विनोद पोख्रेल
२०७७ बैशाख २९ गते
नयाँ कुराले पुरानो कुरालाई बिर्साइदिन्छ अथवा कति कुरा नियोजित रुपमै यसरी प्रस्तुत गरिन्छ कि पुराना कुराहरु बिसिउन, पन्छिउन्, दाबिउन र सकेसम्म फेरि उठ्दै नउठून् । यो बढी मेरो अध्ययनको भरमा भन्ने हो भने पाकिस्तानको राजनीतिमा हुन्थ्यो ।
आजभोलि नेपालको राजनीतिमा भएको जस्तो लाग्छ । अहिले भारतले मानसरोबर पुग्ने सडक नेपालको जमिनमा समेत बनाएर उद्घाटन समेत गरिसक्यो । यहाँ झुक्याएर एकछिनमै पहाडमा त्यत्रो सडक खनेको जसरी व्याख्या गरिन थालिएको छ ।
यो घटनाले चिनियाहरुले पुलिसमाथि गरेको सार्वभौम सत्ता समेतलाई चुनौती दिने व्यवहार भारतको सीमा नजिकमा भएको भनौँ या हुने गरेको सुरक्षाकर्मीका व्यवहारदेखि नेपालभित्रै पनि सत्तासिनहरुका गलत गतिविधि, भ्रष्टाचार आदि सबै पन्छिएका छन् या त ओझेलमा परेका छन् । अर्कोतर्फ संसदमा औपचारिक रुपमा कुरा आउँदा आफूमै भनाभन हुन्छ ।
एउटाले अर्कोलाई दोष लगाउँछ र आफ्नो सीमाना मिचेको कुरालाई सामान्य बनाउने प्रयास गर्दै बजेट आदितर्फ ध्यान आकर्षित गरिन्छ । सीमाना मिचिँदै जाने ो भने बजेट किन चाहियो भन्ने प्रश्न समेत उठाउने बेला भएको बेला समेत सीमा प्राथमिकतामा पर्दैन । मिचिएको जमिन समेत कति भनेर सञ्चार माध्यमहरुले एकिन गर्न सक्दैनन् । गर्नुपर्ने र सही सूचना दिनुपर्ने सरकारको हो ।
सञ्चार माध्यमहरुलाई भन्दा आधिकारिक जानकारी सरकारलाई नै हुनुपर्ने हो तर विभिन्न स्रोतले १५ किलोमिटर, १८ किलोमिटर, १२ किलोमिटरसम्मका कुरा अगाडि ल्याएका छन् । कमसेकम यो सूचना त सरारबाट आधिकारिक रुपमा शेयर हुनुपर्ने हो । परराष्ट्रमन्त्रीले समेत यो कुरा (जमिन विवाद) स्वीकारेपछि त आफ्नो प्रमाणहरुबारे जानकारी गराउनुपर्ने हो ।
अन्तर्राष्ट्रिय मञ्चहरु युएनओ, अन्तर्राष्ट्रिय अदालत आदि कताकता जान उचित र आवश्यक हुन्छ त्यहाँ पुग्नुपर्ने हो । कूटनीतिक पहल हुनुपर्ने हो तर सरकार प्रमुख प्रधानमन्त्री नै यो विषयमा मौन छन् । जसले देशको नेतृत्व गरेको छ उनै कूटनीतिक पहल गर्न सक्रिय छैन । यस्तो स्थितिमा सरकारले पुराना सरकारहरुलाई एउटा निकायले अर्को निकायलई र एउटा व्यक्तिले अर्को व्यक्तिलाई दोष दिएर पन्छिन खोज्ने प्रवृत्ति सुरु भएको छ ।
सबै एकजुट हुनैपर्ने बेलामा समेत आपसमा बाझ्नेहरुले देशको सीमा रक्षा कसरी गर्न सक्लान् ? भन्ने चिन्ता लागेको छ । अब त मनले पनि राम्रो नेपाल सुदृढ नेपालको कल्पना गर्न छोडिसकेजस्तो लाग्छ, कहिलेकाहीँ । बरु आफ्नै जीवनकालमा पूरै नेपाल वा सार्वभौम भनिने नेपाल हराउने हो कि जस्तो लाग्न थालेको छ ।
हुन त म जस्ताले लेख्ने वा बोल्ने मात्र हो । सुन्नुपर्नेले सुन्ने समेत हो कि होइन थाहा छैन । तर राष्ट्रवाद यति कमजोर, यति तल्लो स्तरको त कहिल्यै भएन होला जस्तो लाग्छ । बाटो चीनसम्म पुगेको छ । अब चीनबाट पनि कति आशा गर्न सिकने हो र ? कहिले भारत कहिले चीन भनेर गरिने नेपाली राजनीतिको यति नाङ्गो र प्रष्ट चित्र देख्दा समेत नचेत्ने नेतृत्वले देश बचाउन सक्दैन ।
२०७७ बैशाख ३१ गते
मैले समय बिताउन मुस्किल भएको अनुभव गरेकै हुँ । यसको असर मेरो मानसिकतामा पनि परेको जस्तो अनुभव गर्छु र आफैलाई नियन्त्रण गर्ने प्रयास गर्छु । यो केही पनि अरुलाई थाहा नहोस् भन्ने सोच्छु । तर पनि सोचाइँ सधैँ एक्लो हुँदैन । हिजो लमहीकालाई घर आओ भन्दा पनि उनीहरुले त्यति उत्सुकता देखाएनन् ।
मेरो लागि यो घर हो । सायद उनीहरुले त्यही घरलाई आफ्नो घर सम्झे र त्यही सुरक्षित समझे । यति पनि त मानसिकताका कुरा, भावनाका कुरा हुन् । अझ भनौ उनीहरुले मेरो मनोभावना बुझेनन् वा बुझ्ने प्रयास नै गरेनन् । यो उनीहरुको आफ्नो सोच र आफ्नो क्षमता हो । म आत्तिएर केही हुँदैन भनेर चित्त बुझाएँ । बाँके र कपिलवस्तुको दबाबले म झस्केँ । उनीहरले वास्तै गरेनन् । सायद यही फरक हो ।
समय कटाउने चिन्ताको लागि पनि यस्ता सोच र यस्तै लेखाईले धेरै सयोग गर्छन् । यो त मेरो पक्षबाट राखिने समस्या भयो । तर समय कहाँ अडेको छ र ? बितेकै छ, कटेकै छ । आज नयाँ वर्षको बैशाखको अन्तिम दिन भयो । समयलाई हाम्रो संस्कारमा बाँधिएको एउटा ठूलै मापक एक महिना नयाँ वर्षको पनि बित्यो । लकडाउन सुरु भएको पनि आज एकाउन्नवौँ दिन हो । एकाउन्न दिन बित्दा पनि म इमानदारीसँग भन्छु अभ्यास हुन सकेको छैन । अलि–अलि गाउँमा हिडेको पनि हुँ ।
तर पनि सुरुकै दिनदेखि मैले यो स्थितिलाई एकप्रकारको बन्दी जीवनको रुपमा मूल्यांकन गरेको र वाध्यतावस स्वीकार्नु परेको भनेर व्याख्या गरेको थिएँ । आज पनि म यो सोचमा अडेको छु । बरु संक्रमितको संख्या पछिल्ला दिनहरुमा हाम्रो देशमा जसरी बढेको छ त्यो हेर्दा समयको भने कुनै अन्दाज गर्न नसकिने जस्तो लाग्छ । यसैले पनि अलि बढी चिन्तामा परेको होला ।
कुनै–कुनै समाचार च्यानेलले त अझै अठारदेखि चौबीस महिनासम्म लाग्नसक्ने भनेका छन् । केही औषधी उत्पादकहरुले पनि सन्् २०२० मा त यो सम्भव नै छैन भन्ने निष्कर्ष निकाले भन्ने पनि सुनेको छु । मेरो आफ्नै सोचले पनि आठ दश महिना त अझै लाग्छ भन्ने थियो । तर खुला सीमाना भएको भारतको स्थिति हेर्दा समयसीमा अनिश्चित नै लागेको छ । मैले सोचेकोभन्दा धेरै लाग्छ नै तर कति भन्ने थाहा छैन ।
नेपालमा सुरु हुनुभन्दा पहिले कुनै प्रजाति समाप्त हुने र त्यो प्रजाति मानिस पनि हुनसक्ने चर्चा सुनेको थिएा । आर्थिक कारोबार आदिको नाममा जेजस्ता गतिविधि बढाउन थालिएको छ त्यो सबैले प्रजाति समाप्त नभए पनि समस्या चाँडो समाप्त हुनेदिनेवाला छैन । बरु समाजमा अविश्वासको वातावरण भनौँ वा शंकाको वातावरण तयार गर्दै लगेको अनुभूति गर्न थालेको छु । हिजो मात्रै हाम्रो परिवारकै एकजना मेरो नाति पर्नेसँग भेट भयो ।
ऊ मलाई ढोग्न एक कदम सा¥यो तर फेरि झस्केजसरी रुक्यो । अनि मैले उसलाई आउन भने र ऊ आयो र ढोग्यो । व्यक्ति–व्यक्तिमा यति शंका जन्माउन सकिएको बेला समुदायलाई नै शंकाको घेराभित्र परिँदै छ । यी सब व्यवहार र सोचको असर राम्रो पटक्कै पर्नेवाला छैन । जीवन ठूलो कुरो हो तर यो सँगै सोच्नैपर्ने कुरा शंकाको घेराभित्र बाँच्ने र एक्लो जीवन बाँच्ने कल्पना पनि अव्यावहारिक कल्पना हो ।