काठलाई आकृति दिँदै पूर्व लडाकु

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ६ मंसिर । कुनै समय देश र जनताको परिवर्तनका लागि भन्दै सशस्त्र संघर्षमा हिडेका एक जना पूर्व लडाकु अहिले काठलाई विभिन्न आकारमा ठेकी बनाउँदै आकृति दिँदै आएका छन् । माओवादीको दशवर्षे सशस्त्र युद्धमा लागेका शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका निवासी भीमबहादुर विक ‘अर्जुन’ले अहिले आफ्नो पुख्र्यौली पेशा ठेकी बनाउने काममा लागेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा २०५६ सालमा तत्कालीन नेकपा माओवादीमा लागेका विक २०७१ सालसम्म माओवादी पार्टीकै विभिन्न तहमा रहेर काम गरेका थिए । करिब १५ वर्ष पार्टीमा समय बिताएका विकलाई पछिल्लो समय घरव्यवहार नै चलाउन समस्या पर्न थालेपछि उनले पार्टीको काम छोडेर पुख्र्याैली पेशा काठको ठेकी बनाएर दैनिकी चलाउन थालेका हुन् ।

‘जनताको परिवर्तनका लागि आन्दोलन भनेपछि ज्यानकै प्रवाह नगरी सशस्त्र द्वन्द्वमा लागियो’–उनले भने–‘सशस्त्र युद्धले परिवर्तन त ल्यायो तर जनताले परिवर्तनको अनुभूति गर्न पाउने गरी आएन ।’ जनताले परिवर्तनको अनुभूति गर्न पाउने अवस्था आएको भए आपूmहरु जस्ताको जीवनमा परिवर्तन आउने उनको बुझाइ छ ।

१० वर्षे सशस्त्र युद्धमा हिंडेका विकलाई पुरानै पेशामा फर्कनुपर्छ भन्ने लागेको थिएन । ‘लामो समय पार्टीको सेनामा रहेर काम गरेको थिए, जसले गर्दा पार्टीले कुर्न ठाउँमा व्यवस्थापन गर्छ भन्ने विश्वास थियो’–उनले भने–‘तर पार्टीले व्यवस्थापन गर्नुको साटो सेवाबाट वाइसिएल बनाएर जिन्दगी बिगारिदियो ।’

घरव्यवहार चलाउनका लागि पुख्र्यौली पेशामा लागेका विकका ५ छोरी र श्रीमतीसहित ७ जनाको परिवार रहेको छ । त्यही परिवारका पालनपोषणका उनीले जंगलमा काठ खोज्ने, त्यसलाई ठेकी बनाएर बेच्ने काम गर्दै आएका छन् । उनलाई श्रीमती छोराछोरीहरुले काममा सहयोग गर्दै आएका छन् ।

२०६३ सालमा शान्तिवार्ता भएपछि पार्टीकै निर्देशनमा जनमुक्ति सेनाबाट वाइसिएल बनेर निस्किएका अर्जुनले २०७० सालको निर्वाचनसम्म पनि पार्टीकै निर्देशनमा काम गरेको बताउँछन् । तर पछिल्लो समय पार्टीको काम चित्त नबुझेपछि सक्रिय राजनीति छोडेर बाउबाजेले गर्दै आएको काम गर्न थालेको बताए । ‘पार्टीको काम छोडेपछि हातमा सीप भएकाले ठेकी बनाउने काम गर्न थालेको हुँ’–उनले भने–‘यही ठेकी बनाउने सीप नभएको भए अहिले परिवार पाल्नै समस्या पर्ने थियो ।’

पुख्र्यौउली पेशामा फर्किएका विकले जंगलमा गिट्ठाको रूख खोज्ने त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाउँ–गाउँमा लगेर विक्री गर्दैै आएका छन् । त्यहीबाट आएको पैसाले घर खर्च चलाउनेदेखि छोरीहरुलाई पढाउने गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा नेताहरुको भाषणको प्रभावमा परेर १६ वर्षे उमेरमै युद्धमा लागेका अर्जुनलाई अहिले आएर जवानी खेर फालेकोमा पछूतो लाग्ने गरेको छ ।

‘आपूm उमेरका साथीहरु कमाउन लागे, आपूm परिवर्तनका लागि युद्धमा लागियो’–उनले भने–‘जसले गर्दा कमाउन सकिएन । जसले गर्दा अहिले दुःख गर्नुपरेको छ ।’ उनले जनताको लागि भनिएको सशस्त्र संघर्ष अहिले आउँदा नेताहरुको परिवर्तनका लागि गरिएको जस्तो समेत लाग्ने गरेको बताए ।