दाङ,३ कार्तिक । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुमाथि प्रहरीबाट लगातार दुब्र्यवहार हुुन थालेपछि नेपाल प्रेस युनियन दाङले दाङ प्रहरीको ध्यानाकर्षण गराएको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय पुगेको युनियनको टोलीले पत्रकारहरुमाथि केही दिनयता प्रहरीबाट भइरहेका दुब्र्यवहारका घटनाहरुबारे जानकारी गराएको थियो ।
पछिल्लो समय युनियन दाङका निवर्तमान सचिव तथा रेडियो स्वर्गद्वारी एबं नागरिक दैनिकमा कार्यरत देवेन्द्र बस्नेतमाथि प्रहरीले अपाच्य शब्द प्रयोग गरेर गाली गर्नु अत्यन्त खेदजनक भएको भन्दै युनियनले एसपी चन्दलाई यस्ता घटनाहरु हुन नदिनका लागि तत्काल संगठनभित्र पहल थाल्न सुझाव समेत दिएको थियो ।
युनियन दाङका अध्यक्ष सुवेदीको नेतृत्वमा सल्लाहकार हेमराज शर्मा, निवर्तमान सचिव देवेन्द्र बस्नेत र सचिव आरके शीतल जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।