बालाराम खड्का
तुलसीपुर ५ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले आफुले राष्ट्रियताका सवालमा कुरा उठाउंदा पार्टीभित्रै क्याम्पेनिङ सुरु भएको बताएका छन् । आफ्नो अभिव्यक्तिले भारत सरकार भन्दा पनि नेपाल सरकार झुकेको अनुभुति भएको पनि उनले बताए । ‘मैले राष्ट्रियताका विषयमा बोल्दा पार्टीभित्रै मात्र होइन, सरकार पनि झुकेको थियो, किनकि मेरो मान्यता नेपाल राष्ट्र रहेमात्र हामी नेपाली रहने हो’, प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले भने । तर कुनकुन नेताले क्याम्पेनिङ गरेको भन्ने खुलाएनन् ।
त्यसैगरी अर्को प्रसंगमा उनले नेपाल सरकारलाइ अमेरिकि सहयोगका रुपमा आउन थालेका एमसिसि फन्डका विषयमा नेपाली कांग्रेस सकारात्मक भएको पनि बताए । ‘हामीले पहिलेदेखिनै यो सहयोग लिन खोजेको हो, विभिन्न आरोह र अवरोहले यो कार्यान्वयनमा आउन सकेको छैन, यसमा हाम्रो पुरै समर्थन छ’—नेता देउवाले भने । विकाशोन्मुख मुलुकलाइ बैदेशिक सहयोग अपरीहार्य भएको बताउंदै यो सहयोगले नेपालको गरीविनिवारण र आर्थिक समृद्धिमा पनि ठुलो सहयोग पुग्ने उनको अभिव्यक्ति थियो ।
अमेरिकि सरकारको यो सहयोग मुख्यतः विद्युतिकरणमा खर्च हुने गरी कार्यन्वयनमा आउनुपर्ने पनि उनको अभिव्यक्ति थियो । साथै उनले वर्तमान सरकार समृद्धिको पक्षमा भन्दा पनि अनेक वाहनामा पछि हट्दै आएको पनि बताए ।
पत्रकार सम्मेलन प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो ।