नेपालको अर्थनीति र कमजोर कूटनीति

  •   
  •  

विनोद पोख्रेल

२०७७ बैशाख २७ गते
आज बिहानै एकजना मानिस आएर खेत लगाउने कुरा ग¥यो । ती खेतहरु बाँझै छन् । राम्रो लाग्यो तर बटैया लगाउँदा केही शर्तहरु हुने गर्छन् । लगाउनेहरुसँग त केही कुरा भएको छैन । के कति शर्त मान्नुपर्ने हो त्यो त उनीहरुसँग प्रत्यक्ष कुरा गरे थाहा होला । तर यस कुराले मलाई दुई पक्षबाट छोयो । एउटा यहीँ केही गरेर खाने विदेश जाने सोच हो कि भन्ने लागेको छ । यदि यो मेरो अन्दाज ठिक हो भने यो असाध्यै सकारात्मक कुरा हो ।

एउटा व्यक्तिलाई आफ्ना आवश्यकता पूरा गरेर सन्तुष्ट भएर आफ्नो परिवारसँग बस्नु सबैभन्दा ठूलो सफलता हो । कमाउनकै लागि टाढा गएर फोनमा रुने अथवा पैसाको दुरुपयोग हुने घटना जति हाम्रो समाजमा देखियो, त्यसले पनि बरु सानै सही तर सन्तुष्टि नै उचित हो भन्ने प्रमाणित पनि भएको छ । त्यस वाहेक अन्यत्र गएर भिखमा हराउँदा हुने जोखिमको असर पनि कोरोना भाइरसले सिकाएको र देखाएको छ ।

घर आउन समेत नपाउने उता बस्न समेत नपाउने स्थिति भोगिरहेकाहरु यसका उदाहरण हुन् । यस वाहेक ज्यानको बाजी लगाएर कमाएको पैसा घरमा पठाउने यता श्रीमती सबै कमाई समेत लिएर धेरैजसो अरुसँग हिडिदिने अथवा नहिडे पनि अरुसँग मोज गर्ने घटनाहरु पनि प्रशस्त देख्न, सुन्न पाइएको छ । यो आर्थिक विकृति मात्रै नभएर सामाजिक विकृति पनि हो । पुरै परिवार सँगै बस्दा यस्ता समस्याहरु हाम्रै समाजमा अकल्पनीय थिए ।

कहीँकतै अपवादको रुपमा सुनियो भने अचम्म लाग्ने, डर लाग्ने, अति ठूलो अपराध मानिने स्थिति थियो । धेरै भएको छैन त्यो समय पनि थियो जति बेला सम्बन्धविचछेद हाम्रो समाजमा सोचभन्दा बहिरको विषय थियो । तर अहिले रेकर्ड लिँदा अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदकै छन् भन्ने सुनिन्छ । यो सबै भौतिक सुख जुटाउने प्रयासको परिणाम हो । आज विहानको विषयको अर्को पक्ष धनेको हाम्रो समाजमा भनौँ वा राष्ट्रमा पुँजी यस्तो समुदायसँग छ जसले मिहिनेत गर्नु हुन्न भन्ने मान्यता राख्छ ।

सम्पत्ति (पुँजी) छ भने मिहिनेत गर्न आवश्यक पर्दैन भन्ने सोचले मिहिनेत गर्ने अर्कोवर्ग निर्माण भएको छ । मेरो पुँजी वा सम्पत्तिको सदुपयोग मैले नगर्ने, अरुकै भर पर्ने अनि ती अरुले पेशा फेरेर वा विदेश गएर वा कुनै कारणले मेरो पुँजी सञ्चालन नगरिदिने हो भने ती सबै निष्क्रिय हुने उदाहरणको लागि जमिन बाँझो हुने जनावर बेच्नुपर्ने जस्तो स्थिति भोगिएकै छ । अहिले आएर केही हदसम्म व्यापारमा लगानी भएको छ तर व्यापारले विकास हुँदैन ।

विकासको लागि उत्पादन जरुरी हुन्छ । जमिनबाट हुने उत्पादन हुन् वा उद्योगबाट हुने उत्पादन हुन् आवश्यक कुरा उत्पादन हो । महँगो कपडा लगाउने, महँगो गाडी चढ्ने अनि विदेशबाट आयात गरिएको धनियाको पात वा सिन्की किनेर खाने भनेको त्यो कपडा वा गाडी बनाउनेको विकास गरिदिने हो । आफू खान, लाउनलगायत सबै कुरामा अर्का भर पर्ने चरित्र हो । यही चरित्रले नेपालको अर्थनीति बिग्रेको हो । कतै अब उत्पादनमा ध्यान जान्छ कि ः खाने कुरा मात्रै आत्मनिर्भर हुन सके पनि धेरै कुरा सुधार गर्न सकिन्थ्यो ।

२०७७ बैशाख २८ गते

यति कमजोर नेपाल कहिल्यै भएन, सायद । अब त सार्वभौमसत्तामाथि पनि शंका गर्नुपर्ने भएको जस्तो देखिन्छ । हुन त अलि बढी राष्ट्रवादी सोचले ग्रस्त भएँ कि ? सत्तामा बस्नेहरुले यति कुरा सहनु नै पर्छ कि ? तर पनि एउटा विदेशीले नेपालको सुरक्षाकर्मीलाई राजधानीको सडकमै कन्ठालो समाएर, बर्ढी पकडेर लातारेर आफ्नो झोक देखाउँदा समेत यसलाई सत्ता पक्षले कारवाही गरेको थाहा पाइँदैन ।

बरु चीन आफैले राजदूतावासमार्फत् विज्ञप्ति जारी गरेर ‘कानुन मान्नुपर्ने’ भन्ने आशय प्रकट गरेको समाचार आयो तर कानुन मनाउन के भयो त्यो थाहा छैन । संयोग हो वा सल्लाह हो यसैबेला सीमा सिल गर्न बसेका प्रहरीलाई भारतीयहरुले पनि ढुङ्गामुढा गरेको समाचार आएको छ । हाम्रो देशको सरकारमा चिनिया राष्ट्रपतिले एकछिन नेपाल टेक्नुलाई मात्रै पनि आफ्नो कुटनीतिक सफलताको रुपमा व्याख्या गरेको धेरै भएको छैन ।

मोदीको नेपाल भ्रमणहरुको बेला मोदीजस्तै सिङ्ग्रिएर सँगै हाम्रा प्रधानमन्त्री बसेको पनि केही वर्ष मात्रै भएको छ । कुरा सुन्दा चिनिया रेलले हामीलाई सपनाको संसारमा पनि पु¥याउँछ । तर चिनिया मुक्का वा चिनियाहरुसँगको खुला सडकमै भएको घम्साघम्सी, लतारालतार र रक्ताम्मे भएको प्रहरी अनि सरकारको यस बारेमा मौनताले के कल्पना गर्ने ? सानो संख्यामा आएका चिनियाहरुको व्यवहार यस्तो छ भने रेलबाट ठूलो संख्यामा आवतजावत सुरु भए के कस्तो होला ? त्यो पनि कल्पना गर्नुपर्ने भएको छ ।

यो सबै ठाउँभन्दा पनि हुन्छ होला, लकडाउन भएको बेला, पाकिस्तानसँगको गोलाबारीमा आफ्नो मेजरलगायतका माथिल्लो तहका सेना गुमाएको भारतले लिपुलेक हुँदै बाटो बनाएर उद्घाटन समेत गरेपछि नेपालले थाहा पायो । धन्य हाम्रो कूटनीतिक अक्षमता ! नक्सा सार्वजनिक गरेको त थाहै थियो । अब के हुन्छ भनेर सामान्य सतर्कता समेत राख्न आवश्यक सम्झिएन । नेपालमा भारत र चीनलाई समय समयमा नजिक बनाएर शासनमा टिक्ने कूटनीतिको परिणाम हो, यो । बनेको सडकमा मानसरोबर जाने तीर्थयात्री मात्रै हिड्दैनन् ।

त्यहाँ भारतीय र चिनिया व्यापारीदेखि सबै हिड्ने हो । त्यति मात्र होइन त्यो विन्दुबाट आवतजावत गर्न सकिने सहमति भारत र चीनबीच भएकै हो । यो कुनै गोप्य कुरा थिएन । त्यतिबेला नेपालको कूटनीतिक पहल सायद निद्रामा थियो । अहिले हामीलाई थाहै नदिएर जस्ता भनाइ समेतको एउटा विज्ञप्ति आएको छ । त्यो विज्ञप्तिले त्यो स्थानमा हाम्रो स्वामित्व स्थापित गर्न केही मद्दत गर्ला भन्ने कुरामा विश्वास गर्नेमा सायद परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत पर्दैनन् होला ।

आम नेपालीलाई यस विषयमा उठाइएको प्रश्नको लागि उत्तर दिनलाई मात्र यो विज्ञप्ति काम लाग्ने हो । नेपालका लागि न त भारतले चीनसँग सम्बन्ध बिगार्छ न त चीनले भारतसँग नै । यति पनि नबुझ्नेहरुको हातमा सरकारको नेतृत्व भएको बेला भोलि रेल कुदाइदिउँला भन्ने लोभ देखाएर आज आफ्नो स्वार्थ पूरा गर्नसक्नेहरु सफल भएकै हुन् । हामी भने सार्वभौमिकता खोज्न र परिभाषित गर्न पनि सकिरहेका छैनौँ ।