कालो सिन्दुर

यम रेग्मी

जति विवाहको मिति नजिकिँदै गयो । उति आतंकित हुँदै गई रक्षा । विवाह हुँदैछ वा मृत्यु ? रंगिँदै छु वा नाङ्गिँदै ? थपिँदै छु वा सिद्धिँदै ? भरिँदै छु वा रित्तिँदै ? बढ्दै छु वा झर्दै ? केही बुझ्नै सकेकी थिइन । मन मन थिएन, आगो थियो ।भतभती पोलिरहन्थ्यो । चेतना चेतना थिएन, पागलपन थियो । आफ्नै पाराले भौँतारिन्थ्यो ।

के–के सोच्थ्यो के–के ? के–के बोल्थ्यो के–के ? अडिक थिएन । बेढङ्गले, बेअर्थ कहिले बादलमाथि पुग्यो । कहिले समुद्र तल झ¥यो । एकिन थिइन उसको ।

घरमा को–को आए, को–को गए, के–के दाइजो किने ? दुलाहालाई के–के दिने भए ? आफूलाई पहिलो साडी कस्तो किने ? गरगहना के–के किने ? शृङ्गारका सामग्रीहरू के–के किने ? कुनै वास्ता थिएन रक्षालाई ।

दिनभरि ढोका लगाउँथी । धुमधुम्थी एक्लै कोठामा बस्थी । कुनै–कुनै बेला ढोका खोल्थी । बाहिर हेर्थी । मान्छेहरूको चहलपहल देख्थी । मान्छेहरू आफूलाई मार्न जुटेका हुनझैँ लाग्थ्यो । अमन्न मान्थ्यो मनले । फेरि ढोका बन्द गर्थी ।

विवाह हुनुभन्दा दुई रात पहिले । साँझको समय थियो । सबै विवाहको तयारीमा व्यस्त थिए । बाहिर झिलिमिझी थिए । उसको कोठा निस्पट्ट अँध्यारो थियो । एक्लै टोलाइरहेकी थिई, कोठामै । ढ्वाक ! ढ्वाक ! ढ्वाक ! आवाज आयो ढोका बाहिरबाट ।

भारी मनले उठी । ढोका खोली । आमा रहिछन् । आमाले बोलाइन् । सरासर बैठक कोठामा गई । भूइँमा गलैँचा बिच्छाइएको थियो । गलैँचामाथि थचक्क बसी ।

कोठाको चारैतिर नजर पु¥याई । दीर्धरोगीले औषधीलाई हेरेझैँ । कोठाभरि विवाहका सामग्री देखी । मर्दा गरिने दानझैँ लाग्यो ती सामन । दान त दानै थियो । जिउँदै दिने होस् वा मरेपछि दिने होस् । मन झनै झक्कानियो ।सामान चाँपेर मार्लानझैँ भान भयो । बल गरी–गरी मनलाई सम्हाली । लामो सास फेरी थला परेको बिरामीझैँ ।

आमा दुलहीका सामान छोरीको अगाडि राख्दै बोलिन्–‘नानी हेर तो के–के पुग्या छैन तेरो लागि ? तेरा सबै सामग्री यसैमा छन् । एक पटक राम्रोसँग हेर ।’
रक्षा अनौठो जीवलाई हेरेझैँ केहीबेर हेरी समान । के सोची कुन्नि, सामान पर सार्दै बोली–‘भैगो आमा उसै दिन हेरौँला ।’

– ‘हेर न ? हेर्न पनि अल्छी मान्छेस् । विवाहको दिन छुटेपछि कति दुःख हुन्छ ?’
सीता आफैले कपडाको पोको खोलिन् । छोरीको अनुहार पुलुक्क हेरिन् । मुसुक्क हाँसिन् । गमम्क पर्दै बोलिन–‘कस्तो छ, पहिलो साडी हेर तो ?’
रक्षाले टोलाएका नयन हेर्दै बोली–‘राम्रो छ ?’

–मन प¥यो ?

रक्षा तलमाथि टाउको हल्लाई ।

‘मन प¥या छैन भने भन नि ? यो पन्ध्र हजारको हो । अर्को बीस हजारको छ । त्यो ल्याउँला । यसलाई दोस्रोमा राखौँला ।’ सीता बोलिन् ।

रक्षा साडीलाई हातका दुबै औँलाले मुसार्दै बोली–‘अर्को पर्दैन आमा । यही ठीक छ ।’
‘गहना कस्ता छन् हेर तो ?’ सून पसलेलेझैँ गहना अगाडि राखिदिइन् ।

रक्षा एकपटक गहना माथि नजर पु¥याई । नाम सुनेभरिका सबै गहना थिए, त्यहाँ । आमाको अनुहारतिर हेरेर बोली, ‘यत्रो गहना किन किन्या हो त आमा ? उताबाट पनि त ल्याउँदा हुन त ?’

आमा मुसुक्क हाँसिन् । रानी हारलाई गहनाको डिब्वामा राख्दै बोलिन, ‘ल्याउँछन्, ल्याउन त । तर एक्ली छोरी तँ । अर्को विवाह गरौँला भन्ने छैन । अपुग पनि त गर्न भएन नि । इज्जतको पनि त ख्याल राख्नुप¥यो ।’

रक्षा केही बोलिन । मुसुक्क फिक्का हाँसो हाँसी । मनमनै बोली–‘त्यै हजुरको इज्जत जोगाउनको लागि त म मर्दै गएको छु । बढो गजपको रहेछ । इज्जत र मन पनि कहिल्यै ताल नमिल्ने ।’

आमाले क्रमिक रूपमा शृङ्गारका समान देखाइन् । दुलाहालाई दिने सामान देखाइन् । नन्द आमाजू कपडा र गहना देखाइन् । उसले केही प्रतिक्रिया जनाइन । सबैलाई राम्रो भनिदिई ।

विवाहको अघिल्लो दिन । बिहानीको अँध्यारै थियो । घ¥याक्क ढोका खोली । आमालाई बोलाई । आमा आइन् । अपराधीले सिपाहीको अनुहारझैँ हेर्न सकिने आमाको अनुहार । सुक्क–सुक्क गर्दै चोर औलाले आँखा पुच्दै बोली–‘आमा म पाखा सरे ?’

आमाको हँसिलो वदन । छपप्कै बादलले छोप्यो । बोल्दै–बोल्दै गला अवरोध भयो । मुख मरुभूमिझैँ सुख्खा भयो । झर्किंदै बोलिन्, ‘ला ! अब के गर्ने ? वर्वाद भयो । औषधी खानु पर्दैन ?’

‘थाहै पाइन ।’ रक्षा रुँदै बोली ।

सीता कोठाबाट बाहिर निस्कँदै बोलिन्–‘नरो भो । जे हुनुथ्यो भयो । एकछिन् यहीँ बस ।म बाहिर गएर आउँछु ।’

रक्षा घ¥याप्प ढोका लगाई । खुशीले एकपटक बुरुक्क उफ्री । योजना पूरा भएकोमा । अभिनय सफल भएकोमा । उसले सुनेकी थिई । सात दिन बार्नुपर्छ । सात दिन विवाह मिल्दैन विवाह गर्न । उसले सोची । सात दिनसम्म नयाँ केही उपाय निस्कन्छ । ठूलै

बाज्जी मारेझैँ लाग्यो । मरेका रहरहरू बाँसका तामाझैँ हलक्क पलाए । पुनः जीवन पाएझैँ लाग्यो । खुशीले गदगद भई, अर्बौंको चिठ्ठा परेझैँ ।

एकछिनमै । बाहिरबाट फेरि ढ्वाक्क ! ढ्वाक्क !! ढोकाको आवाज आयो । झस्किई आवाजले । चसक्क मनमा घोच्यो । बर्कोले लपप्क मुख छोपी । शिर निहुराई । दुःखीझैँ बनी । घ¥याक्क ढोका खोली । आमा रहिछन् ।

केही बेर अघिकी कालीआमा । अहिले हँसिलो थियो, अनुहार । आमा हँसिलो अनुहारले रक्षा काली भई ।

आमा नजिक आइन् । मुख छोरीको कानैमा लगिन । गुरुले चेलालाई मन्त्र सुनाएझैँ सुटुक्क बोलिन–‘पीर नगर छोरी । पाखा सरेर विवाह रोकिन्न । हामी आइमाईको आधा शरीर, यस्तै हो । यस्तो तँलाई मात्र होइन, धेरैलाई हुन्छ । कसैलाई भने मात्र रोकिन्छ विवाह । कसैलाई नभनेस्, केही हुन्न ।’

आमा बाहिर काममा लागिन् । रक्षा एकटकले भूइँमा हेरेको हेरै भई । गोडा भारी भए, केराको थामझैँ । मनबाट केहीबेर अघि पलाएको खुशीको आंकुर भाँचियो । योजना विफल भयो । वेचैनीले फेरि मनमा डेरा जमायो । दिन टोलाएरै बित्यो ।

गाउँका मानिसहरू जम्मा भएका थिए, आँगनभरि । नचाहेर हो वा नभ्याएर हो । विवाहको मिति तोकिएको दिनदेखि गोपाल नजिक परेकै थिएन । जतिखेर पनि काममै देखिन्थ्यो । त्यस दिन पनि अरु जग्गेको लागि बाँस तयार गरिरहेका थिए ।

ऊ खाल्डो खनिरहेको थियो । रक्षा कुनै–कुनै बेला लुकीलुकी नियालेर उसको व्यवहार हेर्थी । न ऊ दुःखी देखिन्थ्यो, न खुशी देख्थ्यिो । झट्ट हेर्दा यस्तो देखिन्थ्यो, पराई कसैको विवाह हुँदैछ । उसलाई त्यो विवाहको कुनै मतलवै छैन । दुलहीसँग ऊ अनभिज्ञ छ ।

जब बाहिर रात पर्दै गयो । मनमा पनि रात पर्दै गयो । अन्तिम रात थियो छोरीको । भोलिबाट कसैको बुहारी, कसैको श्रीमती हुँदै थिई । बित्दो रातसँग सोच्दा–सोच्दै उसले दुईवटा निर्णय गर्न पुगी । पहिलो गोपालसँग भाग्ने, दोस्रो मृत्यु अँगाल्ने तर कुनै हालतमा पनि त्यो केटासँग विवाह नगर्ने ।

भान्साभरि मान्छे रोटी पकाउन अझै व्यस्त थिए । रातीसम्म चहलपहल रहिरह्यो, घरमा ।

उसले पहिलो निर्णयलाई साकार पार्न लागी । विना योजना, विना सहमति, बिना बोलचाल । यसको व्यवहार देख्दा यस्तो लाग्यो । भाषा नक्कली हो । कहिले प्रेमको भित्र तह देख्दैन । लुकेको भित्रीपत्र लेख्दैन । भाषारूपी प्रेम बनावटी हो । झुठ हो ।

जसको न अर्थ छ न सत्यता छ । सक्कली त नयन हो । नयनको संवाद सत्य हो । जसमा कुनै मिसावट छैन । कृत्रिमता छैन । जसले प्रेमको वजन निर्धारण गर्छ । आयतन नाप्छ । क्षेत्रफल देखाउँछ । पे्रमको उत्खनन्पछिको सही परिणाम दिन्छ । त्यही नयनको सम्वाद थियो उसँग । त्यसको आधारमा अगाडि बढी ऊ ।

दराजको साँचो कोठामै थियो । खोली । टन्न विवाहको लागि पैसा थियो । केही झिकी । दुई जोर कपडा झोलामा राखी । झोला हातमा छोपी । केही छुट्यो कि भनेर पछाडि फर्की । हेरी । लग्ने केही देखिन । ढोका खोल्नलाई चुकुल नजिक हातका औला के पु¥याएकी थिई ।

बाहिरबाट ढोका ढ्वाक ! ढ्वाक !! पारेको आवाज आयो । मन खङ्ग्रिङ्ग ग¥यो आवाजले । झोला दराजको पछाडि लुकाई । ढोका खोली । आमा रहिछिन् । सादा हाँसोले स्वागत गरी आमालाई । आमा भित्र पस्दै भनिन्–‘अझै सुत्या छैनेस् क्या हो ?आइज सुतौँ । भोलि बिहान उठ्नुपर्छ ।’

रक्षा केही बोलिन । ऊ उभिएको उभिई भई । आमाले नै ढोका लगाइन् । बत्ती निभाइन् ।

आमासँग पलङमा पल्टिई रक्षा । आमाले त्यो रात धेरै कुरा सम्झाइन् छोरीलाई । ऊ सुनिरही । केही प्रतिक्रिया दिइन । बिहान हुँदै थियो । आमा झपक्क निदाइन् ।

रक्षा उठी पलङबाट । छामछुम गर्दै दराज नजिक पुगी । झोला खोजी । केही बेरमै भेटाई । एउटा हात झोला समाई । अर्को हातले सुस्तरी चुकुल खोली । कोठाबाट कोलियामा निस्की ।

अरु कोठा पनि सबै सुनसान थियो । सबै मस्त निन्द्रामा थिए । चोर बिरालोझैँ सुस्तरी भित्रीगेटको नजिक पुगी । गेटको दायाँ पल्ला खोल्न हात के राखेकी थिई ।

बाहिरी गेटको पर्खाल बाहिरबाट आवाज आयो । ‘क्या हो ? तीन बजिसक्यो । अझै कोही उठेका छैनन्, क्या हो ? चाँडै गेट खोल । अइल्यै जन्ति आइपुग्छन् ।’

गेट हल्लाउँदै पोख्रेल बुढाको आवाज आयो । जसरी झोला बोकेर गएकी थिई । त्यसरी फर्किई । झोला दराज पछाडि फाली । लामो सुस्केरा हालेर लामो सास फाली । बाहिरको चहलपहलसँगै कोठाको बत्ती बाली । उज्यालोसँगै आमा उठिन् ।

‘ए ! गोपाले चाँडै उठ । खसीको लागि पानी तताउनुप¥यो । ताउलो गोठमै छ । जन्ती अइल्यै आइहाल्छन् ।’ ठूलो स्पिकरकोझैँ आवाज कानमा प¥यो ।

त्यसपछि । एक्लै हुन पाइन ।भाग्न पाइन । मर्न पाइन । जे चाहेकी थिइनँ, त्यही हुन गयो । धुमधामसँग सम्पन्न भयो विवाह । जीवन एउटा अध्याय अन्त्य भयो । अर्को प्रारम्भ भयो । –क्रमशः …

तल्लो जीवन उपन्यास अंश