खेमराज रिजाल
दाङ, १७ कार्तिक । तेह्र कठ्ठा जग्गामा धान रोपेका तुलसीपुर उपमहानगरपालिका–१७ झिगैका किसान रामकुमार रिजालले करिब ५५ मुरी धान भित्राए । अघिल्लो साल कठ्ठामा २ मुरी उब्जनी हुनेमा यसपालि कठ्ठामा ५ मुरी भित्राए । शनिवार थ्रेसरले धान दाउँदा उनको मनभरी खुसी थियो । किसानको मन जुन बेला खुसी हुन्छ, त्यो बेला वालीले राम्रो फसल दिएको होस् ।
सोही वडाको जमेराका जोखेना चौधरीको किसान मन पनि यसपालि बौरिएको छ । सिचाईकै समस्याले दिक्क जोखेना चौधरीलाई यसपालि मौसमले खुबै साथ दियो । जसोतसो रसायनिक मलको जोहो पनि अभाव हुनुभन्दा पहिल्यै गरिसकेका थिए ।
लहलह बाला फाल्दा नै उनी धानसँगै मन गाँसेका थिए । फुल्न थालेका बाला नियालिरहन्थे । कठ्ठामा ५ मुरीसम्म फलाए उनले युएस ३१२ जातको हाइव्रिड धान । उनलाई बर्षभरी खान पुग्ने छ, १० कठ्ठामा उब्जिएको धानले । ग्यावरखोलाको फाँट होस् वा सबैभन्दा बढी सुख्खा डाँडाका रुपमा चिनिने खैराफाँट, जहाँतहीँ धान उत्पादनले नहारेको किसानहरुले बताएका छन् ।
कोरोना भाइरसका कारण विश्वभर भएको लकडाउनका कारण प्रकृति पनि रमाएपछि बर्षात पनि फटाफट चाहिने बेलामा भयो । किसानले सिचाईको भरपुर सुविधा आकाशे बर्षातबाटै पाए । नचल्ने स्थानमा पनि कुलो चल्यो । पानीको कुनै समस्या भएन । अनि विदेश पलायन भएका कृषि जनशक्ति पनि घरमै फिरेपछि त्यो समस्या पनि भएन । सबै कृषिमै लागेपछि जिल्लामा यो बर्ष धेरै बाँझा डावरहरुमा पनि रोपाइँ भएको थियो ।
हलगोरी नभए पनि आधुनिक कृषि प्रणालीका कारण भित्रिएका टेक्टर, थ्रेसरलगायतका यान्त्रिक साधनहरुले पनि किसानलाई सहज बनाए । धेरै श्रमशक्ति पनि खेतीपातीमा प्रयोग गर्नुपरेन यसपालि । अधिया लगाउने र जग्गा ठेक्कामा लगाउनेहरु पनि खुवै हौसिएका छन् । यसपालि किसानको मन खुसी छ, लहलह फलेका धानमा ।
यसपाली कोरोनाले व्यापार व्यवसाय चौपट बनायो, अर्थतन्त्र तहस–नहस भयो, तर कृषि अर्थतन्त्र भने सेल्प सफिसेन्टको अवस्थामा पुग्ने धान उत्पादनले देखाएको छ । कृषि अर्थविज्ञले पनि यसको पुष्टि गरेका छन् । ‘दाङ कृषिमा सेल्फ सफिसेन्ट नै थियो, तर यसपालि बिक्री गर्ने हैसियतमा पुगेको हाम्रो अनुमान छ’, कृषि ज्ञानकेन्द्र घोराहीका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले गोरक्षलाई भने– ‘अझै पनि यहाँको उत्पादनमा केही बृद्धि गर्न सकिने अवस्था छ ।
समयमा पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्थापन र बर्षात नभएको अवस्थामा पनि नियमित सिचाईको व्यवस्थापन गर्न सके यहाँ धानवालीको प्रशस्तै सम्भावना रहेको पनि उनको अभिव्यक्ति थियो ।
खेतीको क्षेत्रफलस“गै उत्पादन पनि बढ्यो
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यो बर्ष दाङमा धानवाली लगाउने जग्गाको क्षेत्रफल बढेसँगै उत्पादन पनि अपेक्षित रुपमा बृद्धि भएको जनाएको छ । यद्यपि आधिकारिक तथ्यांक भने आउन बाँकी छ । अघिल्लो बर्ष दाङ जिल्लामा कम्तीमा ३७ हजार ७ सय १० हेक्टरमा धानखेती भएको थियो । त्यसमा १ लाख ६९ हजार ६ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो बर्ष भने उपयुक्त समयमा मनसुन र कृषि जनशक्तिको पनि पर्याप्तताका कारण पनि धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । यो बर्ष धेरै एरिया बढेको छ । बाँझो जग्गा प्रयोगमा आएको थियो ।
कार्यालयले तयार गरेको तथ्यांकमा यो बर्ष करिब ७ सय ८७ हेक्टर थप क्षेत्रमा धानबाली लगाइएको थियो । त्यसमा उत्पादन पनि बढ्ने कार्यालयको प्रक्षेपणले देखाएको छ । ‘हामी सबै पालिकाबाट तथ्यांक कम्पाइल गर्दैछौं, अहिलेसम्मको तथ्यांकले अनुमातित १ लाख ८० हजार मेट धान उत्पादन हुनेछ’, कृषि अर्थविज्ञ श्रेष्ठले भने ।
यद्यपि कृषि क्षेत्रको सुधार र विस्तारमा दाङमा धेरै चुनौतीहरु छन् । अव्यवस्थित जग्गा कारोवार र अनाधिकृत रुपमा प्लटिङलाई रोक्न सके अझै धेरै खेतीयोग्य जमिनमा धानवाली लगाउन सकिन्छ ।
अर्को समस्या भनेको भू–उपयोग नीतिको पनि हो । कहाँ बस्ती बसाउने र कहाँ खेतीपाती गर्ने सन्दर्भमा सम्बन्धित तहका स्थानीय सरकारले पनि भिन्नै कृषि नीति बनाउन सके दाङ जिल्ला कृषिमा निर्यातमुखी अर्थतन्त्र बन्न सक्ने कृषि विज्ञहरुको सुझाव रहेको छ ।