बृहन्नला र उत्तर कुमारले युद्ध जिति गाई फिर्ता गर्नु

राधेश्याम उपाध्याय

यो बेहाल देखेर भीष्म रिसाइ युद्ध गर्न आए र सर्वप्रथम आठ वाणले झण्डामा बसेका हनुमानलाई घायल बनाए । यो देखेर अर्जुन रिसाइ सरहरुको वर्षा गराई आकाश ढाके । थको छत्र, ध्वजा काटि सारथी मारिदिए, अश्वहरु घायल भए । भीष्मले पनि अनेक बलिया दिव्यास्त्र छोडे । अर्जुनले सबै दिव्यास्त्र काटि टुक्रा पारिदिए ।

देवासुर संग्रामको जस्तो ठूलो युद्ध भयो । दुवैले आ–आफ्ना दिव्याश्त्रहरु छोडे । बाँकी सैनिकहरु लाटोकोसेरोजस्तै टोलाएर हेर्न लागे । अन्त्यमा अर्जुनले एउटा वाणले भीष्मको धनु काटि टुक्रा परिदिए । अरु दश वाण थपेर शरीरमा घाऊ पारिदिए र अन्त्यमा भीष्म मूर्छा भई रथमा ढले र सारथीले रथीको सुरक्षाका लागि रथ युद्धक्षेत्रदेखि बाहिर लगे ।

पितामह मूर्छा परेपछि दुर्योधन लड्न आयो । त्यसका साथै हात्तीमा चढेर विकिरण दुर्योधनको सहयोगका लागि आए । विकिरणको हात्ती एक वाणले अर्जुनले मारिदिए । विकिरण रथदेखि हाम फालेर बाँचे । सबै कौरव द्रोण, द्रौणी, विविंशति, कृप, कर्ण, दुःशासन, सकुनी मिलेर एकैपटक जाइलागे । यो देखेर अर्जुनले पनि ठूलो सम्मोहन दिव्यास्त्र छोडे र सबै कौरवहरु मूर्छा परी रथमा ढले ।

अर्जुनले उत्तरलाई भीष्म वाहेक सबैका रंगीविरंगी पगरी ल्याउने आदेश दिए, सोहीवमोजिम उत्तरले सबैका रंगीविरंगी पगरीहरु ल्याए र पोको परी रथमा राखे । भीष्म मूर्छा नपरी घायल मात्र थिए । त्यसैले जानैलाग्दा भीष्मले रोके । भीष्मका रथका चारै गोटा घोडाहरु मारिदिए । पुनः सबै जागे र केहीवेर युद्ध भयो । अन्त्यमा सबैलाई परास्त गरी आफ्ना मान्यवरसँग म जान्छु भनि सबैलाई वाणले चरणमा ढोगे र दुर्योधनलाई एक वाण हानी शिरको मुकुट काटे र सबैसँग बिदा भई फर्किए ।

यसरी फर्कंदा युद्धदेखि भागेका सैनिकहरु डराई प्राणको भीक्षा मागे । अर्जुनले पनि सौनिकहरुलाई– म दुःखी, दरिद्री, दुर्बल, बुढा, बालक र हारेका सैनिकहरुलाई कहिल्यै मार्दिन त्यसैले डर मान्नु पर्दैन । घर जाऊ’ भनी सबैलाई क्षमा दिए । अर्जुनले उत्तरलाई कौरवहरुलाई युद्ध गरी मैले जितेको हुँ भन्नु अहिले हामीलाई नसिकाउनु । दाजुको आज्ञाअनुसार मैले तिमीलाई सङ्केत गरेपछि मात्र भन्नु भनि सिकाए ।

फर्कंदा अघिको समीको रूखनेर रथ रोके र अर्जुन रथबाट के झरेका थिए हनुमान बिदा भएर गए । आफ्ना अस्त्र अघिकाजस्तै पोको पारेर पहिलेका स्थानमा राखे । पहिलेका लुगा लगाई नपुंशक जस्ता भए र आफू सारथी भई राजकुमार उत्तरलाई रथी बनाई दरबारतर्फ लागे । मत्स्यनगरीका बाहिर आएर रथ रोके । यहाँ केहीवेर थकाई मारी घोडालाई पानी तथा दाना खुवाई जाऔँला भनि ग्वालालाई युद्ध जितेको खबर दरबार पठाएर बसे ।

उता महलमा पनि त्रिगर्तपति सुशर्मालाई पराजित गरी राजा फर्केका थिए । सहरमा विजयोत्सव चलिरहेको थियो । राजाले छोरा उत्तरलाई नदेखेर सोधे महलमा भएका स्वास्नीमानिसहरुले हजुर नभएका समयमा कौरवहरु आई हाम्रा सम्पूर्ण गाईहरु हरेर लगे र राज कुमार क्रोधित भई वृहन्नलालाई सारथी लिएर युद्धभूमिमा गएका छन् भने । यस्तो कुरा सुनेर राजा चिन्तित भई मन्त्रीहरुलाई बोलाएर हाम्रा सबै सैनिकहरुलाई राजकुमार उत्तरको रक्षाका लागि युद्धभूमिमा पठाउने आदेश दिए ।

यसरी सैनिक पठाउँदै थिए, ग्वालाहरु आई हाम्रो जित भयो भन्ने समाचार राजालाई सुनाए । यो सुनेर राजाले योद्धा उत्तर र वृहन्नलालाई स्वागत गर्दै दरबारमा ल्याऊनु र सहरमा उत्सव गर्नु भनि आदेश दिए । यो खुशीको मौकामा राजालाई कङ्कसँग जुवा खेल्न मन लाग्यो । सैरन्ध्रीले त्रिपासा ल्याइन् र जुवा खेल सुरु भयो । राजाले बीच–बीचमा छोराको प्रशंसा गर्दै कौरवहरुलाई जितेर गौधन फिर्ता ल्यायो भनि प्रशंसा गर्दथे ।

यसरी धेरै पटक उत्तरको बढाई गरेको सुनेर युधिष्ठिरले वृहन्नलासँग गएकाले उत्तरले युद्ध जितेर आएका हुन् भने । यो सुनेर राजा झोक्किँदै राजकुमारलाई एउटा क्विव (हिजडा)सँग दाँजेर मेरो अपमान गर्छौ । यस्ता कुरा म सहन सक्दैन अब बाँच्ने विचार भए यस्ता कुरा नगर्नु एकपटकलाई सखा मानेर तिमीलाई माफी दिन्छु भने ।

राजाका यस्ता शेखीका कुरा सुनेर युधिष्ठिरले पनि युद्धमा वृहन्नलासँग भएपछि कौरव त के इन्द्र आए पनि राज कुमारले जित्दछन् भने यो सुनेर राजा क्रोधित भए र युधिष्ठिरलाई हातमा खेल्दै गरेको पासाले जोडले हानिदिए । पासाले नाकमा चोट लाग्यो र नाथ्रो फुटी रगतको धारा बग्न लाग्यो । युधिष्ठिरले रगत आफ्नो अञ्जुलिमा थापे र द्रौपदीलाई भाँडो ल्याउन संकेत गरे । द्रौपदीले पनि भाँडो ल्याई रगत सफा गर्न लागिन् ।

त्यही बेला राजकुमार महलभित्र आइपुगेको सन्देश राजाकहाँ आइपुग्यो । राजाले राजकुमार र वृहन्नलालाई ल्याउन चरलाई पठाए । युधिष्ठिरले त्यस चरलाई बोलाएर अहिले राजकुमारलाई मात्र भित्र ल्याउनु वृहन्नलालाई केही समय ढोकामा नै रोक्नु । यो मेरो रगत वृहन्नलाले देखे मात्र भने पनि सारा राज्य नाश गर्नेछन् र राजा मारिन पनि सक्दछन् । तसर्थ यो रगत सबै सफा भयो भने मात्र भित्र ल्याउनु भनि सिकाए । चरले पनि त्यसैगरी राजकुमारलाई मात्र भित्र ल्यायो ।

राजकुमारले बुबालाई शिर झुकाई ढोगे र आदरपूर्वक कङ्कलाई हात जोडी प्रणाम गरे । राजकुमार उत्तरले युधिष्ठिरको नाकमा घाऊ भएको र धेरै रगत बगेको देखेर कुन अधमले आएर ब्राह्मणको यो हाल गरेछ त्यो दुष्ट हो । कुन पापी हो पिताजी भनि बाबुलाई सोधे र मत्स्यपतिले झोक्किँदै यसले बढी कुरा ग¥यो तिमीलाई एउटा बृहन्नलासँग तुलना गर्ने धृष्टता ग¥यो त्यसैले मैले त्रिपाशाले कुटें भनेर भने । यो अनर्थ भयो भनि राजकुमारले सम्झाई अब कूलको अहित हुनेछ भनि माफी माग्न पठाए ।

राजाले पनि हे ब्राह्मण भूल भयो माफी दिनुहोस् भनि माफी मागे । हे भूपति मैले तिमीलाई अघि नै माफी दिइसकेँ । यदि यो रगतको एक थोपा पनि भूइँमा खसेको भए तिम्रो खति हुने थियो । जब द्रौपदीले सबै रगत सफा गरिसकिन् तब अर्जुन पनि कपाल फिजाई सारी लतार्दै हात्तीको चालमा त्यहाँ आए । राजा र कङ्कलाई शिर झुकाई आदरपूर्वक प्रणाम गरे । केही पर राजाको आज्ञाको प्रतीक्षा गरी बसे । राजाले आफ्ना छोराको कौरवका रथी महारथीहरुसँग लडी वंशलाई उज्ज्वल ग¥यौ भनि निकै प्रशंसा गरे ।

कौरवहरुसँग कसरी लडेर गोधन फिर्ता ल्यायौ भनि युद्धको वर्णन गर भनी बारम्बार भन्न लागे । पिताको यस्तो कुरा सुनेर केही लज्जा मानि पिताजी युद्ध मैले जितेको हैन । म त कौरवको सेना देखेर भाग्न लागेको थिएँ । त्यही समयमा देवकुमार आएर मलाई रथमा बसाई एक्लै कौरवहरुको शेखी झार्दै युद्धमा कौरवहरुलाई हराएर गोधन फिर्ता गरे । छोराको यो कुरा सुनेर राजाले देवकुमार खोइ त भनी सोधे । देवकुमार तीन दिनपछि महलमा आई भेट गर्ने छु भनि अन्तरध्यान भए भनि राजकुमारले भने । कौरवहरुका रंगीविरंगी पगरी लगेर वृहन्नलाले राजकुमारी उत्तरालाई दिए । उत्तरा धेरै खुशी भइन् ।

त्यसको तीन दिनपछि पाँच पाण्डवहरु र राजकुमार सल्लाह गरेर राजाकाझैँ कपडा आभूषण लगाएर युधिष्ठिर तथा द्रौपदीलाई राजसिंहाशनमा बसाले र चारभाइ दुवैतर्फ बसे । केही वेरपछि राजा आए, केहीबेर हेरी छक्क परेर हेरिरहे । केही बेरपछि अत्यन्त क्रोधित भएर यो कपडा र आभूषण लगाएर राजा बस्ने श्रेष्ठ आशनमा किन बसेको ? दुःखी ब्राह्मण भनेर काममा राखेँ तर अहिले अलिकति पनि डर, त्रास र लज्जाबोध नगरी खुशी साथ यो सिंहासनमा किन बस्यौ ? भनि शेखीयुक्त कुरा गरे ।

यो सुनेर अर्जुन केही हाँसी यो सिंहाशनको त के कुरा महाराज स्वर्गमा इन्द्रले पनि अर्घ दिएर इन्द्रासनमा खुशी साथ सँगै बस्दछन् । जो शास्त्रका ज्ञाता र धार्मिक तथा धर्मपालक, प्रजापालक हुन् । जसको कीर्ति ठूलो छ र उनी सबैका प्रिय छन् । जसलाई हजुरले कङ्क भनेर बोलाउनुहुन्छ । उहाँ जेष्ठ पाण्डु पुत्र युधिष्ठिर हुनुहुन्छ । यो सुनेर अचम्म मान्दै यदि यी युधिष्ठिर हुन भने इनका अरु चार भाई र द्रौपदी कहाँ छन् त ? जुवा हारेर वन गए भन्ने सुनेको थिएँ । तिनीहरुको आजभोलि केही समाचार सुनिँदैन भनि राजाले सोद्धछन् ।

यो सुनेर अर्जुन भन्दछन्, हे राजन ! हजुरको भन्सामा जो वल्लभ नामका भान्से छन् जुन वीरले हात्ती, सिंहसँग युद्ध गरी छिनभरमा मार्दछन् उनी योद्धा भीम हुन् । गोधनका स्वामी र तवेलामा अश्वहरुका रक्षक जो अहिले युधिष्ठिरका वरिपरी बसेका छन् उनीहरु माद्रीका पुत्र नकुल र सहदेव हुन् । जसको शील, स्वभाव, गुण र सौन्दर्यको वर्णन संसारका सज्जनहरुले धेरै चर्चा गर्दछन् । हर्दम रानी सुदेष्णाका अघिपछि रहने जसलाई हजुर शैरन्ध्री भनी पुकार्नुहुन्छ ।

जसका कारण वीर योद्ध भए पनि किचक बन्धुवान्धव सहित मरे उनी द्रौपदी हुन् । मेरा नाम पनि प्रशङ्गले कहीँ कतै सुन्नुभएको होला चिन्नुहोस म नै अर्जुन हुँ । जस्तारुपसँग आमाको गर्भमा शिशुले सुरक्षित र कष्ट सहित बस्दछन् त्यसरी नै हामी पनि हजुरसँग सुरक्षित र गुप्त रुपमा बस्यौँ । यति भनि अर्जुन आफ्नो स्थानमा गई बसे । उत्तर कुमारले पनि सबै पाण्डवको प्रशंसा गर्दै परिचय दिए । अघि मैले एउटा देवपुत्रको कुरा गरेको थिएँ । उनै देवपुत्र नै आज हजुरका अगाडि छन् । उनी हुन् पाण्डुपुत्र अर्जुन जसले युद्धमा मेरो प्राण बचाई सम्पूर्ण गौधन फिर्ता गराए । भीष्म द्रोण, द्रौणी, कर्ण, दुर्याेधन, दुःशासन सारा कौरवहरुलाई एक्लै भगाई हाम्रो विजय गराए ।

छोराको यस्तो कुरा सुने र राजाले भने पाण्डुपुत्रहरुको पूजा गर्ने यो सुन्दर अवसर हो । हे उत्तर ! मैले छोरी उत्तरा अर्जुनलाई दिने निश्चय गरेँ, यसमा तिम्रो के विचार छ ? सल्लाह गरेर भन भने । यो सुनेर उत्तरले पनि हजुरले भनेको कुरामा मेरो चित्त बुझ्यो पिताजी भने । फेरि राजाले भने योद्धा कौरव र त्रिगर्तपतिको शेखी हरेर हाम्रो रक्षा गरे । म जसरी बैरीको बन्धनमा परेर आत्तिएको समयमा मेरो प्राण रक्षा गरे । बाबुछोराले यसरी सल्लाह गरेर युधिष्ठिरसँग विन्ति गरे – हे राजन ! हाम्रो ठूलो भाग्यले आज दर्शन पायौ । यो राज्य सम्पत्ति हजुरका चरणमा अर्पण गरेँ । हजुरको अनुमति भए म छोरी उत्तरा अर्जुनलाई दिने थिएँ ।

यो सुनेर युधिष्ठिरले भाइ अर्जुनलाई हेरे । अर्जुनले पनि दाजुको भाव बुझेर भने – हे राजन ! उत्तराले मलाई गुरु मानेर पूजा गर्दछिन् भने मैले पनि उनलाई छोरी सरह शिष्या मान्दछु । मैले विवाह गर्दा लोकको अपवाद सहनुपर्ने छ । त्यसैले हजुरकी दुहिता उत्तरा श्रीकृष्णको भानिज मेरो छोरा अभिमन्युलाई दिनुभए म विवाह गर्ने छु र हाम्रो सम्बन्ध प्रगाढ हुनेछ । राजाले पनि यो कुरा उचित माने र छोरी उत्तरा अभिमन्युलाई दिने प्रतिज्ञा गरे । पाण्डवहरु उपप्लव्यमा घर बनाई बस्न लागे ।

युधिष्ठिरले द्वारिकामा चर (दूत) पठाएर श्रीकष्ण, बलराम, अन्य यादवहरु द्रौपदीका छोराहरु सुभद्रा र अभिमन्यु र अन्य आफ्न्तहरुलाई बोलाउन पठाए । तत्काल सबै अति खुशी भएर मत्स्यनगरी आए । जहाँ जे आवश्यक हो त्यसको व्यवस्था श्रीकृष्णले गर्नुभयो । अभिमन्यु र उत्तराको विवाह धुमधामका साथ भयो । राजाले विभिन्न वस्तुहरुका साथै हात्ती, घोडा, रत्न, सुवर्णका विभिन्न आभूषणहरु दाइजो दिए । सहरमा ठूलो उत्सव मनाइयो । सम्बन्ध जोडिएकोमा दुवै पक्ष खुशी थिए ।