चिसो सम्बन्ध

  •   
  •  

यम रेग्मी

उराठ र उदासमा क्यान्सर रोगीकाझैँ दिनहरू बित्न थाले, गोपालका । कुनै बिहानी उमङ्ग बोकेर उदाएनन् ।

कुनै दिनले न्यानो मायालु स्पर्ष छरेन । कुनै साँझले शान्तिको सास छोडेन । कुनै रातको निदले मीठो सम्बन्ध गाँसेन । हर्ष हरायो मनबाट । जोश र जाँगर हरायो तनबाट । वरपरको कलरफूल परिवेश, बल्याक एण्ड ह्याइट देख्न थाले नयनले ।

दिनपछिको एक्लो चखेवा भयो । दिनहरू एक वर्षसम्म बिरामी, बूढो, रोगी कछुवाझैँ उदास र उराठमा बितिरहे ।

कहिले भाग्यलाई धिक्काथ्र्यो । कहिले आफ्नो सोझोपनमाथि ग्लानी गथ्र्यो । कहिले यादमा रुन्थ्यो । कहिले फेरि आफूले आफूलाई चित्त बुझाउँथ्यो । हरेक हप्ता घरमा नयाँ मान्छे आइरहन्थे । मान्छे देख्दा उसलाई रिस उठ्यो । कोहीसित बोल्नुपर्दा उसलाई झर्को लागेर आउँथ्यो । विछोडको वेदनाले हरपल पोलिरह्यो ।

रक्षा पनि शान्त रहन सकिने, काठमडौंमा । सुन्दर झिलिमिली सहर । रमणीय ठाउँ । धेरै साथीहरू । दाजुहरू सुरक्षित साथ, सबै थियो, काठमाडौंमा । सबथोक भए पनि एक वर्ष बित्दा पनि मन बस्न सकेन काठमाडौंमा । हरपल अशान्तको बादलले ढाकिरह्यो, मनमा । हर क्षण छटपटीको लाठीले कुटिरह्यो तलमा । मन दाङ तन काठमाडौं । मन र तनको मिलन हुन सकेन ।

शनिवारको दिन थियो । बिहानी समय । किशोरी घाम उदाइसकेकी थिइन्, पूर्वको क्षितिजमा । अरु दिनभन्दा शनिवारको दिन झनै कामको चाँप प¥यो रक्षालाई । हतार–हतारमा बिहानको खाना पकाई । दुई दाजुका, आफ्ना हप्ताभरिका लुगा जम्मा पारी । बाथु्रमभित्र छिरी, धुनलाई । आफ्नै सुरमा मिचिमिची कपडा धुँदै थिई ।

‘रक्षा ! ए रक्षा !! यता हेर तो !’ दाइ प्रदीप बाथु्रकको ढोकामै उभिएर बोल्यो ।
‘किन दादा ?’ रक्षा फरक्क पछाडि फर्केर बोली ।

‘भर्खर बाबाको दाङबाट फोन आथ्यो, रक्षालाई घर पठाइदेल भन्नुहुन्छ । एक हप्ताको लागि हो रे । खै किन हो केही भन्नु भएन । के काम हो घरमै गएर थाहा होला । म टिकेट लिन गएँ, बसपार्क । ढिलो हुन्छ होला । तिमरू खाना खाइगे ।’ प्रदीप बोल्दै भ¥याङबाट तल झ¥यो ।

दाइको कुराले मरेको खुशी जागेर आयो । भित्रभित्र गदगद भई रक्षा । ढपक्क फूल्यो मनभरि हजारीको फूल । झल्यास बाआमा सम्झी । गोपाललाई सम्झी । आँखा अगाडि ठिङ्ग गोपाल उभिएको भान भयो । खै ! कताबाट हो कुन्नि एक्कासी मनमा आनन्द र लज्जाको सुनामी उर्लेर आयो । एक्लै धेरैबेर लजाई, लज्जावती भारझैँ ।

अर्को दिन बिहानै दाङ आइपुगी । मनमा खुशीको खहरे उर्लिरहेको थियो । हावा हावामा उडिरहेको मनभित्रको उमङ्ग । तन कपासझैँ हलुङ्गो भएको थियो ।

झोला पेटीमा राखी । आमा भन्दै घरभित्र छिरी । जब आमालाई देखी मन भक्कानिएर आयो । मालुकाको लहरो रुखमा बेरिएझैँ आमाको अँगालोमा धेरै बेर बेरिई । केही बेर एक वर्षको विछोडको पीडा बगाए गहबाट । मन चङ्ग भयो, आमा–छोरीको ।

चिया तयार थियो बिहानको । गिलास छोपी । बाहिर निस्की कोठाबाट । पूर्वतिरको घरको भित्ता र करेसाभरि मायालु घाम छताछुल्ल पोखिएको थियो । चियाको सुर्काे सुरुप्प तानी । पुलुक्क गोपाललाई गोठतिर हेरी, देखिन । मन चिसो भयो । आमालाई सोध्ने आँट आएन । गिलासको तातो चिया पिउँदै केही बेर टोलाइरही ।

उत्तरतिर सुन्दर बगैचा थियो । डुल्दै बगैचातिर लागी । दुई वर्ष पहिले आफैले आँप र लिच्ची रोपेकी थिई । एक वर्षसम्म देख्न पाएकी थिइन । जब आँप र लिच्चीका ठूला बोट देखी, लटरम्म फलेको पनि । आफै छक्क परी । आफ्नै वरपरको वातावरण नौलोभन्दा नौलो लाग्यो उसलाई ।

बगैचा घुमेर जब बाटोमा निस्की । एक्कासी सामुन्ने गोपाललाई देखी । भूत देखेझैँ तर्सिएझैँ तर्सियो मन । दुवैका डिस–बे्रक लागेझैँ टक्क अडिए गोडा । मन फुल्लिएर आयो, बेलुन फुल्लिएझैँ । सास बढेर आयो दमको रोगीझैँ । अधरको मुस्कानको संवाद भयो । दुई नयन चार बने । चुम्बकका नेगेटिभ र पोजेटिभ धु्रव तानिएझैँ दुवैका आँखा तानिए, एकअर्कोको अनुहारमाथि ।

दुवैले भिन्न रूपमा देखे, एकले अर्कोलाई । हिजोको ख्याउटे गोपाल आज पोटिलो, रसिलो भएको थियो । हिजोको चिल्ला गाला आज दाह्री–जुँगाले ढाकिएका थिए । हिजोको सुकेको छाती आज फुकेर मैदानझैँ चौडा भएको थियो ।

हिजो सिठाजस्ता हातगोडा आज पहल्वानकाझैँ भएका थिए । कालो अनुहार गोरो भएको थियो । घुम्रिएको छोटो कैलो हिजोको कपाल आज लामो रातो भएको थियो । घृणालाग्दो गोपाल लोभलाग्दो भएको थियो, वर्षदिनमा ।

रक्षा पनि फरक भएकी थिई, पहिलेको भन्दा । हिजोकी सल्गमझैँ डल्ली रक्षा आज मुलाझैँ हलक्क तानिएकी थिई । कालीबाट गोरी भएकी थिई । लिखुरीबाट पोटिली भएकी थिई । विरूवाबाट फलेको वृक्षझैँ भएकी थिई । एक वर्षको अन्तरालमा रक्षा सुन्दरतामा धर्तीबाट आकाशमा पुगेकी थिई ।

शारीरिक रूपमा जति परिवर्तन भए पनि मन विगतकै थियो । माया विगतकै । व्यवहार विगतकै । दृष्टि विगतकै । अनुभूति विगतकै । फरक थियो त केवल रूप फरक थियो । गुण त पहिलेकै थियो ।

दुःखमा । सुखमा । दूर हुँदा । समीप हुँदा । विगतमा । वर्तमानमा । भविष्यमा । अनुकूलमा । प्रतिकूलमा । शिशिरको तुषारोमा । वर्षको भरीमा । अभावको मरुभूमिमा । समस्याको आँधिवेहरीमा । जहाँ र जुन अवस्थामा जीवित रहने पवित्र प्रेम नै रहेछ । जसको प्रमाणमा उनीहरूको व्यवहारले देखाइरहेको थियो ।

रक्षा काठमाडौंबाट आएको तेस्रो दिनको कुरा हो । साँझको पाँच बज्दै थियो । बिहानैदेखि जाडो बढिरहेको थियो । आकाशमा दिनभरि नै गमक्क बादल थियो । रक्षा कुर्सीमा बसेर चिया पिउँदै थिई । सीता बाहिरबाट सरासर भान्सामा आइन् । फ्रिज खोलिन । पनिर झिकिन फ्रिजबाट । टेबुलमा पनिरको प्लेट राख्दै मुसुक्क हाँसेर बोलिन, ‘नानी तँलाई हेर्न आज एउटा केटो आउँदै छ । मेकप गरेर राम्री देखिनु है त ।’

आमाको कुराले रक्षा छक्क परी । जुन कुरा उसले सपनामा पनि सोचेकी थिइन । तलको सास तलै रोकियो माथिको सास माथि । ढपक्क ग्रहण लाग्यो अनुहारमा । मुखमा राखेको चिया मुखभरि भयो । तल छिरेन । मुख सुकेर मरुभूमिझैँ सुक्खा भयो ।

मुखलाई खकारेर दयालु स्वरमा बोली– ‘के भन्नुहुन्छ आमा हजुरले यो ? मलाई यसैका लागि बोलाउनुभएको हो ? विवाहका कुरा गर्नुहुन्छ भने म भोलि नै काठमाडौं हिडिदिन्छु ।’ रक्षा जुरुक्क उठी बसेको ठाउँबाट ।

आमा मलिन अनुहारले पनिर काटिरहिन् । छोरीले सुन्नेगरी बोलिन, ‘किन यस्तो गर्छेस् तँ ब्याको कुरा गर्दा ? हेर्दैमा के बिग्रिन्छ ? हेरौँ । हेर्दैमा विवाह गर्नैपर्छ भन्ने छ र ?’
रक्षा केही बोलिन । फेरि आएर टेबुलमा बसी ।

साँझ केटो आयो । रक्षालाई हे¥यो र गयो ।

एकदिन पछि नै केटा पक्षबाट विवाहको लागि ओके भएको खबर आयो, कृष्णलाई ।
अर्को दिन साँझ खाना खाने बेलाको समयमा हो । रक्षाले बुबालाई खाना ठिक पारेर टेबुलमा राखी । आमाको खाना राखी । आफ्नो खाना राखी । खान बसी ।

कृष्णले थालको भात हातले मुछ्दै बोले, ‘कस्तो लाग्यो सीता तिमीलाई अस्ति छोरीलाई हेर्न आको

केटो ?’

रक्षा केही बोलिन । खाना खाइरही ।

‘राम्रो छ । हाम्लाई राम्रो भएर मात्र भएन केर । रक्षाले मन पराउनु प¥यो ।’ सीता खाना खाँदै बोलिन् ।
कृष्ण छोरीतिर हेरेर बोले–‘नानी तँलाई केटो राम्रो लागेन र ?’

– लागेन बुबा ?

– किन के कमी देख्यौ र केटामा ? धनसम्पत्ति अथाह छ । एउटा छोरो छ । अलिकति पढाइमा कमी

हो । सबै भनेको जस्तो कहाँ मिल्छ र छोरी ?’

– ‘उही ता ।’ सीता लोग्नेको कुरासँग होमा हो थपिन् ।

– रक्षा खाँदाखाँदैको भात थालमै छोडेर जुरुक्क उठी र बोली ‘मैले त त्यो केटासँग मरे पनि बे गर्दैन ।’

– किन ?

– त्यसै ?

– भन न किन ?

– मलाई मन पर्दैन त्यो केटा ?

– मन पर्दैन भने मन परेको कोही छ र तेरो ?

– मनले गोपाल छ भनौँझैँ लागेको थियो तर मुखले छैन भनी ।

आमाले सम्झाउँदै फेरि बोलिन्– ‘छोरीको जात भएपछि अर्काको घर नगई हुँदैन । एकदिन त जानै पर्छ ? फेरि केटा हेर्न आउने भनेको उमेर रहँदासम्म हो ? अरु चार वर्षपछि घरमा माखो पनि घुम्दैन बुझिस् ?’

– घम्न पनि प¥या छैन ।

– छोरी मान्छे भएर जिद्दी गर्नु हुँदैन छोरी । आमाबुबासँग बोल्ने तरिका यही हो ? सीता चर्को स्वरमा बोलिन् ।

कृष्ण भान्साबाट निस्कँदै बोले– ‘यसलाई राम्ररी सम्झाउ सीता । एक वर्ष काठमाडौं के बसेकी थिई खुब जिद्दी पो गर्ने भइछ ।’

मेरो पढाई नि ? रक्षा जोस्सिएर बोली ।

कृष्णले शान्त स्वरमा भने– ‘विवाहपछि पनि पढाउँछु भनेका छन्, केटा पक्षले । तिमीले पढाइको बारेमा केही चिन्ता लिनु पर्दैन ।’

रक्षाको मुख बन्द भयो । कुनै पञ्छिने उपाय देखिने । खाँदाखाँदैको थालको भात थालमै छोडेर उठी । सुत्ने कोठामा गई । पल्टिई । छटपटीमै बित्यो रात ।
क्रमशः …

-तल्लो जीवन उपन्यास अंश_