प्रेमको अवसान

यम रेग्मी

अन्त्यमा विवाहको मिति तोकियो । बाबुको अगाडि रक्षाको केही सीप लागेन । रोई, कराई, सम्झाई तर परिवारका कसैले सुनेनन् उसको चित्कार । पुरुषका अगाडि महिलाको के नै लाग्छ र नेपाली समाजमा ? उसको लागोस् । ऊ हारी, कालको अगाडि प्राणी हारेझैँ । समय र परिस्थितिको अघि मान्छे हारेझैँ । पन्ध्र दिन राखियो विवाहको तयारीको लागि । घरबाट सम्पन्न हुने भयो विवाह ।

छिमेकी महिलाहरू । केही माले वन पात टिप्न गए । कोही धान कुटाउन गए । कोही पीठो पिसाउन । कोही तोरी पेल्न । कोही घर शृंगार गर्न । सबै काममा जुटे ।

डाँडाका चौधरीहरू दाउरा गर्न माथिल्लो वन गए । यो बीचमा दाइजो किनियो । लुगाफाटा किनियो । गरगहना किनियो । भोजको लागि सामान किनियो । जतिजति विवाहको दिन नजिकिँदै गयो, उतिउति आफन्तहरूको चहलपहल पनि बढ्न थाल्यो । विवाहको रौनकको आगमन भयो घरमा ।

रक्षालाई दिएको दिनदेखि गोपाल बेढङ्गको भएको थियो । उसको व्यवहार बुझिनसक्नु थियो । रक्षाको समीप पर्न पनि चाहेन । मन लाग्दा काम ग¥यो, मन नलाग्दा एकतिर हिड्थ्यो । कहिले राति गोठमा आउँथ्यो, सुत्थ्यो । कहिले अन्तै बस्थ्यो । अन्तै सुत्थ्यो । उसको केही ठेगान थिएन ।

सीता भैँसीलाई दाना पकाएर खुवाउँदै थिइन् । आठ बजिसकेको थियो, विहानको । झुलुक्क गोपाल देखाप¥यो ? त्यो पनि विहानै रक्सीले मातेको गतिमा । एकतिर विवाहको कामको चाँप । अर्कोतिर मानसिक पीडा । सीता आफै तनावमा थिइन् ।

त्यसमाथि नोक्करको घिनलाग्दो व्यवाहार । उनी आगो भइन् । रिसैले बोलिन्–‘काँ मे¥याथिस् चमारे ? बल्ल देखापरिस् ? बौलाइस् क्या हो ? विहानै कुकुरको मुत ढोक्या छस् तो ?’

– ‘हो, बजै म साच्चै बहुलाएँ । अझैँ बहुलाउँछु । एक÷दुई दिनभित्र बुझ्नु हुन्छ ।’ लरबराएको स्वरले जवाफ दियो ।

– ए ! अब त मुखामुख पनि लाग्ने भइस् नि ! मकैको पीठोले मुख टाल्ने मुखमा बाउनको घरको दालभात पचेन । तल्लो जातलाई मात लाग्यो भने बोसाले खै के पुच्छ भन्थे । यस्तै भएर त होला ।’

सीता बोल्दै थिइन । बीचैमा बोल्यो–‘जातका कुरा नगर्नु । जे भन्ने हो मलाई भन्नूहोस् । मेरो गल्तीको सजाय किन सिङ्गो जातलाई दिनुहुन्छ ? जस्तो प्रश्न सोध्नुभो । उस्तै उत्तर देँ ? आफै बहुलाइस् भनेर सोध्नुहुन्छ ? मैले बहुलाएँ भनेँ के विराम गरेँ ?’

– ‘रक्षाको व्या त सकिन दे । तँलाई घरमा पाइला राख्न दिउँला कि ?’ सीता भित्रभित्र मुर्मुरिइन् । ‘रक्षा मैसाप गइसकेपछि हजुरका नाकमुख देख्न पनि आन्न । पूmर्ति नलाइसे हुन्छ ।’ गोपाल सरासर गोठभित्र छि¥यो ।

सीता ऊतिर हेर्दै बोलिन–‘धेरै रमिता नदेखा । अहिल्यै पोत्न आउँछन् थरुनीहरु । भूइँ पोत्ने कत्ति माटो छैन । डोका लग र ल्या‘र आ ?’

फरक्क बाहिर फक्र्यो गोठबाट । केही बोलिन । घर पछाडि डोको थियो । टाउकामा बोक्यो बरियाले । हातले कोदालो टिप्यो । सरासर वनखेततिर लाग्यो ।

सीता ऊतिर हेर्दै बोलिन्– ‘नास्ता खा र मोर ? रोटी र चिया तयार छ । भोकले मर्लास् ?’
चुपचाप केही कदम अगाडि बढ्यो र बोल्यो–‘खान्न म नास्तासास्ता । मरे पनि हजुरको के नै जान्छ र ?’ ऊ गनगन गर्दै अघि बढ्यो ।

‘हो ! हो ! जा ! जा ! मेरा पेट भोकान्न ।’ सीता घरभित्र पस्दै बोलिन् । बाह्र बज्यो । माटोको डोकासँग तलतिरबाट देखाप¥यो । डोकाभिर थियो माटो । घरको पेटीमा डोको अ¥यायो । निधारभरि पसिना थियो । भेस्टमाथि सा¥यो । निधारभरिको पसिना लपक्क पुच्छ्यो । डोकोसँगै बस्यो, केही बेर ।

अघिको विद्रोही । नाम निसाना थिएन । रक्सी उड्यो । विद्रोह उड्यो । नेपालीमा विद्रोह नसाको बेला मात्र जाग्छ । जाग्यो, सक्यो । अघिपछि त हारेको लुते कुकुर । अघिको रक्सीरुपी सिंह । बुद्ध थियो अहिले । नेपालीको प्रतिनिधि पात्र ।
अर्को दिन । दाइजोपात किन्ने दिन थियो । केही आफन्ती बजार लागे । उसलाई पनि साथमा लगे ।

उनीहरू किन्दै जान्थे । ऊ जम्मा पार्दै जान्थ्यो । सबै सामान एकै ठाउँमा जम्मा पा¥यो, बिना हर्ष, बिना जाँगर, बिना रहर । कामैकाममा, तनावैतना, छट्पटी नै छट्पटीमा बित्यो पूरा दिन ।

रातै प¥यो, सामान किन्दाकिन्दा । राती सबै घर आए । ऊ पनि आयो । खान खान बस्यो । दुई गास छिरेन । अरु छलफलमै थिए । सुटुक्क सुत्न गोठमा छि¥यो ।

मनमा दिनभर वेचैन त छँदै थियो । रातको शान्त वातावरण । निष्पट्ट रात । एक्लो अवस्था । झनै वेचैन बनायो । छाती भतभति पोल्न थाल्यो, सिस्नोले पोलेझैँ । निद्रा भाग्यो । आँखा काँचै बने । मन वेदनाको भेल उर्लियो । केही सोच्नै सकेन मगजले । मन लामो समयसम्म वेचैनीको भुमरीमा फनफनी नाचिरह्यो । हातको घडी हे¥यो । घडी बाह्रबाट एकमा झर्दै थियो ।

मनमा एक्कासी जोस जाग्यो । युद्धमा सिपाहीको जागेझैँ । जुरुक्क उठ्यो बसेको ठाउँबाट । एक पटक शरीरलाई झट्का¥यो धुलो लागेको पकडालाईझैँ । मनले योजना बनायो । आजै राती रक्षालाई भगाउँछु । आफन्तभन्दा धेरै टाढा क्षितिजपारि लग्छु । सँगै जिउँछु ।

सुख–दुःखको सँगै सामना गर्छु । मर्नु परे सँगै मर्छु । नजिकै भित्तामा काँटी ठोकिएको थियो । काँटीमा पुरानो झोला झुन्डिएको थियो । काँटीबाट झोला भिक्यो । झोलाभरि केही नयाँ कपडा राख्यो । केही पुराना कपडा राख्यो । अरु आफूले प्रयोग गर्ने भए जति सबै सामान राख्यो । झोला बोक्यो लाउरेझैँ । मध्यरातमा निस्क्यो बाहिर ।

झोलासँगै सरासर घरको उत्तरतिर आयो । माथिल्लो तलामा रक्षा सुत्थी । केहीबेर अभियो पेटीमा । मानिसहरूको चाल सुन्यो । सुनसान मध्यरात । सबै मस्त थिए, निन्द्रामा । कुकुरको बाक्लो आवाज मात्र गुञ्जायमान थियो, धर्तीमा ।

हातको झोला फ्याट्ट राख्यो पेटीमा । पेटीबाट तल्लो झ्यालमा चढ्यो । तल्लोबाट माथिल्लो झ्यालमा चढ्यो । गर्मीको समय, खुल्ला थियो झ्यालको पल्ला । कोठालाई पर्दाले छेकिएको थियो । हल्का पर्दा हटायो । पुलुक्क भित्र हे¥यो । अनौठो दृश्य देख्यो ।

आहा ! सुन्दर ठूलो कोठा । गुलावी रँगको नाइट बल्ब बलेको । एकातिर भित्ताभरिको काठको कलात्मक फोरपिस दराज । दराजमाथि थरिथरिका गुडिया । फरक–फरक भित्तामा फरक–फरक कलर । झकझक बल्ने भित्ता ।

नारायणहिटी संग्रहालयमा राखियको भन्दा सुन्दर सुत्ने ठूलो पलङ । पलङमाथि छुँदा दाग लाग्ने मुलायम कपडा । त्यसमाथि पल्टिएकी थिई रक्षा । भूइँभरि सुन्दर गलैँचा । कहिले, कतै देखेको थिएन यति सुन्दर कोठा । तीन छक्क प¥यो ।

धितमरुन्जेल हे¥यो झ्यालमा झुण्डिएर । मन शान्त भयो सुन्दर कोठाले । कोठासँग आफ्नो घरको तुलना ग¥यो । करौँतीको काँडालेझैँ चसक्क घोच्यो मुटु । आफ्नो जीवनसँग तुलना ग¥यो रक्षाको जीवन । उसको हैसियत, मान, प्रतिष्ठासँग तुलना ग¥यो आफ्नो खानदानलाई ।

आकाश र पातालको भेद पायो । ऊ यथार्थ धरातलमा आयो । उसलाई आफ्नो माया भन्दा उसको जीवन ठूलो लाग्यो । सास रोकिएकोझैँ भान भयो । खलखली पसिना आयो शरीरबाट । हात गोडा लुला भए । छाती चीसो भयो वेदनाको राँपले ।

जसरी तात्तिएर झ्यालबाट चढेको थियो माथि । त्यसरी नै सेलायो । ओंठले बोल्न खोजे । मनले दिएन । उसका अनायासै रसाए आँखा । धेरै बेर हेर्न सकेनन्, आँखाले । सुस्तरी झ्यालको पर्दा बन्द ग¥यो, जसरी खोलेको थियो ।

आँखाको आँसुसँगै झ्यालबाट तल झा¥यो पाइला । झोला बोक्यो । फेरि गोठभित्र छि¥यो । रहलपहल आँखाको आँसु पुछ्यो । मन दह्रो पा¥यो पहराभन्दा । एकतर्फी युद्धविराम लगायो मायामा । कहिले आँसु नखसाल्ने प्रतिज्ञा ग¥यो, मायाको नाममा । मनभित्रको निश्चल प्रेमलाई । आफैले मा¥यो, मानिसले आफ्नो शरीरको आफैले अवसान गरेझैँ ।
तल्लो जीवन उपन्यास अंश क्रमशः …