व्यवसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै किसानहरु

शिवराज खनाल
लमही,६ कात्तिक । देउखुरीमा व्यवसायिक रुपमा बाख्रा पालन गर्नेहरुको सङख्या वढदै गएको छ । हेफर ईन्टरनेशनल नेपालले साना किसान सुदृढिकरण परियोजनाले सहयोग गरे पछि लमही नगरपालिका क्षेत्रमा व्यवसायिक पालन वढेको हो ।

व्यवसायिक बाख्रापालन गरेपछि किसानहरु राम्रो आम्दानी समेत लिन थालेका छन् । समूह हुँदै सहकारीमा आवद्ध भएका महिला उद्यमीले बाख्राको व्यवसायिक पालन र बजारीकरण गर्दै आएको हेफर ईन्टरनेशनलका कार्यक्रम अधिकृत जगत चौधरीले बताए ।

लमही नगरपालिका वडा नम्बर ७ खुटि निवासी बबिता चौधरीको घरमा यो दसैँका १३ वटा खसी तयार छन् । कोरोना भाइरसले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता रहेकोमा यस पालिको दसैँ अघि नै घर बाटै बाखा बिक्री भएकोमा खुसी छिन ।

‘कोरोनाले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता थियो दसैँको खर्च पनि जुट्छ कि जुट्दैन भन्ने लागेको बेला घरबाटै खसी बिक्री भयो’ चौधरीले भनिन्,‘सहकारीबाट खसी बिक्री भयो पहिला त व्यापारी आउथे उनीहरुको आफ्नै मूल्य हुन्थ्यो ।’लमही नगरपालिका भित्र चार ओटा सामाजिक उद्यमी महिला सहकारी संस्था छन् । यी सहकारीहरुले व्यवसायिक बाख्रा पालनको लागि किसानमा लगानी गरेका छन् ।

निलकमल, कर्मठ, दिपन, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्ष चार सय खसी बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गरेका छन् । ‘दुई वर्ष खाद्यलाई खसी बोका बिक्री गर्न थालेको खाद्यलाई चाहिने जती सबै खसी बोका हामीले दिन सक्छौँ उत्पादन बढेको छ’ दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम गिरीले भनिन् ।

कोरोनाले गर्दा बजारमा खसी बोकाको माग घटेको छ । जसले गर्दा किसानले तयार पारेको सबै खसी बोकाले बजार नपाउने अवस्था रहेको उनको भनाइ छ ।