भ्रष्टाचारको भण्डाफोर, हिन्दु राष्ट्र संबैधानिक राजतन्त्र

गोरक्ष समाचारदाता
तुलसीपुर, १५ मंसीर । राप्रपाको अगुवाईमा तुलसीपुरमा बृहत छलफल भएको छ । वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म भएर जनताका लोकतान्त्रिक एवं संवैधानिक अधिकार समेत कटौती भएको विषयमा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

छलफलले आउँदो १८ गते बृहत जन¥याली प्रदर्शन गर्ने पनि सर्वपक्षीय सम्मेलनले उद्घोष गरेको राप्रपा केन्द्रीय सदस्य बंशिकुमार शर्माले बताएका छन् । मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाभिमान, हिन्दू राज्यको पुनःस्थापना तथा भ्रष्टाचारमुक्त मुलुकको अभियान लिएर जनप्रदर्शन हुन थालेको बैठकमा निर्णय भएको छ ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका कारण कोभिड–१९ का संक्रमितहरुको पनि उपचार नपाएरै मृत्यु हुन थालेको, देशका सिमामा अतिक्रमण बढिरहेको, वर्तमान सत्तासीन सरकार विदेशी राजनीतिक हस्तक्षेपको दाउपेचमा तल्लिन रहेको तथा मुलुकका आम नागरिकहरुको जीविकोपार्जनमै वर्तमान सरकार असफल भैसकेको पनि बैठकले निष्कर्ष निकालेको हो ।

तुलसीपुरका उद्योगी व्यवसायी दामोदर भण्डारीको घरमा बसेको बैठकले जनताका आकांक्षाहरुलाई अधिकतम् सम्बोधन गर्न सरकारलाई दबाव दिने र सरकारले जनताका समस्या सम्बोधन गर्न नसकेको अवस्थामा यो सरकारको विरुद्धमा जनप्रदर्शन गरी वैकल्पिक सरकारको खोजी गर्नेसम्मका विषयमा बहस गरेको थियो । ‘गास, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षालगायत मुलुकको स्वाधिनता रक्षाका लागि पनि हामीहरु प्रदर्शनको तयारीमा छौं, यो पार्टीको मात्र नभएर आम राष्ट्रभक्त नेपालीहरुको सहभागितामा हुनेछ’, राप्रपाका केन्द्रीय सदस्य दामोदर भण्डारीले भने ।

वर्तमान दुई तिहाईको बाम सरकारले जनताका विकास र समृद्धिका आकांक्षा पूरा गर्नुको साटो आफै कमाउने दाउमा लागिरहेको आम नागरिकलाई जानकारी भइरहेको सन्दर्भमा जनताको अभिमतलाई उजागर गर्न पनि जनप्रदर्शनको आयोजना गरिएको अर्का केन्द्रीय सदस्य बंशिकुमार शर्माले बताएका छन् । राष्ट्र र राष्ट्रियता नै सम्प्रभुत्व मुलुकको निगरानीमा चलिरहेको अवस्थामा संबैधानिक राजतन्त्र, हिन्दू राज्य र लोकतन्त्रका लागि यो आन्दोलन शुरु हुन थालेको पनि राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताएका थिए । आउँदो कार्यक्रमको समन्वय राप्रपाका नेता कुलबहादुर घर्तीले गर्नेछन् ।

घोराहीको ट्राफिक चोकबाट शुरु हुने कार्यक्रमलाई सफल बनाउनका लागि जिल्लाभरका देशभक्त एवं राष्ट्रसेवीहरुको सहभागिता रहने बताइएको छ । छलफल कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, उपाध्यक्ष भुपाल रावत, युवक संगठनका घोराही नगर अध्यक्ष उमाकान्त भण्डारी, युवा नेता गोकर्ण वली, केन्द्रीय सदस्य तेजबहादुर बस्नेत, प्रमोद न्यौपाने, युवा नेता ढुण्डी कँडेल, देशभक्त नेता ध्रुव गौतमलगायतका दर्जनौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम राप्रपाको मात्र नभएर आम देशभक्त एवं राष्ट्रभक्तहरुको भएको भन्दै नेपाली कांंग्रेस नेकपालगायत सबै पार्टीका राष्ट्रभक्त एवं देशप्रति स्वाभिमान नागरिकलाई समेत आन्दोलनमा सहभागिताका लागि आमन्त्रण गरिएको पनि बैठकमा निर्णय भएको युवा नेता दामोदर भण्डारीले जनाएका छन् ।