विजयादशमीको आध्यात्मिक महत्व

सुप्रिया माँ

मानिसले जीवनमा जे–जति कर्म गर्छ, त्यसको मुख्य उद्देश्य हो, आफूभित्र खुशी र आनन्द प्राप्त गर्नु । त्यसका लागि मानिसले भौतिक उन्नति र आध्यात्मिक उन्नतिका अनेक खोजीहरु गरिरहेको हुन्छ । मानिसले यो कुरा राम्रोसँग बुझ्न थाल्यो कि आध्यात्मिक उन्नति नभइकन आत्मिक सन्तुष्टि सम्भव छैन ।

परापूर्वकालदेखि नै ऋषिमुनिहरु तथा मानव जातिले भौतिक सुख र आत्मिक आनन्द प्राप्त गर्न विभिन्न प्रकारका क्रियाकलाप गर्ने तथा उपायहरुको खोजी गर्ने गरेका तथ्यहरु विभिन्न सन्दर्भ र धार्मिक ग्रन्थहरुमा प्रशस्त पाइन्छन् ।

यसै सन्दर्भमा विभिन्न उद्देश्य लिएर प्राचीनकालदेखि नै हाम्रा ऋषिमुनिहरुले विभिन्न सामाजिक तथा धार्मिक चाडपर्वहरुको आयोजना गर्ने र धुमधामका साथ त्यसलाई मनाउने परम्पराको थालनी गरे ।

त्यस्तै चाडपर्वहरुमध्ये विजयादशमी पनि एउटा महत्वपूर्ण सामाजिक, धार्मिक र आध्यात्मिक महत्वको पर्व हो । यो एक धार्मिक अनुष्ठान र आध्यात्मिक साधनाको पर्व हो । यो पर्व मनाउने हाम्रो आफ्नै चलन र परम्परा छ ।

सबै धार्मिक विधान तथा साधना, उपासनाहरु गरेर दशमीको दिन आफूभन्दा ठूलाबाट देवीको प्रसादको रुपमा टीका, जमरा र आशीर्वाद लिने चलन छ ।

आश्विन शुक्ल प्रतिप्रदाको दिन घटस्थापना गरी जमरा राख्ने र दुर्गास्थापना गर्ने गरिन्छ । यसरी घटस्थापनादेखि नवमीसम्म पूजा गरिने देवीका नौँ फरक रुपलाई नवदुर्गा भनिन्छ । यो नवरात्री पर्व शक्ति प्राप्तिको पर्व हो । नव दुर्गाको पूजा शक्तिको पूजा हो ।

आफूभित्र रहेको दुर्बल र दुर्गुणताको विनाश भएर जाओस्, मभित्रको शक्ति उजागर होस्, मभित्रका दैविक र सात्विक गुणहरु उजागर होस् भन्ने भाव गरेर हामी माता दुर्गाको पूजा आराधना गर्दछौँ ।

नौ दिनको समयमा भगवतीको साधना गरेर आफूभित्रको शक्तिलाई उजागर गरिन्छ । ब्रह्माण्डको दिव्य शक्तिलाई भगवती वा दुर्गा माता भनेर पनि सम्बोधन गरिन्छ र त्यही दिव्यशक्तिलाई मातृशक्तिको रुपमा पूजा उपासना गरिन्छ ।

नवरात्रीमा विशेष गरी त्रिगुणात्मक शक्ति, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा तथा उपासना गरिन्छ । देवी दुर्गालाई स्वयम् ब्रह्मस्वरुप भनिएको छ ।

दिव्यशक्ति सबै प्राणीभित्र पनि विराजमान छ र त्यही शक्तिले हाम्रो जीवन सञ्चालन भएको हुन्छ । आफूभित्र रहेको शक्तिलाई उजागर गर्न देवी दुर्गाको पूजा गरिन्छ । आफूभित्र रहेको आत्मिक शक्ति अर्थात् आत्मबल, आत्मविश्वास, साहस र आँटलाई हामी देवी दुर्गाको उपासनाको माध्यमबाट उजागर गर्दछौँ ।

त्यसैगरी भावना र विचारको शक्ति, जसलाई मानसिक शक्ति वा मनोबल पनि भन्न सकिन्छ, त्यसलाई पनि उपासनाको माध्यमबाट उजागर गरिन्छ । यसैगरी शारीरिक शक्तिलाई पनि उपासनाको माध्यमबाट उजागर गरिन्छ ।

हाम्रो आफ्नो शरीरलाई घट पनि भनिन्छ । नौ दिनसम्म मानिसको शरीरलाई साधनाका लागि तयार गरी संकल्प सहित साधनामा स्थापित् गराउनुलाई घटस्थापना भनिएको हो । त्यसको आध्यात्मिक पक्षलाई यसरी हेरिन्छ ।

हाम्रो शरीरमा विभिन्न शक्तिका केन्द्रहरु छन् । जस्तै प्रेमको केन्द्र, बुद्धिको केन्द्र, आँट र आत्मविश्वासको केन्द्र, उत्साह र उमङ्गको केन्द्र, दया र करुणाको केन्द्र आदि । आफूभित्र रहेका यस्ता शक्तिका केन्द्रहरुलाई उजागर गरेर आफ्नो क्षमता अभिबृद्धि गर्न नौ दिनसम्म शक्तिको विभिन्न साधना, उपासना, पूजा इत्यादि गरिन्छ ।

हाम्रा शक्तिका केन्द्रहरु सुषुप्त रुपमा रहेका हुन्छन् र त्यसलाई साधना गरेर जगाउनु पर्छ । नौ दिनको यो नवदुर्गा साधनाले हाम्रा सुषुप्त रुपमा रहेका शक्तिका केन्द्रहरु उजागर गरिदिन्छ ।

आफूभित्रको क्षमता र राम्रा गुणहरुलाई उजागर नगरिकन बाहिरको कुनै पनि शक्ति र सम्पत्ति आर्जन गर्न सम्भव हुँदैन । नवदुर्गाको उपासना, हामीभित्र रहेको शक्तिको क्षमतालाई उजागर गर्ने साधना हो ।

देवी दुर्गालाई हामी चेतनाको रुपमा, बुद्धिको रुपमा, ज्ञानको रुपमा, प्रेम र करुणा आदि रुपमा पूजा र उपासना गर्दछौँ । त्यो भनेको आफूभित्र रहेको शक्तिलाई सम्बोधन गरिएको हो र नवदुर्गाको पूजा उपासना त्यसैलाई उजागर गर्न गरिएको साधना हो ।

आफूभित्र रहेको दया, प्रेम, करुणा, कृतज्ञताभाव, आँट, साहस, उत्साह, उमङ्ग, शान्ति, आनन्द जस्ता सकारात्मक गुणहरुलाई साधनाको माध्यमबाट उजागर गर्ने पर्व हो, नव दुर्गा पूजा वा विजयादशमी ।

नव दुर्गाको पूजा र उपासनाको अर्को महत्वपूर्ण पक्ष भनेको आफूभित्र रहेको आसुरी शक्ति वा पाश्विक गुणहरुमाथि विजय प्राप्त गर्नु पनि हो । आध्यात्मिक शब्दमा ‘पशु’को अर्थ हुन्छ मानिसभित्र रहेको अहम्ले भरिएको चेतना अर्थात अहङ्कार ।

मानिसभित्र रहेको काम, क्रोध, लोभ, मोह र मद् वा अहङ्कार गरी पाँच प्रकारका अहमलाई ज्ञानरुपी खड्कले काटेर बलि दिनुलाई नै पञ्चबलि भनिएको हो ।

नौ दिनकोसम्म शक्तिको साधना गरेर आफूभित्रको आसुरी शक्तिमाथि विजय प्राप्त गरिन्छ र विजयोत्सव स्वरुप टीका र जमरा ग्रहण गरिन्छ । घटस्थापनादेखि सुरु गरेको साधना, पूजा र चण्डीको पाठ, आफूभित्र रहेको पशुप्रवृत्तिलाई बलि दिई आसुरी शक्तिमाथि विजय प्राप्त गरी समापन गरिन्छ ।

विजयको खुशियालीमा अर्थात् विजयको उल्लास मनाउन दशमीको दिन शुभ साइत अनुसार टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा चल्दै आएको हो । प्रत्येक वर्ष यसरी नै साधना गरेर आफूलाई शक्ति सम्पन्न बनाउने प्रचलन थियो ।

तर यो विजयादशमीको साधनाको पक्ष अर्थात् आध्यात्मिक पक्ष हराउँदै गयो र सांस्कृतिक पक्ष मात्र बाँकी रहेको छ । अहिले मनाउने गरेको विजयादशमीमा साधनाको पक्ष लोप हुँदै गएको देखिन्छ ।

हामीले विजयादशमीको आध्यात्मिक पक्षलाई पनि कायम राख्नसकेको भए विश्वका सबै मानिसहरुले विजयादशमी पर्वलाई, आफ्नो क्षमता उजागर गरेर भौतिक जगतमा सफल र सम्पन्न हुने र अध्यात्मको गहिरो अनुभूति गरेर खुशी, मानसिक शान्ति र आनन्दित हुने पर्वको रुपमा ग्रहण गर्ने थिए । विजयादशमी पर्व हिन्दूहरुको मात्र पर्व नभएर विश्वका सबै जातिहरुको महत्वपूर्ण पर्वको रुपमा स्थापित् हुने थियो ।

विजया दशमीको सबैलाई हार्दिक मगलमय शुभकामना । आजलाई यत्ति नै, हरि ॐ !

सुप्रिया माँ आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।