खेमराज रिजाल
बेलझुण्डी, १९ कार्तिक । सायद साढे पाँच महिना पुग्यो होला, साथी राकेश बस्नेतले कोरोनाका बिरामी बेलझुण्डी अस्पतालमा आउँदैछिन रे, उनको तस्वीर खिचौं न भनेका थिए । उनैको आग्रहमा हामी बेलझुण्डी कोरोना विशेष अस्पतालमा पुगेका थियौं ।
एकैछिनमा लक्ष्मीलाई लिएको एम्वुलेन्स आयो, उनी एम्वुलेन्सबाट टक्क झरिन्, अनि भनिन्– ‘मेरो बेड कहाँ हो, अनि म घुम्न पाउने लोकेशन कहाँ हो ?’ कर्मचारीले सुझाइरहेका थिए, तपाईको बेड तयार छ, त्यही आसपासमा मात्र घुम्नुहोला, खानाको व्यवस्था यही अस्पतालमै हुन्छ ।’ राकेशले तस्वीर खिचे, मैले नियालिहेको थिएँ, उनलाई अपहरणको शैलीमा स्थानीय सबै संयन्त्र प्रयोग गरी ल्याइएको थियो ।
कारण उनी विदेशबाट आउने जहाजमा सँगै सिटमा बसेका एक नागरिक संक्रमित भएका थिए, त्यसैले उनको खोजी प्रहरी हेडक्वाटरले समेत गरेको थियो, काउन्सिलिङको पाटो भने शून्य थियो ।
परैबाट लक्ष्मीको तस्वीर खिचेर फर्कियौं, तर अस्पताल व्यवस्थापनले अस्पतालमा आएको नाम गोप्य राख्न भनेको थियो । त्यसैले अहिले मात्रै लेख्दैछु लक्ष्मी वलीलाई । बबई गाउँपालिकाकी यी युवती विदेशी उडानमा आएकै कारण उनको सोधखोज भएको थियो, अनि अस्पताल उनी आउने खवरसँगै हामी पनि झस्केका थियौं ।
हातमा ग्लोव, मुखमा मास्क अनि सेनिटाइजर दलेर बेलझुण्डी कोरोना विशेष अस्पताल परिसरमा । त्यहाँ सेनाको टुकुडीले त्यसबेला एउटा पाल टाँगेको थियो, सशस्त्र प्रहरीको पनि उपस्थिति थियो, अस्पताल गेटमा नियमित सुरक्षाकर्मी र निरन्तर निगरानी । मलाई लागेको थियो, हामीले मृत्यु अस्पताल बनाएका थियौं, त्यसैले त स्थानीयबासीहरुले पनि त्यो अस्पतालका बिरामीले खाना खाएका भाडाकुँडा आवश्यक स्थानमा डिस्पोज गरिएन भनेर आन्दोलन पनि गरेका थिए, त्यो समाचार मैले प्रमुख बनाएको पनि थिएँ ।
हो, मैले अर्को कुरा पनि स्मरण गराउन चाहन्छु, कि हामीबीच कोरोना भाइरस आउने नै छैन भनेर । त्यसैले बाँके जिल्लाको नरेनापुरका संक्रमितहरुलाई उतै उपचार गर्नुको साटो बेलझुण्डीको कोरोना विशेष अस्पताल ल्याउनुहुँदैन भनेर । आन्दोलनका क्रममा एकदिन त बिरामीलाई आउनै रोकिएको पनि हो, त्यो नैतिक दबावको आन्दोलन थियो, किनकि कोरोना भाइरस हामीकहाँ आउने अवस्था छैन भनेर नै होनी ।
अन्ततः बेलझुण्डीमा कोरोनाका बिरामीको सिटप्याक भयो, अन्ततः सिकिस्त बिरामीलाई अन्यत्र रिफर गरिनुपर्ने अवस्था पनि आयो । हामी यो बेला आइपुग्दासम्म भने बजारमा धेरै चहल–पहल बढिरहेको छ, व्यापारिक गतिविधि सञ्चालनमा आएको छ । त्यस्ता शंकास्पद लक्ष्मीलाई राख्न धेरै स्कुललाई क्वारेन्टाइन बनाइए, धेरै सामुदायिक भवनलाई आइसोलेसन बनाइए, अनि धेरै वडामा कोरोनाका सम्भावितलाई निगरानी समूह पनि बनाइए ।
हो,लक्ष्मीको दोष थिएन, राज्यको प्रक्रिया नै थिएन, अनि हामी पनि डराएका थियौं लक्ष्मीसँग हाम्रो भलाकुसारी पनि हुन सकेन, किनकि उनी संक्रमितको दायरामा थिइन् । कस्तो परम्परा सरकारको कसैलाई गोप्य राख्ने, आफै खोलेपछि मात्रै संक्रमित सार्वजनिक हुने ? यो कुन कानुनमा उल्लेख छ, संक्रमितको नाम गोप्य राख्ने ? त्यसैले त संक्रमितहरुलाई संक्रमित नभएकाहरुले सामाजिक बहिष्कार गर्नेसम्मका पनि काम भएका छन् । संक्रमितका परिवारलाई समेत हेयका दृष्टिले हेरिन थालेका छन् । अनि यस्तै–यस्तै, नलेखूँ धेरै ।
अचेल त ठूलाबडाले फेसबुक वालमा आफू संक्रमित भएको जानकारी गराइरहेकै छन त, किन यो विभेद ? तल्लो तहका नागरिक संक्रमित भएको अवस्थामा राज्यले नाम गोप्य राख्ने र माथिल्लो तहकाले फेसबुकमार्फत सार्वजनिक गर्ने ? यसले समाजलाई धेरै संकट भएको छ । कोरोना अस्पतालमा मैले जसरी सामाजिक दूरीभन्दा पनि धेरै दूरी कायम गरेर हेरेको थिएँ, अनि राकेशले जुम गरी तस्वीर खिचेका थिए, अन्ततः त्यो सत्य रहेनछ ।
अहिले त अस्पतालबाटै बिरामीलाई भिडियो कलको सुविधा छ । हामी त बेइमानी रहेछौं, किनकि राज्यले हामीलाई बेइमानी हुन सिकाएको थियो, संक्रमितका विषयमा हल्लाखल्ला नगर्ने र उनीहरुको नाम पनि गोप्य राख्ने भनेर अस्पतालका सदस्य सचिव डा. शर्वेश शर्माले सिकाएका थिए ।
हो, त्यो अवस्थालाई अहिले बिर्सिऔंभन्दा पनि स्मरण गर्न योग्य छ । किनकि हामी बल्ल संक्रमणको घेराबन्दीमा छौं । हामीले छोएको व्यक्ति संक्रमित भइसकेको हुन सक्छ, हामीले खाएको चिया पसले पनि संक्रमित हुन सक्छ, अनि हामीले भगवान मानेका चिकित्सक स्वयं पनि संक्रमित भएका हुन सक्छन् । तर लक्ष्मीको जस्तो व्यवहार त अचेल छैन नि ?
राज्य किन यसरी उदासीन भएको हो भन्न मैले खोजेको पनि होइन, हामी नागरिक नै बेइमान छौं, किनकि हामीले कोरोना भाइरसको संक्रमणलाई नेग्लीजेन्सी ग¥यौं, त्यसको प्रतिफल माटो ढुंगोले होइन, हामी आफैले व्यहोर्ने न हो । सरकारले केही गर्ला भन्ने त मैले धिक्कारजस्तै मानेको छु, किनकि लक्ष्मीलाई पचास मिटर टाढा राखेर उपचार प्रक्रियामा ल्याउने सरकार अहिले संक्रमितलाई पनि घरमै बस भनेको छ ।
तर आजसम्म म संक्रमित भएको छैन भन्ने पनि आम पाठकहरुलाई ढुक्क बनाउन चाहन्छु, किनकि मेरो स्वाव परीक्षण गरिनुपर्छ भनेर कुनै पनि स्थानीय सरकार आएका छैनन, जस्तो कि बबई गाउँपालिकाकी लक्ष्मी वलीको जस्तै…।
कति निरंकुश थियो, अनि कति उदार भयो सरकार, मजाक भन्न मिल्दैन, किनकि संक्रमित नभएकी लक्ष्मी वलीलाई सूचनाका आधारमा बेलझुण्डी ल्याउनसम्म राज्यको कति ढुकुटी रित्तियो होला ? मैलेभन्दा पनि आम नागरिकले सोध्ने प्रश्न हो, यो । तर अहिले त होम आइसोलेसनमा छटपटाइरहेका बिरामीलाई पनि अस्पतालमा बेड पाउनै मुस्किल छ ।
मैले दुई महिनाअघिको समाचारमा पर्साकी एकजना महिलाको दुखान्त निधनको समाचार पढेको थिएँ । उनी सिकिस्त भएपछि उनलाई अस्पतालमा भर्ना पाउनै रातभरी रिक्सामा घुमाइएको थियो, किनकि न उनको स्वाव परीक्षण गरिएको थियो, नत उनलाई अस्पतालले भर्ना लिन चाहेका थिए, सबैले कोरोनाको लक्षण भन्दै भर्ना नलिएपछि उनको रिक्सामै निधन भएको थियो ।
हो सरकार बिरामीलाई वेडमा होइन, गेटमै निधन होस् भनेजस्तै अभिव्यक्तिमा दौडिरहेको छ । सायद उनै लक्ष्मीले यो विषयमा बोल्नुपथ्र्यो, तर उनी त जवर्जस्त संक्रमणको दर्जाको नागरिकका रुपमा बेलझुण्डी ल्याइएकी थिइन् । तर अब अवस्था गम्भीर छ, किनकि संक्रमित नागरिकहरु लगालग मृत्युवरण गर्दैछन् । तर सरकार कन्ट्रयाक्ट ट्रेसिङबाट पनि हात झिकेको छ ।
लक्षण नदेखिएकाहरुको शुल्क लिएरै पनि कोरोना परीक्षण नगर्न भनेको छ । यसको अर्थ कोरोना भाइरसको संक्रमणको नियन्त्रण र व्यवस्थापनमा राज्यको ढुकुटी रित्तिएको छ, । व्यवसायीबाट उठाएको करले कर्मचारीलाई दशै खर्च र नियमित पारिश्रमिक भुक्तानीको सम्भावना पनि झिनो बन्दै गएको छ, त्यसैले सरकार अहिले आन्तरिक ऋणको जोहो गर्दैछ, किनकि अब बबई गाउँपालिकाकी लक्ष्मी जस्ता धेरै पात्रहरुले न जवर्जस्त बेलझुण्डी कोरोना अस्पतालमा आउनुपर्ने छ, नत राज्यले सम्भावित लक्ष्मीहरुको पिसिआर परीक्षण गर्ने छ ।
मलाई लाग्छ, वर्तमान सरकारलाई अझै कोरोना लागेको छैन, किनकि प्रधानमन्त्री अझै पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनुहुन्छ,, त्यसैले त अब कसैको पनि परीक्षण गरिनु उपयुक्त होइन, त्यसैले रोकिएको छ, कोरोना परीक्षण । मैले यो लेखिरहँदा एउटा होटलमा निर्धक्क खाना खाइरहेछु, किनकि प्रधानमन्त्रीले खाने खाना र दाङको काठेकोहलमा खाने खाना उस्तै हो । यदि म संक्रमित भए पनि राज्यले केही गर्न सक्दैन भने परीक्षण गराउनुभन्दा घरमै बस्नु बेस, होम क्वारेन्टाइन ।
एउटै भान्सा, एउटै शौचालय, अनि एउटै संस्कार, घरमा पो क्वारेन्टाइन अन्त त घुमफिर गर्न मिल्छ नि ! कुन निकाय छ र यसलाई नियमन र अनुगमन गर्ने ? मैले सम्झे बेलझुण्डीको कोरोना विशेष अस्पताल, सायद तिहारपछि त्यो अस्पतालमा पनि संक्रमितले सिट पाउने छैनन्, किनकि हताहत हुने अवस्था नहुँदै सरकारले अस्पताल नजान भनेको छ ।