पूर्वमन्त्री लोकेन्द्र विष्टको ड्रयागन टुरिजमको सपना

खेमराज रिजाल
बिजौरी, ५ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीको नाङ्गो डाँडामा पूर्व पर्यटनमन्त्री लोकेन्द्र बिष्टले कंक्रिटका पिलरहरु गाड्दा पिलरहरु कहिले फुल्ने हुन भनेर गिज्याउनेहरु अहिले चकित छन् । करिब डेढ वर्षको अवधिमा नाङ्गो डाँडामा गाडिएका पिलरहरुमा सिउँडी प्रजातिका ३५ सय बढी ड्र्यागन पु्रmटका विरूवाहरुले हरियाली भएपछि पहिले गिज्याउनेहरु अचम्भित भएका छन् ।

नाङ्गो उजाड डाँडामा ड्रयागन पु्रmटका विरूवाहरु हुर्कँदै गएपछि पछिल्लो समय उक्त स्थल कृषि पर्यटनका रुपमा समेत चर्चामा रहेको छ । कंक्रिटको पिलरको टुप्पोमा टायरमा छिराएर उधोमुख्टो बनाइएको देख्दा जोकोही पनि त्यहाँ रोकिन्छन् अनि फोटो शेसन पनि हुन्छ । पूर्वमन्त्री विष्टसँगै तीन जनाले सुरु गरेको त्यो सिउँडी प्रजातिको ड्रयागन फ्रुट खेती अहिले जिल्लामा पर्यटनका रुपमा समेत विकास हुन थालेको छ । त्यसका अभियन्ता हुन्, पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट । एक वर्षसम्म उनी मिहिनेतमा मात्र डुवे, सरसल्लाहमा जुटे, अभ्यासमा लागे अनि आशालाग्दो विरूवा भएपछि पत्रकारका नजर समेत त्यहाँ पर्न थाले । त्यसपछि उनी आफैले पत्रकार बोलाएर यसका विषयमा जानकारी मात्र गराएनन्, एक÷एक पिस स्वाद समेत चखाए, यद्यपि यहाँ फलेको फल नभएर भियतनामबाट मगाइएको ।

घरी उही बोटलाई सुम्सुम्याउँछन्, मलजल दिन्छन्, बाक्लोलाई पञ्छाउँछन्, पातलोलाई निस्फिक्री हुर्कन दिन्छन् । लत्रेका विरूवालाई माथि उठाउँछन् र उचाईमा पुगेपछि पिलरमा रहेको टायरभित्र छिराइदिन्छन् । मानौँ, ड्रायगन अब पिलरमाथि जाने छैन, तल झुकेर फल्ने छ । किनकि फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भन्ने एउटा कविको साहित्यमा भएकै कुरा हो ।

रासायनिक मल त्यो बगैचामा निषेध छ । पूर्व पर्यटनमन्त्री विष्ट भन्छन्–‘यो केमिकलले बढ्ने प्रजातिको फल नै होइन, त्यसैले जैविक मल नै उपयुक्त हुन्छ ।’ हो साच्चै उनले कृषिलाई पनि पर्यटनसँग जोड्न चाहेका छन्, तर व्यावसायिकतासँगै । किनकि उनलाई पनि लगानीको प्रतिफल लिनु छ अनि अन्य किसानलाई पनि यो पेशाका विषयमा आकर्षित गर्नु छ । भिन्न रुचीका अभियन्ता हुन्, लोकेन्द्र विष्ट ।

एकबारको जुनीमा सधैँ राजनीति उनलाई मन परेन । राजनीति गर्दा उनी निखारिएका थिए, यही सिउँडी फलजस्तै । त्यसैले फेरि फर्के व्यवसायमै । किनकि काम गर्ने उमेर खेर फाल्नु पापजस्तै सम्झे र राजनीतिलाई सधैँका लागि छोडिदिए । अहिले उनी बिजौरीको बाँझो र सुख्खा जमिनमा ड्रयागन फ्रुटको व्यावसायिक खेती गरेका छन् । कम्तिमा ६६ कठ्ठाको एउटै प्लटमा गरिएको यो खेती सम्भवतः नेपालकै सबैभन्दा ठूलो फार्म हो । त्यसो त पूर्वी नेपालको काभ्रेमा पनि यो खेती सुरु नभएको होइन, तर कित्ता–कित्तामा छ ।

के हो ड्रागन फ्रट ? बुझ्नै कठिन छ । तर समग्रमा यो फल रोग प्रतिरोधात्मक क्षमता भएको फल हो । उनले यसलाई मल्टिमेडिसिनयुक्त र जनसुकै रोगका विरामीहरुले पनि यो फल उपभोग गर्न सक्छन् अनि यो अग्र्यानिक र हाइज्यानिक पनि हो । तर यसको व्यवसायीकरण नेपालमा अझै भएको छैन । अन्य देशमा फलेको फल मात्र नेपालमा आइरहेको छ र मार्केट बनाउँदै छ । ‘मैले यो फलका विषयमा भनिरहनु पर्दैन, तपाईंलाई समाचार लेख्न र प्रचारप्रसार गर्न आकर्षित गर्न बोलाएको पनि होइन, तर म चाहन्छु यो फलमा पनि कृषि पर्यटन छ अनि यो फलमा आर्थिक समृद्धि लुकेको छ’– बिष्टले भने–‘यो फल आर्थिक समृद्धिसँगै स्वास्थ्यका लागि समेत फाइदाजनक छ ।’ त्यसैले नेपालमा हरेक किसानले यसको खेती गर्न आवश्यक छ । कतिले त बाँझो जमिनमा फेरि पिलर खेती सुरु गर्ने लोकेन्द्र सन्काहा पनि भनेका थिए । ‘मैले हारेको छैन, किनकि मैले रोपेका विरूवा अहिले टायरपास गरिसकेका छन्’ विष्टले भने ।

 

कुनै बेला संसद् भवनमा खल्तीमा पिस्तोल ल्याएको भनेर आलोचित भएका थिए । तर त्यो पेस्तोल आपूmसँग नभएर, बडीगार्डले राखेका थिए । उनको ड्रयागन फर्मसँगै एलोभेरा, कागती खेतीलगायतका क्षेत्रमा पनि उनको अभियान अघि बढ्ने छ । ‘म मन्त्री भएको बेला ड्रयागन फ्रुटका विरूवा बाँड्दा मलाई लोकेन्द्रका सिउँडी भनेर गिज्याएका थिए’–उनले भने–‘यो डाँडामा पिलर गाड्दा कतिले त बाँझो जमिनमा फेरि पिल्लर खेती भनेर मलाई सन्काहासम्म भने ।’

साउनमा मेरा रातका रानीहरुले फल दिने छन् । एक सिजनमा कम्तिमा ५ क्विण्टल फल फलाउने तयारीमा छौँ’– उनले भने । यो एउटा कृषि पर्यटन र व्यावसायिकताको एकल नमुना पनि हो । गर्मी भनेनन्, झरी भनेनन्, राजनीतिक आस्थाका आधारमा आर्थिक सहयोग पनि उनले लिएनन् । तर नमुना किसान बन्ने अभ्यासमा छन् । व्यावसायिक खेती एउटा रिसर्चबाट मात्र सुरु भएको हो । फल गत्तिलो बनाउनका लागि अहिले उनीहरुले त्यही मिहिनेत गरिरहेका छन् । बढी फल लाग्ने देखे कोपिलामै समाप्त पार्छन् । फलसँगै कोपिलालाई ग्रिन–टीका रुपमा प्रयोग गर्न सकिने लोकेन्द्रका सहकर्मी वीरबहादुर बुढा मगरले बताए । ‘ड्रयागन पु्रmट वहुपयोगी विरूवा हो, फललाई जुस, कस्मेटिक सामग्रीदेखि विभिन्न रोगका विरामीहरुले खान मिल्छ’–उनले भने–‘पातलाई ग्रिन–टीसँगै कोपीलालाई तरकारीका रुपमा समेत खान सकिन्छ ।’

ड्रयागन जुस, ड्रयागन वाइन

ड्रयागन पु्रmटको फलसँगै जुस उत्पादन गरेर विक्री गर्ने सोच बनाएर खेती सुरु गरिए पनि पछिल्लो समय कृषि पर्यटनका रुपमा विकास हुँदै गएको बताए । ड्रयागन पु्रmटको खेती चर्चासँगै बुझ्न र हेर्नका लागि समेत पछिल्लो समय धेरै मानिसहरु आउने गरेको बुढा मगरले बताए । करिब डेढ–दुई वर्षको अवधिमा ड्रयागन फ्रुट खेतीमा एक करोड बढी खर्च भएको उनले बताए । ‘अहिलेसम्म विरूवा रोप्नदेखि हुर्काउनका लागि पैसा खर्च भएको छ’–उनले भने–‘यो अवधिमा करिब एक करोड खर्च भइसक्यो ।’ उनकाअनुसार अब ड्रयागन पु्रmट खेतीको अवलोकनसँगै सुरक्षा गर्ने उद्देश्यले सेक्युरिटी टावर, सिसी क्यामेरालगायतका कामहरु गर्न आवश्यक रहेको बताए । उनकाअनुसार त्यो टावरलाई ड्रयागन पु्रmटखेती हेर्नका लागि भ्यू–टावरका रुपमा समेत प्रयोग गरिने छ ।

खेतीको सुरक्षाका लागि सिसी क्यामरा राख्नेदेखि भविष्यसम्म पनि बजार निश्चित गर्न ड्रयागन वाइन बनाएर बजारीकरण गर्ने सोच रहेको समेत बताए । ‘सुरुमा फल र जुस नै विक्री गर्ने सोच छ’–उनले भने–‘फल थोरै महँगो भएकाले नखान पनि सक्छन्, त्यसैले फलबाट जुससँगै वाइन पनि बनाउने सोचमा छौँ, यो त अवश्य विक्री हुनेछ ।’