ट्रान्समिटर जोडिएपछि दंगीशरणवासी खुसी

दीप्तिशिखा चौधरी
दंगीशरण, १९ कार्तिक । दंगीशरण गाउँपालिकाका नागरिक बर्षौदेखि कम भोल्टेजको विजुली बल्ने समस्याबाट मुक्त भएका छन् । बर्षौदेखि कम भोल्टेजको बत्ती बालेर हैरान भएका नागरिकहरु अब भने यो समस्याबाट मुक्त भएका हुन् ।

तुलसीपुर विद्युत प्राधिकरणसँग समन्वय गरेर १ सय केभी वाटको ट्रान्समिटर जोडिएपछि दंगीशरणको १, २ र ७ न. वडाका नागरिकहरुलाई सहज भएको हो । दंगीशरणको वडा नं. ७ बुटनिया र बाकामा गरी दुई वटा ट्रान्समिटर जोडिएको छ भने वडा नं. २ सरुवाडाँडामा एउटा र वडा न. २ छर्कट्टामा लिफ्ट सिचाई परियोजनाका लागि एउटा, वडा नं. ५ मा एउटा र वडा न. ६ बागरमा एउटा गरी ६ वटा ट्रान्समिटर जोडिएको छ ।

केही दिनअघि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, गाउँपालिका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष बीरबहादुर वली, नेकपा गाउँपालिका अध्यक्ष भरत अधिकारी, नेकपा जिल्ला सदस्य एम.एन. शाह लगायतको टोली तुलसीपुर विद्युत प्राधिकरणमा गएर ट्रान्समिटरको माग गरेको थियो । कम भोल्टेजका कारण बर्षौदेखि दंगीशरणका नागरिक मोबाइल चार्ज गर्न, विद्यार्थीहरुलाई पढ्नमा समस्या र रातिको समयमा कुनै पनि काम गर्न समस्या हुने गरेको त्यहाँका नागरिकहरुले बताएका छन् ।

यता दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले दंगीशरण गाउँपालिकाका कुनै पनि नागरिक अँध्यारोमा बस्न नपर्ने बताएका छन् । कुनै पनि वडा, गाउँ वा टोलमा विद्युतको समस्या भएमा त्यस्को समाधान तत्काल गर्ने बताए । वडा न.. १ को फुर्केसल्लीसम्म विद्युत पुग्न नसकेको बताउँदै त्यो पनि प्रक्रियामा गइसकेको बताए । अहिले खर्काकोटी हाउँरेसम्म पोल तथा तार जोड्ने कार्य भने सम्पन्न भएको उनले बताए ।

‘यही बर्ष काम सम्पन्न हुनेछ’, अध्यक्ष चौधरीले भने । यस्तै गाउँपालिकामा विद्युत नपुगेको ठाउँमा विद्युत जडानका लागि २ सय पोल तार टेण्डर भइसकेको गाउँपालिका प्रवक्ता बीरबहादर वलीले जानकारी दिए । ‘यो बर्ष विद्युत नपुगेको सबै ठाउँमा विद्युत पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ’, प्रवक्ता वलीले भने ।