बृहन्नला बनेका अर्जुन र कौरवहरूको युद्ध

  •   
  •  

राधेश्याम उपाध्याय
उता समीका रूखमुनि पुगेर अर्जुनले हे राजकुमार ! पाण्डवहरुले आफ्ना समस्त हतियार यहीँ राखेका छन् । जाउ त्यो ठूलो समीको रूखमा भएको पोको निकाल, म अर्जुनको गाण्डीव धनुष लिएर लड्छु भने । यो सुनेर राजकुमारले आश्चर्य मान्दै लोकहरुले यो रूखमा मूर्दा टङ्गाएको छ भन्थे तिमीले किन मलाई मुर्दा झिक्न भन्छौ भन्न लागे ।

अर्जुनले सम्झाउँदा रूख चढे र पोको झिके । सबै बेरेको कपडा र बाँधेको डोरी काटी हेर्दा सूर्यकाजस्ता चम्किला शस्त्रहरु देखि राजकुमार उत्तर झस्किए । सबै शस्त्रको बारेमा अर्जुनलाई सोधे । हे राजकुमार यो अर्जुनको गाण्डीव धनु हो । यो गाण्डीव धनु एक हजार वर्ष ब्रह्माले, प्रजापतिले पचास हजार वर्ष, इन्द्रले पचासी वर्ष, सोमले पाँच हजार वर्ष, वरुणले सय वर्ष, अहिले अर्जुनसँग यो धनु पैसठ्ठी वर्षदेखि रहँदै आएको छ ।

यो भीमको सुपाश्र्व नामको धनु हो भनि अर्जुनले पनि सबै शस्त्रको बारेमा विस्तृत विवरण सुनाए । यो सुनेर राजकुमार उत्तरले यस्ता प्रख्यात शस्त्र लिने पाण्डवहरु यो बेला ठूलो दुःखकष्ट सही कहाँ कसरी बस्दा हुन् भन्न लागे । यो उत्सुकता सुनेर अर्जुनले भने– हे राजकुमार ! अहिले तिम्रा अगाडि म छु, म नै अर्जुन हुँ । हर्दम मत्स्यपतिका अगाडि विचारी बनेर बस्ने ब्राह्मण कङ्क नै हाम्रा ज्येष्ठ भ्राता युधिष्ठिर हुन् । दरवारमा भान्से बनेर बसेका बल्लभ माहिला पाण्डव भीम हुन् । घोडाको रक्षक बनेर तवेलामा बस्ने अस्वशिक्षक ग्रन्थिक नै माद्रीपुत्र नकुल हुन् ।

त्यस्तै गौसंरक्षण गरी गोठमा बस्ने गोठाला तन्तिपाल नै सहदेव हुन् । रानी सुदेष्णासँग हरदम सँगसँगै बस्ने सैरन्ध्री नै द्रौपदी हुन् । जसका कारण किचक भाइभारदारहरु सहित मरे । यो सुनेर राजकुमार उत्तरले विश्वास गर्न सकेनन् र यदि तिमी अर्जुन हौ भने मिमीले आफ्ना दश नामहरु भन भनी सोधे र अर्जुनले आफ्ना दश नाम सुनाए १. धनञ्जय, २. विजय, ३. श्वेतवाहन, ४. किरिटी, ५. विभत्सु, ६. सव्यसाँची, ७. अर्जुन, ८. विष्णु, ९. फाल्गुनी, १०. कृष्ण ।

हे उत्तर अरु केही शंका छ भने सोध । यो सुनेर यिनै अर्जुन हुन भनि विश्वास माने र भने – हे अर्जुन ! यो बीचमा नचिनेर अपहेलना गरेको भए माफ दिनुहोस् भनि माफी मागे । अर्जुनले पनि शत्रुको भय नमान मेरा हतियारहरु रथमा लगेर राख भनी आफ्ना हतियार रथमा राख्न लगाए । बाँकी हतियार बाँधेर अघि जस्तै समीका रूखमा नै बाँध्न लगाए र अर्जुनले उत्तरको दुवै हात पकडेर अब वैरीको तिमीले कुनै भय मान्नु पर्दैन, तिम्रो नै जित हुन्छ भनि विश्वास दिलाए । उत्तरले पनि यसरी आफूमाथि स्नेह गरी शान्त्वना दिएको सुनेर इन्द्र र कृष्णझैँ युद्धका सर्वज्ञलाई पाएपछि वैरीको केही भय छैन ।

तर पनि एउटा शंका आफ्नो दिव्य स्वरुप गुप्त राखेर व्यर्थैमा नपुंसक बनेर बस्नुको कारण के थियो भनि सोधे । यो सुनेर अर्जुनले केही हाँस्दै भन्छन्– हे उत्तर ! एउटा कारण त हामीलाई एक वर्ष गुप्तवास बस्नु थियो । अर्को कारण म कुनै समयमा स्वर्गमा गएको समयमा उर्वसी नामकी अप्सराबाट एक वर्ष नपुंसक हुने श्राप पाएको थिएँ । ती दुवै वचन पूरा गर्न यसरी बस्नुपरेको हो । नपुंसक बन्ने श्राप ठिक एक वर्षका लागि थियो ।

त्यसैले एक वर्ष पूरा हुनेबित्तिकै हराएर गयो अहिले छैन भनेर भने । यो सुनेर उत्तर खुशी हुँदै अब शत्रुहरुको केही डर छैन भने । जसरी इन्द्रका सारथी मालती र कृष्णका सारथी दारुक छन् त्यसरी नै म हजुरको रथ हाँक्दछु, हे शत्रु संहारक भने । अर्जुन पनि लड्न जानका लागि स्त्रीका सबै भुषहरु फुकाली राखे, कपाल बाँधे र अस्त्रहरुको पूजा गरे । शंख ध्वनि गरी पृथ्वीकम्प गराउँदै अर्जुन युद्धभूमितर्फ लागे ।

उता कौरवहरु राजकुमारको त्यो चाल देखेर छक्क परे र हेरिरहेका थिए । त्यहीबेला पृथ्वी कम्प गराउँदै जब अर्जुनको रथ सामुन्नेमा आएको देखे रथतर्फ देखाउँदै श्रीद्रौणाचर्यले भने यो रथको ठूलो मेघकोजस्तो शब्द अर्जुनको नै हो । हाम्रोतर्फका वीरहरुका हतियार निस्तेजजस्ता देखिन्छन्, हाम्रा रथका घोडाहरुका आँखामा आँसु , स्यालहरु चिच्याएर रुनु, गिद्धहरु हाम्रा रथका ध्वजामा बस्नु यी राम्रा लक्षण होइनन् । हे दुर्योधन ! तिम्रो युद्धमा संहार हुनेछ । तिम्रा धेरै सैनिकहरु मर्न सक्छन् ।

त्यसैले गाईहरु चाँडै घर पठाइदेउ र व्यूह रचना गर, समय छोटो छ । गुरुको यो आदेश सुनेर दुर्योधन भीष्म कृप कर्ण द्रोणीसँग गयो र बाह्र वर्ष वनबास तथा त्यह्रौँ वर्षको गुप्तबास बस्ने शर्त अनुसार केही दिन बाँकी छन् कि पुरा भयो ? सम्वत र मैना समेत गणना गर्नुहोस् भनि सोध्न लागे । हे योद्धाहरु हो ! कोही पनि युद्धदेखि भागेर नजानु संग्रामदेखि जो भागेर जाला ती सबैलाई म बाँकी नराखि मार्ने छु ।

कृष्ण, कुवेर, इन्द्र, यम, दिक्पाल अथवा पाण्डवहरु नै आए पनि म युद्ध गर्न छाड्ने छैन । यी गुरु पाण्डवप्रति बढी सहानुभूति राख्ने भएकाले उनका कुरा नसुनी सबै डटेर युद्ध गर्न लाग्नु भनि भने । यो सुने र भीष्मले काष्ठा, पक्ष, मुहुर्त, दिन, पक्ष, मास र ग्रह, ऋतु, नक्षत्र, संवत्सर यी सबै मिलेर एक कालचक्र बन्दछ । यी सबै विचार गरी मलमास समेत जोडी असोज महिनाको टीकाका दिन जुवा खेलेको र यो बैशाख महिनामा अर्जुन देखापरे ।

यसरी ती मलमासका दिनहरु समेत जोर्दा तेह्र वर्ष बितेर पाँच महिना बाह्र दिन बढी भएछ भनि भन्नुभयो । अब अर्जुन भए पनि हामी अहिले विवाद नगरी युद्ध गर्न तयार हुनु पर्दछ । तिमी चौथाई सेना लिई हस्तिनापुरतर्फ गइहाल, चौथाई सेनाले गाईहरु लिई अर्को बाटोबाट घर जाउन बाँकी सेनाको व्यूह रचना गरी हामी जो आए पनि लड्नु पर्दछ भने र भीष्मको आदेशअनुसार दुर्योधन घरतर्फ लागे । केही सेनासहित अर्को बाटो गाईहरु पनि पठाइयो । बाँकीले व्यूह रचना गरी अगाडि म लड्छु भनि कर्ण पछाडि भीष्म दायाँ–वाया द्रोण र द्रौणी भई को आउँछ भनि बसे ।

अर्जुन पनि ठूलो स्वरले शङ्ख फुकि पृथ्वी कम्प गराउँदै आए र टक्क अडिए । व्यूह तथा सेनाको निरीक्षण गरे र राज कुमारलाई भन्दछन् । यहाँ भीष्म, द्रोण, द्रौाण्ी, कर्ण र कृप सबै मेरा मान्यवर मात्र छन् तर दुर्योधनलाई यहाँ देख्दिन कता भाग्यो । त्यसको अभिमान तोड्नु पर्दछ । यी मान्यजनहरुसँग भन्दा मेरो रथ दक्षिणतर्फ लैजाउ भने र उत्तरले पनि रथ वायु गतिमा दक्षिणतर्फ लगे । तिखा वाण सलहझैँ छोपे र दुर्योधनको मार्ग नै छोपिदिए, दुर्योधन भाग्न पाएनन् ।

अर्जुनका रथ शंख धनुको टंकारको शब्द सुनेर गाईहरु पनि डराई बाँबाँ ! बुँ–बुँ !! गर्दै ठाडो पुच्छर लगाएर भाग्दै आफ्ना गोठमा पुगे, सैनिकले रोक्न सकेनन् । यसरी अर्जुन साहै्र रिसाएर दुर्योधनका अगाडि पुगे । अर्जुन दुर्योधनतर्फ गएको देखेर कुरुवीरहरु कृप समेत दौडे र अर्जुनलाई घेरा हाली लड्न पुगे । यसरी गाईहरु फर्काएर अर्जुन कर्णसँग युद्ध गर्ने इच्छाले कर्णतर्फ जाँदै थिए, दुर्योधनका चार भाइहरुले अर्जुनको रथ रोके । त्यही समयमा कर्णका भाइ शत्रुजितको मृत्यु भयो । भाइ म¥यो भनि कर्ण रिसले चुर हुँदै अगाडि आयो ।

दुवैको घमासान युद्ध भयो । सबै सैनिक निश्चल भई हेर्न लागे । अन्त्यमा अर्जुनले भल्ल नाम गरेका तीखा वाण छोडे र कर्णलाई अत्यन्त पीडा भयो र रण छोडी भागे । कर्ण भागेको देखेर दुर्योधनादी सबै वीर एकैपटक चारै तर्फबाट घेरेर अर्जुनलाई सरको वर्षा गर्न लागे । त्यो देखेर अर्जुनले पनि तीखा–तीखा वाण प्रहार गरी सबैलाई परास्त गरे । रगतको खोलो बग्यो, धेरै वीरहरु मरे । गुरु कृपाचार्यलाई त्रिहत्तर तीखा वाण हाने, आठवटा वाणले गुरुपुत्रको आदर गरे, दुशासनलाई बाह्र वाण हाने र घायल बनाए ।

साठी वाणले भीष्मको त्यही क्षण आदर गरे । क्षुरप्र नामका तीखा सय वाणले दुर्योधनको सर्वाङ्गमा हाने । यसरी तीखा वाणले सबैलाई घायल पारेर सबै सैनिक युद्धस्थल त्यागेर भाग्न लागे । जसरी नभ स्थलमा श्रीसूर्यनारायण टल्कन्छन् त्यसरी नै अर्जुन पनि समरमा टल्कन लागे । शत्रु पक्षका योद्धाहरुको दुर्दसा देखेर खुशसी हुँदै उत्तरले पनि – हे धनञ्जय ! यो रथ मैले कता लैजाउँ भनि सोधे । हे राजकुमार उत्तर ! यो रथ अब जसका रथमा चार राता घोडा, नीलो रँगको ध्वजा र जसले बाघम्बर धारण गरेका छन् उनी कुल गुरु कृपाचार्य हुन् । उनका अगाडि यो रथ उनको प्रदक्षिणा गरेर लैजाऊ ।

आज म कुलगुरुलाई आफ्नो रणकौशल प्रदर्शन गरी खुशी पार्ने छु । त्यो भन्दा पहिला जसको झण्डामा सुनको कमण्डलु छ, मेरा मन्यवर द्रौण गुरु जो करले यो युद्ध भूमिमा आएका छन् । उनलाई आदरपूर्वक नमस्कार गर भनि सिकाए । राजकुमार उत्तरले पनि रथ प्रदक्षिणा गर्दै कृपाचार्यका अगाडि लगेर रोकिदिए । अर्जुन तथा कृप दुवैले आ–आफ्ना शङ्ख फुके र दुवै युद्धका लागि तयार भए । दुवैको युद्ध हेर्न इन्द्रादी देवताहरु पनि आ–आफ्ना रथमा बसी आकाश मार्गमा आए । निकैवेर गुरु शिष्यको भिषण युद्ध भयो । अर्जुनले कृपाचार्यको रथ तथा धनु टुक्रा–टुक्रा पारी ध्वस्त परिदिए र सारथीलाई यमलोक पु¥याए ।

गुरु एक गदा लिएर अर्जुनतर्फ दौडे, त्यो पनि छोड्न नपाउँदै अर्जुनले टुक्रा–टुक्रा परिदिए र अनेक सरले कृपाचार्यलाई घायल पारे । परिस्थिति राम्रो नदेखेर लाजै नमानी कृपाचार्य पनि युद्धबाट भागे । अर्जुनले समस्त सैनिकहरुलाई क्रोधित भई मार्न लागे । यो नराम्रो अवस्था देखेर गुरु द्रोणाचार्य अगाडि लड्न आए । यो देखेर गुरुलाई प्रणाम गर्दै अर्जुले भने– हे गुरु ! वनमा धेरै संकष्ट सहेँ, वैरीको अपमान खप्न नसकेर अहिले युद्ध गर्न आएको हुँ । मेरो यो कष्ट र विवशता बुझेर यो मसँग लड्न आयो भनि मप्रति कुनै राग, द्वेष नमान्नु होला । यो सुनेर एक्काइस तीखा वाणले गुरुले अर्जुनलाई प्रहार गरे । दुवैको युद्ध सुरु भयो ।

अर्जुनले गुरुका सबै वाण काटे । दुवै गुरु शिष्यले कुन बेला वाण झिक्छन्, कुन बेला धनुमा राखेर सर छाड्छन्, भन्न कठिन भयो । दुवैका सरले आकाश ढाक्यो । दुवैका सरहरु आकाशमा एक आपसमा सर्प व्यरिएजस्ता भई लडन लागे । विजयले वाणको वर्षा गराए र द्रोणको शरीरबाट रगतको धारा बगि शरीरमा अधिक कष्ट भयो । गुरुका रथका घोडा र सारथी मारिदिए, रथ चुर्ण भयो । यो अवस्था देखेर सबै सेनाहरु आत्तिए । हा ! हा ! कार भएर कति सौनिक समर छोडेर भाग्न लागे । यस्तो अवस्था देखेर अर्जुनलाई गुरुपुत्र द्रोणी आइ रोके । यही मौकामा गुरु द्रोण रण छोडी भागे । अर्जुन र गुरुपुत्र द्रोणीको पनि ठूलो युद्ध भयो ।

द्रोणीले अर्जुनको धनुको ताँदो काटिदिए, त्यो देखेर अर्जुन क्रोधित भए र सरको वर्षा गराएर द्रौणीलाई ढाकिदिए । अर्जुनका सबै सरले द्रौणीका शरीरमा घाउ बनाए र रगतको धारा बग्न लाग्यो । द्रौणी पनि युद्धमा अर्जुनसँग टिक्न सकेनन् र भागे । यो दूरगति देखेर फेरी कर्ण युद्धमा फर्केर युद्ध गर्न आए । आफ्नो रणकौशल देखाएर केहीबेर युद्ध गरे पनि अन्त्यमा कर्ण युद्धमा टिक्न नसकेर पुनः भागे । अर्जुनले रथ भीष्म पितामहका अगाडि लग्न भने । उत्तर केही डराएजस्तो गर्न लागेको देखेर अर्जुनले हौसला दिँदै क्षेत्रीय वंशमा जन्मिएर युद्धमा आइसकेपछि यसरी डराएर शत्रु हँसाउनु हुँदैन ।

क्षेत्रीयको धर्म नै पापी विरुद्ध युद्ध गर्नु हो, त्यसैले नडराऊ म अब देवताहरुबाट प्राप्त दिव्यास्त्रहरु प्रयोग गर्नेछु । जसले गर्दा अब कौरवहरु युद्ध गर्न शाहस नै गर्न सक्ने छैनन् । आजै कौरवरुपि घोर यो वन फाँडिदिने छु, शंका नमान भनि यसरी उत्तरको साहस बढाए । सबै कुशंका त्यागेर उत्तरले पनि सफलतापूर्वक रथ हाँक्न लागे । त्यसैबेला मूर्ख दुःशासन आयो र राजकुमारलाई एक भाला प्रहार ग¥यो र अर्जुनलाई पनि वाण वर्षा गरी ढाकिदियो । यो देखेर अर्जुनले पनि आफ्ना वाणहरुले सबै भाला तथा वाणहरु काटिदिए ।

सारथी मार्नुका साथै घोडाहरुलाई पनि घायल बनाए । यो देखेर दुःशासन पनि युद्धमा टिक्न नसकी प्राण बचाइ भाग्यो । त्यसपछि दुःसह, विकर्ण र विविंशती तीनै जना एकै पटक आए र अर्जुनका अगाडि टिक्न नसकेर प्राण बचाइ भागे । अब बचेका सबै वीरहरुले डटेर अर्जुनको सामना गर्न लागे । सबैले एकै पटक तीखा वाण प्रहार गरे र अर्जुनलाई सरहरुले छोपिदिए । शरीरबाट रगतको धारा बग्न लाग्यो ।

अर्जुन पनि रिसाएर सबै सरजाल काटि आफ्ना प्वाँख भएका तीखा वाणहरु छाडे । छाडेका ती तीखा वाणहरुले चारै दिशा घुमि हावाको वेगमा हात्ती, अश्व र सैनिकहरु सबै मुढो ढलेझैँ ढल्न लागे । रगतको खोलो बग्यो, बचेका वीरहरु प्राण रक्षा गर्दै भाग्न लागे ।