कोरोनाको प्रभाव र कमजोर राजनीति

विनोद पोख्रेल

२०७७ जेठ १ गते
अब त कहिलेकाहँी वार र मिति समेत बिर्सेको जस्तो अनुभव हुन लाग्यो । यो परिवेश पनि वर्तमान जीवनशैलीसँग जोडिन पुग्छ । हुन त कतिपल्ट यस्तो पहिले पनि भोगेको हो ।

सायद सुस्तसुस्त उमेरले यस्तो गराउँदै लग्छ । तर अहिलेको स्थितिमा जति पनि कमजोरी हुन्छन् सबै लकडाउनको जिम्मा लगाए भयो । आज मलाई किन हो थाहा छैन लकडाउनले मलाई पारेको प्रभावको बारेमा लेख्न मन छ । साथीहरुसँगको भेटघाट, गफगाफ र रमाइलोसँग समय कटाउन पाउनुको मजा पनि अलग र उपलब्धि पनि अलग हुने रहेछ ।

त्यहाँ काम लाग्ने कुरा पनि हुन्छन् नलाग्ने कुरा पनि हुन्छन् । तर रमाइलो सबैले दिन्छन् । यो सामाजिक प्राणी हुनुकै एउटा प्रमाण हो, सायद । त्यत्तिका लागि पनि मन आत्तिएको जस्तो लाग्छ । त्यसवाहेक घरमा भाइ, भतिजाहरुसँग बसेर तासमा व्याँलिएर दिन कटाउँदा पनि समयको चिन्ता नभएको जस्तो लाग्छ । अहिले त्यो पनि सहज रुपमा सम्भव छैन । थाहा छ तास खेल्नु राम्रो काम होइन तर थोरै पैसाको शर्त राखेर खेलेर दिन सजिलोसँग बिताउनु पनि खेलको राम्रो उपयोग हो जस्तो लाग्न थालेको छ ।

यसमा पनि खेल अथवा हारजितभन्दा पनि सामूहिक बसाइँ मनोरञ्जन बढी महत्वपूर्ण पक्ष हो जस्तो लाग्ने गरेको छ । केही चिन्ताका विषय पनि छन् । केही व्यक्तिगत छन् जो नभन्दा नै राम्रो हुन्छ । केही पारिवारिक भन्न सुहाउला, दुईवटा नातिहरु एसइई दिन तयार भएर बसेका छन् तर सबै कुरा अनिश्चित र अलमलमा छ । कहिले त लकडाउन खुलेको दुई हप्ता पछाडि भन्छन्, कहिले असारमा भन्छन् कहिले अन्तरिक मूल्यांकनको भरमा अपग्रेड गर्ने भन्छन् ।

यसले उनीहरु पनि अलमलमा छन् र म पनि उनीहरुको भविष्यबारे अलमलमै छुँ । यसै वर्ष एसइई सकिएपछि उनीहरुको ब्रतबन्ध गर्नै निर्णय भएको थियो । चैतको २७ गते दिन समेत तोकिएको थियो । एउटा निर्णइ गरेपछि त्यो पूरा भएन भने सबैलाई अलि छटपटी जस्तो लाग्छ । त्यो खालको छटपटीको पनि शिकार भएको छुँ । चैतमा नभए बैशाखमा होला, जेठमा होला भन्दाभन्दै अब असारमा पनि केही अचम्म भएन भने यो काम हुने जस्तो लाग्दैन । एउटा अर्को शैलीको विकास पनि हुने जस्तो लागेर डर लागेको छ ।

हाम्रो सामाजिक संस्कारको रुपमा रहेको आफूभन्दा सिनियर, सम्मानितहरुलाई आदर प्रकट गर्न नाता अनुसार हातमा खुट्टामा ढोग्ने चलन फेरिन सक्छ । धेरैलाई खुट्टामा ढोग्न ग्लानीजस्तो महशुस गर्ने चरित्रको विकास भएको थियो । त्यसैले अति निकटका बारहेक अरुलाई ढोग्ने क्रम कम भएकै थियो । अब पूरै हट्न पनि सक्छ । यसले सामाजिक तथा पारिवारिक सम्मान र अनुशासनमा चोट पु¥याउन सक्छ । त्यसमा अझ अल्कोहल मिसिएको सेनिटाइजरले हात धुनका लागि अति धेरै जोड गरिएको छ ।

सरकारी पक्षबाट समेत यसको प्रचार भइरहेको छ । यसको प्रभाव पनि समाजमा राम्रो पर्ला जस्तो लाग्दैन । बर शंकाको वातावरण र एकअर्काप्रति अविश्वासको स्थिति विकास हुन्छ कि भन्ने डर मनको कुनै कुरामा छ । त्यसैले यो महामारीको अन्त्यसँगै हाम्रो सामाजिक चरित्रमा गलत संस्कार नपसोस् भनने कामना गर्छु ।

२०७७ जेठ २ गते

सामाजिक गतिविधिहरु केही हुन पाइरहेका छैनन् । त्यसैले हो कि सामाजिक पक्षबारे मनमा त्यति कुरा आएका छैनन् । तर मानिस अति धेरै स्वार्थी र मौका कुरेर बस्ने प्राणी हो । त्यकारण यस्तो अवसरमा समाजको सद्भाव बिगार्ने, समाजको एकता नष्ट गर्ने गतिविधिहरु झन बढी भएका छन् कि भन्ने शंका पनि लाग्छ । तर थाहै नपाएर तर्सिन पनि भएन ।

सम्बन्धित निकायले हेर्नुपर्ने भनेर नष्फिक्री हुने स्थिति छैन । कसैमाथि पनि निर्धक्क विश्वास गर्नसक्ने स्थिति छैन । तर पनि आफूले थाहा नपाउँदासम्म सबै ठिकै छ भन्ने सोच बनाएर बस्ने हो । थाहा पाए अरु केही गर्न नसके पनि विभिन्न माध्यमबाट भइरहेको गतिविधिलाई उजागर गर्ने र आम नागरिकसम्म पु¥याउने हो । आफ्नो विचार अनुसार यो सही र यो गलत भन्ने हो । बरु आजभोलि मनमा बढी प्रभाव दुईवटा कुराले पारेका छन् ।

एउटा राजनीतिले, लक्ष्यहीन, विचारहीन, अवसरवादी, सत्ताउन्मुख राजनीति देख्दा दिक्क लाग्छ । आफू सत्ताको समानान्तर हिड्ने अथवा भनौ सत्तामा सामेल हुनेभन्दा ‘वाच डग’ को रुपमा बस्न रुचाउने भएकोले आफूले थाहा पाउने बेलादेखिका सरकारहरुसँग एकअर्काको तुलना गर्न मन लाग्छ । धेरै कुरा त सधैँ चित्त नबुझ्ने नै भएको अनुभव छ । तर पनि केही कुरामा चित्त बुझाउन सकिन्थ्यो । मलाई लाग्छ यो स्वाभाविक हो । यसका कारणहरु भन्ने हो भने एउटा त मैले जसरी सोच्छु त्यसरी नै सबैले सोच्नु पर्छ भन्ने सोच मेरो पनि भयो भने त्यो उचित भएन । मानिस स्वतन्त्र छ, स्वतन्त्र हुनुपर्छ तर स्वतन्त्रतासँगै जिम्मेवारी पूरा गर्न सक्ने हुनुपर्छ । जिम्मेवारी पूरा गर्नसके मेरै सोच अनुरुप नभए पनि केही वा धेरै राम्रो गर्न सकिन्छ । जिम्मेवारीबोध नगर्नेहरुको हातमा राजनीति गयो भने यो राजनीति नै रहँदैन । बरु व्यक्तिको लहड पूरा गर्ने माध्यम मात्र हुन्छ । वर्तमान नेपालले भोगिरहेको अवस्था यही हो ।

वर्तमान सरकार निर्माण भएपछि मेरो मनमा केही आशाहरु थिए ।अत्यधिक वहुमतको सरकार छ । जनताकै स्तरका जनताकै समस्या भोगेकाहरुमध्ये धेरै सरकारमा छन् । त्यस कारण मलाई चित्त बुझे पनि वा नबुझे पनि केही प्रभावकारी काम हुनसक्छन् भन्ने आशा थियो । तर एउटा भनाई छ कुनै कविको ‘छोरो बढेपछि भारी फूर्ति ढाँचा देखाउँछ, उर्लंदो खहरे हेर कत्तिको गडगडाउँछ’ मैले त्योभन्दा बढी केही भेटिन ।

सत्ता चलाउन ठूलो क्षमता अझ शब्द ठिक हुन्छ अंग्रेजी भाषामा ‘ग्रेभिटि’ ठिक होला, त्यो चाहिने जस्तो लाग्यो । जनतालाई अनुशासनमा राख्न सक्ने, जनतालाई जति सके धेरै सहभागी बनाउनसक्ने, जनताको विश्वास जित्न सक्ने, जनताभन्दा अलग नभएर जनपक्षीय विषयहरुको वकालत गर्नसक्ने सरकार वा नेतृत्वको आवश्यकता पर्ने रहेछ, यो सबैको लागि जनताप्रति पूर्णजिम्मेवारीबोध भएको नेतृत्व चाहिन्छ ।

तर यहाँ सहमति भागबण्डा, समीकरण र कतिपल्ट त विदेशी सहयोगबाट सरकार निर्माण भएको वा अपदस्थ भएको घटनाहरु देखिएका छन् । यस्तोमा मोरो परिकल्पना एउटा सपना मात्रै हो जस्तो लाग्ने गर्छ ।