पाठकपत्र–अस्पतालमा भोगेको त्यो पीडा

गोरक्ष राष्ट्रिय दैनिकमा गत असोज २६ गते प्रकाशित सबैले चिनेजानेका शैक्षिक र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व विष्णुकुमार देवकोटाको ‘तुलसीपुरमा स्वास्थ्य सेवाको यथार्थ धरातल’ शीर्षकको आलेख पढियो ।

उहाँको आलेखले द्रविभूत मन शान्त हुन नपाउँदै, सोही पत्रिकामा प्रकाशित अर्काे शैक्षिक व्यक्तित्व र साहित्यकार डा कृष्णराज डिसीको ‘डा उपेन्द्र देवकोटा, नर्भिक अस्पताल र मेरो पीडा’ शीर्षकको आलेखले मन अझ उद्विग्न गरायो । त्यसैगरी केही दिन पश्चात तुलसीपुर क्षेत्रका प्रतिठित उद्योगपति तथा समाजसेवी डिल्लीबहादुर बस्नेतज्यूको सेतो आवरणभित्र कालो मन’ नामक आलेखले प्रादेशिक अस्पताल स्थापना सन्दर्भसहित डाक्टरहरुले लापरवाही गर्न नहुने सन्देशमुलक लेखले पनि मभित्रको चेतनालाई जगायो ।

उहाँहरू जस्ताले त त्यस्तो पीडा भोग्नुप¥यो भने अशिक्षित, निमुखा र सर्वसाधारण जनताले पाउने स्वास्थ्य सेवाको धरातल र डाक्टरहरूको व्यवहार कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । डाक्टरको झुठो आश्वासन र भ्रमजालमा फसेर कृष्णराज डिसीजस्ता व्यक्तिले त्यस समयमै घटना सम्प्रेषण गर्न नसकेकोमा अहिले आएर आफूलाई नालायक पिताको रूपमा पश्चाताप गरेको पनि देखियो ।

उहाँको यस भावनाले आफूले भोगेको घटना भित्रभित्रै गुम्साएर राख्ने होइन बरु समयमै सम्प्रेषण गरेर स्वास्थ्यप्रदायक संस्थाहरूलाई सचेत र गलत प्रवृत्ति भएका डाक्टरहरुलाई खबरदारी गर्नुपर्ने रहेछ भन्ने लाग्यो । मुख्य कुरा त अब कसैले पनि कृष्ण सर र देवकोटासरजस्ता व्यक्तिले भोगेको पीडा भोग्न नपरोस् भन्ने अभियानमा लाग्नुपर्ने रहेछ भन्ने पनि महशुस भयो । देवकोटा सरको आलेखले कृष्ण सरको पुरानो घाउ उप्काएझैँ कृष्ण सरको नालायक पिता भन्ने शब्दले च्वास्स मन छोएको हुनाले म नालायक छोरी किन हुने ? भन्ने सम्झी त्यस्तै एउटा अनुभव सम्प्रेषण गरेको छु ।

मेरो अनुभव पनि प्रादेशिक अस्पताल र डाक्टर शेखरसँगै सम्बन्धित छ । मेरो अनुभव त्यति पीडादायी नभए पनि पीडित हुनबाट बचिए छ कि भन्ने लागेको छ । गाउँमा स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्ने साधारण गृहिणी मेरी ‘मम्मी’ अनितालाई प्रादेशिक अस्पताल तुलसीपुरमा डा शेखरसँग ‘जचाउँदा पाठेघरसम्बन्धी अप्रेशन गर्नुपर्ने भयो ।

गत भदौ ११ गते अप्रेशनको लागि प्रादेशिक अस्पतालमा डाक्टर शेखरसँग सम्पर्क गरियो । डा शेखरले प्रादेशिक अस्पतालमा त ७ दिनसम्म पालो आउँदैन सिटी अस्पतालमा जानुहुन्छ भने म अहिले नै गरिदिन्छु भने । प्रादेशिक अस्पतालमा विश्वास गर्ने हामी डाक्टरको कुराले निराश भयौँ ।
त्यसपछि मैले प्रादेशिक अस्पतालमा पहिले काम गरेका एक जना आफन्तलाई सम्झिएँ । उहाँले डाक्टर विनोदलाई भेट्न भन्नुभयो ।

डा विनोदले त्यसै दिन प्रादेशिक अस्पतालमै अप्रेशन गरिदिनुभयो । हामी सिटीमा जानु परेन । आफन्तीसँग सम्पर्क नभएको भए र उहाँको सल्लाहअनुसार डा विनोदलाई नभेटेको भए हामी ठूलो रकम खर्च गरेर निजी अस्पताल पुग्नुपर्ने वाध्यता आएको थियो ।

सात दिनसम्म पालो नआउने कुरा विरामीलाई निजी अस्पतालमा लिने डा.शेखरको वहाना मात्र हो भन्ने कुरामा हामीलाई कुनै शंका छैन । यसलाई अस्पताल प्रशासनबाट अभिलेख हेरी यथार्थता सार्वजनिक गरिनुपर्छ भन्ने लागेको छ ।

अन्त्यमा आफ्नो स्वार्थकै कारण निजी अस्पतालमा पठाउने प्रवृत्ति बढ्दै जाने हो भने हामी निमुखा जनताको भरोषाको केन्द्र प्रादेशिक अस्पतालको अवस्था कहाँ पुग्ला ? हिजो स्थानीय जनताले आफ्नो पेट काटेर अस्पताल स्थापनार्थ अहोरात्र खटिई महापुराण, चन्दा, सहयोग संकलन गरी स्थापना गरेको अर्थ के पो रह्यो र ?

सिर्जना शर्मा÷सल्यान