अमरराज आचार्य
दाङ, ६ कार्तिक । जिल्लाबाट यस वर्ष ८ सय बढी खसी–बोका खरिद गरेर काठमाडौ पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसी, बोका खरिद गरेर काठमाडौ पठाउन थालेको हो । कम्पनीले ६ सय खसी, बोका काठमाडौँ पठाइसकेको छ । भने थप २ सय पठाउने कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए ।
पहिलेको कोटा ६ सय भए पनि मंगलवार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप ४ सय खसी, बोकाको कोटा थप गरेर पठाएको उनले जानकारी दिए । ४ सय खसी, बोका थप गरिए पनि २ सयभन्दा केही बढी मात्र खरिद गर्न सकिने चौधरीको भनाइ रहेको छ । ‘अन्त्यमा आएर कोटा थप गरिएकाले समस्या भएको हो’, चौधरीले भने ।
अहिले कम्पनीका कर्मचारीहरु खसी–बोका खरिदका लागि गाउँ–गाउँमा पुगेका छन् । केही दिनअघि कोटा थप गरिएको भए सहजरुपमा कोटाअनुसार नै खसी, बोका पठाउन सकिने उनको भनाइ रहेको छ । यस वर्ष अघिल्लो वर्षभन्दा बढी २ सय बढी पठाउन थालिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले अघिल्लो वर्ष ६ सय वटा खसी–बोका खरिद गरेर पठाएको जनाएको छ । जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरीमा सहकारी संस्थाहरुले पालन गरेको खसी–बोका खरिद गरिएको चौधरीले बताए । खसी, बोका खरिद तथा बिक्रीका लागि कम्पनीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्य निर्धारण गरेको थियो ।
किसानहरू मारमा नपर्ने गरीे खसी, बोकाको मूल्य निर्धारण गरिएको चौधरीले बताउँछन् । उनका अनुसार २५ केजीभन्दा माथिको खसीको खरिद मूल्य प्रतिकेजी ५ सय ५० निर्धारण गरिएको छ । त्यसैगरी २० देखि २५ केजीसम्मको खसीको खरिद मूल्य ५ सय ३५ निर्धारण गरिएको छ भने २० केजीभन्दा माथिका बोका खरिद मूल्य प्रतिकेजी ५ सय ३० रूपैयाँ रहेको उनले जानकारी दिए ।
‘कम्पनीले २० केजीभन्दा कम तौल भएको खसी–बोका खरिद गरेका छैन’, चौधरीले भने । ढुवानीमा समस्या हुने भएकाले २० केजीभन्दा कम तौलको खरिद नगरिएको उनले बताए । खरिद गरिएका खसी, बोका ढुवानी गर्न धेरैले नमान्ने उनको भनाइ रहेको छ । ढुवानी गर्दा खसी–बोकाको मृत्यु भएमा ढुवानी गर्ने वालाले व्यहोर्नुपर्ने भएकाले नमान्ने गरेका हुन् ।
दशैँ–तिहारमा खसी–बोकाको कारोवार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी–बोका खरिद गरेर बिक्री गर्ने गरेको छ । ‘चाडपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्यलाई नियन्त्रण गर्न सरकारले नै खरिद गरेर बिक्री गर्ने गरेको हो’, चौधरीले भने । घर–घरमा गएर कम्पनीले खसी–बोका खरिद गरि दिएर सहजता गराएको कृषकहरु बताउँछन् ।
यसले किसानहरूलाई थप राहत प्रदान गर्ने चौधरी बताउँछन् । स्थानीय उत्पादन र उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखी प्रत्यक्षरूपमा खसी–बोका खरिद गरी बिक्रीका लागि जिल्ला बाहिर पठाइएको चौधरीले बताए ।
तुलसीपुर, घोराही, लमही क्षेत्रमा रहेर कृषि फर्महरू सञ्चालन गरेका सहकारी तथा सामूहिक संस्थामार्फत खसी–बोका खरिद गरिएको उनको भनाइ छ । पशु चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराएर मात्रै खसी–बोका खरिद गरिएको र स्वास्थ्य परीक्षण नै गराएर काठमाडौँ पठाइएको चौधरीले बताए ।