गर्नु पर्दछ । त्यसैले एकातिर म निरस्त्र हुनेछु भने अर्कोतर्फ मेरा सम्पूर्ण नारायणी फौज ज्यानको बाजी थापेर लड्ने छन् । अब कान्छा अर्जुन भएकाले कुन लिने भन्ने अर्जुनले रोज्नेछन् । यो आज्ञा सुनेर केहीबेर सोचेर खुशी हुँदै पाण्डुपुत्रले निशस्त्र श्रीकृण्णलाई रोजे । दुर्योधन मुखले नबोले पनि श्रीकृष्ण निशस्त्र हुने नलड्ने र उनका नारायणी फौज युद्धमा लड्ने भएकाले आफूतर्फ परेकोमा खुशी भए । यसरी दुवैको इच्छा पु¥याएर आफू पाण्डवतर्फ हुनुभयो ।

दुर्योधन खुशी भई बलरामसँग पनि सहायता माग्न गए तर बलरामले मेरा लागि तिमीहरु दुवै एकै भएकाले कसैलाई पनि म सहायता दिन्न भनी आफू तटष्ठ बस्ने इच्छा प्रकट गरे र तिमीले युद्ध नीति र धर्म पु¥याई गर्नु भनी अर्ति दिनुभयो । यसरी बलरामबाट सहायता नपाएकाले दुर्योधन केही खिन्न भई फर्किए । श्रीकृष्ण पनि रानीहरु लिएर अर्जुनका साथ युधिष्ठिरसँग मत्स्यनगर जानुभयो । धृतराष्ट्रले विदुरलाई दूत बनाएर युधिष्ठिरसँग पठाए ।

विदुर पाण्डवहरुको दिव्यसभामा गए र सबैसँग आदरपूर्वक ढोग, सेवा, शुभाशीर्वाद तथा कुशलमंगल आदानप्रदान भयो । सञ्जयले ‘हे राजन ! म अहिले धृतराष्ट्रको दूत भएर आएको छु । राजा धृतराष्ट्रले हजुरहरुको कुशलमंगल सोध्नुका सथै द्रौपदीका पुत्रहरु स्वजनहरु र अरु आफ्ना बन्धुहरुसारालाई खुशी मनले सोध्नुभएको छ । उताका सारा कौरवहरु सुखी छन् ।विदुर र कुन्तिलाई पनि सन्चै छ । भीष्म र द्रौणले सबैलाई मिलाएर हजुरहरुको सबै राज्य फिर्ता दिन खोज्दै छन् तर दुर्योधनको जिद्दिले गर्दा ती दुवै सुजनहरुले पनि निचहरुका बशमा परेर लड्नुपर्ने हुन सक्दछ । दुर्योधनले यो राज्य मेरो हो भनी सोच्दछन् ।

कुनै तरहले पनि राज्य फिर्ता दिन मानिरहेका छैनन् । हजुरहरु लड्नुहुन्छ भने उनी खुशी साथ लड्न तयार छन् । छोराको हठले लडाइँ हुन्छ कि भनी धृतराष्ट्र भने चिन्तित छन् । दुवै पक्षका वीर योद्धाहरु लड्दा वंश विनाश हुनेछ । सबै क्षेत्रीय मर्ने छन् । सबै वंश विनाश गरेर यो राज्य पाए पनि कुनै लाभ हुने छैन । दुर्योधन मूर्ख छन्, उनले मान्दैनन् तर हजुर त ज्ञानी धार्मिक र गुणी हुनुहुन्छ । हजुरले सन्तोष मानेर यो युद्ध रोक्नु पर्दछ । धृतराष्ट्रको सन्देश मैले सुनाए । उता गएर मैले के भन्नु पर्ने हो ?

सो आज्ञा होस्’ भनी विन्ति गरे । यो सुनेर युधिष्ठिर आज्ञा गर्दछन्–‘हे संजय ! यो सबै राज्य पितामहको हो, उनी जीवित नै छन् । कौरवहरुले मेरो राज्य किन भन्दछन् । अर्काको नियमले नपाउने आधा राज्य बलमिच्याइँले पाएका थिए । भीष्म, द्रोण र कर्ण आदि विख्यात योद्धाहरु जसका वशमा छन्, जसले यमराजलाई पनि इच्छा गरेका घरी सजिलै बाँध्न सक्छन् । त्यस्ता वीर शक्तिशालीले म अर्काको वशमा परेँ भन्न सुहाउँदैन । यो सवै हाम्रो भाग खोस्न वृथामा जाल रचेको मात्र हो ।

आफ्नो धर्म बुझेर हाम्रो भाग फिर्ता गरेर आपसको कचिङ्गल हटाउन । हामीलाई दोष दिएर आफूहरु युद्धमा तल्लिन देखिन्छन् । अब मेरा रक्षक श्रीकृष्ण नै हुनुहुन्छ, उहाँबाट जे हुकुम बक्सन्छ म त्यही श्रद्धा तथा भक्तिसाथ गर्दछु ।’ यसरी युधिष्ठिरले श्रीकृष्णलाई मध्यस्थ राखेको देखेर श्रीकृष्ण दुवैतर्फको हित चिताई बोल्नुभयो – ‘हे सञ्जय दुर्याेधनले अर्काको भाग फिर्ता दिन मान्न्दैनन् । बरु पाण्डुपुत्र समेतको भाग खोसेर साम्राज्यको मालिक बनेर बस्न खोज्दछन् ।

लाहाको घरमा पोल्नु, विषका लड्डु खुवाऊनु, कृष्णालाई सभामा लगेर चुल्ठो समाई निर्वस्त्र बनाउन खोज्नु, जुवामा छलले राज्य लुट्नु र वनमा नाङ्गै धपाउनु यी कूकर्महरु कसरी पाण्डवले बिर्सन्छन् । त्यसै कारणले लडाइँ नहुँदै कौरवहरु आएर राज्य तथा वैभव फिर्ता दिई पाण्डवहरुसँग सन्धि गरुन् । कौरवहरुले राज्य तथा वैभव फिर्ता दिन मान्दैनन् भने युद्धमा आफ्नो धर्म सम्झेर सबैको शीर काटेर पहिलेको बदला पाण्डवले लिनेछन् ।

अब पाण्डवहरुलाई दोषी नमानेर राज्य फिर्ता दिने वा युद्ध गर्ने आफ्नो इच्छा गरुन् ।’ यो कृष्णको निर्णय सुनेर सञ्जय सवै मान्यवरलाई प्रणाम गरी हस्तिनापुर फर्किए ।