दाङ, १७ कार्तिक । प्रहरीले चाडपर्वलाई लक्षित गरी अबैध घरेलु मदिरा (रक्सी) उत्पादन तथा बिक्री बितरणमा कडाइँ गरेको छ ।
अवैध घरेलु मदिरा नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले आइतबार घोराहीमा ४ हजार बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराही खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेखालीस्थित बिभिन्न ब्यक्तिहरुले तयार गरी राखेको तथा तयारीको चरणमा रहेका अबैध घरेलु मदिरा र कच्चा पदार्थलाई नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीले फुर्सेखालीबाट अबैध घरेलु मदिरा रक्सी ४० लिटर, अबैध घरेलु मदिरा जाँड १ सय ४२ ड्रममा करिव चार हजार ५० लिटर नियन्त्रणमा लिएर नष्ट गरेको छ । त्यसैगरी प्रहरीले अबैध घरेलु मदिरा(रक्सी) बनाउन प्रयोग हुने औषधी ५ बोरा र अबैध घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने भाडा ८ सेट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गैह्र कानुनी भएकाले यस्ता प्रकारका कार्यहरु नगर्न समेत सबैलाई जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।