सत्तारूढ दल नालायक, प्रतिपक्ष सुस्त : केन्द्रीय सदस्य गिरी

मुलुक अहिले विश्वव्याधीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सत्तारुढ दलमा कुर्सीको भागबण्डाका कारण देखिएको झगडाका कारण अत्यन्तै गम्भीर मोडमा रहेको

आर्थिक बृद्धि दर दिनदिनै ह्रासोन्मुख हुँदै आएको व्यापार घाटाको अवस्था पनि अपुरणीयजस्तै महाव्याधीको उपचार नपाएर नागरिक घरमै मृत्यु वरण गरिरहेका छन्

यस्तो अवस्थामा पनि भ्रष्टाचारको अग्रसूचीमा नेपालको नाम विश्वभर छाएको तर करिब दुइतिहाई मत प्राप्त सरकारले जनताका हरेक सवाललाई सम्बोधन गर्न असफल प्रायः देखिएको प्रमुख प्रतिपक्षी दल पनि सुस्त

संसद् नबसेको धेरै महिना भइसकेको यसबीचमा राष्ट्रपतिबाट धेरै अध्यादेशहरु आएका छन् जुन संसदीय अभ्यासको मूल मर्मभन्दा पनि बाहिरको कुरा हो वर्तमान अवस्थामा सरकारको दायित्व, प्रमुख प्रतिपक्षी दलको भूमिकासँगै महाधिवेशनको तयारी कोरोना भाइरसको संक्रमण नियन्त्रणका सवालमा सरकारले गरेका गतिविधिहरुमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य दीपक गिरीसँग गरेको संवादको सार संक्षेप

— मुलुकको वर्तमान सिनारियो कस्तो देख्नुभएको छ, प्रतिपक्षी दलको केन्द्रीय सदस्यका रुपमा बताइदिनुस् न ?
@ मुलुकको सिनारियो तपाईंले अनि जनताले जे देख्नुभएको छ त्यही हो । यसलाई मैले थप व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन । आर्थिक गतिविधि चलायमान हुनैसकेको छैन । वैदेशिक व्यापार घाटा र आर्थिक बृद्धि दर उक्लन सकेकै छैन ।

यो अवस्थाले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा परिसकेको छ । दातृ निकायलाई रिझाउने गरी काम हुनसकेका छैनन् । भ्रष्टाचारको सीमा कति बढेको छ भन्ने कुरा मैले भन्ने कुरा होइन, एउटा अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले उजागर गरिसकेको छ ।

तर पनि सरकार अझै भ्रष्ट भनेर पञ्छिने दाउमा छ । यतिधेरै शोधमा आधारित प्रतिवेदनलाई पनि नमान्नु र सरकारकै प्रवक्ताले सो प्रतिवेदनको खण्डन गर्नु आफैमा पनि लज्जास्प्रद हो । आम नेपाली नागरिकले खुलेआम जानकारी पाइरहेका अनियमिततालाई पनि स्वीकार्न नसक्नु सरकारको अकर्मण्यता बाहेक केही पनि हुन सक्दैन ।

अख्तियार, विशेष अदालतलगायत स्थानीय तहमा समेत सरकारी पक्षबाट भएका अनियमितताका फाइलका चाङ छन् । तर सरकार आफूलाई लागेको अभियोगको सच्चिकरणभन्दा पनि भ्रष्टाचारै नभएको दाबी गरिरहेको छ भने अब यो सरकारबाट नागरिकले के आशा गर्ने ?

यो मात्रै होइन, दुई विपरित ध्रुव र विपरित लक्ष्यका पार्टीहरुको अपवित्र गठबन्धनबाट मुस्किलले दुइतिहाई पाएको सरकारको चालालाई आम नागरिकले नियालिरहेका छन् ।

राजनीतिक दर्शनभन्दा पनि कमाउने दाउँमा आफ्नालाई कसरी माथिल्लो तहमा लैजाने भन्नेमा मात्र सरकारको कसरत रहेको तपाईंले देखिहाल्नुभएको छ नि । यो विषय खुल्ला किताबजस्तै हो । जसले पढे पनि मुलुकको यथार्थ राजनीतिक धरातल थाहा पाउन सक्छ ।

— तपाईंकै पार्टीको महाधिवेशनतर्फ जाऔँ, के–कस्तो प्रगति हुँंदैछ ?
@ धेरै पहल भएपछि बल्ल केन्द्रीय समितिको बैठक हालै बसेको छ । बैठकमा पार्टी समायोजनको कुरा उठिरहेको छ । के–कसरी समायोजन प्रक्रियालाई सार्थकता दिने भन्नेमा बहस चलिरहेको छ । त्यसका लागि नयाँ सदस्यता वितरणका सवालमा छलफल भइरहेको छ ।

नेपाली कांग्रेसमा अर्को पार्टी मिसिएपछि उनीहरुलाई पनि त आत्मसम्मान हुने गरी सदस्यता दिनुप¥यो, क्रियाशील सदस्यता दिनुप¥यो । यो विषयमा अन्तिम निर्णय भएपछि मात्रै हामी अर्को चरणमा प्रवेश गर्ने छौँ ।

तर पनि पार्टी अहिले सुस्तजस्तै बन्न थालेकाले हामी केही केन्द्रीय सदस्यले अहोरात्र पार्टीको क्रियाशिलताका लागि पार्टी नेतृत्व एवं पदाधिकारीहरुलाई घच्घच्याइरहेका छौँ । मलाई लाग्छ अबको केही दिनमा कांग्रेसले ठोस र अर्थपूर्ण निर्णय गरेर पार्टीलाई चलायमान बनाउने छ ।

— पछिल्लो समयमा यो त्यो वहानामा भारत तथा चीनका महामहिमहरुको नेपाल भ्रमण भइसकेको छ, मुलुकको स्वाधीनता अप्ठेरोमा परेको होइन ?
@ हामीले यी दुवै देशका अधिकारीहरुको भ्रमणलाई सुक्ष्म रुपले नियालिरहेका छौँ । भारत ‘र’ का प्रमुखको भ्रमण, चीनका विभिन्न विभागीय प्रमुखको भ्रमण र भारतीय सेना प्रमुखको भ्रमणलगायतका सवालमा नेपाली कांग्रेको कुटनीतिक ‘वीङ्स’हरुले सुक्ष्म अध्ययन गरिरहेको मैले तपाईंलाई जानकारी गराउन चाहन्छु ।

हामी मुलुकको स्वाधीनता संकटमा आउन दिने पक्षमा कल्पना पनि गर्न सक्दैनौँ । पार्टी सभापतिका केही भेटघाट र केही छलफललाई आधार बनाएर कांग्रेस जनताको पार्टी नभएर स्वाधीनताको वेवास्ता गरेको हो कि भन्ने गलत प्रचार भएको पनि हुन सक्दछ ।

तर मैले भन्नै पर्दछ कि हामी कांग्रेसका धेरै केन्द्रीय सदस्यहरु मुलुकको लोकतन्त्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका सवालमा अत्यन्तै गम्भीर छौँ ।

छिमेकी मुलुकहरुसँगको आपसी सम्बन्धलाई निरन्तरता दिँदै मुलुकको स्वाधीनताका विषयमा कांग्रेसले कुनै पनि प्रकारको गलत क्रियाकलाप र सम्झौता गर्न दिने छैन भन्नेमा पनि मैले यसै पत्रिकामार्फत् आम नेपाली दाजुभाइ, दिदिवहिनी एवं सम्पूर्ण नेपालीलाई निर्धक्क रहन पनि हार्दिक आह्वान गर्दछु ।

— आफ्नै पार्टीको महाधिवेशन टुङ्गो लगाउन नसकेको नेपाली कांग्रेसका पार्टी सभापति खुरु–खुरु बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न गइरहनुको अर्थ के हो ?
@ प्रमुख प्रतिपक्षी दलको नेता प्रधानमन्त्रीलाई भेट्न जानु, आवश्यक सल्लाह र सुझाव दिनु लोकतान्त्रिक प्रक्रियाकै एउटा प्रक्रिया हो ।

यसलाई गलत रुपले बुझ्नु र बुझाउनु हुँदैन भन्ने मलाई लाग्छ । किनकि सत्तारुढ दललाई आवश्यक परामर्श दिनु र सही बाटोमा ल्याउनु प्रमुख प्रतिपक्षी दलको दायित्व पनि हो । कहीँकतै मैले सुनेको छु, संवैधानिक आयोगहरुमा कांग्रेसका मान्छेहरुलाई नियुक्त गर्नका लागि सभापति देउवाको भेटघाट चलिरहेको छ ।

र, पछिल्लो समयमा नेकपालाई फुटाएर एउटा धारमा कांग्रेसले सत्ता साझेदार गर्ने हल्ला पनि मैले सुनेको छु । तर मलाई विश्वास छ, नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीमा बस्ने भनेर जनताले दिएको म्यान्डेट सोही अनुसार नै पार्टीले पूरा गर्ने छ ।

तपाईं नेपाली कांग्रेसका जनहरु तथा सर्वासाधारण नागरिक कोही पनि भुलमा नपर्नुहोला, हामी नेकपा फुटाएर एउटा चोइटिएको पक्षसँग सत्तासाझेदारी गरी सरकारमा जाने पक्षमा छैनौँ । किनकि हामीलाई जनताले दिएको मत भनेकै प्रतिपक्षीमा भूमिका निर्वाह गर्ने हो ।

हामी आम नेपाली जनतालाई भन्न चाहन्छौँ कि यो कार्यकाल दुइतिहाई वहुमतको नेकपाले नै चलाओस् भन्ने हो । हामी जुनबेला सरकारमा जाने छौँ, त्यो बेला आम नेपाली जनताले हामीलाई स्पष्ट वहुमत दिएर नेतृत्वमा पठाउने छन् ।

— कांग्रेसको कमजोर प्रतिपक्षीको भूमिका, सत्तारुढ दलको आफ्नै भागबण्डाको झगडाका कारण फेरि राजावादीहरु हिन्दू राज्य संवैधानिक राजतन्त्रका विषयमा देशव्यापी अभियानमा छन् नि ?
@ अहिलेकै अवस्थामा राजतन्त्र फेरि फर्केला भन्ने मैले कल्पना पनि गरेको अवस्था होइन । तर पनि वर्तमान सरकारप्रतिको नागरिक वितृष्णा र विपक्षी दलको सुस्त विरोधका कारण पनि आम नागरिकमा यो सरकारको काम गराई र विकास निर्माणप्रति असन्तुष्टि बढेको भने पक्का हो ।

यो असन्तुष्टिलाई नेपाली कांग्रेसले मात्रै सम्बोधन गर्ने छ, जतिबेला आम जनताले नेपाली कांग्रेसलाई अर्थपूर्ण मत दिएर निर्वाचित बनाउने छन् । त्यो समय अब टाढा छ जस्तो मलाई लाग्दैन । अब सरकारको उधोगति सुरु भइसकेको छ ।

किनकि विकास निर्माणका सवालमा होस् वा औद्योगिक विकासका सन्दर्भमा होस् सरकार पूरै असफल भइसकेको छ । खेतीपातीका लागि किसानले समयमा मलवीऊ पाउन सकिरहेका छैनन् ।

कोरोना भाइरसका संक्रमितहरुले अस्पतालमा निःशुल्क उपचार नपाएर घरमै मृत्यु वरण गरिरहेको अवस्था छ । सम्माननीय सर्वोच्च अदालतले गरेको परमादेशलाई समेत सरकारले कार्यान्वयन गर्न मानिरहेको छैन ।

यो अवस्थाले न्यायपालिका नै संकटमा परेको अनुभूति भएको छ । यो एउटा संवैधानिक संकटको अवस्था पनि हो । तर यो संवैधानिक संकटको अवस्थामा पनि वर्तमान सरकार आफ्नै पार्टीभित्रको सैद्धान्तिक बहसमा होइन भागवण्डाको लडाइँमा भौँतारिइरहेको छ । यो एउटा अत्यन्तै दुःखद् अवस्था हो ।

— अबको बाटो के देख्नुभएको छ ?
@ हामीले भन्दा पनि जनताले बाटो खोजिरहेका छन् । जनताको चाहनाअनुसार कांग्रेस अब सशक्त प्रतिपक्षी भएर खरो रुपमा उत्रन आवश्यक देखेको छु ।

कांग्रेस जहिल्यै पनि जनबलमा सञ्चालित पार्टी भएका कारण पनि कांग्रेसले अर्को कार्यकालमा सरकारको नेतृत्व गर्नका लागि जनमत अवश्य प्राप्त हुने छ भन्ने मलाई विश्वास छ । कुनै पनि सैद्धान्तिक मतभेद हुँदा नहुँदै पनि अपवित्र गठबन्धनबाट एकीकृत भएको नेकपाबाट जनताले अब भरोषा गर्ने कुनै ठाउँ नै रहेको देख्दिन ।

वर्गीय आन्दोलनमा उत्रेका नेताहरु फेरि पनि पदीय भाडबण्डाको युद्धमा उत्रनुले वैदेशिक हस्तक्षेपको पनि वातावरण आउन थालेको छ । तर नेपाली कांग्रेसले यी दुवै गठबन्धन मध्येको एउटा चोइटिएको टुक्रालाई साथ दिएर अल्पकालका लागि सरकारमा जानु हुँदैन र जान्न पनि । हामी त्यो बेला मात्रै सरकारमा जान्छौँ, जुनबेला आम जनताले हामीलाई आधिकारिक रुपमा म्यान्डेट दिन्छन् ।