राष्ट्रिय पर्ब २०७७ र नेपाल प्रहरीको दायित्व

भूपेन्द्र सुबेदी

कबितासहितको सम्झना छ आज
बाढीले मेरी आमालाई बगाइरहँदा
भूकम्पले पुरेएकी तिम्री आमालाई बचाइरहेको छु,
दशै तिहारमा तिमीले पर्व मनाइरहेको बेला
मैले टिका नथापेरै आफ्नो सुरक्षा गस्तीमै रमाईरहेको हुन्छु ।
चाहे मलाई जस्तो संकट परोस्,
आफ्नो कर्तब्यबाट विचलित हुनेछैन
देश र जनताको रक्षाका लागि
म भुलेर पनी स्वार्थमा रमाउने छैन,
स्वार्थमा रमाउनेहरु राष्ट्रका दुश्मनसरी हुनेछन् ।

२०७७ सालको बिजयादशमी, दीपावली, छठ पर्बसमेतको उपलक्षमा हार्दिक मंगलमय शुभकामना टक्र्याउँदै नेपाल प्रहरीको एउटा अबकास प्राप्त सदस्यले बिगतमा भोगेका र बर्तमान प्रहरीमा आइरहेका आरोह–अबरोह र सफलता र असफलता का बीच हाल नेपाल प्रहरीले आफ्नो कर्तब्यप्रतिको गहिरो भावका साथ आम नागरिक सामु प्रस्तुत् हुँदै आएका बिभिन्न जिज्ञासाका बाबजुद गरिँदै आएका प्रयासहरुलाई सिंगो प्रहरी संगठनले गर्दै आएका सकारात्मक र नकारात्मक पक्षहरुलाई आज आम नागरिक समाजले कसरी मूल्यांकन गर्दैछन् त प्रहरीको ।

राष्ट्रले सुम्पिएको दायित्व निर्वाहका लागि प्रहरी संगठन कटिबद्ध एबं ब्यबसायिक प्रतिबद्धता ब्यक्त गर्ने क्षणको रुपमा बिगतदेखि मनाउँदै आएको प्रहरी दिवस नेपालमा मात्र नभएर बिश्वमा फैलिएको कोरोना भाइरसको संकटको कारण हामी एक हुने र आफ्ना अभिब्यक्तिहरु आदान–प्रदान गर्ने अवसरबाट हामीलाई असमर्थ हुन बाध्य तुल्याएको हामी आफै जानकार छौं ।

प्रहरी र नागरिकबीच सु–सम्बन्धको बिस्तारमा भरोसा र विश्वास जहाँ अडीक रहिरहला तब प्रहरीले पुराउनुपर्ने सहयोग न्याय, सुरक्षा नागरिकलाई हो । प्रहरीको आफ्नो भन्नु नै अर्थात लक्षित समूह नै हो । समाजको माझमा बसेर समाजका तमाम् नागरिकहरुको आशा, आकांक्षा बुझेर आफ्नो कार्ययोजना बनाई लक्ष्य प्राप्तिमा सरिक हुनु प्रहरीको कर्म, धर्म ठानिन्छ ।

नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि उर्लेर आएको जनचाहाना र भाबनालाई आत्मसात गर्दै नेपाल प्रहरीले आफूलाई प्रजातान्त्रिक आचरण, ब्यबहार अनुकूल कार्यशैलीलाई परिमार्जन गर्दै जनसेवाको रुपमा प्रस्तुत गर्ने यथेष्ट प्रयास रही आएको छ । त्यसो त प्रहरी कार्य जनसहयोग, सद्भाब र सहभागिताबिना प्रभाबकारी बन्न सक्तैन भन्ने बास्तबिकता नेपाल प्रहरीले बुझिसकेको पनि छ र नागरिक सहयोग र समर्थनले प्रहरीको कार्यमा थप ऊर्जा र अभिप्रेरणा मिल्ने तथ्य मानसपटलमा रहिसकेको छ ।

त्यसैले प्रहरीले जनसमुदायका हरेक सुख र दुखमा साथसाथै रहेर उनीहरुको भलाईको लागि गरिने आफ्नो हरेक क्रियाकलापहरुमा आम नागरिकलाई सहभागी गराई हातेमालो गर्दै, काँधमा काँध मिलाई अगाडि बढ्ने सक्दो प्रयास गर्दै आएको छ । प्रहरीको आजको राजनीति परिवर्तन र प्रजातान्त्रिक सत्प्रयासको परिणामस्वरुप नागरिक र प्रहरीबीच आज सु–सम्बन्ध राम्रो, बलियो हुँदै आइरहेको अबस्था छ ।

सामूहिक भाबना आस्था र विश्वास बलियो हँुदै अघि बढिरहेको छ । फलस्वरुप देशका बिभिन्न जिल्लाहरुमा आवश्यक पर्ने प्रहरी चौकी, इलाका प्रहरी कार्यालयहरुको माग दिन प्रतिदिन थपिँदै आउनु र स्वयं नागरिकहरुबाटै प्रहरी भबन निर्माणको लागि आ–आफ्नो निजी सम्पत्तिको रुपमा रहेको जग्गा दिँदै आएको हामीसामु उदाहरण बनेका छन् ।

नेपालमा अपराध नियन्त्रणमा सामाजिक सेवा जनचेतना जागरण नागरिकहरुको उत्साह साझेदारी प्रहरी कार्यक्रम, सामुदायिक प्रहरी कार्यक्रमा उत्साहप्रद सहभागिता नेपाल प्रहरीलाई प्राप्त हुँदै आएको छ । यस्तै भाबना र चाहना सक्रियता र सहभागिता अझै मजबुत र भरोसाको केन्द्रबिन्दु हुनुपर्दछ । प्रहरी प्रचलित कानुन र राज्यको नीति निर्देशनअनुसार काम गर्ने संगठानात्मक संस्था हो । प्रहरीको उपयोग राष्ट्रिय हित र सामाजिक कल्याणका लागि हुनुपर्दछ भन्ने आम जनमानसको अभिमत रहिआएको छ ।

परन्तु पूर्बकालको शासनकालमा अभिमतबिपरीत प्रहरी शक्तिको दुरुपयोग गरियको कारण प्रहरीप्रतिको आम धारणा र विश्वासमाथि शंका उब्जिन गएको भन्नेमा आजसम्म त्यो दाग मेटाउन नसकेको केही बिज्ञहरुको भनाइ छ । तर त्यसो त हाल पनि प्रहरी संगठनको आफ्नो नीति–नियमअनुसार सञ्चालन कार्य प्रणालीमा राजनीतिक गन्धले दूषित पारेको आम नागरिक सबैको अनुभवले बताएको छ ।

देशका बिभिन्न जातजाति, मतअभिमत र उद्देश्य राखेका ब्यक्तिहरुको समिश्रणबाट संरचित प्रहरी संगठन दिगो रुपमा कदापि दोषी हुन सक्दैन । त्रुटी गर्न सक्छन् संगठनका सदस्यले कुनै एक सदस्यको त्रुटीलाई लिएर सिंगो संगठनप्रतिको बिश्वासमा प्रतिकूल प्रभाब पर्न गयो यी सबै बिस्वासको संकट मेटाई संगठनलाई सेबकको रुपमा प्रतिस्थापन गराउने आड भरोसाको रुपमा चिनाउने प्रहरी संगठनको प्रयत्न अझ गहकिलो भरोसाजनक हुँदै जान आवश्यक छ । अर्को अर्थमा भन्नुपर्दा पेशागत जनसहयोगका क्षेत्रहरु अझै खुलस्तरुपमा देखिन बाँकी नै छन् । नेपाल प्रहरी संगठन यस सम्बन्धमा तल्लीन रहनुको बिकल्प छैन ।

आम नागरिकका मुखारबिन्दुमा दैनिक आइरहने शब्दहरु हुन् प्रहरी बर्दीका नागरिक हुन् र नागरिक बिनाबर्दीका प्रहरी हुन् । यो भनाइलाई यथार्थमा ल्याउन प्रहरीको प्रथम प्रयास हुनुपर्दछ भन्ने नागरिकहरुको दोस्रो प्रयास । यस्ता प्रयास के–के हुन सक्छन् ? बाधा–अड्चन कुन–कुन हुन सक्छन् ? के कस्ता सुधारका पाईलाहरु को कसले चाल्नपर्ने हो ? त्यस बारेमा आम पाठकज्युहरुको मतअभिमतलाई प्रहरी संगठनले सुरक्षाको मूलमन्त्रको रुपमा स्वीकार्दा प्रहरीको हरेक कदम सफल रहने हामी विश्वास गर्दछौ ।

आम नागरिकहरुको नजरले हेर्दा प्रहरी पक्षको सबैभन्दा महत्वपूर्ण कार्य भनेको अपराधी र निरअपराधीबीचको छुटाउने बिन्दुलाई परीक्षाको रुपमा हेरिएको हुन्छ र यसक्रममा अपराधीलाई सजाय दिनैपर्छ भने निरअपराधी सजायको भागी नबनोस् । प्रहरी संरचनामा समेत सुधार गर्नु पर्दछ । यो संगठनलाई कार्यहरु तदारुकता र निष्पक्ष ढंगले गर्न सक्ने अधिकार सम्पन्न गराउनु पर्दछ जसद्वारा यो संगठन नियमित स्वचालित होस् ।

प्रहरी सेवालाई सामाजिक सेवाको विविध पक्षमा नागरिकसँग हातेमालो गरेर अघि बढ्नुपर्नेछ भने प्रहरी संगठनलाई सडक होस् कार्यालय होस् हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न खटिँदा मौसम अनुसारको पोशाक आवश्यक सेवा सुबिधायुक्त अन्तर्राष्ट्रिय मिसन जाँदा वा स्वदेशको लागि दैनिक खटिने प्रहरीको युनिफर्म हेर्दैमा विदेशीहरुलाई समेत नाक खुम्चाउने खालको नभई वाई–वाई भन्ने लायकको पोशाकको खाँचो छ न की कमिसनको आधारमा ल्याइएका हालसम्मका युनिफर्महरुले प्रहरी नेतृत्वलाई नै बदनाम नगरोस् र सडकमा प्रहरी उभिँदा कस्तो हालतमा उभिएको छ ? यो गहन प्रश्न हो ।