नाम स्मरणबाट हुने उपलब्धि

नारायणप्रसाद श्रेष्ठ
नाम स्मरणको कम्पनबाट मानव जीवनमा आउने परिवर्तनले सत्यको उजागर गर्छ । यही स्मरणले सकारात्मक भाव जागृत भई व्यवहार र कर्ममा शुद्धता आउँछ भन्ने विश्वास र भरोषाका साथ हिन्दूहरुको महान चाड विजयादशमी २०७७ मा आदिशक्ति जगदम्बा भवानी दुर्गाको सबैले स्मरण गरी सम्पन्न गरियो ।

कोरोनाको कारण मन्दिर पूजाघरमा मानिसको उपस्थिति वञ्चित गराउन खोजिए पनि मन्दिरमा ईश्वरीय शक्ति रहेको आत्मविश्वास गरी विभिन्न मठमन्दिरमा भक्तजनको उल्लेखनीय उपस्थिति रह्यो । म उसको लागि, ऊ मेरो लागि भनी सेवा र सद्भाव कायम गर्ने दिशामा सबैको ध्यान आकृष्ट हुन पुग्यो । जगदम्बा भवानीले सबैको कल्याण गर्नुहुन्छ भन्ने विश्वासले सबैले एक मन र एकचित्त गरी आराधना गर्दै बडादशैं सम्पन्न हुन पुग्यो ।

अब हिन्दूहरुको महान पर्व दोस्रो ठूलो चाड शुभदीपावली तिहार २०७७ हाम्रो घरसंघार नजिक आइपुग्दै छ । यसैबेला नेपाल संवत ११४१को पनि सुरु हुँदै छ तथा केही दिनपछि छठ पर्वले पनि हाम्रो घरआँगन सजिने छ । तसर्थ, यस अवस्थामा हामी सम्पूर्ण मानव जगतको सुख, समृद्धि तथा सुस्वास्थ्यको मंगलमय शुभकामना दिन चाहन्छु ।

पर्व मानव जीवनलाई सकारात्मक चिन्तन बढाउने उत्तम आधार भएकोले यसलाई आफू अनुकूल वातावरण बनाई घाँटी हेरी हार्ड निल्नु भन्दै आफूसँग जेजस्तो हैसियत छ त्यसैमा रमाउन हामी अनुरोध पनि बिसाउँछौँ । असत्यको नाश भई सत्यको विजय हुने यथार्थपरक चिन्तनलाई सधैं शिरोधार्य गरी नाम स्मरणबाट पनि ईश्वरीय आराधना हुने र यसैको कम्पनबाट आत्मसन्तुष्टि पनि प्राप्त हुने बेला यसतर्फ गम्भीर हुन अनुरोध पनि बिसाउँछौँ ।

एउटै कुरालाई जब दोहो¥याएर वाचन गरिन्छ तत्पश्चात त्यसप्रति लगाव बढ्न जान्छ । प्रतिफल प्राप्तिपछि मानिसको सोच र विश्वास बढ्न थाल्छ । तेरो र मेरोको भावना हटि आत्मीयता साटासाट गर्ने अवस्था सिर्जना हुन पुग्दछ । यही आकांक्षा र विश्वासले होला ऋषिमुनिहरुले पनि यसलाई महत्व दिई एक मन एक चित्त गरी ध्यान, योग, नाम स्मरण गर्ने संस्कारको विकास गराएको होलान् ।

पूजाआराधना नाम स्मरण गर्ने सजिलो माध्यम हो भनी यसतर्फ चिन्तन बढाएका होलान् । प्रेम र मिलनको आनन्द प्रतीक्षामा हुन्छ भनेझैँ नाम स्मरण र आराधना नै आत्मशुद्धिको महत्वपूर्ण विकल्प हो भनी यसलाई प्राथमिकता दिएको हुनुपर्छ । जुन प्रचलन यद्यपि चलिआएको छ । मानव जीवनलाई सहज गतिशील बनाउन मद्दत पु¥याइरहेको छ । आध्यात्मिक ग्रन्थ रामायणमा रावणले सीता हरण गरेर लगेपछि खोजको क्रममा जसरी हनुमानले राम नामको स्मरणबाट बाटोमा आउने विघ्नबाधालाई हटाउँदै समुद्र पार गरी सीतालाई पत्ता लगाएका थिए ।

त्यसरी नै शक्तिपीठको आराधना र ईश्वरीय नाम स्मरणले आत्म शुद्धिकरण भई जीवन र जगतमा सकारात्मक भाव जागृत हुन्छ भन्ने मान्यता राखी हामी सबैले विभिन्न पर्व उत्सवलाई बढी धुमधामका साथ मनाउँछौँ, स्वीकारेका छौँ । यति मात्र होइन, यसबाट सेवा र समर्पणमा आधारित कर्म गर्ने शक्ति उजागर भई मनमा पवित्रताको बोध हुने हुँदा आफूमा अन्तरनिहित शक्तिलाई नाम स्मरणको माध्यम सार्थकता दिन पनि हामी लागिपरेका छौँ ।

तसर्थ यसको लागि भावरहित आराधना होइन सत्यमा आधारित कर्म र व्यवहार प्रदर्शन गर्नु पर्छ भनी हामीमा दृढता हुन जरुरी छ । हामीलाई पथप्रदर्शक गर्ने आध्यात्मिक ग्रन्थको गहिरो अध्ययन र विश्लेषण गर्न जरुरी छ । भावरहित र देखावटीपन अहंकार र घमण्डको सूचक भएकोले यस कुरालाई सबैले मनन् गर्नुपर्छ । रसबिनाको उँखुको प्रयोजन नहुने सत्यलाई बुझ्न जरुरी हुन्छ । त्यसैले देह अभिमानी भई सुख सम्पत्तिको मोहमा फसी बनावटीपन देखाउनु भनेको पतनको बाटो अवलम्बन गर्नु हो भन्ने बोध गरी आफूलाई सही दिशामा प्रस्तुत गर्नु पर्छ ।

सम्पत्ति मोहमा उसलाई क्षणिक प्रशंसा र आत्मसन्तुष्टि त मिल्ला तर त्यो स्वार्थपरक चिन्तनले ल्याएको परिणति भएकोले यसबाट निस्कने परिणाम सन्तोषजनक नहुनसक्छ । यसतर्फ गम्भीर चिन्तन हुनुपर्छ । क्षणिकताले ल्याउने दुष्परिणामको ख्याल राखी परिस्थिति अनुकूल आत्मदेखि प्रष्फुटन हुने नाम स्मरण र निःस्वार्थ कर्मलाई परिस्कृत हुने गरी आफूलाई प्रस्तुत गर्ने अध्यास गरिरहनु पर्छ । जसरी प्रकृतिले अदृश्य शक्तिको रुपमा जगत कल्याण गरिरहेको हुन्छ त्यसरी नै नाम स्मरण र पूजापाठ शक्ति उजागर गर्ने सजिलो माध्यम भएकोले यसलाई निरन्तरता दिन जान्नु पर्छ ।

शक्तिको भरमा विचार लाद्ने काम कदापि गर्नु हुँदैन । जीवनलाई गतिशील बनाउने साधन प्रयोग गर्दा बाटामा जति पनि उतारचढाव हुन्छन् तिनलाई मन मन्दिरभित्रको स्वच्छ तराजुमा तौलेर हटाइ सच्चा भक्तिपूर्वक नाम स्मरणको सत्यलाई स्वीकार्ने वातावरण बनाउनु पर्छ । तन र मनलाई एकाग्र बनाई सच्चाइको अनुभूति हुने गरी मनको पवित्रतासँगै निस्कने उत्तम भाव नाम स्मरणलाई जीवनको अभिन्न कर्मभित्र राख्नुपर्छ । समय र परिस्थिति अनुकूल सत्यको नजिक पुग्ने सरल उपाय अवलम्बन गर्ने बानीको विकास गर्नु पर्छ ।

सामान्य कपुरको उदाहरण लिने हो भने यसले जुन रुपमा आफूलाई प्रस्तुत गरेको हुन्छ, वातावरणलाई प्रज्वलित र सुगन्धित बनाएको हुन्छ त्यसरी नै जीवनलाई पनि नाम स्मरणको माध्यम प्रज्वलित बनाउनेतर्फ ध्यान बढाउनु पर्छ । कपुरलाई यदि त्यसै छोडिदिने हो भने यो आपसेआप त्यसै बिलाएर सकिन्छ । यसबाट न कुनै उपलब्धि हुन्छ न त गुणको नै पहिचान हुन्छ । त्यसैगरी जीवनलाई पनि यसै छोडिदिने हो भने न त यसको गुणको पहिचान हुन्छ न त सार्थकता नै हुन्छ । तसर्थ, मनरुपी वस्त्रलाई कर्मरुपी अस्त्रले सजाइ जीवनलाई सहज गति दिने अन्तरनिहित शक्तिलाई पहिचान गर्नुपर्छ ।

शक्ति सबैमा हुन्छ तर पहिचान हुन सकेको हुँदैन । मृगले आफूबाट निस्केको (विणाबाट निस्केको) सुगन्धलाई खोजी हिडेझैँ मनुष्यले आफूमा अन्तरनिहित शक्तिलाई पहिचान नगरी भौतारिनु यो भुल हुनसक्छ । त्यसैले कपुरले उज्यालो र सुगन्धको अनुभूति गराएझैँ समयले पनि प्रकृतिसँग रामाउँदै जिवात्माको रक्षा गरेको हुन्छ भन्ने सत्यलाई स्वीकार गरी आफूलाई परिचालन गर्नु पर्छ । नाम स्मरणको शक्तिबाट आउने भाइब्रेसन र निःस्वार्थ प्रेमले ल्याउने परिवर्तनबाट मानव आचरण र व्यवहारमा शुद्धता आउने सत्यलाई स्वीकार गर्न सक्नुपर्छ ।

सबैले आपसी विश्वास र भरोषा जगाइ शुद्ध मन र पवित्र विचारले नाम स्मरणभित्र लुकेको सत्य पहिचान गर्न सक्नुपर्छ । एकअर्काप्रति देखिने वैरभाव र अविश्वासलाई हटाई मनको पवित्रताबाट निस्कने स्मरण शक्तिलाई सदुपयोग गर्न सक्नुपर्छ । स्मरण गर्नु मानवलाई सहज गतिशील बनाउन सकिने आधार हो । त्यसैले स्मरणबाट हुने सत्यलाई बुझी आफूलाई प्रस्तुत गर्नुपर्छ ।

शुद्धताले जीवन र जगतलाई भावनात्मक रुपबाट सहज गति दिएको हुन्छ । सबैमा आत्मीयता प्रदर्शन गरेको हुन्छ । जीवनलाई सहज अवतरण दिएको पनि हुन्छ । तथापि, विचारको भिन्नताले केही मानिसहरु नाम स्मरण र पूजापाठलाई ढोङको संज्ञा दिन पनि पछि पर्दैनन् । यो त मानिसले मानिसलाई ठग्ने, छल्ने बाटो हो भन्ने पनि भन्न हिच्किचाउँदैनन, वास्तवमा यो सत्य होइन । प्रेम र नाम स्मरणबिना त कोही पनि बाँच्न सकिँदैन ।

हुनसक्छ यसको विधि फरक पर्न सक्छ । आफूमा अन्तरनिहित शक्ति उजागर गर्ने क्रममा कसैले ध्यान गर्लान्, कसैले पूजा गर्लान्, कसैले नाम स्मरण गर्लान्, कसैले नाम स्मरण र पूजा गर्लान्, कसैले सेवा नै धर्म हो भनी सेवारत होलान् । वास्तवमा यी सबै आफ्नो परिवेशलाई सन्तुष्ट बनाउने आधार हुन् । अघिपछि जतिसुकै कुरा गरे पनि अप्ठेरो परेको बेला मानिसले ईश्वरको नाम स्मरण गरेकै हुन्छ ।

तसर्थ, सत्य के हो ? यो कहाँ र कसरी प्राप्त हुन्छ भनी भड्किनुभन्दा आफूभित्रको अन्तरनिहित शक्तिलाई उजागर गर्न आफैभित्रको ईश्वरीय तत्वको पहिचान गर्न जरुरी हुन्छ । जो नाम स्मरणको माध्यमबाट सहज अनुभूति हुनसक्छ । यो कुरा सबैले स्वीकार्न जरुरी छ । समयले पनि यही भन्छ ।