लगानीमैत्री वातावरणको एजेण्डा

  •   
  •  

व्यवसायी नेताहरूको टिकुलीगढमा जमघट
खेमराज रिजाल
लमही, २३ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उद्योगी व्यवसायी नेताहरुको जमघट शनिवार देउखुरीको टिकुलीगढमा भएको छ । चुनावी माहोलमा आएका वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको टिम पश्चिम नेपालको प्रचारप्रसारसँगै लुम्बिनीको स्थायी राजधानी देउखुरीमा आएका हुन् ।

कार्यावधि सकिए पनि कोरोना भाइरसको संक्रमणका कारण पटक–पटक अधिवेशन सरिरहेको अवस्थामा आउँदो मंसिर १० गतेदेखि अधिवेशनको निश्चित भएपछि उद्योगी व्यवसायी नेताहरु चुनावी मैदानमा देशदौडाहामा छन् । त्यसै अनुरुप देउखुरीमा वरिष्ठ उपाध्यक्षका लागि प्रत्यासी उम्मेद्वार चन्द्र ढकालले मुलुकको आर्थिक समृद्धिसँगै लुम्बिनी प्रदेशको आर्थिक समृद्धि र आर्थिक समृद्धिका लागि आफूहरुले बृहत योजना ल्याउने बताएका छन् ।

देउखुरीमा गोरक्षसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकालले स्वर्गद्वारीमा केवलकारको योजनालाई साकार बनाउन लगानीमैत्री वातावरण बनाउने आफ्नो जिम्मा भएको बताएका छन् । आफूहरुले लगानीमैत्री वातावरण खोजिरहेको अवस्थामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणले केही असहज परिस्थिति भए पनि समानुपातिक विकासमा आफूहरु सधैँ लागिरहने उनको अभिव्यक्ति थियो ।

‘तपाईंहरुको होनहार नेता विमलजीसँगै म छु, उहाँहरुको सहकार्यमा हामीले यो क्षेत्रको विकास निर्माण गर्ने हो, त्यसैले पनि हामी समस्त विकासप्रेमी उद्योगी व्यवसायीहरु एउटै नारा लिएर चुनावी मैदानमा छौँ’–ढकालले भने । दाङबाट बिमल रिजाललाई जिताएसँगै केन्द्रमा आफूले चुनाव जितेको अवस्थामा आर्थिक समृद्धिको नयाँ खाका लिएर मुलुकलाई आर्थिक समृद्धिमा लैजाने आफूहरुको योजना भएको पनि बताए । यो अभियान अघि बढिसकेको भन्दै उनले अब अधिवेशन नसर्नेमा ढुक्क हुन पनि आम व्यवसायीहरुलाई आग्रह गरे ।

चुनावी अभियानमा यस अघिका वरिष्ठ उपाध्यक्ष चण्डी ढकाल पनि चुनावी माहोलमा उत्रिएका छन् । उनी पनि यही चुनावी अभियानमा थिए । चन्द्र ढकालको विजय आम व्यवसायीहरुको जिजय भएको भन्दै क्षेत्रगत रुपमा पनि बिमल रिजालको केन्द्रीय सदस्यको उम्मेद्वारी भएको अभिव्यक्ति उनको थियो । ताप्लेजुङदेखि दार्चुलासम्मका आम उद्योगी व्यवसायीहरुको चुनावी अभियानमा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यका उम्मेद्वारहरुको दाङमा उपस्थिति रहेको थियो ।

व्यावसायिक समृद्धिका लागि मेरो उम्मेदवारी : केन्द्रीय सदस्य प्रत्यासी रिजाल

सोही कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका प्रत्यासी बिमल रिजालले सबै क्षेत्रका व्यवसायीहरुको आर्थिक समृद्धिका लागि आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।

टिकुलीगढमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै रिजालले महासंघको इज्जत बढाउन र साना तथा मझ्यौला व्यवसायीहरुको वृत्तिविकासका लागि पनि आफूले पहल गर्ने गरी महासंघमा नेतृत्व गर्न चाहेको बताएका छन् । ‘हामी उद्योगी व्यवसायीहरुबीच धेरै समस्याहरु छन्, भिसिटिएरको कुरा होस् वा स्थानीय कर र द्वेधकरका विषयमा हामीले पर्दाफास गर्ने छौँ’—रिजालले भने ।

चुनावी माहोलमा सबैको एकताबद्ध औद्योगिक समृद्धि रहेको थियो । पश्चिम नेपालबाट चुनावी अभियानमा जुटेका व्यावसायिक नेताहरुले देउखुरीलाई लुम्बिनी प्रदेशको उचित राजधानी घोषणा भएको भन्दै यसलाई उद्योग वाणिज्य महासंघले समन्वय गरी व्यापारिक केन्द्र बनाउने समेत अभिव्यक्ति दिएका थिए ।

सो अवसरमा पूर्व केन्द्रीय सदस्य ध्रुव भारी श्रेष्ठ, दाङ उद्योग वाणिज्य संघका नारायण भुसाल, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसे, लमही उद्योग वाणिज्य संघका रत्नप्रसाद श्रेष्ठलगायतका स्थानीय उद्योगी व्यवसायी नेताहरुको पनि सहभागिता रहेको थियो ।
पाँच नम्बर प्रदेशको स्थायी मुकाम दाङ घोषणा भएसँगै नेपालभरका उद्योगी व्यवसायी नेताहरु चुनावी मैदानमा देखउरीमा जुटेका थिए ।

सो अवसरमा केन्द्रीय सदस्यका प्रत्यासी उमेश दालमिया, खोटाङका राजु दयालु, गोदनाथ दवाडी, तारानाथ घिमिरे, जमसेर अलिमिया, मोहन श्रेष्ठ, कृष्ण अवाल, कृष्ण श्रेष्ठ, पंक दुलाल, अजरमान जोशी, राजन श्रेष्ठ, राजकुमार न्यौपाने, अशोक ताम्राकार श्रीकृष्ण बैदीलगायतका उद्योगी व्यवसायी नेताहरु चुनावी माहोलमा देउखुरी आएका थिए ।

व्यावसायिक समृद्धिको अभियानको जित : पूर्व केन्द्रीय सदस्य भारी

यसैबीच पूर्व केन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ भारीले व्यवसायी समृद्धिका एजेण्डा लिएर चुनावमा आउने नेतृत्वको जित सुनिश्चि भएको बताएका छन् । आफू अहिले चुनावी माहोलमा नआएपछि चन्द्र ढकालको टिमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामी चाहन्छौँ समृद्ध उद्योग, समृद्ध अर्थतन्त्र, त्यसका लागि पनि हामीले कर्मठ व्यवसायी नेताहरुलाई जिताउन अभियान थालेका छौँ’–पूर्व केन्द्रीय सदस्य भारीले भने । यसैगरी दाङ उद्योग वाणिज्य संघले पनि चन्द्र ढकालको टिमलाई विजयी बनाउन आफूहरुको पहल भएको जनाएको छ ।

व्यवसायीका पीडा बुझ्ने र व्यवसायीहरुका हरेक समस्यालाई अंगीकार गर्ने ढकालको नेतृत्वको टिमलाई विजयी बनाउन पनि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले सोही कार्यक्रममा आह्वान गरेका छन् ।

पश्चिम धनगढीदेखि चुनावी माहोलमा रहेको सो टोलीले शनिवार नै बुटवल उद्योग वाणिज्य संघमा पनि सामान्य भेटघाट गरेको छ । लुम्बिनी प्रदेश लगानीमैत्री क्षेत्र भएको भन्दै मुलुककै लगानीमैत्री प्रदेश लुम्बिनी बन्नेमा पनि व्यावसायिक नेताहरुले आश्वासन दिएका थिए ।