हरेक दिन डेथ न्युज

खेमराज रिजाल
बेलझुण्डी, २० मंसिर । मेरा गुरु अर्थात सबैका गुरु तुलसीपुर उपमहानगरपालिका–१९ दूधरासका ओपवहादुर डाँगी जीवन र मृत्युको संघर्षमा छन् । उनलाई कोहलपुर अस्पतालमा भेन्टिलेटरमा राखिएको छ ।

कति आफै होम आइसोलेसनमा बसेका छन्, कतिले अस्पतालको सल्लाह र सुझाव लिएका छन् । तर पनि स्वास्थ्य संस्थाप्रतिको अविश्वासले नमर्नेहरुले पनि चाँडै ज्यान गुमाइरहेका छन् । कारण सुविधासम्पन्न अस्पताल र विशेषज्ञ स्वास्थ्य सेवाको यहाँ पहुँच छैन ।

यही कारणले दाङ जिल्लाका धेरै बिरामीले भनसुनका आधारमा विशेषज्ञ चिकित्सा सेवा लिएर ज्यान बचाएको पनि अवस्था एकातिर देखिएको छ भने होम आइसोलेसनमा बस्ने दीर्घरोगीहरु कोरोना भाइरसको ट्याग लागेर दिनहुँजसो मृत्युवरण गर्दैछन् ।

पछिल्लो एकसाताको तथ्यांक हेर्ने हो भने मात्रै दाङ जिल्लाका आधा दर्जनभन्दा बढी कोरोना संक्रमितहरुको निधन भइसकेको छ । गाउँवस्ती नै संक्रमित भएको नदेखिए पनि संक्रमितहरु स्वघोषित होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्य परामर्शको अवस्था शून्यप्रायः देखिएको छ । किनकि सबै तहका सरकारले कोरोना भाइरसको नियन्त्रण र संक्रमण व्यवस्थापनमा शून्य भुमिकामा छन् ।

अस्तित्वका लागि संघर्ष चाल्र्स डार्विनको सिद्धान्तबाहेक यहाँ केही हुनसक्ने अवस्था सरकारले व्यवस्थापन गर्न सक्दैन । यो बाध्यात्मक अवस्था पनि हो । किनकि विज्ञानले नै विश्व चलिरहेको छ । अस्तित्वका लागि संघर्ष गर्न नसक्नेहरुको विलय हुन्छ, त्यसमा हाम्रा धेरै दीर्घरोगीहरु पनि विलय हुनेछन्, ताकि त्यो बेलासम्म नेपालमा कोरोना विरुद्धको भाइरस आइपुगेको हुने छैन ।

जस्तो सरकार त्यतै नागरिक व्यवहार एउटा पक्ष हो तर कोरोनाको संक्रमित भएका लक्षण देखिएका नागरिकहरुसमेत हरेक घरघरमै छन् । स्वघोषित वा स्वाब परीक्षणमा पोजेटिभ आएका संक्रमितहरु पनि यो सरकारका अस्पतालमा विश्वास गर्ने पक्षमा छैनन् । त्यसमा कलिलो उमेरका धेरै छन् भने वयस्कहरु समेत रहेका छन् ।

विश्व समुदायलाई कोरोना भाइरसको संक्रमणले ग्रसित बनाइरहेका बेला नेपाल सरकार भने कोरोनाको परीक्षण र संक्रमितलाई उपचारको मिशनमा छैन । सरकारका दुई साझेदार पूर्व माओवादी र पूर्व एमाले आ–आफ्नै दर्शनमा तल्लीन छन् । मानौं वर्तमान सरकारलाई कोरोना भाइरसको संक्रमण व्यवस्थापनभन्दा पनि संक्रमितको निधन बढी देखाएर विश्व स्वास्थ्य संगठनबाट र नेपाल सरकारबाट बढी सहयोग लिनेमा देखिएको छ ।

संक्रमितहरु परीक्षणविना घरघरमै बसेको एउटा अवस्था हो भने संक्रमणका लक्षण देखिएकाहरु पनि घरछिमेक र बजारसम्म सहजरुपमा हिँड्ने अवस्था देखिएको छ । शंकास्पद बिरामीहरुलाई निगरानीका लागि संघीय सरकारले सबै पालिकाका टोल विकास संस्थाहरुलाई जिम्मा दिएपनि त्यो पनि गतिशून्य छ । किनकि संघीय सरकार नै असफलता उन्मुख भइरहेको अवस्थामा स्थानीय तहमा नागरिक संवादसमेत हुन सकेको छैन ।

केपी–प्रचण्डको साझेदारीको चक्रब्यूहमा रोमल्लिएका छन् सरकारका कर्मचारी र त्यसैअनुरुप लागेका छन् । कोरोना संक्रमण नियन्त्रणभन्दा पनि कसरी सरकारी कामकाजलाई चाकडीका शैलीमा अवतरण गराउन सकिन्छ भन्ने सवालमा कर्मचारीहरुको अनुहार देखिएको छ । किनकि कर्मचारीहरुले विधानभन्दा पनि जनप्रतिनधिहरुलाई पढिरहेका छन् । त्यसैअनुरुपका कर्मचारीको दिनचर्या देखिएको छ । समाज परिवर्तन र भ्र्रष्टाचार उन्मूलनको अभियानमा कर्मचारीहरुले ध्यानै दिएको अवस्था छैन ।

दाङ जिल्लाका हरेक पार्टीका ट्याग लागेका बिरामीहरु किन नेपालगञ्जमा डेथ भइरहेको छ ? स्थानीय सरकारले समीक्षा गरेर यहाँका बिरामीलाई यही उपचार गर्न सके त सहज हुन्थ्यो नि । एकपछि अर्को बिरामी किन नेपालगञ्ज ताकिरहेका छन् ? उपमहानगरपालिकाले आफ्नो आधिकारिक अभिव्यक्ति दिएको छैन ।

तर तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कोरोना फोकल पर्शन विमल केसीले भने क्षणिक समस्यामा पनि बिरामीका अभिभावक अत्तालिने प्रवृत्तिले रिफर बढेको हो । ज–जसलाई रिफर गरिएको छ, अधिकांश मृत्युपछि लास बोकेर आउने देखिएको छ । बेलझुण्डी अस्पतालबाट रिफर गरिएका बिरामीहरुमा धेरैजसोको मृत्युको खवर मात्र आउने गरेको छ ।

सबैलाई कोरोनाको घानमा

यसैबीच कोरोना विशेष अस्पताल होस् वा अन्य निजी अस्पताल, दीर्घरोगीहरुलगायत आकस्मिक रोगीहरुलाई त्यहीअनुरुपको स्वास्थ्य सेवा भने दिइएको छैन । कोरोना विशेष अस्पतालमा अक्सिजन थेरामीको उपचार भइरहेको अवस्थामा अन्य बिरामी पनि त्यसै संक्रमणमा परेको अवस्थामा विशेषज्ञ उपचार पनि हुन सकेको छैन ।

किनकि कामचलाउ अस्पतालका रुपमा रहेका कोरोना अस्पतालमा संक्रमण देखिएसँगै अन्य स्वास्थ्य समस्याको विश्लेषण र आवश्यक परीक्षण समेत हुन सकेको छैन । यो अवस्थाले कोरोना विशेष अस्पतालले पनि यहाँका बिरामीलाइ सम्बोधन गर्न सकिरहेको अवस्था छैन ।

अस्पताल चलिरहेको अवस्थामा पनि कोरोना अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको अहिलेसम्म पनि जोखिम भत्ता र प्रदेश सरकारले तोकेको पारिश्रमिक उपलव्ध गराएको छैन । यद्यपि यहाँका विशिष्ट चिकित्सक र स्वास्थ्यकर्मी भएका कारण आन्दोलन भने भएको छैन । तर आर्थिक पारदर्शिकाको पाटो पनि कोरोना विशेष अतालमा अत्यन्तै दयनीय छ । कारण यहाँको व्यवस्थापकीय पाटो हतारोमा सिर्जना गरिएको छ ।

परीक्षण आफै गर्नू तर संक्रमित भएपछि हामीलाई खवर गर्नुस् : विमल केसी

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी आएसम्म आफूहरुले संक्रमितको उपचारमा सहजीकरण गरिरहेको बताएका छन् । संक्रमितहरु घरमै बस्नुभन्दा पनि अस्पतालमा पुगेर स्वास्थ्य सेवाका विषयमा जानकारी लिने र दिने काम भइरहेको पनि उनको अभिव्यक्ति थियो ।

धेरै बिरामी समयमै अस्पतालमा आएको अवस्थामा सञ्चो भएको अवस्था पनि रहेको बताउँदै उनले होम आइसोलेसनमा बस्नेहरुले पनि जानकारी गराउन पाए उपमहानगरपालिका एवं जिल्ला स्वास्थ्य कार्यालयले समेत सम्बोधन गर्ने अभिव्यक्ति थिए ।