‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ महान कवि बालकृष्ण समले लेखेका थिए । किनकि विज्ञान धेरै जटिल विषय हो तर पनि विज्ञान सबैका लागि अपरिहार्य पनि हो । त्यसैले त उनको लगाम विज्ञानमा जोडियो । ज्ञान र विज्ञानले मात्रै जीवन सार्थक हुनसक्छ । धेरै जसो पढेलेखेकाहरु स्वदेशभन्दा विदेशमा नेपालबाट पलायन भएका छन् । धेरै पैसा कमाउने अभिप्रायले होस् वा अन्य मोहले आफ्नो देश छाड्ने क्रम बढ्दो छ ।
मिजासिला, इमानदार कर्ममा विश्वास गर्ने तुलसीपुर–७ निवासी विष्णुप्रसाद भण्डारीले भने विदेशको यात्रा त्यागेर स्वदेशमै आफूले शिक्षाको ज्ञान बाँड्दा आफू खुशी भएको सुनाए । अमेरिका जाने सोचका साथ टोफेल गर्न लागेका भण्डारीले त्यसलाई छोडेर आफ्नै जिल्लामा आएर शिक्षाको क्षेत्रमा आफू लागेको सुनाए । उनका खुशीका पलहरु खोज्दै जाँदा उनले आफूले स्वदेश त्यो पनि दाङमा आएर शिक्षाको क्षेत्रमा लाग्न पाउँदा आफू खुशी भएको सुनाए ।
‘मेरो पहिलो खुशी स्वदेशमै शिक्षाको ज्ञान दिन पाउँदाको हो, त्यही लेखिदिनुहोला, मेरो पहिलो खुशी’ –भण्डारीले भने । त्रिमुभवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट एमएस्सी फिजिक्स पास गरेका भण्डारीले २०६५ सालमा काठमाडौंमा ह्वाइट हाउस रिल्यान्स क्लेज र इवाभुरा हस्पिटल प्रालिमा अध्यापन गरेको बताए ।
उनले अमेरिका जाने सोचलाई त्यागेर २०६६ सालमा सुरेन्द्रबहादुर जिसीसँग दाङ आएको बताए । त्यससँगै तुलसीपुरमा साइन्स कलेज खोलेको र सबैको साथ र सहयोगले कलेजले सम्बन्धन पाएको दिन पनि खुशी भएको सुनाए । तत्कालीन मिनर्वा बोर्डिङलाई लिएर गोरखा माध्यमिक विद्यालय खोलेको र गोरखा स्कूलको सञ्चालक समितिमा रही विज्ञान संकाय संयोजकको रुपमा आफूले जिम्मेवारी पाउँदा अर्को खुशी मिलेको सुनाए ।
‘मैले मेरो पढाइ सकेर दाङको तुलसीपुर क्षेत्रमा विज्ञान विषयको अध्ययन गर्नसक्ने अवसर हजारौँ विद्यार्थीलाई प्रदान गर्न अग्रणी भूमिका खेल्न पाएकोमा पनि खुसी छु’–भण्डारीले भने । उनले आफूलाई त्यसमा निकै गर्वको मशुस भएको पनि सुनाए । त्यसका साथसाथै आफू प्रत्यक्ष संलग्न भइ पब्लिक ज्ञान ज्योति, गुरु जजुर मावि र गोरखा माविमा विज्ञान विषय अध्ययन अध्यापन गराउने भूमिकामा पनि खुशी व्यक्त गरे ।
वि.सं २०४० सालमा आसम भारतमा जन्मिएका भण्डारीले कक्षा १ देखि १० सम्म मावि कालाखोलामा पढेको र त्यहाँ पनि प्रथम हुँदै एसएलसीमा पनि प्रथम पटक प्रथम श्रेणीमा उत्तीर्ण हुँदा निकै खुशी लागेको सुनाए । त्योसँगै उनले त्रिभुवन मल्टिपल क्याम्यस पाल्पाबाट प्रथम श्रेणीमा उत्तीर्ण भएको र दाङमा आइ पढाइरहेको समयमा एमएस्सी फिजिक्सको इन्टेन्सीमा नाम निस्कँदा धेरै खुशी भएको बताए ।
‘मैले उच्च शिक्षा अध्ययन गर्नका लागि नाम निकाल्दा पनि अर्को खुशी प्राप्त भएको थियो’ –भण्डारीले भने । त्यस्तै एमएस्सी फिजिक्स पास गरिसकेपछि अन्य साथीहरु अमेरिकालागायतका देशमा गएर पिएचडी गरी डा लेखाउन सफल भए पनि आफू स्वदेशमै बसी सयौँ संख्यामा डाक्टर बनाउन सफल भएकोमा आत्मसन्तुष्टि आफूलाई मिलेकोमा पनि भण्डारीले खुशी व्यक्त गरे । ‘मैले पढाएका धेरैजसो विद्यार्थीहरु विभिन्न क्षेत्रमा छन्, उनीहरुले विभिन्न समयमा सम्झछन्, भेट हुन्छ उनीहरुको प्रगति देख्दा मलाई निकै खुशी लाग्छ’–उनले भने ।
शिक्षा क्षेत्रमा लाग्दा आर्थिक रुपमा सवल नभए पनि सामाजिक क्षेत्रमा भने सफल भएको भन्दै उनले खुशी व्यक्त गरे । ‘आर्थिक रुपमा भन्दा पनि म सामाजिक क्षेत्रमा सफल भएको जस्तो लाग्छ, सबै कुरा पैसा होइन म त्यसैमा खुशी छ’– भण्डारी भन्छन् । उनले गोरखा गु्रपको एक अङ्ग भएर लुम्बिनी प्रदेशमा शिक्षामा केही गर्ने धोको भएको र त्यसलाई पूरा गर्ने विश्वास समेत व्यक्त गरे । गुरु जजुर माविमा ३ वर्ष अध्यापन गराउँदा साच्ची यो देशमा बसेर शिक्षा क्षेत्रमै केही गर्नुपर्छ भन्ने सोच आएको र मावि कालाखोलाबाट सफल विद्यार्थीको रुपमा हजारौँ विद्यार्थीहरुबाट छनोट भई सम्मानित हुने अवसर पाएको क्षण जीवनकै खुशीको अर्को पल आफूलाई प्राप्त भएको सुनाए ।
शिक्षा क्षेत्रमै रही बालबालिकाको शैक्षिक उन्नतिका लागि कलम चालाउने इच्छा रहेको र साहित्यमा सौगात उपनाममा गजल कविता, कथाहरु लेखेको र सो क्षेत्रमा पनि कलम चलाउन पाउँदा आफूलाई खुशी मिलेको उनले बताए । भण्डारीले आफूले मिहिनेत र इमान्दारीपूर्वक काम गरे जस्तोसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ र सबैको प्रिय हुन सकिने बताए । आफूहरुजस्ता पढेलेखेका युवाहरु यही देशभित्र बसेर केही गर्नसकेमा आउने पिढीमा पनि आशा जाग्छ भन्ने आफू रहेको भन्दै उनले आफू यसैमा खुशी भएको सुनाए ।
भण्डारीले आफूले पढाएका विद्यार्थीहरु यही देशकै माटोमा कर्म गर्न छोडेर विदेश पलायन भएको देख्दा नराम्रो महशुस हुने सुनाए । २०७२ सालमा निर्मला भुसालसँग विवाह बन्धनमा बाँधिएको र २०७६ सालमा घरमा लक्ष्मी स्वरुप छोरी जन्मँदा अर्को खुशी प्राप्त भएको सुनाए । तुलसीपुर नगर जेसीजका महासचिव भइ जेसीज जस्तो सामाजिक संस्थामा रहेर काम गर्न पाएकोमा उनले अर्को खुशी व्यक्त गरे ।
त्यस्तै उनले गरिब एक जना विद्यार्थीलाई कालाखोला स्कूलमा पढाइरहेको र उनलाई सहयोग गर्न पाउँदा पनि खुशी प्राप्त भएको सुनाए । भण्डारीले शैक्षिक सँगसँगै विभिन्न सामाजिक काममा आफू लागेर सेवा गर्न पाउँदा पनि खुशी लागेको सुनाए । उनले आप्mनो सफलतामा घरपरिवार, सार्थीभाइ सबैको साथ सहयोग पाएको र रहेकोमा पनि खुशी व्यक्त गरे । भण्डारीले–‘क्षणमा खुशी हुनुहोस, पर्याप्त छ, प्रत्येक क्षण हामीलाई चाहिने सबै हो, बन्दी होइन’ मदर टेरेसाको यो भनाइलाई सधैँ मनन् गर्ने गरेको सुनाए ।
तुलसीपुर–७ निवासी विष्णुप्रसाद भण्डारी गोरखा माविका विज्ञान संकाय संयोजक, तुलसीपुर नगरजेसीजका पूर्व महासचिवका साथै शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् । त्यसो त विष्णुका अझै धेरै खुशी पनि छन् । जुन उनको भावनामा जोडिएका छन् । सबैभन्दा ठूलो खुशी त आत्मसन्तुष्टि मात्रै हो । आत्मसन्तुष्टिमा अरुहरु पनि सन्तोष भएको झल्को विष्णुले देखेका छन् । कर्मको फल खुशी हो ।
मिहिनेतको कमाई खुशी हो अनि खुशी आफ्नो मनोभावना पनि हो । तर खुशी र भाग्यलाई जोड्न मिल्दैन । कर्म गरेपछि मात्रै फलको आशा खोज्नु हो । तर पनि भण्डारीले शिक्षाको दियोमा खुशी देखिरहेका छन् । भन्छन्–‘जान्ने चाहना र अग्रसरता खुशी हो, सिकाइ पनि एउटा खुशी हो, तर यी सबैमा आत्मसन्तोष पनि जोडिएको हुनुपर्दछ ।’
प्रस्तुती : बालाराम खड्का