नैतिक आचरण र यसले ल्याउने परिवर्तन

नारायणप्रसाद श्रेष्ठ
नैतिकता मानवीय आचरण र व्यवहारलाई चिनारी दिने महत्वपूर्ण आधार हो । यही नैतिकताले मानवीय सोच र चिन्तनलाई सामाजिक धरातलमा मर्यादाअनुकुल जीवन जिउने वातावरण बनाउँछ । त्यसैले जीवनको हरेक कर्म र व्यवहारमा सामाजिक सद्भावअनुकूल आचरण र व्यवहार गरी सामाजिक नैतिकता अच्छुन्न राख्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु पर्छ ।

नैतिक आचरण नै जीवनको महत्वपूर्ण पक्ष हो । नैतिकताले नै मानिसलाई उच्च मूल्यांकन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रशन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।

यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउनसक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबर्जस्ती स्वीकार्ने वातावरण बनाउनु हुँदैन । खुशी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुशी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुशी र उमंग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी वाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ । नैतिकता मानवलाई उसको आचरणको मूल्यांकन गर्ने बलियो आधार पनि हो ।

हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु भनेको सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।

मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यावहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिकतामा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्नसक्ने मानवीय चरित्र हुनुपर्छ ।

आफ्नो निहित स्वार्थ परिपूर्ति हुने इच्छाले देखाइने शक्ति प्रदर्शनले आफूलाई अधोगतितिर लैजाने यथार्थलाई कदापि भुल्नु हुँदैन । बरु यसो नगरी आफ्नो स्वभाव र कर्ममा परिवर्तन गरी सामाजिक सत्यभित्रको धरातलमा आफूलाई अमरत्व बनाउने चरित्रतर्फ आफू प्रवृष्ट हुनु पर्छ । आफूभित्र बढिरहने इच्छाको समाप्ति नहुने शक्तिलाई बुझी विगतमा आफूबाट भए गरेका कर्मले ल्याएको परिवर्तन र अनुभवको आधारमा आगामी जीवनको लागि चिन्तन गर्न जरुरी हुन्छ ।

जीवनमा आइपर्ने सबै कर्मलाई सत्यको परिभाषाबाट परिभाषित हुने कर्म र व्यवहार गर्दै क्षणिक सुख र आनन्दले ल्याउने भावि दुष्परिणामको समयमै आँकलन गर्नसक्ने हुनु पर्छ । मन र मनबाट उब्जने विचारशक्तिलाई नैतिक चरित्रतर्फ उत्प्रेरित हुने अवसरको सिर्जना गरिरहनु पर्छ । नैतिक आचरणले अवलम्बन गर्ने सही दिशाबोधतर्फ जब मन आकृष्ट हुन पुग्छ तब त्यहाँ मानवीय स्वभावमा देखिने चरित्र स्वच्छ र शुद्ध रहने अवस्था देखापर्न थाल्छ ।

त्यस अवस्थामा मानव आचरणले अवलम्बन गर्ने कर्म र व्यवहारमा शुद्धता आई मानिस स्वयम् नैतिकवान् बन्न पुग्छ । उसको नियत पनि हरहमेसा स्वच्छ र पवित्रतातर्फ उत्प्रेरित भइरहन्छ । त्यसैले त्यस कुराको ख्याल राख्नु जरुरी छ । नैतिक चरित्रले ल्याउने परिवर्तित सत्य भनेको मानिसको मन, विचार, कर्म र वचनमा शुद्धता प्रदर्शन हुनु हो । यस्तो अवस्था देखापर्नु भनेको कुनै पनि समस्याले मानिस अत्तालिनु नपर्ने स्थिति देखापर्नु हो । जब मानवीय स्वभावमा सत्यताको अनुभूति हुने स्थिति आउँछ तब चिन्तनमा शुद्धता आई कर्ममा नैतिक शुद्धता देखापर्न थाल्छ ।

त्यसबेला न त समस्या रहन्छ न त समस्याकै कारण मानिस विचलन हुनु पर्छ । यस्तो परिस्थिति आउनु भनेको अविश्वासको जडा गाड्न नपाउने परिस्थिति देखापर्नु हो । तसर्थ, समस्याको कारणले उत्पन्न हुने परिस्थितिको समयर्मै आँकलन गरी समस्या अरुबाट नभई आफैबाट आफ्नै इच्छा र महत्वाकांक्षाले ल्याउने परिस्थिति हो भन्ने बुझी आफूलाई नैतिक आचरणतर्फ परिचालन गर्ने वातावरण बनाउनु पर्छ । जब समस्यालाई समस्याको रुपमा हेरिँदैन तब त्यहाँ दुःख भन्ने वस्तु नै हुँदैन । जब दुःख र सुख अनुभूति हुने वातावरण बन्दैन सदावहार बसन्त भइरहन्छ ।

तब आत्मा सधैँ स्वच्छ र पवित्र भई सृष्टिको इतिहासले सिर्जना गरेको नीति र नैतिकतातर्फ चरित्र प्रवाहित भइरहन्छ । त्यसैले स्थिर र सत्य कर्मभित्रको दृढइच्छशक्तिको माध्यम जीवनलाई शरल र सहज अवतरणतर्फ गतिशील बनाउन शुद्ध आचरणले आफूलाई परिपोषित गर्नु पर्छ । आचरणले मानवीय व्यवहारमा देखिने अप्ठेरो, सप्ठेरो परिस्थितिलाई यो संयोग हो भन्ने बुझी अघि बढ्ने सामथ्र्य प्रदान गर्दछ । यही नै नैतिक चरित्र हो । र, यही नैतिकताले मानिसको स्वभाव र कर्ममा सफा र शुद्ध नियति प्रदर्शन हुन पुग्छ ।

त्यसैले आफूभित्रको इमानदार सत्य तथा संवेदना र ताकतको मूल्यांकन गरी अरुप्रति देखापर्ने कलुषित विचार, धारणा र दृष्टिकोणलाई यो अहंकार हो भन्ने ठानी दया र करुणाले भरिएको आचरण प्रदर्शन गर्ने क्षमताको विकास गर्नु पर्छ । भौतिक जगतमा स्वार्थले ल्याउने विलाषिता, भ्रमपूर्ण र क्षणिक भावावेश हो भन्ने ठानी डाहा र इष्र्यालाई मनभित्र उब्जनै नदिनेतर्फ ध्यान केन्द्रित गरिरहनु पर्छ । जसलाई देख्दा वा जसको स्मरण गर्दा डाहा उत्पन्न हुने परिस्थिति हुन्छ त्यसतर्फ ध्यानै नदिई सोचमा रुपान्तरण गरी ऊ र आफू एउटै सिक्काको दुई पाटा हौँ भन्ने चिन्तनतर्फ सोच बढाउनु पर्छ । यसको लागि एकअर्काप्रतिको भरोषा राख्दै सौदामा होइन श्रद्धामा आफूलाई प्रदर्शन गर्नु पर्छ ।

जीवनले धेरै कुरा भोग्नुपरिरहेको हुन्छ । कहिले आफ्नो पनि विरानो र कहिले विरानो पनि आफ्नो भई आचरण र व्यवहार प्रदर्शन पनि भइरहेको हुन्छ । कसैले वास्तविक फूलको सुगन्ध नदिई कृत्रिम वासनावाला प्लास्टिक फूलबाट सुगन्ध दिनु खोज्ने प्रवृत्तिका पनि हुन्छन् र गर्छन् पनि । अर्को अर्थमा देखावटी र बनावटी कृत्रिम शृंगारलाई सौन्दर्यको वादशाह भन्न पनि पछि नपरेको स्थिति हुन्छ । त्यसबेला आफूलाई धैर्य र सहनशील भई सकारात्मक सोच्ने शक्तिको प्रादुर्भाव गराउन सक्नु पर्छ ।

मुकदर्शक भएर रमाइलो हेर्ने आचरणलाई बुझी त्यस्तासँग अलग रही उनीहरुको मानसिकता परिवर्तन गर्ने कर्म र चरित्र प्रदर्शन गर्नु पर्छ । प्रत्येक जीवभित्र रहेको पवित्रता भनेकै उसले निर्वाह गर्ने नैतिक दायित्व नै हो । यसमा सबैको ध्यान केन्द्रित हुनुपर्छ । त्यसको लागि नैतिक शिक्षा प्रदान गर्ने क्षमता राख्नु पनि त्यत्तिकै जरुरी हुन्छ । म र ऊ भन्ने अहंकार प्रवृत्ति त्यागी हामी र हाम्रो भन्ने भावनाको विजारोपण गर्नेतर्फ मन उठाई असन्तुष्टि र कमजोर मनस्थितिलाई दृढइच्छाशक्तिको माध्यम हटाई नैतिकवान् बन्ने इच्छाशक्ति बढाउनु पर्छ ।

आत्मविश्वासका साथ स्वभाव र विचारमा स्वच्छता ल्याई सकारात्मक गोरेटोतर्फ विश्वास जगाइराख्नु पर्छ । जहाँ स्वच्छता र विश्वास हुन्छ त्यहाँ श्रद्धा र समर्पणभाव स्वतः जागृत हुन्छ । त्यसैले मिथ्या अभिमान र म सबै हुँ भन्ने दम्भलाई तिलाञ्जली दिई मेरो सबै र सबै मेरा भन्ने चिन्तन बढाई आफूलाई नैतिक चरित्रवान बनाउनु पर्छ । तब मात्र जीवनले नयाँ इतिहास सिर्जना गर्न सक्छ र जीवन सफल हुन्छ । यो वर्तमानले खोजेको चिन्तन हो ।