बरिष्ठ नेता पौडेलको गिरफ्तारी लोकतन्त्रमाथिको ठूलो कलंक : नेता चौधरी

दाङ,१७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेपाली कांग्रेसका बरिष्ठ नेता राचन्द्र पौडेलमाथि भएको प्रहरी गिरफ्तारको घोर निन्दा गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै बरिष्ठ नेता पौडेल माथि भएको गिरफ्तारीको घटना लोकतान्त्रीक ब्यवस्थामा एक ठूलो कलंक भएको उल्लेख गरेका छन् ।

प्रहरी प्रशासनलाई हातमा लिएर वर्तमान सरकारले गरेको यो कुकृत्यले दुई तिहाईको दम्भकारी सरकारको अलोकतान्त्रिक रुप थप प्रष्ट पारिदिएको केन्द्रीय सदस्य चौधरीले वताएका छन् । साथै दुई तिहाईको बलमा जे पनि गर्न पाईन्छ भन्ने सरकारको अहंकारी रुप नेपाली जनतालाई स्वीकार्य नहुने चौधरीले वताएका छन् । ‘म नै सर्वेसर्वा हुँ भनेर राज्यले गरेको यो दमन किमार्थ सह्यै छैन,’ उनले भनेका छन् ‘प्रतिपक्षदलका बरिष्ठ नेतालाई ठेगाउन लगाउने सरकारको यो कुकृत्य उसका लागि महंगो पर्ने छ ।’

आँफूलाई ‘बाहुबली’ ठानेको दुई तिहाई दम्भकारी सरकारले प्रतिपक्षलाई कमजोर नआँक्न पनि उनले चेतावनी दिएका छन् । ‘प्रधानमन्त्री जि दुई तिहाईको आडमा आँफूलाई बाहुबली नठान्नुस्,’ चौधरीले भने ‘अरुलाई कमजोर आँक्ने तपाईको गलत नियत तपाईकै लागि महंगो नपरोस् । लोकतान्त्रीक आन्दोलनका अथक योद्धा पौडेल माथि गरिएको गिरफ्तारी लोकतान्त्रीक ब्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको उल्लेख गर्दै चौधरीले सरकारको यो कदमले पञ्चायतको झल्को दिएको समेत वताएका छन् ।

कांग्रेस बरिष्ठ नेता पौडेल तनहुँमा निर्माण भएको पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले बेलुका मात्रै रिहा गरेको छ ।