‘मास्क खोई ?’ अभियान

  •   
  •  

गोरक्ष समाचारदाता

दाङ, ५ मंसिर । कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाको मुख्य बजार क्षेत्रमा कर्मचारीले ‘मास्क खोई ?’ अभियान सञ्चालन गरेका छन् । जिल्लाको लमही, घोराही, तुलसीपुर क्षेत्रका कर्मचारीले बजारको मुख्य क्षेत्रमा पुगी व्यापारी, सर्वसाधरणलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै ‘मास्क खोई ?’ अभियान सञ्चालन गरेका हुन् ।

कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन यस्तो अभियान सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । घोराही क्षेत्रमा प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वको टोलीले सडकमा निस्केर सर्वसाधरणलाई मास्क वितरण गरेका थिए । घोराही क्षेत्रमा भएको अभियानमा प्रमुख जिल्ला अधिकारीसँगै जिल्ला प्रहरी प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

‘कोरोनाबाट जोगिन यो अभियानले नागरिकमा सचेतना जगाउन सहयोग पुग्ने छ’–प्रमुख जिल्ला अधिकारी आचार्यले भने । उनका अनुसार शुक्रवार एकसात जिल्लाका प्रमुख बजारहरु घोराही, तुलसीपुर, लमही एकैसाथ मास्क लगाउन सचेतनामुलक अभियान थालिएको हो । कोरोनाको महामारीमा सर्वसाधारणले मास्क नै नलगाएर लापरवाही गरेपछि यसरी अभियान चलाएको उनले बताए । यो अभियान हरेक हप्ताको शुक्रवार सञ्चालन गरिने समेत प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

घोराहीमा मात्रै कर्मचारी, प्रहरीसहित विभिन्न सरोकारवालासहितको आठवटा समूहमा बजारका विभिन्न पसल, व्यक्तिहरुलाई मास्क लगाउन र सचेत गराउने काम गरेका थिए । मास्क नलगाएका कार, मोटरसाइकल, गाडीमा सवार र सडकमा हिड्ने मानिसहरुलाई मास्क समेत प्रदान गरिएको र उनीहरुलाई मास्क लगाउने सचेत गराउने काम भएको छ । यसैगरेर लमही क्षेत्रमा मालपोत, नापी कार्यालय, ईलाका प्रशासन, अस्पताल, नगरपालिकालगायतका क्षेत्रमा कार्यरत कर्मचारीको सहभागिता अभियान सुरुवात गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय पालिकाको संयोजनमा अभियान सञ्चालन गरिएको हो । कर्मचारीले मास्क लगाउन आग्रह गर्दै सवारी साधनमा अनिवार्य स्वास्थ्य मापदण्ड पालन गर्न र मास्क लगाउन आग्रह गरिएको ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले बताए । अभियानमा अटेरी गर्ने मास्क नलगाई हिड्डुल गर्ने भीडभाड हुने क्षेत्रमा पुगेर मास्क लगाउन आग्रह गरेको उनले बताए ।

दाङमा कोरोना संक्रमणकोे दर बढ्ने क्रम जारी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार शुक्रवारसम्म दाङमा कोरोना संक्रमितको संख्या दुई हजार आठ सय १० जना पुगेको छ । उनीहरुमध्ये दुई हजार तीन सय १५ जना उपचारपछि कोरोना मुक्त भएका छन् । कार्यालयका अनुसार पछिल्लो समय दाङमा चार सय ६९ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

उनीहरुमध्ये तीन सय ८९ जना होमआइसोलेशनमा बसेका छन् भने ८० जना संस्थागत आइसोलेशनमा बसेका जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्शन कमल चन्दले जानकारी दिएका छन् । उनकाअनुसार दाङमा हालसम्म २१ हजार ४ सय एक जनाको स्वाब संकलन गरिएको छ । संक्रमितहरुमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा रहेका छन् । त्यस्तै दाङमा कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भएको छ ।

यसैबीच शुक्रवार देशभर १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) देखिएको छ । यो सँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १६ लाख ४२ हजार ८ सय ९९ वटा पिसिआर नमुना परीक्षण भएको छ । यसैगरेर ५३ सय ६४ जना डिसचार्ज भएका छन् । योसँगै कुल डिसचार्ज हुनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ । विहीवार मात्रै २८ सय ५८ जनाले कोरोना जितेर डिसचार्ज भएका थिए ।

यस्तै मन्त्रालयका अनुसार २४ हजार ६ सय ६५ कोरोनाका सक्रिय संक्रमित छन् । २४ हजार ६ सय ६५ जना आइसोलेशनमा र ७ सय ५३ जना क्वारेन्टाइनमा छन् । नेपालमा कोरोनाबाट १२ सय ९८ जनाको मृत्यु भएको छ । शुक्रवार मात्र २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । विहीवार १७ जनाको मृत्यु भएको थियो । पोखरामा तनहुँका एकसहित थप सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका एक सहित पोखरामा थप ७ जनाको ज्यान गएको हो ।