अपांग दम्पतिका लागि घर निर्माण अभियान शुरु

दाङ, १६ मंसीर । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले बोल्न नसक्ने बेघर अपांग दम्पति टिकाराम घर्ती मगर र मैती घर्तीका लागि घर निर्माण अभियान शुरु गर्नु भएको छ । उहाँहरु घोराही १६ खिरिटियामा आफन्तको घरमा बस्दै आउनु भएको छ।

पूर्व अध्यक्ष एवं अभियन्ता केएल पीडितले अपांग दम्पतिका लागि सहयोग जुटाएर ४ कोठे घर निर्माण गरिदिने बताउनु भयो । घर निर्माणमा करिब ५ लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माण अभियान सफल बनाउन अभियन्ता पीडितले सबैसंग अनुरोध गर्नु भएको छ ।

‘यो एउटा मानवीय अभियान हो । एउटा बेघर अपांग परिवारको उद्धारका लागि म सबै महानुभावसंग सहयोगको लागि अपील गर्द्छु ।’ अभियन्ता पीडितले भन्नुभयो ।

यस अभियानमा सहयोगदाताले नगद या जिन्सी सहयोग गर्न सक्नेछन् । नगद सहयोगका लागि मैती घर्तीको नाममा घोराहीको ग्लोबल आइएमइ बैंकमा खोलिएको चल्ती खाता नं। ४१०७०१००२०९८७ मा रकम जम्मा गरिदिनु हुन सहयोगीहरुलाई अभियन्ता पीडितले अनुरोध गर्नु भएको छ । मजदूरीको भरमा गुजारा गर्दै आउनु भएका अपांग दम्पतिलाई पूर्व अध्यक्ष एवं अभियन्ता पीडितले एक वर्षदेखि विभिन्न सहयोग जुटाइदिदै आउनु भएको छ ।

उहाँकै पहल एवं अनुरोधमा समाजसेवी पदम केसीलाई अपांग दम्पतिलाई सिलिन्डरसहित ग्यास चूल्हो प्रदान गर्नुका साथै छोरा अमित घर्तीलाई विद्यालय भर्ना गरी पोशाक र स्टेशनरीको व्यवस्था गरिदिनु भएको छ । चलचित्र निर्देशक समेत रहनुभएका पीडितले संचालन गर्नुभएको यो अभियान निकै राम्रो भएको हुँदा अपांग दम्पतिको घर निर्माणमा सबैले खुलेर सहयोग गरिदिन अत्यन्त जरुरी छ ।